१२ पुस २०८१ शुक्रबार
image/svg+xml
अन्य

एनपिएलः बलरको बलमा जित्यो कर्णाली याक्स

बलरले उत्कृष्ट प्रदर्शन गरेपछि १३३ रनको न्युन स्कोरको प्रतिरक्षा गरेको कर्णाली याक्सले विराटनगर किंग्सलाई ७ रनले पराजित गरेको छ ।  

नेपाल प्रिमियर लिग(एनपिएल)को १३ औं खेलमा बलरको उत्कृष्ट योगदानको बलमा कर्णाली याक्सले विराटनगरविरुद्ध संघर्षपूर्ण जित निकालेको हो ।  

निर्धारित १३४ रनको लक्ष्य पछ्याएको विराटनगर निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२६ रनमा रोकियो । जसमा कर्णाली याक्सका बलर नन्दन यादवले चार ओभरमा १९ रन खर्चदै विराटनगरका महत्वपूर्ण तीन विकेट लिए ।  

यस्तै उनलाई विपिन शर्माले ४ ओभरमा २० रन मात्रै खर्चेर २ विकेट लिँदै सहयोग गर्दा कप्तान सोमपाल कामी, विलियम बसिस्टो र युनिस ठकुरीले एक÷एक विकेट लिए ।  

विराटनगरका तर्फबाट ब्याटिङमा निकोलस किर्तनले ४०, लोकेश बलमे १९ र दीपक बोहराले १८ रन जोड्नुबाहेक अन्यले राम्रो योगदान दिन सकेनन् । 

यसअघि विराटनगरका बलरले पनि उत्कृष्ट बलिङ प्रदर्शन गर्दा कर्णाली १३३ रनमा रोकिएको थियो । तर ब्याटर देव खनाल र विलियम वसिस्तोले शतकीय साझेदारीसहित दुवैले अर्धशतक प्रहार गरेका थिए ।  

सुरुवाती ३ ओभरमै विराटनगरका बलर कर्णाली याक्समाथि हाबी हुँदा भारतीय स्टार ब्याटर शिखर धवन ५ रन र अर्का ब्याटर चाडविक वाल्टन एक रनको व्यक्तिगत स्कोरमा आउट भएका थिए ।  

त्यसपछि क्रिजमा आएका देव र विलियमले कर्णालीको पारीलाई सम्हालेर १०२ रनको शतकीय साझेदारी गरेका थिए । जसमा देवले ४८ बलमा ४ चौका र २ छक्काको मद्दतले ५३ रन जोडेका थिए ।  

यस्तै विलियमले ४९ बलको सामना गर्दै ५ चौका र ३ छक्काको मद्दतले ६६ रनको योगदान दिए ।  

अन्तमा कर्णालीको पारी २० ओभरमा अलआउट हुँदै १३३ रनसम्म पुगेको थियो ।  

कर्णालीलाई मध्यम स्कोरमा रोक्न विराटनगरका बलर प्रतिश जिसीले ४ ओभरमा १७ रन खर्चेर ४ विकेट लिए । जसमा उनले फालेको २० औ ओभमार ३ विकेट निकालेका थिए । यही ओभरमा एकजना ब्याटर रन आउट भए । जसकारण अन्तिम ओभर मेडन रह्यो ।  

यस्तै क्रिस सोलले ४ ओभरमा २६ रन खर्चेर २ विकेट, बसिर अहमदले ४ ओभरमा २२ रन खर्चेर २ विकेट र अकिब लियासले ४ ओभरमा ३१ रन खर्चेर १ विकेट लिए । कप्तान सन्दीप लामिछाने भने ४ ओभरमा ३६ रन खर्चेर महंगो साबित भएका थिए ।  

प्रकाशित: २२ मंसिर २०८१ १६:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App