१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

सिंहदरबारको कैलाशमा बिताएका दिनहरू

२०३५ असारको पहिलो साताको कुनै दिन । एक जना गाउँकै साथी र म केही दिनपहिले मात्र गाउँबाट सहर आएका थियौँ । हामी पाटन मंगलबजारमा बसेका थियौँ । त्यो दिन पहिलोपटक हामी काठमाडौं घुम्न निस्केका थियौं।

पाटनमा केही दिन बस्दा हामीले मंगलबजार– पाटनढोका, लगनखेल–जावलाखेल चहारेर त्यस क्षेत्रको चहलपहल र त्यहाँका ऐतिहासिक स्थलहरूबारे सामान्य जानकारी लियौं । त्यसरी शहरिया जीवनबारे केही बुझिसकेपछि हाम्रो सल्लाह ‘काठमाडौँ’ घुम्न जाने भन्ने भयो । त्यस क्रममा हामी काठमाडौँतिर रवाना भएका थियौँ । काठमाडाैंलाई केही दिन पहिले एअरपोर्टबाट मंगलबजार जाँदा बाटो परेकाले टेकिएको मात्र थियो । खास काठमाडाैं टेक्न भने थापाथलीको पुल तरेपछि शुरु भएको थियो । त्यस्बेलाका हिसाबले सडकमा बाक्लै गाडीहरू भए पनि घुइँचो थिएन । जता हेरे पनि नौलो, रमाइलो मात्र थियो।

हामी सडक पेटीपेटी भएर सिंहदरबारको पश्चिमी मूलढोका अगाडि आइपुग्याैं । जे देखिन्थ्यो त्यसले कौतुहल जन्माउँथ्यो, जता फक्र्यो त्यतै रमाइलो लाग्थ्यो । अक्सर अज्ञानता वा अनभिज्ञताले नवागन्तुकलाई रमाइलो अनुभव गराउने रहेछ । हामी काठमाडौँको रमाइलोमा भर्खर प्रवेश गर्दै थियौँ । मंगल बजारबाट पैदलयात्रा थालेका हामी बाग्मती तरेपछि थापाथलीदेखि सिंहदरबारसम्मको अनुभव गर्दै हामी यस्बेला सिंहदरबार गेट अघिल्तिर आइपुगेका थियौँ।

अनुभव प्रािप्तको आरम्भ मात्र भएको थियो । बिहान नौ बजेतिर त्यहाँ आइपुग्दा गेट खुलेकै थिएन, त्यति चहलपहल पनि थिएन । शनिबार थियो क्यार त्यो बार ! भित्र पसेर घुम्न पाइन्छ कि भनेर सोध्दा गार्डले पाइँदैन भन्यो । उस्ले गेटैनेर उभिएर भित्रतिर हेर्न भने अवरोध गरेन । हामीले गेटका सेता डण्डीमा समातेर चेपबाट परको सिंहदरबार अघाउञ्जेल हेर्याैं । त्यत्रो दरबार कहाँ देख्नुथियो र अन्ततिर ! पहिलो पटक त्यसदिन देख्दा आङ जिरिङ्ग भएथ्यो।

पालेले ‘अब जाओ’ भन्छ कि भन्ने डर थियो, उस्ले निकैबेरसम्म पनि केही भनेन । सामान्य ज्ञानका किताबमा पढेको एक–दुई टुक्रे जानकारीबाहेक सिंहदरबार बारे अरु खास जानकारी थिएन । भित्र पसेर त्यस भव्य दरबारलाई छुने रहर थियो त्यसबेला, त्यो पूरा हुन सकेन । गेटबाट आँखाले हेरेर मात्र चित्त बुझाएर फर्केथेँ म । कल्पनै थिएन त्यसबेला, सिंहदरबारमै जागिर खान पुगिन्छ भन्ने । प्राविको जागिर छोडेर क्याम्पस पढ्न हिँडेको म, क्याम्पस पढिसकेर क्याम्पसमै जागिर खाने भन्नेसम्म थियो।

