वैज्ञानिकहरूको एउटा दलले पछिल्लो समय गरेको डिएनए अध्ययनबाट अचम्मको निष्कर्ष निकालेका छन्। उनीहरूका अनुसार ४५ हजार वर्षअघि यूरोप पुगेको मान्छेको प्रजातिमध्ये निकै पछिसम्म पनि तिनको छालाको रङ कालो थियो। उनीहरू अफ्रिकी पठारबाट बाहिर निस्कँदै अनेक ठाउँमा बास बस्दै पहिलो पटक ४५ हजार वर्षअघि यूरोपका विभिन्न ठाउँमा पुगेका थिए। त्यहाँ पुग्नेहरूमा ६३ प्रतिशतको छालाको रङ कालो थियो भने जम्माजम्मी आठ प्रतिशत मात्र खैरो वा पहेँलो छालाका थिए।
तीन हजार वर्षअघि मात्र उनीहरूको छालाको रङ बदलिएर पहेँलो हुन थालेको निष्कर्ष वैज्ञानिकहरूको छ। पहेँलो हुनुका पछाडि उनीहरूले पर्याप्त मात्रामा भिटामिन डी नपाएको वैज्ञानिकको निष्कर्ष छ। सूर्यको किरण पर्याप्त रूपमा शरीरमा नपर्दा शरीरमा भिटामिन डीको कमी हुन थाल्यो र क्रमशः उनीहरूको कालो छाला पहेँलो हुन थालेको वैज्ञानिकको बुझाइ छ।
पहेँलो वा सेतो छालामा परावैजनी रङले बढी प्रभाव पार्ने र कालो छालामा कम प्रभाव पार्ने समेत वैज्ञानिकहरूको दाबी छ। द न्यू साइन्टिस्ट पत्रिकाका अनुसार १० हजार वर्षअघि बेलायतमा बसोबास गरिरहेका ‘सेडर म्यान’को कंकालमाथि वैज्ञानिकहरूले सन् २०१८ देखि अध्ययन गरिरहेका थिए। अध्ययनमा वैज्ञानिकहरूले प्राकृतिक छनोट, यौनिक छनोट, युद्ध तथा स्थानान्तरणजस्ता क्रियाले छालाको रङ परिवर्तन गर्न भूमिका खेलेका अनेक उपक्रम रहेको हुनसक्ने वैज्ञानिकहरूले बताएका छन्। बेलायतको सेडर म्यान नामक कंकालको अध्ययन गर्दा उसको छाला कालो रहेको पत्ता लगाइएसँगै नयाँ नयाँ सम्भावनामाथि अध्ययन भइरहेको छ।
त्यसो त यस अध्ययनलाई धेरैले अनावश्यक कल्पनाशील पनि मानिरहेका छन्। पछिल्लो समय फेला परेका प्राचीन कंकालहरूमध्ये ३४८ जिनोमलाई अध्ययन गरी सो निष्कर्ष निकालिएको बताइएको छ। पछिल्ला सबै प्राचीन डिएनए तथ्यांकको अध्ययनबाट यो निष्कर्ष निकालिएकाले यसलाई कल्पनाशीलता मान्न नहुने अमेरिकाको पेन्सिलभेनिया स्टेट युनिभर्सिटीकी निना जाब्लोन्स्की बताउँछिन्।
प्रस्तुतिः अच्युत कोइराला
प्रकाशित: ५ चैत्र २०८१ ०९:४३ मंगलबार