१६ चैत्र २०८० शुक्रबार
अन्य

फेसनेबल महिना साउन : हरियो, पहेलो र मेहन्दीको मौसम

साउनलाई फेसनको महिना भनेर भनिन्छ । अरू महिनाभन्दा साउन महिनामा महिलालाई फेसनले बढी नै छुने गर्छ । यस महिनामा महिलाहरुले हरियो पहेँलो रंगका चुरा, पोते, हातमा मेहन्दी लगाएर सजिएर हिँड्छन् । त्यति मात्रै हैन, साउनको प्रत्येक सोमबार व्रत बसेका महिलाको फेसनले त आँखा नै तिरमिराउँछ । उनीहरुले लगाएका हरिया, पहेँला रंगका बस्त्रहरुले साउन महिना पहिचान गर्न पनि मुस्किल पर्दैन । साउन लाग्न नपाउँदै उनीहरू रंगी बिरंगी हुनका लागि बजार तथा ग्रामीण क्षेत्रका चोकचोकमा रहेका कस्मेटिक पसल र शृंगार पसलमा भीड लाग्न थाल्छ । 

धादिङ घर भएकी बल्खुकी सुखकुमारी तामाङ अहिलेदेखि नै कस्मेटिक पसल चाहार्न थालिसकिन् । उनले भनिन्, ‘यस्ता सिजनेबल कुराहरु सिजन सुरु हुनुभन्दा अघि नै किनेको राम्रो, नत्र महँगो पर्छ ।’ उनी आफ्ना श्रीमानको आयु लम्बियोस् र स्वास्थ्य राम्रो होस् भन्नका लागि साउनमा हरियो चुरा, पहेँलो पोते र हातमा मेहन्दी लगाउँछिन् । यसैगरी उनी साउनको प्रत्येक सोमबार व्रत बस्ने सुरमा पनि छिन् । 

अझै हिजोआज त हत्केलामा लगाएको मेहन्दीको रंग गाढा बसेमा आफ्ना विवाहिता महिलाका श्रीमानले र अविवाहिता महिलाका हुनेवाला श्रीमानले औधि माया गर्छन् भन्ने पनि चलन रहेछ । हरियो चुरा र मेहन्दी किन्ने सुरमा रहेकी अनिमा बस्नेत आफू त्यही हुनेवाला श्रीमान्ले कति माया गर्ने रहेछन् भनेर जाँच गर्नकै लागि साउनमा मेहन्दी लगाउने बताउँछिन् । उनले भनिन् आखिर जिन्दगीको कुरो छ, यति त गर्नैप-यो नि । उनले भविष्यको कल्पना गर्दै भनिन्, ‘मेरो बिहेको दिन साथीसँगी सबै एकै ठाउँ भएका बेला हातमा फिक्का मेहन्दी बसे त के भनेर मुख देखाउनु होला ।’ 
मकवानपुर भई काठमाडांै चाबहिल बस्दै आएकी २० वर्षीया स्मृति गौतमको तर्कलाई मान्ने हो भने किशोरी र युवतीहरूका लागि साउनमा मेहेन्दी र हरियो चुरा लगाउनु सौन्दर्य प्रदर्शन पनि हो । प्लस टु सम्मको पढाइ सकेकी उनले आफूलाई राम्री हुने रहरले पनि साउनमा मेहेन्दी र हरियो चुरा लगाउने बताइन् । 

स्मृतिलाई उनका ब्वाइफ्रेन्डले अघिल्लो वर्ष नै एक दर्जन हरियो र एक दर्जन पहेँलो चुरा उपहार दिएका थिए । त्यो साल पनि लगाइयो, यो बर्ष पनि त्यसैले काम चलाइन्छ होला उनले हँसिलो अनुहार लगाउँदै भनिन् । मेहन्दी भने आफैंले किन्ने योजना बनाएको पनि उनको भनाइ छ । 

