नयाँ वर्षको आसपासमा मौसम विग्रिन खोजिरहेको थियो। धुम्म हुने, पानी पर्ने, हावाहुरी आउने गर्दै थियो। यस्तो अवस्थाले नयाँ वर्षमा रमाउनेलाई रोक्न सकेन। पाँचथरको उत्तरी फालेलुङ गाँउपालिकाको चार राते यसै पनि चर्चित छ। नेपाल–भारतको सिमाना नजिकै पर्ने यो आकर्षक छ।
वैशाख १ गते डाँडैभरिका (३,३४० मिटर) गोठस्टेहरू उघ्रिन थाले। सूर्योदयमा रमाउन थाले उनीहरू। आसपास आहाल, सन्दकपुरका गोठमा बसेकाहरु पनि भेला हुन थाले। पाँचथर र ताप्लेजुङका खर्कहरुबाट ल्याइएका चौंरी दौडिन थाले। त्यसो त विभिन्न ठाउँबाट जीप र मोटरसाइकलमा पुग्नेहरुको संख्या ह्वातै बढ्न थाल्यो। यहाँ तेश्रो चांैरी महोत्सवले चहलपहल बढाएको देखिन्थ्यो।
तेश्रो वर्ष पुग्दा नै महोत्सव ब्राण्ड भइदियो। घुमन्तेको ओइरो लाग्यो। उच्च पहाडी क्षेत्रमा हुने महोत्सव भएकाले पनि आर्कषण बढ्यो। हामी पनि सदरमुकाम फिदिमबाट त्यहाँ पुगेका थियौँ। डाँडामा गुराँस फूलेका देखिन्थे। विहानैदेखि आउनेको भिडमा भारतीय पनि थिए। खासगरी बङ्गालीहरु उत्साहसाथ रमाए। हिउँदमा भारतीय पर्यटकहरुले लेकाली डाँडा भरिन्छन्।
सन्दकपुरबाट केहि टाढासम्म उनीहरु आउँछन्। झापा, इलाम, पाँचथर र ताप्लेजुङका विभिन्न ठाउँबाट गाडी रिजर्भ गरेर आउनेको संख्या उलेख्य देखिन्थ्यो। त्यसो त हिँड्दै आउनेको संख्या पनि उत्तिकै थियो। पूर्वी पहाडमा घुम्ने कल्चर बढेको उदाहरण देखियो त्यहाँ।
पर्यटकहरू चौरीसँग सेल्फि खिच्न व्यस्त देखिन्थे। ताप्लेजुङबाट आएका उमेश लावतीले सेल्फी खिच्न औधी मिहिनेत गरे। याक चढेर खिचे। उभिएर खिचे। शहरमा बस्नेहरुलाई चौंरी नौलो लाग्छ। पाँचथर–ताप्लेजुङका उच्च पहाडी क्षेत्रमा पालिने चौरी शहर र औलबाट पुगेकाहरु लागि आर्कषण बनेका थिए।
भारतीयको ध्यान पनि चौंरीले नै तान्यो। हामीले पनि चौंरीसँग सेल्फी खिच्यौं। चारैतिर क्यामेरा तेर्सिए। डराउनेहरुले सेल्फी स्टीक प्रयोग गरे। विशेष आकर्षण चौंरीमा देखियो। चौरीलाई जोडेर पर्यटन विकास गर्न महोत्सव आयोजना भएको थियो। महोत्सवमा चौंरीको प्रदर्शनमात्र थिएन चौरीजन्य उत्पादन समेत प्रदशर्न गरिएको थियो। यहाँ भुटान र चीनबाट समेत पाहुना निम्त्याइएका थिए। केही युरोपेली पनि देखिए। मौसम धुम्म हुने र उघ्रिने गरिरहेको थियो। फराकिला डाँडामा रमाउने पर्याप्त ठाँउ।
नेपाल–भारतको सिमाना भएकाले राष्ट्रिय भावना समेत देखाईदै थियो। चौरी र यहाँका गन्तव्यको प्रचार गर्ने गरी महोत्सव गरिएको आयोजक फालेलुङ गाउँपालिकाका प्रमुख सञ्चकुमार केरुङले बताए। चौरीसँग जोडिएका परम्परागत समाग्री पनि प्रर्दशनमा राखिएका थिए। त्यसो त भेडाको ऊनबाट बुनिएको कपडा लोकप्रिय बन्यो। त्यस्ता कपडा लगाएर फोटा खिच्न पालो कुरीरहेका थिए। कठिन भूगोल छिचोलेर आइपुगेकाहरू रमाए। आयोजकले पनि निकै मिहिनेत गरेको देखियो। खिर, छुर्पि, घ्यू लगायत खानेकुरा बिक्रि भयो। चौंरीको सुकुटीले पनि बजार लियो।
