२१ कार्तिक २०८२ शुक्रबार
image/svg+xml २३:१० अपराह्न
अन्य

मोड

परशु प्रधान

म मस्त निन्द्रामा थिएँ। मोबाइलको लगातार घन्टीले उठेँ। यो कुनै बदमासको 'रङ कल' आएको हुनुपर्छ भनेर मोबाइल हेरेँ । हेर्छु त आफ्नै परममित्र अनिलको रहेछ। मैले हेलो भन्नासाथ उताबाट भयमिश्रित स्वर आयो– रविन्द्र! मैले तिमीलाई डिस्टर्ब गरेँ है, तिमी तुरून्त अहिल्यै मेरो डेरामा आऊ। मैले हुन्छ भन्दै लुगा फेरेँ। अनिललाई केही ठूलै आपत् आइपर्‍यो भन्ने सोच्दै पाँच–सात सय रूपियाँ खल्तीमा राखेँ। आफ्नो कोठामा ताल्चा मारी सडकमा निस्किएँ।

सडक निस्तब्ध र घना अन्धकार थियो। ठाउँठाउँमा बलेका बिजुलीका खम्बाका मधुरा बत्ती र आफ्नै मोबाइलको उज्यालोमा म अनिलको डेरा पुगेँ। बाटोमा भुस्याहा कुकुरहरूले निकै दुःख पनि दिएका थिए। अनिल आफ्नो डेराबाहिरको सडकमा उभिइरहेको थियो। हामी दुवैजना उसको कोठामा पुग्यौँ। त्यहाँ भित्रको अकल्पनीय दृश्यले मेरो सातो नै लेला जस्तो भयो। हामी दुवैको साथी रामकृष्णको श्रीमती खाटमाथि बसेर रोइरहेकी थिइन्। मलाई कुनै सिनेमाको दृश्य हेरेजस्तो लाग्यो। मेरो दिमाग नै चकराएर आयो। मैले अनिललाई सोधेँ– यी भाउजु किन कसरी यो रातको समयमा यहाँ आएर रोइरहेकी हुन्?

वातावरण निस्तब्ध बन्यो। अनिल पनि केही बोल्न सकेन। ती भाउजुको रूवाइ भने झनै बढ्दै गयो।

मैले सोधेँ– अनिल! यो सबै केको नाटक भइरहेको छ? यो मध्यरातमा हेर्नै नहुने लीला केका लागि भइरहेको छ। अनिलले मुख रून्चे लायो, तर बोल्न एक शब्द पनि बोलेन। बरू ती लुना भाउजुले रूँदै भनेका शब्दहरू मेरा कानमा झंकृत भए– बाबु! मलाई तपाईंको साथी अनिलले नराम्ररी भकुण्डो खेले। म सानो र आफ्ना सुखी परिवार भएको मान्छे। मेरो श्रीमान्ले यो अनिल भन्दा राम्रो जागिर खाएका छन्।  मेरा तीन वटा छोरा पनि छन्। मलाई नराम्रो गरी फसायो। कहिले गरगहनाको लालच देखाएर सधैँ मेरो इज्जत लुट्नै आयो। अब भने मैले सहन नै सकिनँ। अब म एकदुईतीन यसलाई यसै छाड्नेवाला छैन। नभन्दै लुना भाउजुले यौटा धारिलो छुरी निकालिन् र फेरि रून थालिन्। हेर त कत्रो छुरी छ हातमा!            

मैले अनिललाई सोधेँ– यो सबै के भएको हो अनिल? भाउजु त तिमीलाई मानर्ैै पो आउनु भएको रहेछ । हेर त कत्रो छुरी छ!

यी सबै कुराहरू मेरोमात्र खेल होइन रविन्द्र! यिनै भाउजुको श्रीमान् अफिस जानासाथ यिनले मलाई बोलाउँथिन्। म सधैँ २–४ घन्टा आफ्नो अफिस छाडेर उनको घरमा पुग्थेँ। उनले मीठोमीठो खाना खान दिन्थिन् र मसँगै बसेर मोजमज्जा गर्थिन्। म त अल्लारे केटो! उनले जे भन्थिन् त्यही गरेर बस्थेँ।

त्यो हाम्रो दैनिक तालिका नैँ थियो। 'अनि एक दिन ...'

लुना भाउजुको रूवाइ अझै बढ्दै गयो। उनले रूँदै दह्रो स्वर निकालिन्– जे भन्छौ भन, आजदेखि म अनिललाई छाड्ने अवश्य छैन। किनभने मेरो आफ्नो घरमा जाने र बस्ने बाटो सबै बन्द भइसक्यो। कि म यो बदमासलाई नै मार्छु र जेलमा रमाएर बस्छु। सक्छ भने यसले मलाई नै मारोस्।

यो कठिन परिस्थितिको सामना गर्नुपर्ने त मैले नै भयो। त्यसपछि मैले लुना भाउजुलाई विस्तारै सम्झाउन थालेँ– भाउजु! जे हुने–नहुने सबै कुरा भइसक्यो। तपाईंको त्यत्ति राम्रो र सुन्दर परिवार सबै लथालिंग हुने भयो। अनिलको पनि आफ्नो परिवार आमा–बाबु सबै छन्। यसरी एकै पटकमा दुई परिवारले किन दुःख पाउनु? किन सधैँ संकटमा बस्नु! तपार्इंले गरेको भुलको लागि आफ्नो श्रीमान्सँग क्षमा माग्नुहोस्। कहिलेकाहीँ जसको पनि भुल हुुन सक्छ। यत्ति हो कुनै दिन तपाईं रेडह्यान्डमा पर्नु भयो। यो र यस्तै धेरैको जीवनमा हुने घटना हो। हाम्रो जीवन धेरै लामो छ, घटनाहरूले यो भरिपूर्ण छ।

भाउजु! ल मसँग हिँड्नुहोस् अहिले, म तपाईंको घरमा पुर्‍याइदिन्छु।      रविन्द्रको कुरा सुनेर लुना केही छक्क परेजस्तो भइन् र आफ्नो ब्याग र अरू सामानहरू मिलाउन थालिन्। अनिलको मुहारमा पनि केही उज्यालो चमक देखियो, म पनि केही प्रसन्न भएँ।

लुना भाउजु र म दुवैजना बाहिर निस्कियौँ। मौकाले यौटा ट्याक्सी भेटेँ। ट्याक्सीमा मागेको रकम दिने कबुल गरेर हामी लुना भाउजुको घरतिर लाग्यौँ।     

केही पर पुगेपछि अचानक लुना भाउजुले ट्याक्सीलाई अर्कै बाटोमा मोड्न लगाइन्। त्यो देखेर म तीनछक परेँ। उनी झनै दह्रो हुँदै भन्न थालिन– जे ठान्नुहोस् म त्यो घरमा फर्कन्न रविन्द्रबाबु! यहाँ नजिकै मेरो एकजना भाइ छ, आज म उसैकोमा जान्छु। तपाईं यही ट्याक्सीमा घर फर्कनु होला।

म किंकर्तयविमुढ भएर भाउजुलाई त्यहीँ छाडी घर फर्कें।

मलाई अहिले तिनको बारेमा केही पनि थाहा छैन। अब म अनिललाई भेटेर के जवाफ दिउँ? त्यो पनि मलाई थाहा छैन। म निश्चय–अनिश्चयमा छु। जीवनमा यस्ता अनेकौँ मोडहरू आउँदा रहेछन्।           

प्रकाशित: १६ पुस २०७३ ०४:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App