२५ श्रावण २०७७ आइतबार
अन्य

ताजमहल, लता र चन्द्रमा

१८५७ को लडाइँ जो धेरै टाढाको लडाइँ थियो 
आज निकै नजिकका लडाइँ बाँकी छन्।  
यी दुई वाक्यमै आ–आफ्नो मन्तव्य प्रकट गरिएको छ केही अप्रत्याशित घटनाको। कविताको यो प्रभावशाली सुरुआत हो, आरम्भका लागि तर यसको असर उपस्थित समाजमा कसरी पर्छ ठिक भन्न सकिन्नँ। सायद यी दुई मिसरा यसै किसिमका बीज वाक्य हुन्, जसको प्रभाव कालान्तरसम्म परिरहनेछ। 

भारत र पाकिस्तान सिंगै मुलुक एउटै भएका बेला लडिएको यो सन् १८५७ को ठूलो लडाइँको चर्चा कवितामा अझै छ। यस्तै एउटा कविताका पंक्तिजस्तै मन्तव्यबाट भारत र पाकिस्तानको महासमरलाई रोक्न पाकिस्तानका प्रधानमन्त्री इमरान खानको वक्तव्यले काम गर्याे।

खानको भिडिओ मन्तव्यले लडाइँको भयावह स्वरूप टर्याे। खानको यो दृश्यिक संवाद् पछि भारतमा हुन लागेको चुनाव र मोदीको संकटापन्न चुनावको राष्ट्रिय मुद्दासित पनि जोडिन थालेको छ। तर शंका–उपशंका अझै बाँकी छन्, आ–आफ्नो हेराईबाट यसको भाष्य गर्ने कतिपय पक्ष अझै थाँती छन्। राष्ट्रिय,  माक्र्सवादी, लोकवादी, उत्तरआधुनिक, सबाल्र्टनवादी अनि दलित। विचारको मैदानमा आ–आफ्नो खम्बा र आ–आफ्नो पोजिशंसमा छन्। 

यो लडाइँको सम्भावना र क्षतिवारे पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई लिएर सर्वत्र प्रशंसा भएको छ। लडाइँका बारेमा उनले दिएका टिप्पणी गुणगम्भीर छन्। भारतले यसअघि सबैभन्दा धेरै लडाइँ पाकिस्तानसित लड्यो, अनि चीनसित। चीनसित सन् ६२ को लडाइँका बेला भारतमा रहेका नेपालीभाषी कवि गोपालसिंह नेपालीले लेखे ‘हिमालय की क्रन्दन’। 

आज पनि भारतवर्षमा ती कविता गर्वले पढिन्छ र पढाइन्छ। चीनसँग लडाइँका बेला कवि धूमिल, कवि भवानीप्रसाद मिश्रका कविता पनि छापिएका थिए। तर, भारतीय सेनाको हौसला बढाउन कवि गोपालसिंहले लेखेको त्यो कविता लडाइँका बारेभन्दा सेनाको मनोबल बढाउन निकै काम आयो। उनको कविताको त्यो अंश यस्तो छ :
जैसा ये अटल अडिग अविचल वैसे ही भारतवासी 
है अगर हिमालय धरती पर तो भारतवासी अविनाशी 
कोई क्या हमको ललकारे 
हम कभी हिंसा से न हारे 
दुःख देकर हमको क्या मारे 

सन् १९११ मा भारतको बेतियामा जन्मेका नेपालीको यो कविता अझै पनि भारतीय सैनिक युद्ध मैदानमा गाउँछन्। भारतको कुनै मुलुकसित लडाइँ भयो भने लड्ने लडाकू वा लडाइँमा मर्ने प्रायः वीर गोर्खा नै हुन्छन्। त्यसैले जनरल म्याकेनसाले भनेका हुन् ‘कसैले म मृत्युसित डराउँदिन भन्यो भने कि त्यो पागल हो कि गोर्खा जवान हो भने चिन्नू।’ 

