३० वैशाख २०८१ आइतबार
image/svg+xml
अन्य

हाइकिङ गुरू

दैनिक जीवनको व्यस्तता र भागदौडबीच कहिलेकाहिँ नजिकका हरिया डाँडापाखा, खेतबारी तथा वनजंगलमा हिँड्नु स्वास्थ्यका हिसाबले धेरै उपयोगी हुन्छ । अचेल काठमाडौं आसपासमा सप्ताहन्त वा फुर्सदका दिनमा हाइकिङमा रमाउनेहरूको संख्या बढ्दो छ । स्वास्थ्यका लागि हाइकिङ लाभदायक हुन्छ।

काठमाडौं उपत्यकामा हाइकिङ भन्नेबित्तिकै प्रकृतिप्रेमी समूह र रामदेवी महर्जनको नाउँ नचिन्ने कमै होलान् ! प्रकृतिप्रेमी समूहले आफ्नो स्वास्थ्य आफ्नै हातमा लिन सिकाउने उद्देश्यसहित उचित आहार, विहार र विचार अभियान संचालन गर्दै आएको छ । सोही अभियान अन्तर्गतका विभिन्न कार्यक्रममध्ये एक हो– हाइकिङ । अभियान अन्तर्गत मासिक रूपमा हाइकिङ हुँदै आइरहेको छ । अहिले अन्य संस्थाहरूले समूह–समूहमा हाइकिङ गराउन थालेका छन्।

रामदेवी महर्जन नागरिक दैनिकलगायत मिडियामा हाइकिङ र स्वास्थ्य सम्बन्धी लेखहरू लेख्छिन् । प्रकृतिप्रेमी समूहसँग आबद्ध महर्जनका लेखहरु पढेर र त्यसबाट प्रभावित भएर हाइकिङ गर्ने जमात ठूलो छ । महर्जनले स्वस्थ पर्यटन प्रवर्द्धनमा सघाउ पुर्याउन ‘हाइकिङ काठमाडौं’ पुस्तक लेखेकी छन्।

हाइकिङ सम्बन्धी नेपाली भाषामा प्रकाशन भएको यो नै सायद पहिलो पुस्तक हो । यसमा समेटिएको विषयवस्तुका आधारमा हेर्दा यो निकै उपयुक्त पुस्तक देखिन्छ । पुस्तकको आवरणमा लेखिकाले पदयात्रा गर्दै गरेको आफ्नै तस्बिर प्रयोग गरेकी छन् । उनले आफ्नो मन्तव्य ‘हाइकिङ जिन्दगी’मा प्रकृतिप्रेमी समूह र हाइकिङमा सहभागी भएपछिका अनुभव समेटेकी छन् ।विभिन्न शीर्षकहरूमा विभाजन गरिएको पुस्तकको विषय सूचीमा काठमाडौं सेरोफेरोका ६४ हाइकिङ रूटहरूबारे सविस्तार वर्णन छ । पुस्तकमा काठमाडौं उपत्यकाको संक्षिप्त परिचय, हाइकिङका फाइदाहरू तथा टिप्सहरूबारे पनि उल्लेख गरिएको छ, जुन घुमन्तेका लागि लाभदायक छ।

काठमाडौं सेरोफेरो घुम्न चाहनेका लागि ‘हाइकिङ काठमाडौं’ राम्रो गाइड बुक हो । यसले आन्तरिक पर्यटनमा टेवा पुर्याउँछ । यसको अंग्रेजी संस्करण प्रकाशन भएपछि विदेशी पर्यटकका लागिसमेत उपयोगी हुनेछ।  

पुस्तकमा हाइकिङ रुटहरूका साथमा ती ठाउँका ऐतिहासिक, भौगोलिक पक्षलगायत जीवनशैली, चाडपर्व तथा रहनसहनबारे पनि उल्लेख छ । यसबाट के प्रष्ट हुन्छ भने महर्जनले अध्ययन अनुसन्धानपछि पुस्तक तयार पारेकी हुन् । पुस्तकको अर्को आकर्षक पक्ष के हो भने त्यसमा सबै रुटहरूको नक्शा र हाइकर्सहरूका आकर्षक तस्बिरहरू प्रयोग गरिएको छ । यसले पक्कै पनि हाइकर्सलाई मद्दत पुर्याउँछ ।पुस्तकभित्र समावेश सबै हाइकिङ रुटहरूसम्मको दुरी, त्यहाँसम्म कसरी पुग्ने भन्नेबारे पनि उल्लेख छ । हाइकिङ मात्र नभई साइक्लिङ, बाइकिङ, ड्राइभिङमार्फत् घुम्नेहरूका लागि समेत यो पुस्तक गाइड बुक बन्न सक्छ ।

पुस्तकको प्रमुख विषयवस्तु हाइकिङ तथा हाइकिङका रुटहरू भएता पनि महर्जनले हाइकिङमा खाने खाना, पानीलगायतबारे टिप्सहरू दिएकी छन् । अचेल पदयात्रा गर्ने चलन त बढ्दो छ । तर, पदयात्रामा अनुचित आहार लिने, मादक पदार्थ सेवन गर्नेहरू पनि छन्, जसले गर्दा हाइकिङबाट स्वास्थ्य लाभ हुनुको साटो उल्टो हानी हुन्छ । महर्जनले स्वास्थ्यवद्र्धक खाना खाएर पदयात्रा गर्न सुझाएकी छन् ।पुस्तकमा काठमाडौं नजिकका होमस्टेहरूको विषयमा पनि संक्षिप्त जानकारी दिइएको छ । साथै स्वास्थ्यवद्र्धक आहार, योग र प्रकृति प्रेमी समूहको समेत चर्चा गरिएको छ।

पुस्तकको भाषा सरल छ, सबैले बुझ्न सक्छन् । छपाइका दृष्टिले पनि पुस्तक अब्बल देखिन्छ । हिमालयन म्याप हाउसले प्रकाशन गरेको ३२० पेज भएको पुस्तकको मूल्य ७ सय रूपैयाँ छ । पुस्तकका सबै पृष्ठ रंगीन छन् । प्रकाशकले गुणस्तरीय पुस्तक प्रकाशन गरेको देखिन्छ ।अन्त्यमा हाइकिङ गर्ने वा काठमाडौं सेरोफेरो घुम्न चाहनेका लागि ‘हाइकिङ काठमाडौं’ राम्रो गाइड बुक बन्न सक्छ । यसले आन्तरिक पर्यटनमा टेवा पु¥याउँछ । प्रकाशकले यसको अंग्रेजी संस्करण समेत प्रकाशन गर्ने घोषणा गरेको छ । त्यसो भएमा विदेशी पर्यटकका लागि समेत उपयोगी हुने देखिन्छ ।  
 

प्रकाशित: १२ श्रावण २०७५ ०२:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App