८ कार्तिक २०७८ सोमबार
अन्य

कालजयी किताब

‘कतिपय किताब केही पाना पल्टाएर छाडिन्छ, केही किताब मन नपरे पनि जबर्जस्ती पढिन्छ, थोरै किताब मात्र यस्ता हुन्छन्, आनन्दसाथ पढेर त्यसलाई आत्मसात गरिन्छ,’ बेलायती लेखक तथा दार्शनिक सर फ्रान्सिस् बेकनले भनेका छन् ।

चार सय वर्षअघिको उनको टिप्पणी अहिले पनि उत्तिकै मननीय छ ।वर्ष दिनमा नेपालभर विभिन्न विधाका २ हजारभन्दा बढी किताब प्रकाशित हुन्छन् । प्रश्न उठ्छ–बेकनले भनेझैं हृदयदेखि नै आत्मसात गरेर पढिने ‘कालजयी’ किताब कति छन् ? ‘त्यस्ता किताब औंलामा गन्न मुस्किल छ,’ गम्भीर पाठकको जवाफ यस्तै हुन्छ।

केही साताअघि पत्रकार मित्र सुदर्शन घिमिरेले फोन गरे, ‘स्वामीजी (उनले मलाई प्रेमपूर्वक यही सम्बोधन गर्छन्), कता हो ? एउटा किताब दिनुछ, आजै भेट्न मिल्छ ? ‘अफिसमै छु,  आईहाल्नुस्,’ मैले कुराकानी टुंग्याएँ । नभन्दै केही बेरमै चिटिक्क आकारको किताब लिएर आए उनी । किताब हस्तान्तरण गर्नेबित्तिकै हिँडिहाले।

‘अमर पुस्तक’, जसको मूल लेखक भारत, उडिसाका मनोज दास अनि नेपालीमा पुनर्लेखक मोहनकुमार दाहाल । शीर्षकले नै तान्यो । तुरुन्त पाना पल्टाएर विषयसूची हेरेँ–हाम्रा पुराना ग्रन्थहरू जस्तोः वेद, उपनिषद, पुराण, रामायण, महाभारत, गीता, पञ्चतन्त्र, जातक र अर्थशास्त्रबारे  लेखिएको रहेछ । यस्ता सर्वकालिक पूर्वीय चिन्तनमा आधारित भएकाले उनले ‘अमर पुस्तक’ नाम दिएको हुनुपर्छ । यसका लक्षित पाठक बालबालिका, किशोरकिशोरी  र तन्नेरी पुस्ता हुन्।  

 वैदिक ज्ञान र प्राचीन सम्पदाका अनुसन्धाता लेखक दासले साढे चार दशकअघि ‘बुक फरइभर’ किताब सार्वजनिक गरेका थिए । हो, यही किताबलाई नेपाली भावानुवाद र पुनर्लेखनपछि ‘अमर पुस्तक’ नाम दिएर सिकाइ समूहले बजारमा ल्याएको हो । किताब अद्योपान्त पढ्ने अवसर केही दिनपछि मात्र जुर्यो । सरल शैलीमा सचित्र वर्णन गरिएको ५६ पृष्ठको किताब एकै बसाइमा पढी सिध्याएँ ।  विषयवस्तु गहन तथा जीवनोपयोगी छ । पाठकलाई व्यावहारिक तथा शाश्वत चिन्तन आत्मसात गर्न यसले घच्घचाउँछ । पढ्दै जाँदा मलाई यस्तै अनुभव भयो।

‘वेद’बारे उपयोगी जानकारी समेटिएको छ । ‘यसमा कुनै धर्मावलम्बीको शिक्षा मात्र होइन, साधक (ध्यान–साधना गर्ने व्यक्ति) को अनुभूति  छ । वशिष्ठ, विश्वामित्र, अत्रि, पराशर, मधुच्छन्द लगायत वैदिक ऋषिका सन्दर्भ यसमा आउँछन्,’ लेखमा उल्लेख छ । लेखकले ऋक्, यजुः, साम र अथर्व वेदलाई छोटकरीमा बुझाउन खोजेका छन् । करिब ३८ लाख वर्षअघि ‘वेद’ जन्मिएको हो । पदार्थ विज्ञान, कर्म, स्वभाव, रीतिरिवाज, परमात्मा आदिबारे यसमा विवेचना छ।

‘वेद’कै अंग मानिँदै आएको उपनिषद् एक सय आठवटा भए पनि ईश, मुण्डक, माण्डूक्यलगायत दशवटालाई मुख्य मानिन्छ । ‘आत्मा’को अस्तित्वबारे बुझाउन उपनिषद्मा उल्लेख गरिएको उदाहरण मननीय छ । ज्ञानी याज्ञवल्क्य र राजा जनकबीच भएको संवादको माध्यमबाट ‘आत्मा’लाई बुझाउन खोजिएको छ । सूर्यास्त, ढाकिएको चन्द्रमा, निभेको आगो र वाणी हराएको स्थितिमा मानिसले ‘आत्मा’बाट प्रकाश पाउँछ भनी याज्ञवल्क्यले राजा जनकलाई प्रस्ट पारेका छन्।

