coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

‘भ्रष्टाचारी संस्कारले सहरलाई हिनामिना पा-यो’

जीवन शर्मा, गायक

तपार्इँलाई मनपर्ने सहर कुन हो?
मलाई मनपर्ने सहर लगजम्र्ब हो । त्यहाँ प्राकृतिक सौन्दर्यसँगै मानव निर्मित सुन्दर ठाउँहरू छन् । प्रकृतिले दिएको हरेक कुरा सजाइएको छ । बाटोघाटो निकै व्यवस्थित छ । मानिसले गर्न सक्ने काम सबै भएका छन्।

नेपाल बाहिर कुन–कुन देशका सहर घुम्नुभएको छ?
३० वटा देशका सहर घुमेको छु । विदेशी मुलुकका हरेक सहर सुन्दर छन् । सहरमा भेटिने छनक सबैतिर भेटिन्छ । अस्टे«लिया, डेनमार्क, नेदरल्याण्ड, दक्षिण कोरिया, बहरायन, कतार, दुबईलगायत देशका सहर पुगेको छु । विदेशका सहरको चमक हाम्रा सहरमा देखिन्न । त्यहाँका सहरजस्तै बन्न हामीलाई लामो समय लाग्छ।

नेपालभित्र मनपर्ने सहर कुन हो?
पोखरा हो । यो सहर आफैमा सजिएको छ । वातावरण पनि सफा छ । वरिपरिका डाडाँकाडाँ सुन्दर लाग्छन् । यहाँ घुम्ने ठाउँहरू पनि प्रशस्त छ । ती ठाउँहरू रमणीय लाग्छन् । प्रकृतिले दिएको सुन्दरतालाई पोखरावासीले झनै सुन्दर बनाएका छन् । पछिल्लो समय उपत्यकाबाहिर अलि व्यवस्थित मानिने सहर पोखरा नै हो।

काठमाडौंं कस्तो लाग्छ?
यो सहरलाई के सहर भन्नु । अरु देशका सहर प्लानिङले बनेका छन् । यहाँको प्लानिङ राम्रो छैन । सहरको भविष्य सोचिएको छैन । काठमाडौंको पछिल्लो हालत कि हिलो कि घुलो हो । त्योबाहेक अरु केही देखिन्छ । यतिको अव्यवस्थित सहर संसारमै छैन । प्रकृतिले राम्रो पर्यावरण दिएको छ । तर, त्यसलाई चिनेर काम गर्न नसक्नु हाम्रो ठूलो कमजोरी हो । सेवा सुविधा हेर्दा काठमाडौं ठिकै लाग्छ । यहाँको अस्तव्यस्तता देख्दा बस्ने मन लाग्दैन । काठमाडौं सहर पछिल्लो समय धेरै नै कोलाहल भएको छ । यो ठाउँमा आएर धेरैले आफूलाई चिनाए । तर, सहरको लागि कुनै किसिमको योगदान दिन सकेनन्।

हामी के कुरामा पछि परेका रहेछौं?
परम्परागत र पुर्खाले सिर्जेका कुरामा हामी अघि छौं । पछिल्लो भनौं या ५० वर्षयताको पुस्ताले गरेको काममा हामी धेरै पछि छौं । विदेशका सहर आधुनिक र सुविधासम्पन्न छन् । सहरमा हरेक सुविधा छ । सहरको हरेक ठाउँहरू सुरक्षित छन् । आपत्विपद् आउँदा पनि बस्ने ठाउँहरू धेरै छन् । हाम्रो त सहरीकरणले सबै खुला ठाउँहरू खायो । कुनै प्राकृतिक विपत्ति आइलाग्यो भने हामी जोगिने ठाउँ छैन । जथाभावी सहरीकरण भयो । बाटो बनाउँदा भविष्य सोचिएन । भष्ट्राचारी संस्कारले सहरलाई हिनामिना पारेको छ।

काठमाडौं कहिले छिर्नुभयो?
२०३५ सालमा छिरेको थिएँ । त्यतिबेला काठमाडौं खुल्ला थियो । भवनहरू खासैँ थिएनन् । बाटो सफा थियो । काठमाडौंमा तीव्र र अव्यवस्थित भवन निर्माण भएको छ । सरकार सधै अलोकप्रिय भयो । जसरी पनि जनतालाई खुसी पारे । तर, विकासका काम गरेनन् । पञ्चायतकालमा राम्रा योजना आए । चक्रपथमा रूख रोपिए । सहर बिग्रनुमा दुवै पक्षको दोष छ । सहरका निगम र सरकारी निकाय जिम्मेवारी हुनुपर्छ।

विदेशका सहरको कुन पक्ष राम्रो लाग्यो?
विदेशका सहरको हरेक पक्ष राम्रो छ । त्यहाँको सरकारी निकायले गर्ने काम पनि निकै चुस्त छ । नागरिक पनि सुसूचित छन् । त्यहाँका सहर कानुनले चलेका छन् । सहरका हरेक कुरा काननुले बाधेको छ । मानिसका हरेक आवश्यकताहरू सहरभित्रै पूरा हुन्छन् । विदेशका सहरमा कसैले पनि झन्झट व्यहोर्नुपर्दैन । कानुनविपरित काम गर्नेलाई सजाय हुन्छ । कानुनी कारबाही कडा भएकाले विदेशका सहरमा अराजक हुन्न । हाम्रोमा भएको कानुन पनि फितलो छ।

