१२ पुस २०८२ शनिबार
image/svg+xml
अन्य

एक्लो एकान्त

विश्वविख्यात लेखिका जेन अस्टिनका पुस्तकहरू मन छुनेखालका हुन्छन्। मान्छेका प्रेम र सम्बन्धका बारेमा उनका कृतिका हरफहरूलाई अहिले पनि धेरै पाठकका सोसल मिडिया पोस्ट बन्ने गरेका छन्। रोमान्टिक फिक्सनसमेत लेखेकी उनी अविवाहित थिइन्। अझ भनौँ, उनको उपन्यास 'प्राइड एन्ड प्रिजुडिस' को पात्र डार्सीजस्तो उनले जीवनमा कुनै डार्सी भेटिनन्।

'लिटल उमन' उपन्यास लेखेकी लुइस मे एल्कट पनि अविवाहित रहिन्। 'लिटन मेन' र 'जोज बोइज' समेत लेखेकी यी लेखिकाका कृति पढ्दा उनले जीवनमा कहिल्यै बिहे गरिनन् भनेर सोच्नसमेत सकिँदैन।

एक्लोपनाको परिभाषा मान्छेपिच्छे फरक छ। कसैले बिहे नहुनु वा प्रेमी–प्रेमिका नहुनुलाई एक्लोपनासँग जोडेका छन् भने कसैले परिवार वा साथीभाइ नहुनुसँग पनि यसलाई लिने गरेको पाइन्छ। नेपाली साहित्यमा उल्लेखनीय योगदान पुर्‍याएका थुप्रै लेखकले एकल जीवन रोजेका छन्। विविध कारणले एक्लो जीवन बिताइरहेका साहित्यकारहरूको एक्लो हुनु र नहुनुमा फरकफरक मत छ।

अमेरिकी कवयित्री इमिली डिकिन्सनका कविताहरू सरल छन्, मीठा छन्। १९औँ शताब्दीकी यी प्रखर कवयित्री पनि अविवाहित नै रहिन्। साहित्यमा मात्र होइन, अन्य क्षेत्रमा पनि धेरै चर्चित व्यक्तिहरूले जीवनमा कहिल्यै विवाह गरेनन्। राइट दाजुभाइ, सर आइज्याक न्युटनसहित धेरै विश्वविख्यात व्यक्ति जीवनभर अविवाहित रहे। धेरैको बुझाइ र अर्थमा उनीहरू जीवनभर 'एक्लै' रहे। एक्लो एकान्त तिनको प्रिय जीवनशैली रह्यो।

एक्लोपनाको परिभाषा मान्छेपिच्छे फरक छ। कसैले बिहे नहुनु वा प्रेमी–प्रेमिका नहुनुलाई एक्लोपनासँग जोडेका छन् भने कसैले परिवार वा साथीभाइ नहुनुसँग पनि यसलाई लिने गरेको पाइन्छ। त्यसो त जीवनमा बिहे नगर्दैमा एक्लो भइने र बिहे गर्दैमा मन मिल्ने साथी पाइहालिने भन्ने पनि होइन। नेपाली साहित्यमा उल्लेखनीय योगदान पुर्‍याएका थुप्रै लेखकले एकल जीवन रोजेका छन्। विविध कारणले एक्लो जीवन बिताइरहेका साहित्यकारहरूको एक्लो हुनु र नहुनुमा फरकफरक मत छ।

कवि तुलसी दिवस आफू मात्र होइन, हरेक मान्छे एक्लो हुन्छ भन्नेे मान्यता राख्छन्। विवाह गरेको होस् या नगरेको होस् या परिवारमा बसेको होस् या एक्लै होस्, जो पनि एक्लो हुन सक्ने उनी बताउँछन्। 'एक्लोपन विवाह नगर्नुसँग मात्रै सम्बन्धित छैन। कहिलेकाहीँ मान्छे भीडमा पनि त एक्लो हुन्छ। कहिलेकाहीँ एक्लो भएर पनि एउटा मान्छे भीडमा रहन्छ,' दिवस भन्छन्। सामान्यतयाः समाजमा अविवाहित भएर बसेको मान्छेलाई एक्लो भन्ने प्रचलन पश्चिमतिर वा हाम्रो परम्परागत सोचबाट आएको हुन सक्ने उनलाई लाग्छ। पश्चिमा समाजमा किशोरावस्थादेखि नै मानिस परिवारसँग अलग भएर बस्न सुरु गर्ने भएकाले विवाह वा सम्बन्धसँग एक्लोपनालाई जोडिएको हुन सक्ने उनी बताउँछन्।

निबन्धकार तथा समीक्षक कुमारी लामा मान्छेको एक्लोपनाको बारेमा कवि दिवसको भन्दा फरक मत राख्छिन्। मध्य ३०को उमेरमा हिँडिरहेकी उनी विवाहका लागि साइत नजुरेको बताउँछिन्। 'अहिलेसम्म बिहा किन नगरेको' भन्ने प्रश्नको जवाफ उनी हाँसेर पूरा गर्ने प्रयास गर्छिन्। उनको बुझाइमा मानिस कहिल्यै पनि एक्लो हुँदैन। 'हामी एक्लै त कहिल्यै पनि हुँदैनौँ। हामीसँग जोडिएका धेरै मानिस हुन्छन्,' उनी थप्छिन्, 'तर सम्बन्धमा रहँदा विभिन्न व्यवधान हुन्छन्। म अहिले स्वतन्त्रसँग घुम्न पाउँछु, लेख्न पाउँछु, मन लागेको गर्न पाउँछु। सायद कुनै सम्बन्धमा बाँधिएपछि त्यो सोचेजस्तो सम्भव नहोला कि!' सम्बन्धमा बाँधिएपछि जिम्मेवारी थपिने भएकाले कसैका लागि त्यो बोझ हुन सक्ने लामा बताउँछिन्। एक्लै हुँदा आफ्नो तरिकाले चल्न सकिने स्वतन्त्रता भएकाले त्यो उन्मुक्तता आफैमा पनि एउटा ऊर्जा भएको उनको ठहर छ।