स्मृतिकै साथी प्रतिमा खतिवडाले पनि आफ्ना साथीसँगी बटुलेर घरमै मेहन्दी तथा चुरा लगाउने कार्यक्रम आयोजना गर्ने सुरमा छिन् । उनका अनुसार घरमै मेहन्दी किनेर लग्यो अनि युट्यूबमा हेरेर आफूलाई मनपर्ने डिजाइन आफैँ बनायो, पैसा पनि जोगिने, रमाइलो पनि हुने, उनले भनिन् । 

आखिर किन लगाउँछन् त महिलाले आफ्ना हातमा साउनमा हरियो चुरा अनि थरिथरि डिजाइनका मेहन्दीहरू ? यसबारे प्रस्ट पार्दै संस्कृतिविद् विणा पौडेलले भनिन्, ‘यो हाम्रो संस्कृति हो, साउनमा हामी जताततै हरियाली देख्न सक्छौं, खेतमा रोपिएका धानका बिरुवा हरियो फर्किएर खेत पूरै हरियै हुन्छ, वन जंगलमा पलाएका पालुवा बयस्क अवस्थामा पुग्छन् र जंगल हरियाली देखिन्छ । त्यसैले हामी हरियो लगाउँछौं । हरियो त लगाउने तर चुरा नै किन भन्ने प्रश्नमा उनले भनिन्, चुराको छिनछिन आवाजले हाम्रा नजिक भएका कीरा फट्याङ्ग्रा, सर्प लगायतका साना जीवहरु हामीदेखि टाढा भाग्छन् र हामीलाई हानि पु-याउँदैनन् । संस्कृतिविद् पौडेलले, पहेँलो रंगका बारेमा थपिन्, ‘साउन शिव भगवान्को मनपर्ने महिना हो, त्यसैले हामी यो महिना पहेलो लगाउँछौं । बोलबम पनि यसै महिनामा पर्छ । त्यो भएर पनि  मेहन्दी भने हाम्रा कुनै सांस्कृतिक कारणभन्दा पनि स्वास्थ्यका कारण लगाउन सुरु गरिएको पौडेलको भनाइ छ । उनले भनिन्, ‘यो महिना फोहोर पानीका कारण घाउ खटिरा नआओस् भन्नका लागि हामी मेहन्दी लगाउँथ्यौं, त्यो समयमा स्वास्थ्यलाई फाइदा हुने तिउरीको मेहन्दी पयोग गरिन्थ्यो तर अहिले समय परिवर्तन भएसँगै हामी रेडिमेड मेहन्दी लगाउँछौं । अहिले भने पहिलेको परम्परा धान्नका लागिभन्दा पनि फेसनका लागि मेहन्दी लगाइने चलन छ ।’

यता छाला रोग विशेषज्ञ डा. सबिना कर्ण भने अहिलेका मेहन्दीले एलर्जी भएर अस्पताल धाउनेको संख्या बढिरहेको बताउँछिन् । उनले भनिन्, ‘पहिले घाउ खटिरा नआओस् भनेर मेहन्दी लगाइन्थ्यो, अहिले मेहन्दी लगाएर उत्पन्न घाउ खटिरा लिएर महिलाहरु अस्पताल आउँछन् । केही वर्षभित्रमा उनले मेहन्दीले छाला बिगारेर आउने दर्जनभन्दा बढी महिलाको उपचार गरिसकेकी छिन् ।

मेहन्दी, चुरा र पोतेको कारोबार

कस्मेटिक पसल भएकाहरुका लागि यो महिना निकै राम्रो कारोबार हुने महिना पनि हो । कुलेश्वर कलेज चोकअगाडि कस्मेटिक पसल राखेकी केशरी पन्त साउन लागेपछि कस्मेटिक व्यापारको सिजन सुरु हुने बताउँछिन् । उनले भनिन्, ‘साउनपछि त तीज, दसैं, तिहारलगायत चाडपर्व सुरु हुन्छ, यी सबै चाडबाडमा महिलाहरु निकै कस्मेटिक सामान प्रयोग गर्छन् । 

