coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्य

इतिहासमा आधारित फिल्म बन्दै

लिच्छविकाल, मल्लकालमा तत्कालिन नेपाल मण्डलमा आइपरेका समस्याको समाधान तन्त्र विद्याबाट गरिन्थ्यो । तत्कालिन समयमा काठमाडौं, भक्तपुर, ललितपुर नगरमा तन्त्र विद्यामा सिद्धहस्त धेरै तन्त्र साधकहरू थिए । उनीहरूले आफ्नो देश हीतको लागि तन्त्र साधना गरी नेपाल मण्डलमा देवी देवताका बास बसाएको, देशमा सहकाल ल्याएको किंवदन्ती धेरै छन् । त्यही किंवदन्तीका आधारमा अहिले पनि काठमाडाैं उपत्यकामा विभिन्न जात्रा पर्वहरू चलिआइरहेका छन्।

यस्तै काठमाडौंका एक प्रख्यात, सिद्धहस्त तान्त्रिक थिए– जामनः गुभाजु । उनको अलौकिक र चामत्कारिक कला काठमाडौं उपत्यकामा अहिले पनि प्रख्यात छन् । यिनै तन्त्र साधक जामनः गुभाजुको जिवनीमा आधारित रहेको नेपाल भाषाको फिल्म ‘जामनः गुभाजु’ प्रदर्शनको तयारीमा छ।

ऐतिहासिक कथामा आधारित ‘जामनः गुभाजु’ जस्तै अहिले नेपाल भाषामा इतिहासमा आधारित फिल्म निर्माण गर्ने लहर चलिरहेको छ । नेपाल भाषामा वर्षमा १०–१२ वटा फिल्म बन्छन् । तर, नेपाल संवत् ११३९ को वर्ष प्रदर्शनको क्रममा रहेका फिल्ममध्ये चार–पाँच फिल्म त ऐतिहासिक कथावस्तुमै आधारित रहेको वरिष्ठ फिल्म पत्रकार विजयरत्न असंबरेले बताए।

‘ऐतिहासिक कथावस्तुमा आधारित ‘जामनः गुभाजु’, ‘च्वापुफय्’, ‘घोषक’, ‘लाखे भाजु’ आउँदै छ । त्यस्तै इन्द्रजात्राको लोकप्रिय पात्र लाखेमा आधारित ‘लाखे आजु’एनिमेटेड फिल्म बेलायतबाट बन्दैछ । यीमध्ये कुनै फिल्म प्रदर्शनको तयारीमा छ भने कुनै फिल्मको सुटिङ भइरहेको छ, कुनैको पोस्ट प्रोडक्सन काम भइरहेको छ,’ उनले भने।

नेपाल भाषाको पहिलो फिल्म ‘सिलु’ करिब ३५ वर्ष अगाडि बनेको थियो र पहिलो फिल्म नै ऐतिहासिक कथामा आधारित थियो । नेपाल भाषामा सिलु तीर्थ भनिने गोसाइँकुन्डमा पति–पत्नी एकैसाथ जानु हुँदैन भन्ने मान्यता थियो । यही मान्यताको प्रचलित लोकगीतको आधारमा ‘सिलु’ फिल्म निर्माण गरिएको थियो । यसपछि आएको ‘राजमति’ फिल्म पनि नेपाल भाषाको अति लोकप्रिय लोकगीत ‘राजमति कुमति...’ मा आधारित थियो।

नेपाल भाषा फिल्मको सुरुवात ऐतिहासिक कथावस्तुमा आधारित फिल्मबाट भए पनि पछि सामाजिक र हास्यव्यंग्यमा आधारित फिल्म नै धेरै बनेको पत्रकार असंबरे बताउँछन् । ‘बीचबीचमा चाण्डालिका, कृषा गौतमी, पताचारा, सेरिव बन्जा’ जस्ता बौद्ध जातक कथामा आधारित फिल्म पनि बने । ‘कीर्तिपुर ः द लेजेन्ड अफ कीर्तिलक्ष्मी’ जस्तो चर्चित इतिहासमा आधारित फिल्म पनि बने । तर, धेरैजसो हास्यव्यंग्य र सामाजिक कथावस्तुमै फिल्म बनिरहेकोमा, अहिले फेरि इतिहासमा आधारित फिल्म बन्न थालेको छ । दर्शकहरूले इतिहासमा आधारित फिल्म हेर्न रुचाएको र यस्तो फिल्ममा नेवार कला संस्कृति देखाउन पाउने, ऐतिहासिक तथ्य देखाउन पाउने भएकोले पनि निर्माता निर्देशकहरू अहिले इतिहासमा आधारित फिल्म बनाउन अघि सरेको होला,’ उनले भने।

