७ वैशाख २०८१ शुक्रबार
अन्य

पहुँचवालालाई मात्रै कृषि उपकरण

दक्षिणी ललितपुरको कृषि विकासको लागि आएको बजेटमा व्यापक अनियमिता भएको खुलासा भएको छ । जिल्ला कृषि विकास कार्यालयमार्फत् कृषि विकास मन्त्रालयले राष्ट्रिय पुननिर्माण कोषको लागि छुट्याएकोमध्ये एक करोड ७६ लाख बजेट दुरुपयोग भएको हो।

उक्त रकम कहाँ खर्च भयो भन्ने विवरण छैन । कृषि विकास मन्त्रालयअन्र्तगतको परियोजनाले आर्थिक वर्ष २०७३–७४ को लागि दुई करोड २१ लाख रूपैयाँ बजेट पठाएको थियो । तर, उक्त बजेटको २० प्रतिशत मात्रै काम भएको छ । अन्य बजेट कहाँ कसरी खर्च भयो भन्ने जिल्ला कृषि विकास कार्यालयमा विवरण छैन ।

हचुवाको भरमा जिल्लाका पहुँचवालाई सहकारीमार्फत बजेट वितरण गरिएको थियो । उक्त बजेट पारदर्शी नभएको र पहुँचवालाले मात्रै प्रयोग गरेको गिम्दीका स्थानीय विजय बलले जानकारी दिए । उनका अनुसार वास्तविक किसानले परियोजनाको बजेटले किनेको सामान पाएका छैनन् ।

पहुँचवालाका हातमा मात्रै कृषि उपकरण परेको छ । वास्तविक किसान राहतमार्फत आएको रकमबाट किनिएका मेसीन पाएका छैनन । पहुँचवाला र कृषि क्षेत्रमा नलागेका व्यक्तिलाई थमाइएका सामान पनि पुरानो भएको बलले बताए । ‘केही सामान ल्याइएको छ । तर, सबै सामान असरल्ल छाडिएको छ,’ उनले भने, ‘टाठावाठाले थोरै काम देखाएर कृषकको बजेट दुरुपयोग गरे।’

यसै कार्यक्रमअन्र्तगत जिरो इनर्जी मेसिन खरिदमा पनि व्यापक अनियमतिता भएको भेटिएको छ । मेसिन खरिदमा नेसनल एग्रिकल्चर एण्ड फरेस्ट प्रालिसँग बिना टेण्डर एउटै मितिमा करिब १० वटा बिल काटिएको छ । सार्वजनिक खरिद नियमावलीलाई लत्याउँदै टेण्डर नगरी करिब ५२ लाख रूपैयाँ बराबर रकममा जिरो इनर्जी मेसीन खरिद गरेपछि स्थानीयले विरोध गरेका छन्।

स्थानीय सोमनाथ सापकोटाका अनुसार सामान खरिदमा अनियमितता भएको छ । सामान नै नकिनी त्यसकोे बिल र जडान खर्चको लाखौं रूपैयाँ बराबरको बिल भौचर जिल्ला कृषि विकास कार्यालयमा पेस भएको छ । ‘यसबारे स्थानीयलाई थाहा नै छैन, उक्त मेसीन त्यो क्षेत्रमा त्यति उपयुक्त पनि देखिन्न । तर, राज्यबाट गरिबको लागि आएको पैसा कुम्ल्याउन बाग्मती देवता बहुउद्देश्यीय सहकारी संस्थाका पूर्वउपाध्यक्ष लक्ष्मणबहादुर लामिछानेले यसो गरेका छन्,’ उनले भने । उनका अनुसार जसको लागि कृषि उपकरण किनिएको हो उस्को लागि दिइएको छैन।

गएको ०७३ पौसमा दामोदर घिमिरे र रामप्रसाद घोडारीको नाममा दिने निर्णय बागमती देवता सहकारीले गरे पनि पछि निर्णय उल्ट्याएर टंकप्रसाद घिमिरे र लक्ष्मणबहादुर लामिछानेलाई दिइएको थियो । त्यतिमात्रै नभई खरिद गरिएको लाखौंका अन्य सामान काम नलाग्ने र अलपत्र अवस्थामा छाडिएका छन् ।

‘कृषि उपकरण खरिदमा ठूलो अनियमितता छ । सामान नै नकिनी त्यसकोे बिल र जडान खर्चको लाखौं रूपैयाँ बराबरको बिल भौचर जिल्ला कृषि विकास कार्यालयमा पेस भएको छ ।’

जिल्ला कृषि विकास कार्यालयका प्रमुख भरतप्रसाद देवकोटाले बजेट निकासा गर्ने समय असार १९ गते रहेकोले आफूले हत्तारमा अनुगमनबिना भुक्तानी दिएको स्वीकारे । ‘समयावधि कम भएकाले टेण्डर आह्वान गर्न सकेनौं,’ उनले भने, ‘यसलाई समाधान गर्नतिर लाग्छौं ।’तर, प्रमुख देवकोटाले नजिकै रहेको भट्टेडाँडा सेवा केन्द्रका कर्मचारीलाई समेत अनुगमन गर्न दिएका थिएन । कुरा बाहिर लिक हुने डरमा केन्द्रमा कार्यरत बलध्वज खड्कालाई अन्यन्त्रै सारेका थिए । उक्त ठाउँमा दामोदर न्यौपानेलाई ल्याएका थिए । पछि सामान किनिसकेपछि बलध्वज खड्कालाई पुनः भट्टेडाडामा पठाएका थिए ।

 

प्रकाशित: ४ श्रावण २०७५ ०२:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App