१५ चैत्र २०८० बिहीबार
अन्य

नेपाली भाषामा मानसखण्ड

सबैभन्दा पुरानो ग्रन्थका रुपमा लिइन्छ वेदलाई । वेदभित्र पनि अधिकांश मन्त्रहरू कर्मकाण्डीय मानिन्छन् । केही मन्त्रहरू उपासनापरक मनिन्छन् भने जम्मा चारहजार मन्त्रहरू मात्र ज्ञानपरक मनिएका छन् । भनिन्छ सुरुमा एउटै ग्रन्थका रुपमा तयार पारिएको वेदलाई सत्यवतीसुत बादरायण व्यासले चार भागमा विभाजन गरेर बने चारवटा वेद : ऋग्वेद, यजुर्वेद, सामवेद र अर्थवेद । चारवटै वेदका सबै मन्त्रहरू क्लिष्ट, दुरुह र सबैका लागि बोधगम्य हुन नसक्दा वेदको अर्थ प्रकाश पार्नकै लागि अठार पुराणहरू बनाइएको धारणा व्यक्त गर्दछन् रामचन्द्र शर्मा पौडेल रम्घाली । वेद पछि कुनै ग्रन्थ देखापरेका थिए भने ती पुराण नै हुन । प्राचीन कालदेखि नै पुराणहरूको संख्या अठार मानिएको छ । संस्कृतमा एउटा श्लोक नै बनाइएको छ :
‘म’ द्वयं ‘भ’ द्वयं चैव ‘ब्र’ त्रयं ‘व’ चतुष्टयम्
अनापल्लि∙कूस्कानि पुराणानि पृथक् पृथक्

दुई पुराण म बाट सुरु हुन्छन् –मत्स्य र मार्कण्डेय । दुई भ बाट भागवत र भविष्य । तीन वटा पुराण ब्र बाट सुरु हुन्छन–ब्रह्म, ब्रह्मवैवर्त र ब्रह्माण्ड । चारवटा पुराण व बाट सुरु हुन्छन्–वामन, विष्णु, वायु, वराहा । अ बाट आरम्भ हुने अग्नी, ना बाट नारद, प बाट पद्म, लिङ् बाट लि, ग बाट गरुड कू बाट कूर्म र स्क बाट स्कन्द पुराण।

आयुर्वेद विज्ञान र इतिहासका क्षेत्रमा होस या धार्मिक पर्यटनका क्षेत्रहरूको चिनारी गराउने क्रममा नै किन नहोस् यो पुस्तक निकै उपयोगी र ज्ञानवर्धक छ । सांस्कृतिक धार्मिक र प्राग एतिहासिक अन्वेषकका लागि समेत तथ्यपरक सूचनाको आधार बनेको छ मानस खण्ड।  

पुराणको अर्थ हुन्छ –आख्यान अर्थात पुराना कथा । यो पुरानों कथा प्राचीन कालबाटै सुरु भएको देखिन्छ । उपनिषद र बौद्ध एवं जैन ग्रन्थमा समेत पुराणको उल्लेख भएको पाइन्छ । हिन्दू धर्ममा असंख्य देवताहरूमध्ये पुराणमा ब्रह्मा,विष्णु र शिवलाई महत्व दिइएको छ । यिनै त्रिदेव मध्ये पनि विष्णु र शिवलाई बढी प्रधानता दिइएको पाइन्छ । गौतम धर्मसुत्र, आपस्तवीय धर्मसुत्र जस्ता प्राचीन ग्रन्थमा समेत पुराणको उल्लेख भएको विज्ञहरूले बताएका छन् । जुन इसा भन्दा ५०० वर्ष पुराना मानिन्छन् । सबैभन्दा जेठो अर्थात पहिलो पुराणका रुपमा ब्रह्म पुराणलाई मानिन्छ । जुन लोमहर्षण सूतले नैमिषारण्यमा ऋषिहरूलाई बताएका थिए भन्ने भनाइ छ।

दोस्रो पुराण हो पद्म । जो एक बृहत ग्रन्थ हो । जुन छ खण्डमा बिभाजित छ– आदि, भूमि, ब्रह्म, पाताल, सृष्टि र उत्तर । तेस्रो पुराणका रुपमा लिइन्छ विष्णु पुराणलाई । यसैगरी पछिल्लो समयमा नेपाल, भारतमा निकै नै प्रसिद्धि पाएको पुराण हो भागवत । जसलाई कैयौं विद्वान्हरूले हिन्दी र नेपालीमा समेत अनुवाद गरी प्रकाशित गरेका छन् । पुराणहरूमा अधिक साहित्यिक मानिने पुराण पनि भागवत नै हो । सबै पुराणहरूको रचना एउटै समयमा नभएर बिभिन्न कालखण्डमा गरिएको अनुमान छ । सुरुमा ठूलो आकारको एउटै पुराण रहेको र द्वापर युगमा वेदब्यासले त्यसैलाई अठार भागमा बिभाजन गरेको भनाइ पनि सुन्न र पढ्नमा आउँछ । जे होस एउटा कुरा निश्चित नै छ कि सुरुमा मौखिक रुपमा एक पिढीबाट अर्कोमा सर्दै आएका पुराणका ती मन्त्रहरू सुन्दै र सुनाउँदै जाने क्रममा समय समयमा आवश्यक र अपेक्षित प्रश्नहरू थपिदै गए । पछिल्ला दिनमा यस्ता कयौ प्रश्न उत्तर समेत पुराणमा समावेश हुँदै गए । यसरी थपघट हुने क्रममा केही अब्यवहारिक कुराहरू समेत समावेश गरिए।