भारतले सन् १८५७ मा लड्दा बेलायतसित गोर्खा फौज थियो। भारतले स्वतन्त्र हुनुुअघि विशाल हिन्दुस्तानका रूपमा बेलायतसँग लड्दाको समय सन् १८५७ को समय थियो जति बेला मुगल साम्राज्य थियो र बेलायतसित मुगल सम्राट बहादुर शाह जफरसित भन्दा आधा मात्र सैनिक थियो। तर, बेलायतले लडाइँ जित्यो। त्यसपछि हिन्दुस्तान भन्ने शब्दको गुलाम भयो। 

गुलामीको त्यो युग सुरु हुँदा हिन्दुस्तानका अन्तिम सम्राट बहादुर शाह जफरलाई बर्माको रंगुनमा लगेर निर्वासित जीवन बिताउन बाध्य बनाइयो। जफर स्वयम् कवि सायर पनि थिए। उनका समयमा इब्राहिम जौक, मिर्जा गालिब जस्ता दूरद्रष्टा गजलकार थिए । तर, लडाइँका बेला उनका साथ ती कवि र कविताले केही काम गरेन। हिन्दुस्तानले  त्यो लडाइँ बेलायतसित हार्नु पर्याे।  

बेलायतले अन्ततः हिन्दुस्तान छाड्ने बेला भारतलाई दुई टुक्रा हुन बाध्य गरेर गयो, त्यहाँदेखि भारतको पाकिस्तानसित लडाइँ र क्रिकेट जारी छ। यी दुइटै चीज सम्भवतः उसले बेलायतको विरासतमै पायो। यसबारे भारतका एक उर्दूभाषी कवि असद जैदीले लेखेका छन् :  
लडाइँहरू अधूरा नै हुन्छन् अक्सर, पछि पूरा हुनका लागि 
कुनै अर्को युगमा कुनै अर्को हतियारले 
कति पटक त ती मैलाधमिला मूर्दाहरू नै उठेर लड्न थालेछन् फेरि 
जीवितलाई ललकार्दै जो तीभन्दा पनि ज्यादा मृत छन् 
सोध्नेछन् उनको टोली र उनका गण र सरदारका नाम 
या दुःखी सम्झँदै भन्न थाल्नेछन् अब म नजफगढतिर अघि बढ्दैछु 
वा भक्भकाउँदै सोध्नेछन् बख्तापुरको बाटो 
१८५७ का मृतक भन्छन्, बिर्सिदेऊ हाम्रा सामन्ती नेताहरूलाई 
कि कुन स्वामीत्वको फिर्ताका निम्ति ती लडेका थे 
अनि हामी तिनका लागि कसरी मरेका थियौँ 

यो कविता नसकिँदै भारत पाकिस्तान कयौंपटक लडिसके। तर, लडाइँ अझै अपुरो छ। भारत र पाकिस्तानलाई लडाइँले जति तोडे पनि, जति छुट्टयाए पनि  गालिब, गजल, संगीत, संस्कृति, सिनेमा, क्रिकेट, खाना संस्कृतिले जोड्दै आएको छ।

गजलका बेताज बादशाह मेंहदी हसन मुम्बई आउँदा कयौं पटक बलिउडका नायक अमिताभ बच्चनले आफ्नो निवास प्रतीक्षामा गजल गायन कार्यक्रम राखेका थिए। मेंहदीलाई गुरु मानेर भारतीय गजल गायक तलत अजीजले हातमा गान्डी बाँधेका थिए। जगजीत सिंह कारगीलमा लडाइँ भइरहेका बेला मेंहदीको उपचारका निम्ति कार्यक्रम गर्न लाहोर पुगेका थिए। 

भारत र पाकिस्तानको द्वन्द्व हुने दुई ठाउँ देखिन्छ– क्रिकेटको मैदान र काश्मिरको भूभाग। यसपालि काश्मिरको पुलवामामा भएको आक्रमणपछि भारतको क्रुद्ध रूपलाई सम्हाल्ने पाकिस्तानका प्रधानमन्त्री इमरान देखिए। उनको मन्तव्यले जोगायो यो अप्ठेरोपनलाई।  

