हरेक कार्यालयको आ-आफ्नै नीति नियम हुन्छन्, जसको पालना गर्ने जिम्मेवारी त्यहाँ काम गर्ने कर्मचारीहरूमा निहित हुन्छ। अहिले प्राय कर्पोरेट संस्थानमा काम गर्दा आ-आफ्नो ड्रेस कोड पनि हुन्छ।
तर, त्यसो हुन नसकेमा व्यवस्थापन कहिलेकाहीं यसबारेमा कारबाहीमा उत्रन थाल्छ। यससँग सम्बन्धित एउटा घटना अहिले बाहिर आएको छ, जहाँ कम्पनीलाई कारबाही गर्नु महँगो सावित भएको छ।
तपाईलाई अचम्म लाग्न सक्छ, तर एक महिला कर्मचारीले स्पोर्ट्स जुत्ता लगाएको कारणले जागिरबाट निकालिनुपरेको छ। यो घटना बेलायतको हो। यो कुरा बाहिर आएपछि मानिसहरू अचम्ममा परेका छन् र जुत्तालाई लिएर के कसैलाई जागिरबाट निकाल्न सकिन्छ भनेर बहस भइरहेको छ। वास्तवमा २० वर्षीया एलिजाबेथ बेनासीलाई जुत्ताका कारण जागिरबाट हटाइएको थियो। उनलाई स्पोर्ट्स जुत्ता लगाएर अफिस गएको भन्दै कामबाट हटाइएको हो।
समाचार अनुसार, म्याक्सिमम युके सर्भिसेजमा काम गर्ने पूर्व कर्मचारी एलिजाबेथ बेनासीलाई कार्यालयको कुनै औपचारिक ड्रेस कोडबारे जानकारी थिएन। जब यो कुरा अदालतसमक्ष पुग्यो, उनको पक्षमा फैसला आयो। यति मात्र होइन, कम्पनीले ठूलो क्षतिपूर्ति पनि तिर्नुपरेको छ।
युवतीका अनुसार जुत्ताका कारण उनलाई अनुचित रूपमा निशाना बनाइएको थियो। उनका सहकर्मीहरूले पनि उनीजस्तै जुत्ता लगाएका थिए, तर उनी मात्रै निशाना बनिन्। उनले आफूमाथि कम्पनीका प्रबन्धक इशरत अशरफले बालबालिका जस्तै व्यवहार गरेर कामबाट निकालेको आरोप लगाएकी थिइन्। कम्पनीविरुद्ध उनी रोजगार न्यायाधिकरणमा गइन्।
न्यायाधिकरणको फैसलापछि कम्पनीले एलिजाबेथलाई ३० हजार पाउण्ड अर्थात् ५१ लाख भन्दा धेरै नेपाली रुपैयाँ क्षतिपूर्ति दिएको छ। यद्यपि, म्याक्सिमम युके सर्भिसेसले आफ्नो कुनै गल्ती भएको भन्ने कुरालाई अस्वीकार गरेको छ। एजेन्सी
प्रकाशित: १५ पुस २०८१ १३:३६ सोमबार