धनुषा, प्युठान र कपिलवस्तुका विभिन्न स्थानमा पोखरी तथा खोलामा डुबेर चार जना बालबालिकाको मृत्यु भएको छ।
शनिबार र आइतबार भएका छुट्टाछुट्टै घटनामा ११ वर्षीया बालिकादेखि २ वर्षीय बालकसम्मले ज्यान गुमाएका हुन्।
धनुषाको धनुषाधाम नगरपालिका–७ किसानपुरस्थित पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ। मिथिला बिहारी नगरपालिका–८ कचुरी बस्ने शम्भु मलिककी ११ वर्षीया छोरी मधु मलिकको शनिबार बेलुकी उपचारका क्रममा ज्यान गएको हो।
पोखरीमा डुबेर अशक्त भएकी उनलाई तत्काल प्रादेशिक अस्पताल जनकपुर पुर्याइएको भए पनि उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए।
धनुषाकै कमला नगरपालिका–५ मा पनि शनिबार दिउँसो अर्का एक बालकको पोखरीमा डुबेर मृत्यु भएको छ। स्थानीय गोईत टोल बस्ने राम नारायण यादवका ४ वर्षीय छोरा रोहन यादवको आफ्नै गाउँको पोखरीमा डुबेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
यसैगरी, प्युठान नगरपालिका–१ खैरास्थित झिमरूक खोलामा पौडी खेल्ने क्रममा एक किशोरको ज्यान गएको छ
स्थानीय श्रीधर आचार्यका १४ वर्षीय छोरा नोबेल आचार्यको शनिबार दिउँसो खोलामा डुबेर मृत्यु भएको हो। पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार लगिएकोमा सोही क्रममा उनको मृत्यु भएको थियो।
कपिलवस्तुको बुद्धभूमी नगरपालिका–७ प्युसनगरमा पनि आइतबार बिहान एक बालकको डुबेर मृत्यु भएको छ। स्थानीय राम बचन लोनियाका २ वर्षीय छोरा पवन लोनियाको घर नजिकैको पोखरीमा डुबेर घटनास्थलमै मृत्यु भएको हो।
प्रहरीले यी सबै घटनाका सम्बन्धमा आवश्यक कानुनी प्रक्रिया पुरा गरी थप अनुसन्धान भइरहेको जनाएको छ। गर्मी बढेसँगै पौडी खेल्ने र जथाभावी जलाशयमा जाँदा हुने यस्ता जोखिमप्रति सचेत रहन प्रहरीले आग्रह गरेको छ।
प्रकाशित: ३ जेष्ठ २०८३ १९:१४ आइतबार