उपनिषद्का आयामलाई बुझिने ढंगले उठान गरिएको छ यसमा । दुई हजार वर्षअघि महर्षि व्यासद्वारा लेखिएको ‘पुराण’ मा रोचक तथ्य समेटिएको छ । पाश्चात्य विज्ञानले ‘सोलार सिस्टम’को केन्द्र सूर्य हो भनी पत्ता लगाउनु भन्दापहिले नै विष्णु पुराणमा यसबारे उल्लेख गरिएको जानकारीले पाठकलाई अचम्भित पार्न सक्छ । पुराणमा उल्लिखित निश्चित कालचक्र पूरा भएपछि सृष्टि प्रलय हुने तथ्य स्टिफेन हकिङको ‘बिग व्यांग’ सिद्घान्तसँग मिल्न पुग्छ । यस्ता जानकारीले पाठकलाई तानिरहन्छन्।

वाल्मिकीद्वारा रचित ‘रामायण’मा कर्तव्यपरायण, प्रेम, भ्रातृत्व, आदर्श आदि छ । भानुभक्त आचार्यले नेपाली सन्दर्भअनुसार पछि ‘नेपाली रामायण’ सिर्जना गरेका हुन् । तीन पृष्ठको लेखमा वेदव्यासद्वारा लिखित ‘महाभारत’को कथाको सार गज्जबले प्रस्तुत गरिएको छ । ‘महाभारत’को दर्शन, राजनीति, इतिहास, मनोविज्ञान आदिलाई लेखक÷पुनर्लेखकले उजागर गरेका छन्।


पश्चिमी शिक्षा पद्घतिको अन्धाधुन्द अनुकरणले हामीकहाँ पूर्वीय ज्ञान ओझेलमा परेको छ । वेद, उपनिषद, गीता लगायत अमर किताबका शाश्वत पक्षबारे शिक्षालयमा चर्चा–परिचर्चा कमै हुन्छ ।  

पासा खेलमा हारेपछि पाण्डवहरूको १२ वर्ष वनबास, कुरुक्षेत्रमा भएको पाण्डव  र कौरवबीचको ‘महाभारत युद्घ’लाई संक्षेपमा उल्लेख गरिएको छ । महाभारत युद्घमा अर्जुनका सारथि बनेका भगवान् श्रीकृष्णको भूमिका स्पष्टसाथ बुझ्न सकिन्छ यो पढेपछि । महाभारत लेखकका रूपमा वेदव्यासले गणेशलाई उपयुक्त पात्र ठह¥याएको प्रसंग भने ‘कोरा’ पाठकलाई  काल्पनिक लाग्न सक्छ, पत्याइहाल्न गाह्रो पर्छ।

दासको ‘बुक फरइभर’मा ‘गीता’को च्याप्टर उल्लेख नगरिए पनि पुनर्लेखनका क्रममा यसलाई समावेश गरिँदा किताबको ‘ओज’ बढेको छ । महाभारत युद्घ हुन नलाग्दा भगवान श्रीकृष्णले आफू वक्ता भएर  अर्जुनलाई जीवन, जगत, मृत्यु, आत्मा,  युद्घ, धर्म आदिबारे बताएका कुरा उल्लेख छ । यस्ता ऐतिहासिक तथ्यसमेत समेटिएको छ, ‘प्रत्यक्षमा भने श्रीकृष्ण अर्जुनका सारथि मात्र थिए । उनी युद्घमा संलग्न थिएनन् । उनले हतियार उठाएका थिएनन् ।’सिद्घार्थ गौतमले बुद्घत्व प्राप्त गरिसकेपछि शिष्यहरूलाई सुनाएका कथा ‘जातक’ हुन् । जातक कथालाई रोमाञ्चक तरिकाले पुनर्लेखन गरिएको छ । ‘पञ्चतन्त्र’ अनि चाणक्य अर्थात् कौटिल्यद्वारा लिखित ‘अर्थशास्त्र’बारे पनि चर्चा गरिएको छ।

पश्चिमी शिक्षा पद्घतिको अन्धाधुन्द अनुकरणले हामीकहाँ पूर्वीय ज्ञान ओझेलमा परेको छ ।   वेद, उपनिषद, गीताका शाश्वत पक्षबारे शिक्षालयमा चर्चा–परिचर्चा कमै हुन्छ । अहिले मात्र होइन, भविष्यका लागि पनि उत्तिकै महत्वपूर्ण अनि कालजयी साबित भइसकेका कृति हराउँदै गएका छन् ।मन उद्वेलित पार्ने किताब निक्कै पाइन्छन्, तर, आत्मिक जागरण गराउने कृति कमै छन् । यस्तो अवस्थामा नयाँ पुस्तालाई लक्षित गरेर प्रकाशन गरिएको ‘अमर पुस्तक’जस्ता कृति घरघर पुग्नुपर्छ । पूर्वीय दर्शन, संस्कृति, मूल्य–मान्यता जान्न चाहने जोसुकैलाई यो किताबले पक्कै सघाउने छ।

कृति : अमर पुस्तक
लेखक :मनोज दास
पुनर्लेखक :मोहनकुमार दाहाल
प्रकाशक : सिकाइ समूह
पृष्ठ : ५६

प्रकाशित: ५ श्रावण २०७५ ०७:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App