७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अन्य

उपत्यकामा जताततै छाडा पशुचौपाया

काठमाडौंको टुँडिखेलमा छाडा छाडिएका गाई। तस्बिर : श्याम राई

उपत्यकामा छाडा पशुचौपायाको बिगबिगी बढेको छ। जसका कारण सवारी जाम र दुर्घटनाको जोखिम बढेको छ।

उपत्यकाका चावहिल, जोरपाटी, मिनभवन, बागबजार, टुँडिखेल, बौद्ध, कोटेश्वर लगायत क्षेत्रमा छाडा पशु चौपाया देखिन्छन्। यी क्षेत्रका सडकमा पशु चौपायाहरू हिड्ने गरेका छन्। जसका कारण सवारी चालक तथा यात्रुले हैरानी खेप्नुपरेको छ।

काठमाडौं महानगरपालिकाले पशु चौपाया व्यवस्थापन गर्न चासो नदिएको स्थानीयको आरोप छ।

सडकमा पशुचौपाया हिँड्दा यात्रा असहज भएको चावहिलका भीम खड्का बताउँछन्। ‘सम्बन्धित निकायले पशुचौपाय व्यवस्थापन नगर्दा सवारी साधन चलाउन गाह्रो परेको छ,’ उनले भने, ‘कतिपय ठाउँमा सवारीसाधनको ठक्करबाट पशुचौपाय मरेका पनि छन्।’

केही साताअघि सिफलको बीच सडकमा गाई सुतेपछि आधा घन्टा सडक अवरुद्ध भएको उनले सुनाए।

गौशालाका अशोक श्रेष्ठले मरेका छाडा पशुचौपायाको व्यवस्थापन नहुँदा दुर्गन्ध फैलने गरेको बताए। उनले भने, ‘सवारीसाधनको ठक्करबाट मरेका छाडा पशुचौपायको व्यवस्थापनमा महानगरले चासो दिएको देखिँदैन।’

छाडा पशुचौपायाको तत्काल व्यवस्थापन गर्नुपर्ने उनको माग छ।

महानगरपालिकाका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठले छाडा पशुचौपाया व्यवस्थापन गर्न नसकिएको स्वीकार्छन्। ‘कर्मचारी अभावले पशुचौपाया नियन्त्रण गर्न सकिएको छैन,’ उनले भने, ‘हामी व्यवस्थापनको लागि पहल गर्दैछौं।’

उनले पशुधनीलाई पशुचौपाया बाहिर नछाड्न सचेतना अपनाइने बताए।

जथाभावी पशुचौपाय छोड्ने व्यक्तिलाई कार्वाही गर्ने व्यवस्था छ। तर, पशुधनीको पहिचान हुन नसक्दा अहिलेसम्म कसैलाई पनि कारवाही गर्न नसकिएको उनले बताए।

सवारीसाधनका ठक्करबाट घाइते पशुचौपायाको औषधि उपचार गर्ने गरेको उनको भनाइ छ।

प्रकाशित: १४ मंसिर २०७५ ०३:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App