आफूले खाने जागिर स्थल सिंहदरबार बाहिरै हुन सक्थे, सिंहदरबारमा जागिर खाएर दैनिक आउजाउ गर्ने ठाउँ त्यो होला भन्ने सपनै थिएन । तर संयोगले, तक्दिरले, नियतिले, मौकाले जे भने पनि अन्ततोगत्वाः मेरो जागिर खाने ठाउँ सिंहदरबारै भयो, त्यस्लाई पहिलो पटक देखेको ठिक १० वर्षपछि । २०४५ साउनदेखि म जागिर खान सिंहदरबार छिरेँ । समयले मलाई झण्डै ३० वर्ष सिंहदरबारको जागिरे बनायो, मेरो कार्यालय रह्यो, नेपाल टेलिभिजन। 

नेपाल टेलिभिजनको इतिहासका प्राथमिककालीन स्वर्णीम दिनहरू सिंहदरबारको कैलाशस्थित कार्यालयका उपज हुन् । त्यस कालखण्डको एकजना प्रत्यक्ष साक्षी हुन पाएकोमा मलाई पनि गर्व लाग्नु स्वभाविकै हो। 

कहिले योजनाले पनि काम गर्दैन, कहिले बिना योजना पनि राम्रै परिणाम हात लाग्छ । सञ्चार क्षेत्रमा लाग्ने कुनै योजना थिएन मेरो । तर, जीवनका सर्वाधिक सक्रिय दिनहरू टेलिभिजनकर्मी भएरै बिते । नेपाल टेलिभिजनमा कार्यक्रम निर्माताको रूपमा जागिर खान मूलगेटबाट भित्रिएको दिन १० वर्षपहिले गेटको फलामे डण्डी समातेर भित्रपट्टिको आलिशान दरबारको कौशीतिर अपलक आँखा लाएको क्षण सम्झेँथे । तर, अब त्यसरी गेटबाट चियाउनु पर्दैनथ्यो । पहिलोपटक पर गेटबाट देखिएको सिंहले झण्डा समातेको दरबारको कैलाश मेरो कर्मस्थल बन्यो, झण्डै चार वर्षसम्म । त्यसपछि परिसरको पूर्वपट्टि नयाँ भवन बनिएपछि नेपाल टेलिभिजन त्यतै सर्याे । सँगसँगै म पनि सर्ने नै भएँ।

सिंहदरबार मूल भवनमा नेपाल टेलिभिजन भएका बेलाका स्मृतिहरू ताजै छन् । एमए (मानवशास्त्र) को औपचारिक पढाई सकिएपछि जागिर खान विभिन्न विकल्पहरू खोज्दै थिएँ । लोकसेवा आयोगमा भिड्नुपर्ला, संस्थानहरूतिर पनि कोशिस गरौँला । नभए त्रिविमै प्राध्यापनतर्फ त कसो नजुर्ला त जागिर, यस्तै थियो सोचाई । तर, भयो अर्कै । धेरैतिर चहार्नै परेन । कीर्तिपुरमा पढ्दै गर्दा एक÷दुई ठाउँमा दिइएका परीक्षामा पास पनि भएको थिएँ । संस्थानतिर, अन्तर्वार्ताहरु रामै्र भएका थिए । तर, सोर्सफोर्स भन्ने केही नजानेको र नभएको छँदो तिनमा मेरो नाम जागिरका लागि छनोटमा परेन । पछि त अन्यत्र नाम ननिस्केको राम्रै भएछ भन्ने पनि लाग्यो।

नेपाल टेलिभिजमा निर्माताका रूपमा जागिर सुरु हुनुपूर्वका प्रक्रिया र तयारी पनि लम्बेतान थिए । आवेदन छनोट, स्क्रिन टेस्ट, भ्वाइस टेस्ट, सैद्धान्तिक र व्यवहारिक तालिम हुँदै डमी कार्यक्रम निर्माण गरेर देखाएपछि बल्ल करारमा नियुक्त हुने अवसर मिलेको थियो । करार र अस्थायीमा एक वर्षजति काम गरेपछि स्थायी भएथँे । एकजना अमेरिकन प्रशिक्षक थिए हामीलाई तालिम दिने— केसिसोग्लु। 