वर्तमानमा पुराणहरू जुन रुपमा देखापरेका छन् ती यथार्थ रुपका नहुन सक्छन् । पुराणहरू प्राचीन मौलिक रुपका आधारमा बनेका हुन । जसमा मूख्यतया तीर्थस्थल, सृष्टि, प्रलय देवता र राक्षसका कर्म तथा प्राचीन राजवंशको इतिहास समेटिएको छ।

पछिल्ला पुराणहरूमा धेरै जसा कुराहरू धार्मिक कट्टरतामा आधारित र अतिशयोक्तिपूर्ण छन् । पूजा विधि, मन्त्र, होम, स्नान, ध्यान आदि पक्षलाई बढी जोड दिइएको पाइन्छ । मूर्तिपुजा, सर्वेस्वरवाद, मिथ्या विश्वास, उत्सव जस्ता विषयहरू बढी हावी देखिन्छन् । सत्रौ पुराणका रुपामा मानिने गरुड पुराणमा उल्लेख गरिएका स्वर्ग, नर्क, भूत, प्रेत लगायत पक्षमा जोड दिएको अन्धविश्वासमा आधारित छ । केही पुराणलाई ब्याख्या गर्ने विद्वानहरूले पनि बैज्ञानिक ब्याख्यामा जोड दिएको पाइदैन।

अग्नी पुराणमा अवतारको वर्णनदेखि भूगोल, गणित, ज्योतिष, विवाह र मृत्यु संस्कार, राजनीति, युध्द, औषधी, छन्दशास्त्र, काव्य, व्याकरण जस्ता विषयबस्तुको वर्णन गरिएको छ । त्यस्तै बंशका पाटाहरू पनि केलाउन सकिन्छ पुराणहरूभित्र । जस्तै विष्णु पुराणमा मौर्यवंश, मत्स्य पुराणमा आन्ध्रवंश,वायु पुराणमा गुप्तवंशका बारेमा वर्णन पाइन्छ।  

रचनाक्रमका अनुसार तेह्रौ नम्बरमा पर्ने पुराणका रुपमा लिइन्छ स्कन्द पुराणलाई । यी अठार वटै पुराण मध्ये स्कन्द पुराणलाई सबैभन्दा ठूलो पुराणका रुपमा लिइन्छ । जसभित्र ८१ हजार १०० श्लोक छन् । जसमा शिवका पुत्र स्कन्द तथा शंकरको वर्णन गरिनुका साथै ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलको चिनारी र वर्णन पाइन्छ।

०७३ सालमा सिभिल इन्जिनियरिङ तृतीय वर्षमा अध्ययनरत नाती श्रेयांशप्रसाद खत्रीले फूल्चोकीमा हिउँमा चिप्लेर धर्तीबाट बिदा लिएपछि मर्माहत बनेका विद्वान् लेखक तथा पूर्व सचिव विष्णुप्रसाद खत्रीले श्रेयांशको सम्झनामा केही गर्ने सोच बनाए । श्रेयांशले बझाङमा पुस्तकालय खोल्ने योजना रहेको उनका साथीबाट थाहा भएपछि दिवंगत आत्माको शान्तिका लागि मानसखण्डको नेपाली अनुवाद प्रकाशित गर्ने र पुस्तक बिक्रिबाट आएको रकमले बझाङमा पुस्तकालय खोल्ने योजना मुताविकै यो पुस्तक प्रकाशित भएको भनिएको छ । बझाङका कालु ज्योतिषद्वारा शाके संवत १७६३ मा बाँसको कलमले लेखिएको स्वहस्तलिखित प्राप्त ग्रन्थ र आचार्य गोपालदत्त पाण्डेद्वारा हिन्दी भाषामा प्रकाशित मानस खण्डलाई आधार मानी रामचन्द्रशर्मा पौडेल रम्घालीले ९० अध्याय  र लक्ष्मीकान्त जोशी रेग्मीले ८९ अध्यायको नेपाली भाषानुवाद गरेको  विष्णुबहादुर खत्रीको भनाइबाट बुझ्न सकिन्छ । मानस खण्डको महत्व बुझेरै धार्मिक र सांस्कृतिक अध्येयताका रुपमा चिनिएका खत्री तानिएका होलान् उक्त पुस्तक प्रकाशित गर्न । यस पुस्तकभित्र यज्ञराज पनेरुद्वारा अनुवाद गरिएको श्री शैलेश्वरीमहात्म्यका पाँच अध्याय समेत समावेश छन्।