प्रदर्शनको तयारीमा रहेको ‘जामनः गुभाजु’का निर्देशक तथा निर्मातामध्ये एक रवि साय्मि भन्छन्, ‘यो फिल्म कमाउन भन्दा पनि ऐतिहासिक तथ्य संरक्षण गर्न र तत्कालिन नेवार समाज, नेवार संस्कृति, देश हितका लागि योगदान गरेका व्यक्तिबारे प्रचार गर्न बनाएका हौं।’

उनका अनुसार ‘जामनः गुभाजु’ करिब चार सय वर्ष अगाडि प्रताप मल्ल पालाका तान्त्रिक थिए । उनले देशमा सहकाल ल्याउन राजा प्रताप मल्ललाई दीक्षा दिई काठमाडांैको ब्रह्मटोलस्थित ‘जप तुं’ (१२ वर्षे इनार) भित्र पठाइ स्वयम्भूको शान्तिपुरबाट निकालेको किंवदन्ती प्रख्यात रहेको छ । त्यस्तै हिन्दूस्तानबाट आएका चटकेले देशमा भ्रम छरिरहेकोले उनलाई आफ्नो तन्त्र विद्याबाट आछु आछु पारी लखेटेको कथा साथै जामनः गुभाजुको व्यक्तिगत जीवनी फिल्म समेटेको निर्देशक साय्मिले बताए।

दि वाइल्ड बुल्स प्रोडेक्सन र जेस्सी पेन्नी इन्टरटेन्मेन्टको संयुक्त लगानीमा बनेको यो फिल्ममा मात्रै ४० लाख भन्दा बढी खर्च लागेको उनले बताए । उनका अनुसार तिहारलगत्तै प्रदर्शन गर्ने तयारीमा रहेको यो फिल्ममा भिएफएक्स व कलर ग्रेडिङमै धेरे खर्च भइरहेको छ । ‘तत्कालिन समयलाई देखाउन भिएफएक्सको मद्दत लिएका छौं । ४० प्रतिशत त भिएफएक्स प्रविधिलाई प्रयोग गरेको छौं । खास त नेपाल भाषाको फिल्म कम बजेटको हुने कारणले कलर ग्रेडिङ हुँदैनथ्यो । तर, तत्कालिन समय देखाउन हामीले कलर ग्रेडिङमा पनि धेरै मेहनत र पैसा लगाएको छौं,’ उनले भने।

सामान्यतः नेपाल भाषाका फिल्म १०–१२ लाखको लगानीमा बन्दै आइरहेका थिए । अहिले इतिहासमा आधारित फिल्म बनाउँदै गर्दा लगानी पनि ह्वात्तैै बढेको छ । अहिले अन्तिम चरणमा सुटिङ भइरहेको ‘च्वापुफय्’ फिल्मको बजेट नै डेढ करोड रूपैयाँ पुग्ने फिल्म निर्माण कम्पनी महाजु फाउन्डेसनका अध्यक्ष ओमचरण अमात्यले बताए । फिल्मका परिकल्पनाकार तथा पटकथाकार पनि उनी नै हुन्।

फिल्म सुटिङको लागि सुटिङ युनिट चीनको ल्हासासम्म पुगेका छन् । नेपाल भाषाको धेरै चर्चित गीत ‘जि वया ला लछि मदुनि...’ मा आधारित रहेर परिकल्पनाकार अमात्यले फिल्मको पटकथा तयार पारेका हुन् । उनका अनुसार यो फिल्मबाट दर्शकले धेरै थाहा नपाएका ऐतिहासिक तथ्यहरू जानकारी पाउनेछन्।