नेपाल टेलिभिजमा काम र नाम दुवै थियो । तलब सामान्य सरकारी स्केल, ठिकै थियो । कार्यक्रम निर्माता मेरो पदको नाम थियो । सुरुमा बाल कार्यक्रम निर्माणमा लागेको मलाई केही महिनापछि नै स्थापित कार्यक्रम अभिव्यक्तिको जिम्मा दिइयो । केही समय ‘८ बजे’ पनि सँगसँगै र विशेष वृत्तचित्रहरूको निर्माणमा खटाइएँ । सिंहदरबारको कैलाश (कौशी) मेरो दिनहुँको गन्तव्य थियो, त्यहाँ पुगेपछि कार्यक्रम निर्माणका काममा व्यस्त हुनुपथ्र्यो । विषयवस्तुको चयन, अनुसन्धान–आलेख, छांयाकन–निर्देशन, सम्पादन, संगीत, ग्राफिक्स आदि सबै कामको अगुवाई र समन्वय गर्नुपर्दा फुर्सद भनेको एउटा कार्यक्रम सकिएपछिको केहीबेर मात्र हुन्थ्यो । फेरि अर्को कार्यक्रमको तयारी । खटाईको सीमा थिएन। 

नेपाल एकिकरणताकाको तोप हुनुपर्छ त्यो, गेटकै भित्रपट्टि छ, १० बज्नुभन्दा पहिले भित्र पसेपछि त्यस्लाई छोएर सिधा अगाडि ढुंगा छापेको साँघुरो बाटो हुँदै अफिसतिर वर्षौँ हिँडेको छु । सधैँ फुलिरहने फूलका थुँगालाई छोएर तिनको सुगन्ध अनुभव गर्दै त कहिले एक थुँगा टिपेर आैंलामा खेलाउँदै हिँडेको छु । कुनै बेला मालीहरू फूल गोडिरहेका हुन्थे, एकछिन उभिएर तिनले फूललाई जलधाराले सिञ्चन गरिरहेको हेरेको छु । फूलैफूलका बीचको बाटो भएर हिँड्न मनाही नै त थिएन । तर, प्रायः कर्मचारीहरूप्रतिको पिच सडक भएर बढी हिँड्थे । म प्रायः बीचकै शान्त बाटो भएर हिँड्थेँ । त्यहाँबाट हिँड्दा फूलको सुन्दरता र सुगन्ध दुवैसँग निकट भएर थोरैबेर भए पनि हिँड्न पाइन्थ्यो । छेउका पोखरीमा सिंहदरबारको प्रतिबिम्ब टल्पलाइरहेको दृश्य प्रायः देखिने हुँदा त्यो हेर्ने लालसा पनि ममा रहेको हुन्थ्यो । साँझपख फर्कँदा पनि म त्यहि वाटिका भएर गेटसम्म आउँथे । कार्यक्रम निर्माताको रूपमा म चिनिनँ थालेको थिएँ, त्यस्को प्रतिक्रिया सडकमा हिँड्दा, कतै जाँदा वा डेरा बसेका टोलका मानिसहरूले व्यक्त गर्थे । त्यसले कार्यक्रम निर्माण गर्ने क्रममा अल्छि लाग्नै दिँदैनथ्यो।