यस भ्लगले इमरानको पाकिस्तान र भारतमा मात्र होइन, सर्वत्र प्रशंसा हुन थालेको छ। क्रिकेटको मैदानमा भारतविरुद्ध खेल्ने इमरानले यसपालि भारतीय मन, मुटु जितेका छन्। सन्दर्भतः उनी राजनीतिमा त्यस समय आए, जुन समय पाकिस्तानका शासक जिया ऊल हकको मन्त्रीमण्डलमा उनलाई संस्कृतिमन्त्रीमा आमन्त्रित गरिएको थियो, जतिबेला उनी क्रिकेटबाट सन्यास लिएर मोडलिङतिर पाइला चाल्दै थिए। सन् १९८८ मा लण्डनको सोहा अपार्टमेन्टमा भाइसित बस्दै गरेका इमरानलाई जिया सरकारले राजनीतिमा तान्न सकेनन्। तर, पछि उनी आफैं आए। 

शत्रु मुलुक नै भए पनि पाकिस्तानका दुई व्यक्ति भारतमा सदैव लोकप्रिय रहे, बेनजीर भुट्टटो र इमरान खान। संयोगले यी दुवै अलग–अलग क्षेत्रबाट राजनीतिमा आए, प्रधानमन्त्री भए।  बेनजीरका पिता जुल्फिकर अली बलिऊडका फ्यान थिए, भुट्टटो बलिऊडकी अभिनेत्री मधुबालाका फ्यान थिए। बलिउडका धेरै अभिनेत्री इमरानका फ्यान थिए।  

इमरानको क्रिकेटको क्यारिअर अस्ताउँदै गरेका बेला हिन्दी सिने जगतका सुप्रसिद्ध निर्देशक देव आनन्दले उनलाई अब्बल नम्बर नामक् फिल्ममा नायकको भूमिका अफर गरेका थिए, लण्डनसम्म गएर। तर, इमरानले देवआनन्दलाई भने ‘तपाईलेमलाई छक्याइदिनुभयो। मलाई लाग्छ– म राम्रो अभिनय गर्न सक्दिनँ।’ 

यसो भनेर उनले देव आनन्दको अब्बल नम्बर रिजेक्ट गरे। तर, बलिउड सदैव उनीप्रति कृतज्ञ नै रहे। देवआनन्द तिनै व्यक्ति हुन्, जो भारत र पाकिस्तानको लडाइँको समयसीमा नाघेर लाहोर बस चढेर तत्कालीन प्रधानमन्त्री अटल विहारी बाजपेयीसित नवाज शरीफ भेट्न जाने टोलीमा थिए। 

नवाज शरीफ पढेकै लाहोर कलेजका सिनियर विद्यार्थी देव आनन्द पनि पाकिस्तानमा लोकप्रिय मानिन्थे। देव आनन्दले इमरानलाई फिल्म अफर गरेजस्तै कुनै समय अर्का बलिउड फिल्म निर्देशक ओपी रल्हनले बेनजिरलाई लिएर फिल्म बनाउने घोषणा गरेका थिए। लण्डनमा पढ्दै गरेकी बेनजिरको प्रतिउत्तर नपाएपछि उनले त्यो फिल्म नै रद्द गरे। 

भारत र पाकिस्तानलाई सिमानाले अलग बनाए पनि सिनेमा र संगीतले सदैव जोडेको छ। भारतीय सिनेकर्मी दिलीप कुमार, जावेद अख्तर, शबाना आजमी, शत्रुध्न सिन्हा, नसीरुद्दीन शाह आदि सम्मान र पदक पाउन पाकिस्तान पुगिरहन्छन् भने भारतका गजल गायक गुलाम अली, फरीदा खानम, नुसरत फतेह अलि खान, राहत फतेह अली खान मुम्बईमा कार्यक्रम गर्न र रेकडिङ गर्न पुगिरहेका हुन्छन्। 

गजलका बेताज बादशाह मेंहदी हसन मुम्बई आउँदा कयौं पटक बलिउडका नायक अमिताभ बच्चनले आफ्नो निवास प्रतीक्षामा गजल गायन कार्यक्रम राखेका थिए। मेंहदीलाई गुरु मानेर भारतीय गजल गायक तलत अजीजले हातमा गान्डी बाँधेका थिए। जगजीत सिंह कारगीलमा लडाइँ भइरहेका बेला मेंहदीको उपचारका निम्ति कार्यक्रम गर्न लाहोर पुगेका थिए। 