स्कन्द पुराण अन्तर्गत पाँच खण्डहरू रहेको ब्यहोरा विद्वान्हरूको भनाइबाट थाहा पाउन सकिन्छ । जसमा हिम्वत खण्ड, मानस खण्ड, केदार खण्ड, जालन्धर खण्ड, काशी खण्ड छन् । हिम्वत खण्डमा नेपालको पौराणिक भूगोलका बारेमा वर्णन गरिएको छ भने केदारखण्डमा केदार र बद्री क्षेत्रको भौगोलिक एवं सांस्कृतिक वर्णन छ । गोपालदत्त पाण्डेका अनुसार जालान्दर खण्ड आजसम्म पनि पाइएको छैन । पाण्डेका अनुसार काशी खण्ड पनि स्कन्द पुराण अन्तर्गत देखिएको छैन तैपनि नीलमत पुराण नामक ग्रन्थमा त्यो काशी अर्थात कश्मीर खण्डको वर्णन छ।

मानस खण्डको एक्काइसौ अध्यायमा भनिएको छ :
नन्दपर्वतमारभ्य यावत् काकगिरिः स्मृतः ।
तावद् वै मानसः खण्डःख्यायते नृपसत्तम ।।

नन्द पर्वतबाट आरम्भ भएर काकगिरिसम्मको भूभाग मानस खण्डकै सीमा क्षेत्र रहेको कुरा प्रष्ट पारिएको छ । काकगिरि पर्वत पश्चिम नेपालमै पर्दछ । यहाँ मानसरोवरलाई मानस क्षेत्र भनिएको हो भन्ने तर्क छ विद्वानहरूको । पूर्व दिशामा गण्डकी पर्यन्तको वर्णन गरिएको छ भने दक्षिण दिशामा उपत्यकास्थित मध्य भागलाई सीमा मानिएको छ । उत्तरमा कैलाश मानसरोवरको बिस्तृत भूभागको वर्णनका साथै त्यहाँ पुग्ने बाटाहरूको बारेमा समेत बर्णन छ । जस्तैः तारक पर्वत हुँदै गौरी पर्वतबाट तल झरेर मानसरोवरमा नुहाउने र फर्किदा राक्षस ताल हुँदै खेचर तीर्थ अर्थात खप्तड क्षेत्र हुँदै अछामको वैद्यनाथ, दुल्लु, बर्दीया, भारतको लखनउ र अयोध्या यात्राको वर्णन छ।

बिभिन्न पाहाडहरू, नदीहरू, ताल तलाउहरू, वन, तीर्थस्थान, मन्दिर जडिबुटी, खनिजपदार्थ, चराचुरुगी, पशु, गुफा, ऋषिका कुटी, विशेषखालका बस्ती, हिमालयका स्वरुपहरूको बारेमा समेत उल्लेख छ ।  सुरुदेखि नै मानस खण्डको प्रसिध्दि रहेको मानिए तापनि प्रचारप्रसार र छपाउने कार्य भएको थिएन । हस्तलिखितप्रति बस्तीहरूमा, पवित्रस्थलहरूमा र राजकीय संग्रहालयमा सुरक्षित थिए । १३÷१४ सय वर्ष पुरानो मानिने प्राचीन लेखन (मानस खण्डको) नेपालकै राष्ट्रिय पुस्तकालयमा रहेको शिवराज श्रेष्ठ मल्लले आफ्नो भनाइ राख्ने क्रममा ब्यक्त गरेका छन् । बिसं ०४६ सालमा भारतमा पहिलोपटक आचार्य गोपालदत्त पाण्डेको सम्पादनमा मानस खण्ड प्रकाशित थियो । नेपाली भाषामा अनुवाद गरी (२०७५) प्रकाशनमा ल्याइएको यो पहिलो कृति मानिएको छ।

हिमालयको गौरवमय आख्यान बोकेको मानसखण्डभित्र भारतको कुमाऊँ क्षेत्रदेखि मध्य तथा सुदूरपश्चिमका कयौं प्राकृतिक र सांस्कृतिक सम्पदाहरूका बारेमा प्रष्ट्याइएको छ । आयुर्वेद विज्ञान र इतिहासका क्षेत्रमा होस या धार्मिक पर्यटनका क्षेत्रहरूको चिनारी गराउने क्रममा नै किन नहोस् यो पुस्तक निकै उपयोगी र ज्ञानवर्धक छ । सांस्कृतिक धार्मिक र प्रागैतिहासिक अन्वेषकका लागि समेत तथ्यपरक सूचनाको आधार बनेको छ मानस खण्ड।

प्रकाशित: १० कार्तिक २०७५ ०३:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App