मन्त्री, सभासद, नेता, सरकारी कर्मचारी पनि महोत्सवमा पुगेका थिए। जैविक विविधताले पनि यो क्षेत्र धनी मानिन्छ। जैविक विविधताको संरक्षण, चौंरी परम्पराको स्थायित्व र पर्यटन विकासको लक्ष्यका साथ महोत्सव गरिएको सह–आयोजक दिपज्योती युवा क्लबका कार्यकारी निर्देशक सुनिल बान्तवाले बताए।
छुर्पिको माला लगाएर पाहुनाको स्वागत गरिएको थियो। मलाई जोगाउ भन्ने चौंरी अंकित व्याज र मायाको चिनो वितरण गरिएको थियो। महोत्सवको अवसर पारे सन्दकपुर, आहाल, फालोट लगाएको लेकाली आकर्षक क्षेत्र घुम्न पाए। लेकाली जनजीवन आर्कषक भईदियो। क्रसबोडर टुरिजम महोत्सवको अर्को लक्ष थियो। महोत्सव फालेलुङ गाउँपालिकाले आयोजना गरेको हो। दिपज्योती युवा क्लब, कञ्चजंघा पर्यापटन विकास संस्था र सुर्केथाम दुग्ध उत्पादक सहकारी सहआयोजक हुन् भने इसिमोडको कञ्चजंघा परिधि विकास कार्यक्रम पहल सरक्षक थिए।
गोठ सञ्चालकहरु महोत्सव गर्न जुटेका थिए। विभिन्न ठाउँबाट भेला भएका गोठ सञ्चालकले भेटघाटको अवसर पाए।
गोठको जीवन पाँचथरको फालेलुङ र याङवरक तथा ताप्लेजुङको सिदिङवा, श्रीजंगा, फक्ताङलुङ, मिक्वाखोल, मैवाखोला गाउँपालिकाका विभिन्न ठाँउमा चौरी पाल्ने परम्परा छ। यो चौरी लेक चढ्ने बेला हो। गोठ सञ्चालकका भाषामा हिमाल चढ्ने बेला। कार्तिक–मंसिरमा जाडो छेल्न चौंरी कछाड झर्छन। अव लेक लागेका चौंरीले सन्तान उत्पादन गर्छन्। बर्षाभरी दुध उत्पादन हुन्छ। चौरीका विभिन्न प्रजाती छन्। दुध दिनेदेखि भारी बोक्नेसम्म।
चौरी तिब्बतको सिको गर्दै पालिएको। माथि लेकमा चौंरी पालिन्छ। ढुंगा र काठको गोठ बनाएर सञ्चालक बस्छन्। परिवारलाई बस्तीमा छाडेर उनीहरु लेक चढछन्। अचेल व्यवस्थित गोठ बन्न थालेका छन्। पर्यटक आउन थालेपछि सफा र सुविधायुक्त बनाउन खोजिएको देखिन्छ। चौरी र घ्यू प्रमुख उत्पादन हुन। चौंरी दिउँसो चर्न जान्छन्। वेलुका दुहुने बेला गोठमा फर्किन्छन्।
गोठको जीवन बिन्दास देखिन्छ। हिमालमा पशुपालनमा रमाइएको ताप्लेजुङको सिदिङबाका भीम भण्डारी बताउँछन्। घुम्नेहरु आउन थालेकाले रमाइलो लाग्ने गरेको उनको भनाई छ। लेकमा चौंरी पाल्ने परम्परा घट्दै गएको छ। आम्दानी हुने भए पनि नयाँ पुस्ताको आकर्षण देखिँदैन। यही परम्परालाई कायम राख्न भन्दै चौंरी महोत्सव आयोजना भएको हो।
हामी सघाउँछौं
इन्द्रबहादुर आङ्बो
योजना मन्त्री
चौरी परम्परा सरक्षण गर्न आवश्यक छ। पशुपालन क्षेत्रमा चौंरीको निकै महत्व छ। किसानको हितका लागि प्रदेश सरकारले काम गर्छ । हामीले यसपल्ट १५ लाख रुपैँयाँ चौरीका लागि बजेट छुट्याएका छौँ। आगामी दिनमा थप कार्यक्रम अघि सार्ने छौँ। संरक्षण र व्यावसायिकरणमा जोड दिने छौं।
पर्यटनसँग गासेर
भिष्मराज आङदेम्बे
पूर्व सासद
चौंरी आफैमा आर्कषक छ। यसलाई पर्यटनसँग जोडेर अघि बढाउन आवश्यक छ। इको टुरिजम, क्रस बोर्डर टुरिजम र चौंरीलाई जोड दिन्छौं। घुम्न रहर गर्नेहरुको संख्या बढ्दै गएकाले चौरी पालन हुने लेकाली क्षेत्रमा पु-याउन विभिन्न क्षेत्रबाट पहल हुनु पर्छ।
प्रकाशित: ७ वैशाख २०७६ ०२:२८ शनिबार