भारत र पाकिस्तान छुटेपछि पहिलो वार्ता हुँदा झेलम नदीको किनारमा पाकिस्तानकी गायिका नूरजहाँ र भारतकी गायिका लताको भेट सरकारले नै गराएको थियो।  भारत र पाकिस्तान टुक्रेपछि एक संस्कृतिकर्मीले भावविभोर हुँदै भनेका थिए, ‘हामीले सबै कुरा बाँडेर लियौँ। तर, तीन कुरा बाँड्न सकेनौँ– ताजमहल, लता र चन्द्रमा। 

यो भनाई आधिकारिक रूपमा कसको हो भनेर पुष्टि हुन सकेको छैन। तर, पीडा दुवैतिर छ। भारत र पाकिस्तान विभाजन गर्ने अन्तिम वार्तामा सामेल हुन शिमला हाउसमा पस्ने बेलामा पण्डित जवाहरलाल नेहरू र मोहम्मद अली जिन्ना सँगै पसेका थिए। तर, जिन्नाले फर्कने बेला नेहरूसँगै पसेको ढोकाबाट ननिस्कने शर्त राखेपछि रातारात अर्को ढोका बनाइएको थियो। 

भारत–पाकिस्तान विभाजनपछि कयौं गीत बने। कयौं सिनेमा बने। कयौ किताब लेखिए हरेकपटक रगतसँगै आँसु बगे। छिमेकीका रगतसँगै हाम्रो पनि आँसु बगे। यसपालि पाकिस्तानले कार्ल बन् क्लौजवित्ज्को अन वारमा भनिएजस्तै युद्धलाई जित्न भौतिक विजय मात्रै काफी मानिँदैन भन्ने सावित गरेको छ। 

सन् १९७१ मा भारत र पाकिस्तानको युद्धको स्वरूपजस्तै झन्डै यसपालि त्यस्तै हुने थियो कि ? भन्ने प्रश्न बाँकी रह्यो।यतिबेला एउटा कविता याद आइरहेछ, नरेन्द्र जैनको। नरेन्द्र कुनै समय नेपालका लागि भारतका राजदूत थिए। उनी लेख्छन् :  
यहाँ धूलो नै धूलो रही आएको छ 
यति धेरै धूलो जस्तो पृथ्वी नै खसेजस्तो
आफ्नो लुगा झाडीरहेजस्तो 
यति अन्धो मोड कि 
टाढा–टाढासम्म केही देखिँदैन
संक्षेपमा भनुँ भने कुनै विकराल जंगलजस्तो। 

जैनको कविता कुनै विचित्र आकस्मिकता जस्तो देखिए पनि होइन त्यो त्यस्तो। जैन एक कुटनीतिक मात्र होइनन्, मान्छेको मन बुझ्ने मानवी पनि हुन्। उनले कुनै समय निकारागुआका माक्र्सवादी पादरी कवि एर्नेस्तो कार्देनालको कवितालाई फ्रेम गरेर घरको भित्तामा टाँगेका थिए। ल्याटिनी अमेरिकी र स्पेनिस भाषामा पाब्लो नेरुदा पछि खुब चर्चामा आउने दुई कवि सेजार बैयाख्खो र कार्देनाल पर्छन्। कार्देनालको लण्डन म्यागेजिनमा एपिग्राम्स् नामक् पचास कविता छापिएपछि सन् १९७६ मै जैनले पोस्टर बनाएर फ्रेम गरेर घरको भित्तामा टाँसे। 

लिबरेसन थियोलोजीमा विश्वास गर्ने कार्देनालको कवितामा जस्तै शक्ति बोकेर आएको अहिलेको समय कविता जत्तिकै संवेदनशील छ। यस्ता धेरै घटनाले भारत र पाकिस्तानको छिमेकी भएका कारण हामीलाई पनि छुन्छ। वा, यतिवेला हुने कुनै पनि लडाइँमा हाम्रा पनि निर्दोष जवान पर्छन्। विशेषतः हरेक लडाइँमा हाम्रै चिरपरिचित पहाडी जवानले प्राण त्याग्छ। लडाइँको अर्थमा हारजीत जे भए पनि मर्नेबित्तिकै मान्छेभित्रको मनुष्यत्व नै हो। 

प्रकाशित: २५ फाल्गुन २०७५ ११:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App