रामायण महाभारतभन्दा अघि रचिएको हो। यसको पुष्टि महाभारत वनपर्वको रामोपाख्यानबाट प्रमाणित हुन्छ। रामायणको कथावस्तु स्रोतअन्तर्गत वैदिक वाङ्मय छ। वैदिक वाङ्मयका संहिता, आरण्यक, ब्राह्मण र उपनिषदमा निहित रामकथालाई मूल आधारका रूपमा कवि वाल्मीकिले ग्रहण गरेका छन्। यसरी वैदिक वाङ्मयदेखि प्रचलित रामकथालाई विषयवस्तुको मुख्य स्रोत बनाए पनि स्वकीय काव्यिक प्रतिभाका कारण रामायणलाई पूर्णतः काव्यात्मक रूप दिए। आख्यानमा सर्वप्रथम काव्यात्मक रूपको प्रारम्भ पनि रामायणबाट भयो। रामायणमा मूलतः रामको जीवनका आद्योपान्त घटनाहरू वर्णित छन्। तिनलाई काण्डअनुसार प्रस्तुत गरिन्छ–
बालकाण्ड : यस काण्डमा ऋषि वाल्मीकिको आश्रममा नारदऋषिको आगमन, नारदसँग संसारमा सर्वश्रेष्ठ चरित्रवान्, कर्तव्यपरायण, आदर्श पुरुष को छ ? भन्ने प्रश्न, प्रश्नअनुरूपको पुरुष वर्तमानमा राम भएको भन्ने नारदको भनाइ र उनीद्वारा रामको जीवनगाथाको आद्योपान्त घटनाको वर्णन, यसपछि तमसा नदीको किनारमा क्रौञ्च युगलबाट एक व्याधाले गरेको भाले क्रौञ्चको वध र पोथी क्रौञ्चको विलापबाट कवित्व प्रस्फुटन र ब्रह्माको उपदेशबमोजिम रामायणको प्रारम्भ, रामको जन्म, बाल्यकाल, किशोरावस्था, विश्वामित्रसित वनगमन, वनमा यज्ञको रक्षा गर्ने क्रममा मरिच, सुबाहु आदि विभिन्न राक्षसको बध, जनकनगरीमा शिबधनुभेदन र रामको सीताका साथ विवाहसम्मका घटनाहरू छन्।
नराम्रो आचरणबाट बच्न र सदाचारको अनुसरण गर्न रामायणले सम्पूर्ण मनुष्यलाई सन्देश दिएको छ।
अयोध्याकाण्ड : यस काण्डमा दशरथद्वारा रामको राज्याभिषेक गर्ने निर्णय, राज्याभिषेकको तयारी, अभिषेकको तयारीको समाचारबाट खिन्न मन्थराद्वारा कैकेयीलाई पहिलेका दुई वर माग्न प्रेरित; उक्त दुई वरमा– १४ वर्ष रामको वनबास र भरतको राज्याभिषेक, यसर्थ कैकेयीको कोभभवन प्रवेश, कैकेयीद्वारा उक्त दुई वरको याचन, पत्नी सीता र भाइ लक्ष्मणसहित रामको वनगमन, राजा दशरथको मृत्युसम्मका घटना वर्णित छन्।
अरण्य काण्ड : यस काण्डमा वनवासी तपस्वीद्वारा राम, लक्ष्मण र सीताको स्वागत, वनमा विराध राक्षसको बध, शरभंग, सुतीक्ष्ण र अगस्त्य मुनिसँगको भेटपछि रामको पञ्चवटी आश्रमका लागि प्रस्थानमार्गमा जटायुसँग भेट, जटायुको विस्तृत परिचय, पञ्चवटी आश्रममा प्रवेश, पञ्चवटीमा आएकी सुर्पणखाद्वारा रामलाई पति बन्न अनुरोध, रामद्वारा अस्वीकृत सुर्पणखा सोही प्रयोजनबाट लक्ष्मणलाई अनुरोध, लक्ष्मणले पनि वास्ता नगरेपछि सुर्पणखाद्वारा सीतामाथि आक्रमण, लक्ष्मणद्वारा सुर्पणखाको नाककान कर्तन, सुर्पणखाको दुर्दशाको प्रतिशोध लिन आएका खर, दूषणसहित १४ हजार राक्षसको राम–लक्ष्मणद्वारा वध, रावणद्वारा सीता अपहरणका लागि ताटकापुत्र मारिच प्रेषित, मृगरूपधारी मारिचद्वारा सीताको अपहरण, बाटामा जटायुसँग मारिचको युद्ध, मारिच पराजित, मारिचद्वारा सीतालाई लंकामा पुर्याइनुसम्मका घटना वर्णित छन्।
किष्किन्धा काण्ड : यस काण्डमा सीताबाट वियुक्त रामद्वारा पम्पासरोवराको अवलोकन, हनुमान र सुग्रीवसित राम–लक्ष्मणको भेट र मित्रता, बाली वध, ताराशोक, रामद्वारा वर्षाऋतुको वर्णन, सीताको खोजका लागि हनुमानसहित वानर सेनाको प्रस्थानसम्मका विषयवस्तु वर्णित छन्।