हाम्रा सहरको विकास कसरी होला?
विकासको लागि राज्य र त्यहाँको नीति–नियम कडा हुनुपर्छ । राज्यले बनाएका कानुन लागू गराउन सक्नुपर्छ । नागरिक पनि सहरको विकासबारे होसियार भएर लाग्नुपर्छ । अर्को कुरा, विकासको लागि ल्याइएका योजनाहरू सक्नुप¥यो । कुन–कुन ठाउँमा विकास गर्दा सहर बिग्रन्न उक्त कुराको अध्धयन पनि गर्नुप¥यो । सरकारमा बस्नेहरूको विकासतिर ध्यानै गएन । खाली व्यक्तिगत फाइदातर्फ मात्रै लागे । कसैले पनि यो मेरो सहर हो, यसलाई बनाउनुपर्छ भनेर सोचेनन्।

सरकारले कसरी काम गर्नुपर्ला?
सहरका खास–खास समस्यालाई केन्द्रमा राख्नुपर्छ । सहरलाई कुन कुराले कुरूप बनाएको छ, त्यसलाई हटाउनतर्फ लाग्नुपर्छ । सरकारले चाहने हो भने देशको विकास गर्न धेरै वर्ष लाग्दैन । सरकारले सरसफाइ, बाटोघाटो तथा पार्क निर्माण, ट्राफिक व्यवस्थापन, धुवाँधुलो रोकथामलगायत विषयलाई मुख्य तहमा राखेर काम गर्ने हो भने सहरको विकास चाडैं हुनसक्छ।

विदेश र हाम्रा सहरबीच के भिन्नता पाउनुभयो?
प्रकृतिले निःशुल्क रूपमा दिएका र पुर्खाले सिर्जेका सम्पत्तिहरूले हामी धनी छौं । यहाँजस्ता मठ–मन्दिर र ऐतिहासिक ठाउँहरू अन्य देशमा छैनन् । पछिल्लो पुस्ताले पुर्खाको सम्पत्ति जोगाउन सकेनन् । उनीहरूले सहरको विकासबारे सोच्दै सोचेनन् । सहरको विकासका लागि सरकार पनि प्रतिबद्ध भएर लागेको छैन । विदेशका कुरा गर्ने हो भने विकास कार्यमा उनीहरू धेरै अघि छन् । हामी धेरै पछि छौं । सरकारले फाटफुट विकास मात्रै ग¥यो । विदेशका सहर यति छिटो फेरिनुको कारण नीति नियमहरू पालना गरिएर नै हो । मुख्य कुरा हाम्रोमा नीति नियम नै लागू भएन । यसले पनि सहरको विकास नभएको हो।

सहरको विकासका लागि नागरिकको दायित्व के होला?
सहरका नागरिक उत्तरदायी हुनुपर्छ । आफू बसेको ठाउँलाई सफा राख्नुपर्छ । नागरिक सुसूचित नै छैनन् । सहरमा बस्नेहरू जथाभावी प्लास्टिकका बोटल फाल्छन् । घरभित्रको फोहर सडकमा मिल्काउँछन् । यी  प्रवृत्तिहरू निकै खराब हुन् । सही ठाउँमा फोहर फाल्ने र अरुलाई खबरदारी गर्ने प्रवृत्ति भए सहर यति धेरै अस्तव्यस्त हुने थिएन होला।

तपाईँ कस्तो सहरको परिकल्पना गर्नुहुन्छ?
स्वीजरल्याण्ड जस्तो सहरको कल्पना गर्छु । सहर व्यवस्थित र सुरक्षित हुनुपर्छ । सहर हरेक पक्षमा धनी होस् भन्ने लाग्छ । सहरमा बस्ने हरेकले राज्यका सबैखाले सुविधाहरू सहजै पाउन् । सहरभित्र स्वच्छ हावा र हरियाली दृश्य देख्न पाइयोस् । सहरभित्र घुम्ने र आपत पर्दा बस्ने खुला ठाउँहरू हौऔन् भन्ने लाग्छ । यति भयो भने सहर व्यवस्थित हुन्छ ।

उपत्यकाको सबैभन्दा मन पर्ने पक्ष के हो?
यहाँको हावापानी सदावहार लाग्छ । उपत्यका धेरै सेवा–सुविधाहरू भएको ठाउँ हो । सुविधा उपभोग गर्नकै लागि मानिसहरू विभिन्न ठाउँबाट यहाँ आउने गर्छन्।

मन नपर्ने पक्ष के हो?
ट्राफिक जाम, हिलो, धुलोधुवाँ र मानिसको भीडभाड देख्दा दिक्क लाग्छ । सहरका मुख्य सडकको अवस्था पनि विजोग छ।

प्रस्तुति : शिवहरि घिमिरे

प्रकाशित: २५ श्रावण २०७५ ०७:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App