बृहत्तर एकता र भावी कार्यदिशाका १० सुत्र सार्वजनिक गर्दै नेपाली कांग्रेसले कर्णाली प्रदेशस्तरीय दुई दिने भेला सम्पन्न गरेको छ।
निर्वतमान कार्यवहाक सभापति पूर्णबहादुर खड्काको प्रमुख आतिथ्यतामा भएको विचार गोष्ठीले नेपाली कांग्रेसको १५ औं महाधिवेशनलाई एकताको महाधिवेशनको रुपमा सम्पन्न गर्न नेतृत्वलाई आव्हान गरेको छ।
‘सभापति गगनकुमार थापाले पार्टीका शीर्ष नेता, वर्तमान तथा पूर्व पदाधिकारीसँग सघन संवाद गरी समयमै पार्टीको १५ औं महाधिवेशनलाई विश्वसनीय, निष्पक्ष र सम्पूर्ण कांग्रेसजनको सहभागीताको वातावरण सुनिश्चित गर्न नेतृत्वदायी पहल कदमी तत्काल प्रारम्भ गर्न हामी अनुरोध र आह्वान गर्दछौँ,’ विचार गोष्ठीपछि जारी बृहत्तर एकता र भावी कार्यदिशाका लागि दश शुत्रमा भनिएको छ, ‘यसका लागि १५ औं महाधिवेशनको सन्दर्भमा विगतमा नवीकरण गरेका र नयाँ कृयाशील सदस्यता लिइसकका सबैले अधिवेशनमा सहभागी हुने व्यवस्था सुनिश्चित गर्न अपरिहार्य छ।’
भेलाले कर्णालीको भौगोलिक बिषमता, शैक्षिक तथा सामाजिक अवस्था, सूचना प्रविधिमा पहुँचको अभाव जस्ता पक्षलाई समेत मध्यनजर गर्दै हाल पुनः नवीकरण गर्ने गरी सुरु गरिएको अद्यावधिक गर्ने कार्य स्थगित गरी तत्काल बृहत्तर एकता र सहमतिका आधारमा १५ औं अधिवेशनका सबै प्रकृया अघि बढाउने वातावरण निर्माण गर्न माग गरिएको छ।
भेलाले केन्द्रीय अनुशासन समितिमार्फत देशभरका जिम्मेवार नेता तथा कार्यकर्तामाथि गरिएका कारवाही तथा मागिएका स्पष्टिकरण फिर्ता लिई बृहत् एकताको वातावरण बनाउन पनि माग गरेको छ।
यस्तै, समावेशीताको सिद्धान्त अनुरुप ‘कदमजम’ लाई पूर्ण कार्यान्वयन गर्दै, चेतना र वैश्विक प्रविधिको विकाससँगै पार्टीको सबै तहमा न्यूनतम् २५ प्रतिशत युवाहरुको प्रतिनिधित्व सुनिश्चित गर्न माग गरिएको छ।
यस्तै, भेलाले प्रवासी नेपालीहरुलाई राष्ट्रसँग जोडिएका नागरिकका रुपमा सम्मान र विकासमा सहभागिता एवं सहकार्यको वातावरण निर्माणमा सिर्जनशील र प्रेमील सोच बनाउन आग्रह गरिएको छ।
भेलाले नेपालको सार्वभौमसत्ता र स्वतन्त्रताको रक्षाप्रति प्रतिवद्धतासहित भू-राजनीतिक संवेदनशीलता बुझ्ने परिपक्व र साझा दृष्टिकोण अपनाउन अनुरोध गरेको छ।
‘आफ्नो राष्ट्र पहिलो भन्ने भावनाको प्रधानता हुनुपर्दछ,’ १० बँदामा भनिएको छ, ‘लोकतान्त्रिक व्यवस्था र सङ्घीय शासन प्रणालीको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनका लागि नेपाली कांग्रेसको नेतृत्वमा लोकतान्त्रिक शक्तिहरुबिचको साझा संयन्त्र निर्माण गरी तत्काल प्रभावकारी पहल सुरु गरिनु पर्दछ।’
भेलाले सरकारको नीति तथा कार्यक्रम बाचन गर्दा प्रधानमन्त्री बालेन्द्र शाहले देखाएको अस्वाभाविक, असंसदीय, अशोभनीय र अमर्यादित व्यवहारप्रति खेद प्रकट गरेको छ।
‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम संसदसमक्ष वाचन गरिरहँदा सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहले देखाउनु भएको अस्वाभाविक, असंसदीय, अशोभनीय र अमर्यादित व्यवहारले सम्माननीय राष्ट्रपतिज्यूको मात्र होइन सिंगो जननिर्वाचित संसदको उपहास र अपमान भएको छ,’ दश शुत्रमा भनिएको छ।
भेलाले राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुन, सन्धि सम्झौता विपरित अध्यायदेशमार्फत हनन गरिएका पेशाकर्मीहरुको टेड्र युनियन हक अधिकार यथावत सुनिश्चितताप्रति केन्द्रीय नेतृत्वलाई गम्भीर ध्यानाकर्षण गराएको छ।
भेलाले नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा एवम् निर्वतमान केन्द्रीय सदस्य डा. आरजु देउवामाथि भएको साङ्घातिक आक्रमणको भत्र्सना गर्दै स्वास्थ्यलाभको कामना गरेको छ।
प्रकाशित: ३ जेष्ठ २०८३ १९:४३ आइतबार