साप्ताहिक अभिव्यक्ति, दैनिक ८ बजे र बेलाबेलामा विशेष कार्यक्रमहरू बनाउँदा फुर्सद रत्तिभर हुँदैनथ्यो । फेरि कहिलेकाहिँ हाकिम नीर शाहले आफूले बनाएको कार्यक्रमको तारिफ गरिदिँदा त भुइँमा खुट्टै हुँदैनथ्यो । कार्यक्रम निर्मातालाई हाकिमको तारिफ नै पुरस्कारसरह हुन्छ । त्यसो त नीर शाहले मैले प्रस्तुत गरेका केही कार्यक्रमका लागि नगद पुरस्कारै पनि प्रदान गर्नुभएको थियो । नीर शाह आफै स्रष्टा पनि भएकाले मैले बनाउने अभिव्यक्ति कार्यक्रमप्रति उहाँको अभिरुचि थियो । उहाँकै निर्देशनमा मैले अभिव्यक्ति उत्पादन गर्न थालेको थिएँ। 

नेपाल टेलिभिजनमा बिताएका प्रारम्भिक चार वर्षहरू मेरो कार्यक्रम निर्माताको परिचयका लागि आधार वर्षका रूपमा रहे । मैले बाल कार्यक्रम, साहित्यिक कार्यक्रम, समसामयिक घटनाप्रधान प्रस्तुति, व्यक्तित्वमूलक वृत्तचित्र निर्माण आदिमा ती वर्षहरू व्यतित गरेँ । आलेख आफै लेख्ने हुँदा त्यसनिम्ति खोज, अनुसन्धान, विषयवस्तुको छनोट आदि लगायतका कामका लागि कार्यालय समय पर्याप्त हुने कुरै थिएन । राती डेरामा बिताएको समयबाहेक कार्यक्रमकै लागि सम्पूर्ण समय व्यतित हुन्थ्यो । प्रायः सबै कार्यक्रम निर्माताहरू अधिक व्यस्त रहन्थे । उत्कृष्ट कार्यक्रम बनाउने सबैको ध्येय रहन्थ्यो । नेपाल टेलिभिजनको कार्यक्रम निर्माता हुनुमा गर्वको भावना थियो । कर्मचारीहरूमा कार्यालयप्रतिको अनुशासन र जिम्मेवारी प्रतिको सजगता थियो। 

कार्यक्रम निर्माताहरूलाई बस्ने सामूहिक कोठा त थियो त सामूहिक बसाई भने प्रायः हुँदेनथ्यो, सबै आ–आफ्नै कार्यक्रमका लागि व्यस्त । व्यस्तताकै बीचमा हुने छोटो समयको फुर्सदमा एक्लै ठूलो कोठामा बस्ने कुरा हुँदैनथ्यो, अनि टहलियो सिंहको मूर्ति भए नेरको कैलाशमा । एउटै कार्यक्रम निर्माण समूहमा साथीहरू पनि प्रायः हुन्थे ।
बेलाबेलामा कैलाशमा टहलिनुमा क्या रमाइलो ! दैनिक ८ बजे शीर्षकको समसामयिक कार्यक्रम तयार भइसक्दा कहिले साँझको ७ः३० बजिसकेको हुन्थ्यो । कार्यक्रमको पूर्वावलोकन सकिएपछि बल्ल त्यस दिनको व्यस्तताबाट मुक्ति मिल्थ्यो। 

सिंहदरबारको कैलाश पश्चिम सुन्धारातिरको दृश्यावलोकनका लागि उपयुक्त थियो । विशेषगरी साँझपख, फुर्सदमा त्यहाँ निस्केर चराहरुको समयकालीन उडान हेर्दा बडो आनन्द लाग्थ्यो । परेवाहरूको त मूल वासस्थान नै सिंहदरबारका भित्ता र कौशीका कुना र चेप थिए । पश्चिम चन्द्रागिरी डाँडामा घाम पुगेका बेलाको प्रकाशमा तिनका पखेटा टल्केको दृश्य बडो सुन्दर हुन्थ्यो।