सुन्दरकाण्ड : यस काण्डमा समुद्र मार्गमा सुरसा र सिंहिताको वध गर्दै हनुमानको लंका प्रवेश र अशोक वाटिकामा सीतासँग भेट, हनुमानद्वारा रावणका पाँच सेनापतिसहित धेरै राक्षसको वध, इन्द्रजित र हनुमान युद्ध, इन्द्रजितको दिव्यास्त्रबाट हनुमान बन्धनमा, रावणद्वारा हनुमानको पुच्छरमा आगो लगाउन आदेश, लंका दहन र राक्षस विलाप, हनुमानद्वारा रामसँग सीताको सन्देशकथन आदि विषय वर्णित छन्।
युद्धकाण्ड : यस काण्डमा राम, लक्ष्मण, सुग्रीवलगायत समस्त वानर सेना लंका प्रस्थान, सेतुबन्ध, विभीषणद्वारा रावणलाई सीता फर्काउन आग्रह, घनघोर युद्ध, लक्ष्मण मूच्र्छित, हनुमानद्वारा ल्याइएको सञ्जीवनी बुटीबाट लक्ष्मणको उपचार, रामबाट रावण र कुम्भकर्णको वध तथा लक्ष्मणबाट इन्द्रजितको वध, रामसेनाको विजय, लंका राज्यमा विभीषणको राज्याभिषेक, सतीत्वको शंकामा सीताको अग्निपरीक्षा, श्रीरामको अयोध्या आगमन तथा अयोध्यामा भव्य स्वागत हुन्छ।
उत्तरकाण्ड : यस काण्डमा रामको दरबारमा अगस्त्य आदि महर्षिको आगमन, आशीर्वाद प्रदान, रामद्वारा आदर्शरूपमा राज्य सञ्चालन, जनापवाद, रामद्वारा सीताको परित्याग, सीताको वनगमन, वाल्मीकि आश्रममा सीताबाट लवकुशको जन्म, रामद्वारा विश्वजित यज्ञको आयोजना, उक्त यज्ञमा लवकुशद्वारा रामायणगान, भाइसहित रामको विष्णु शरीरमा प्रवेश, अन्य सबै प्रमुख पात्रको स्वर्गलोक गमन वृत्तान्त वर्णन गरिएका छन्।
यसरी रामायणमा रामको जन्मदेखि लिएर उनको विष्णु स्वरूपमा प्रवेशसम्मको कथा मुख्य रूपमा वर्णित छ। यस मूल कथामा अतिरिक्त बालकाण्ड र उत्तर केही उपकथा छन्। बालकाण्डमा कुमार कार्तिकेयको जन्म, गंगा अवतरण, सागर मन्थन आदि र उत्तरकाण्डमा इन्द्रद्वारा वृत्र वध, उर्वशी पुरुरवाका कथा आदि छन्। यसरी मूलकथाभित्र रहेका विभिन्न पुराकथात्मक उपकथाले गर्दा रामायण ललित महाकाव्य नभएर विकसनशील महाकाव्य बनेको छ।
रामकथाको माध्यमबाट गृहस्थ जीवनको उच्च आदर्श रूप देखाउनु यस काव्यको मूल कथ्य हो। आदर्श पुत्र, पति–पत्नी, पिता–माता आदि सबैका उदाहरण रामायणमा पाइन्छन्। रामायणमा वर्णित पारिवारिक जीवनदेखि लिएर राज्यसञ्चालन पद्धतिसमेत आदर्शमय छन्। यसैले रामराज्यलाई आदर्श रामराज्य भनिन्छ।
रामायण चरित्रप्रधान काव्य हो। यसैले रामायणका अनुसार मानव जीवनमा सबैभन्दा ठूलो कुरा चरित्र हो, मानिसको मूल्यांकन पनि चरित्रकै आधारमा हुने गर्छ भन्ने देखाउनको लागि वाल्मीकिद्वारा रामायणको रचना गरिएको हो भन्ने कुराको पुष्टि वाल्मीकिले नारदसमक्ष गरेको ‘चारित्र्येण च को युक्तः ?’ भन्ने प्रश्नबाट स्पष्ट हुन्छ। यसरी उच्च चरित्रवान् शक्तिको खोज र उसको विशद चित्रण गर्नुले पनि वाल्मीकिको मुख्य उद्देश्य चरित्रलाई सर्वश्रेष्ठ तत्वका रूपमा लिनु हो भन्ने देखिन्छ। नराम्रो आचरणबाट बच्न र सदाचारको अनुसरण गर्न रामायणले सम्पूर्ण मनुष्यलाई सन्देश दिएको छ। यसै सन्दर्भमा मानवता, परोपकारमय भावना, धर्मानुकूल आचरण, सन्तहरूको संरक्षण र दुष्टहरूको विनाश एवं धर्मको अभ्युत्थान जस्ता मानवहितकारी विषयवस्तु आएका छन्। यसैले रामायण सार्वकालिक र सर्वदेशीय काव्य बन्न सफल छ। यस्तै तत्कालीन समाजको राजनीतिक, आर्थिक, सांस्कृतिक आदि पक्षको पनि सजीव चित्रण रामायणमा पाइन्छ।
(ज्ञवाली त्रिवि, पद्मकन्या बहुमुखी क्याम्पसका उपप्राध्यापक हुन्।)
प्रकाशित: १८ फाल्गुन २०७५ ०२:१० शनिबार