कस्मेटिक पसलका व्यापारीलाई मात्रै हैन, साउन फुटपाथमा बसेर मेहन्दी लगाइदिने व्यापारीका लागि पनि फलिफाप हुने महिना हो । बाह्रै महिना न्यूरोडअवस्थित विशाल बजारअगाडि बस्ने फुटपाथ व्यापारी हरिस वर्सन्या वर्षभरिलाई पुग्ने कमाइ यही महिनामा गर्ने तयारीमा छन् । उनले भने, ‘म यही ठाउँमा मेहन्दी लगाउन सधैँ बसिरहेको हुन्छ । अन्य समयमा आकलझुकल मात्रै मेहन्दी लगाउन आउँछन्, साउन महिनामा भने म एक्लैले थेग्नै गाह्रो हुने भएर म मेरो आफन्तलाई पनि मेहन्दी लगाउन बोलाउँछु । 

वर्सन्यालाई ग्राहकहरु थरीथरीका डिजाइन देखाएर यस्तै लगाउने भन्दै आउँछन् । उनले भने, कहिलेकाहीँ त यति अप्ठ्यारो डिजाइन देखाउँछन् कि आँखै तिरमिराउँछ । तर आउनेजति सबैलाई खुसी बनाएर पठाउने गरेको उनले दाबी गरे । 

मेहन्दी डिजाइनर कुलदीपकुमार पनि साउन महिनाको स्वागतमा तयार छन् । उनले भने, ‘मेरा लागि त सधैँ सिजन नै छ तर साउन महिना अझ विशेष लाग्छ । उनी सौन्दर्यकर्मीलाई मेहन्दीका विभिन्न डिजाइन सिकाउँछन् ।’ त्यति मात्रै हैन, राम्रा–राम्रा डिजाइन कसरी क्रेट गर्न सकिन्छ भन्नेबारे उनी तालिम दिन्छन् । कुलदीपले भने, ‘मेहन्दीको सिजन साउनमा मात्रै हैन, विभिन्न चाडपर्वका बेला, बिहे वर्तबन्धको समयमा पनि हुन्छ तर महिलाहरु सबैले साउन महिनामा भने मेहन्दी लगाउनैपर्ने महसुस गर्छन् । त्यसैले हामी सबै सौन्दर्य व्यवसायीहरुलाई यो विशेष महिना हो ।’ 

नेपालमा मेहन्दी लगाउने चलन नयाँ होइन । पहिले–पहिले नेपाली महिलाहरू तिउरीको पात पिसेर मेहन्दी लगाउँथे । त्यसरी तिउरीको पात प्रयोग गर्दा अहिलेको जस्तो विभिन्न डिजाइन दिने चलन भने कमै थियो । यतिबेला अधिकांश महिलाले हरियो पहिरन तथा हरियै चुरा, रातो पोतेसहित हत्केलाभरि मेहन्दी सजाउँछन् । किशोरी र वयस्क महिलाका हातमा मात्र होइन, स–साना बालिकासमेत हातमा मेहन्दी लगाएर रमाउँछन् यो महिना । व्यस्त तथा व्यावसायिक केन्द्र न्यूरोड, रत्नपार्क, असनलगायत उपत्यकाका विभिन्न सडक तथा गल्लीमा मेहन्दी लगाइदिने डिजाइनर महिलाका हत्केलामा मेहन्दीको धर्सा कोर्न व्यस्त हुने गर्छन् ।

धेरैलाई मेहन्दी किन लगाइन्छ भन्ने कुराको खास अर्थ थाहा छैन, तैपनि हरेक युवती तथा महिलाका लागि मेहन्दी आफ्नो शृंगारलाई पूर्णता दिने माध्यम भएको छ । मेहन्दीका बारेमा शास्त्रीय मान्यता खासै केही नभए पनि यसले अहिले व्यापक सामाजिक मान्यता पाएको छ । चुरा र पोतेले हाम्रो संस्कृति झल्काउँछ तर मेहन्दी हाम्रो संस्कृति हैन । फेसनका रुपमा मेहन्दी लगाउने चलन बढिरहेको छ । यही परम्परा ह्वात्तै बढेकाले मेहन्दी कम गुणस्तरका आउन थालेका छन् । यसले हाम्रो छालामा हानि पु-याउन सक्छ, यसतर्फ पनि सबै महिला दिदीबहिनी सचेत होऔं है । 

प्रकाशित: १ भाद्र २०७५ १२:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App