सिंहदरबारको कैलाश पश्चिम सुन्धारातिरको दृश्यावलोकनका लागि उपयुक्त थियो । विशेषगरी साँझपख, फुर्सदमा त्यहाँ निस्केर चराहरूको समयकालीन उडान हेर्दा बडो आनन्द लाग्थ्यो । परेवाहरूको त मूल वासस्थान नै सिंहदरबारका भित्ता र कौशीका कुना र चेप थिए । पश्चिम चन्द्रागिरी डाँडामा घाम पुगेका बेलाको प्रकाशमा तिनका पखेटा टल्केको दृश्य बडो सुन्दर हुन्थ्यो । तिनीहरूको व्यवस्थित वासस्थान थिएन।

कुनैबेला त कौशीका बाहिरी डिलमा वारपार बसेका ती सुधा पंक्षीहरूको लहर देखेर नजिकै पुगेका सबै रमाउँथ्यौँ । परेवा जति अनुशासित र शान्त पंक्षी शायद अर्को नभएर होला यसलाई शान्तिको प्रतिक मानिएको । मैले तिनको शान्तिप्रिय प्राकृतिकपनाको उत्कृष्ट उपस्थितिलाई कैलाशमा असंख्य पटक अनुभूत गरेको छु । यस्को विपरित कौवाका बथानको कोलाहलपूर्ण उडानले प्राकृतिक गतिमयतालाई अबेरसम्मै निरन्तरता दिइरहन्थ्यो । तिनीहरू आफ्नो दिनचर्याबाट फर्केर अगाडिपट्टिका कपुर र रुखकमलमा विश्राम लिन्थे । पंक्षीहरूको दैनिकीमा एकरुपता नै रहन्छ, सायद आजभोलि पनि तिनीहरूको दिनचर्या उस्तै होला।

कैलाशको छानामा कौवा, सारौँ र परेवाहरुका आगमन र प्रस्थानको क्रम नियमित थियो । हाम्रो त्यहाँ आउजाउ गर्ने क्रमलाई कामको व्यस्तताले प्रभाव पाथ्र्यो । भुइँदेखि कैलाशको भित्रि लङसम्मका ८७ खुड्किला दिनहुँ कैयौँ पटक उक्लने र ओर्लने क्रम २०४८ सालपछि बन्द भयो । नेपाल टेलिभिजन १०० मिटरजति पर सर्याे । नयाँ भवनबाट हामीहरू कार्यक्रम निर्माण गर्न थाल्यौँ । कैलाशको चहलपहल पनि क्रमशः अतित बन्दै गयो। 

कुनै पनि संस्थाको इतिहासभन्दा पहिले त्यसको जगमा कसै न कसैको सपनाको बिज लुकेको हुन्छ । त्यस सपनालाई आकार दिन फेरि पनि कसैको प्रतिभा, मिहिनेत र समर्पण चाहिन्छ । राजा वीरेन्द्रले २०३८ सालमा नेपाल टेलिभिजनको सपना देखेका थिए । त्यस सपनालाई आकार दिएर नेपालीका घरभित्र भित्र्याउने प्रतिभा नीर शाह हुन् । उहाँद्वारा संस्थापित नेपाल टेलिभिजको उध्र्वगामी यात्रा आलोकमय रहनुपर्छ । उमेरका अंकहरूले मात्रै संस्थाको गरिमालाई बिस्तार गर्दैनन्।

नेपाल टेलिभिजनको इतिहासका प्राथमिककालीन स्वर्णीम दिनहरू सिंहदरबारको कैलाशस्थित कार्यालयका उपज हुन् । त्यस कालखण्डको एकजना प्रत्यक्ष साक्षी हुन पाएकोमा मलाई पनि गर्व लाग्नु स्वभाविकै हो । कार्यक्रम निर्माताका रूपमा मेरो जागिर र चिनारीको प्रारम्भिक भौतिक आधारस्थल त्यहि कैलाश थियो, जस्लाई मैले मूलगेटको चेपबाट पहिलो पटक आँखाले मात्र स्पर्श गरेँथेँ, निकै परबाट। 

प्रकाशित: १३ आश्विन २०७५ ०७:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App