‘ल्हासाको विश्व चर्चित पोटाला दरबार उपत्यकाबाट गएका नेवार बौद्ध भिक्षुहरूले डिजाइन गरेको हुन्, बनाउन पनि उपत्यकाका नेवारहरू नै गएर बनाएका हुन् । तर, यो कुरा कमैलाई मात्रा थाहा होला । त्यस्तै राणा प्रधानमन्त्री जंगबहादुर जुवामा हार्दा तत्कालिन समयमा काठमाडांैंका एक नेवार व्यापारीले उद्धार गरेका थिए । यो कुरा पनि कसैलाई थाहा छैन होला । यस्ता ऐतिहासिक तथ्यलाई बाहिर ल्याउन हामीले यो फिल्म बनाएका हौं,’ उनले भने।

‘च्वापुफय्’ फिल्म ‘हिमआँधी’को नामबाट नेपालीमा, ‘दि स्नोस्ट्रोम’ को नामबाट अंग्रेजी र चाइनिज भाषामा पनि रिलिज हुनेछ । परिकल्पनाकार अमात्यका अनुसार फिल्ममा भीमसेन थापाको पतन पछिको समय इस्वी संवत् १८३९–४० तिरको घटनाहरू समेटिएको छ । ‘त्यो बेला उपत्यकाका नेवार समुदायले देशलाई समृद्ध पार्न आर्थिक रूपमा पु-याइएको योगदान तथा उपत्यकाको कलाकौशललाई अन्तर्राष्ट्रिय रूपमा कसरी चिनाए भन्ने देखाउन खोजेका छौ । यो फिल्म बनाउनुको उद्देश्य पनि ऐतिहासिक तथ्यलाई प्रचार गर्नु नै हो । त्यसैले यसलाई हामीले चार भाषामा रिलिज गर्ने तयारी गर्दैछौं,’ उनले भने । ऐतिहासिक फिल्म ‘कीर्तिपुर द लिजेन्ड अफ किर्तिलक्ष्मी’ पनि निर्देशन गरेका प्रदीप खड्गीले नै यो फिल्मको पनि निर्देशन गर्दैछन्।

बौद्ध जातक कथामा आधारित फिल्म ‘घोषक’को अहिले सुटिङ सुरु भएको छ । यो फिल्मलाई रोशन बज्राचार्य र प्रेमा शाक्यले निर्माण गर्दैछन् र अमृत श्रेष्ठले निर्देशन गर्दैछन् । त्यस्तै चर्चित अभिनेत्री आशिष्मा नकर्मिले बनाइरहेको ‘लाखे भाजु’ इन्द्रजात्रामा निस्किने लाखेको प्रेमकथामा आधारित रहेको बताइएको छ।

धेरै लगानी गरेर फिल्म बनाउँदा पनि नेपाल भाषाका फिल्मलाई प्रदर्शनमा भने समस्या नै रहेको छ । भाषिक फिल्म भएकोले फिल्म वितरण नै प्रमुख समस्या भइरहेको छ । ‘अहिलेको अवस्थामा हलमा लगाउने त सम्भवै छैन भने पनि हुन्छ,’ जामनः गुभाजुका निर्माता तथा निर्देशक रवि साय्मिले भन्छन्, ‘नेपाल भाषाका फिल्महरू पहिलेदेखि नै च्यारिटी सोको रूपमै देखाउँदै आइरहेको छ । अहिले हामीले पनि यस्तै गर्नुपर्छ । यसको लागि नेपाल भाषाका विभिन्न संघसंस्थाहरूले सहयोग गर्दैछन्।’

‘च्वापुफय्’ निर्माण कम्पनी महाजु फाउन्डेसनका अध्यक्ष ओमचरण महाजु पनि फिल्म सार्वजनिक प्रदर्शनमा धेरै गाह्रो रहेको बताउँछन् । ‘यतिका लगानी गरेका छौं, ऐतिहासिक तथ्यहरू बाहिर ल्याउन प्रयत्न गर्दैछौं । तर, भाषिक फिल्म प्रदर्शनमा धेरै गाह्रो छ । सार्वजनिक रूपमा हलमा प्रदर्शन गर्न त एउटा लडाइँ नै लड्नुपर्ने अवस्था छ । हामीले यो फिल्म कसरी प्रदर्शन गर्ने भन्ने बारे योजना बनाउँदैछौं । विदेशमा पनि सो गर्नेछौं,’ उनले भने।

प्रकाशित: १२ कार्तिक २०७५ ०७:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App