साहित्यकार तथा प्राज्ञ सरुभक्त एउटा राम्रो घरपरिवारमा ५ छोरामध्ये जेठोका रूपमा जन्मे। आफ्नो जीवनमा कुनै पनि समयमा आफ्नो बुवा–आमा कसैको पनि सन्तान एक्लो भएर बाँचोस् भन्ने चाहना नहुँदानहुँदै पनि उनी अविवाहित नै भएर बसे। नाता–कुटुम्बमा पनि उनको बिहाबारे एकखालको दबाब थियो। मानिस विभिन्न कारणले एक्लो जीवन बाँच्न बाध्य हुने उनी बताउँछन्। 'जीवनका कतिपय परिस्थितिअघिल्तिर मैले विवाह नगर्ने निर्णय गरेँ। परिस्थिति वा सयमले मलाई एक्लो जीवन बाँच्न प्रेरित गर्‍यो,' उनी भन्छन्, 'यसलाई मेरा बाध्यता मान्दा पनि हुन्छ।'

त्यसो त उनलाई अविवाहित भएर बस्नुपरेकोमा कुनै दुःख, कुण्ठा वा पछुतो भने छैन। 'मलाई मैले नरोजेको सुखभन्दा रोजेको दुःख प्रिय लाग्छ र विवाह मैले नरोजेको सुख हो। संसारमा धेरै सुख र आवश्यकता छन् जसलाई रोज्न सकिन्छ, अपनाउन सकिन्छ तर मैले यस्तो जीवन रोजेँ जुन दुःखपूर्ण भए पनि वा कष्टपूर्ण भए पनि– समस्यायुक्त भए पनि मैले एक्लो बस्ने निणर्य गरेँ,' सरुभक्त भावुक शैलीमा भन्छन्। आफ्नो वरपर आफूले चयन गर्न सक्ने धेरै सुख भए पनि त्यसलाई आफूले चयन गर्न नचाहेको उनको जिकिर छ। आफूले सुख छोडेर दुःखलाई माया गरेर बसेको भए पनि आफूलाई कुनै गलत निर्णय गरेको नलाग्ने भएकाले पछुतो नभएको उनको दाबी पनि छ। आफ्नो विवेकले जस्तो जीवन बाँच्ने निणर्य गर्‍यो त्यसरी नै बाँचेको हुनाले आफूलाई कुण्ठा महसुस नहुने उनी बताउँछन्। 'एक्लो जीवन बाँचेर गल्ती गरेको महसुस पनि गर्दिनँ। पारिवारिक जीवनका समस्या छुट्टै हुन्छन् भने एक्लै हुँदाको समस्या पनि आफ्नै प्रकारका हुन्छन्,' उनी भन्छन्। एक्लै बाँचे पनि वा कोही अर्कोसँगै बाँचे पनि समस्याबाट मुक्त कुनै पनि मान्छे नहुने उनको अनुभव छ।

साहित्यकार कुन्ता शर्मा विगत ४० वर्षदेखि एक्लै छिन्। आफूसँग पहिले सँगै भएको मान्छे सहयोगी भएको भए जीवन अलि फरक हुन्थ्यो कि भन्ने सात दशक उमेर पार गरिसकेकी उनी महसुस गर्छिन्। अहिले आफ्नै जीवनी लेखनमा व्यस्त शर्मा मानिसलाई विभिन्न कारणले एक्लै बस्नुपर्ने बाध्यता आउने बताउँछिन्। 'कसैले साथ छोडिदिएको हुन्छ। कसैको मृत्यु भएको हुन्छ,' उनी भन्छिन्। सँगै भएर बिछोडिएको अनुभव भएका मान्छेहरूले लेखेको साहित्य गहन हुने उनको बुझाइ छ। एक्लो मान्छेको भोगाइ बेग्लैखालको र गम्भीर हुने उनी बताउँछिन्। 'म धेरै वर्षदेखि यही समाज र मान्छेको अध्ययन गर्दै बसेकी छु। समाजमा भएका घटना र आफ्नै जिन्दगीका भोगाइले प्रेरणा दिन्छ,' उनी भन्छिन्। जीवनसाथी नै साथमा भए पनि 'त्यो साथ' कस्तो हुन्छ भन्ने महत्वपूर्ण हुने उनी बताउँछिन्। राम्रो साथीसँग जिन्दगी सजिलो हुने भए पनि साथी असल नपर्दा झन् एक्लो हुने उनको अनुभव छ। एक्लै हुँदा सबै काम आफूले गर्नुपर्नेबाहेक अरु खासै केही फरक नपर्ने उनी बताउँछिन्।

साहित्य सिर्जनामा प्रभाव

सामान्यरूपमा एकल जीवन बिताइरहेका मानिसमा पीडाको सागर नै हुन्छ भन्ने सोचिन्छ। जिन्दगीको लामो यात्रा एक्लै तय गर्नुपर्दा मानिसहरू स्वभावतः उदास र आत्तिने पनि हुन सक्छ। त्यसमाथि विवाह नगर्दा हाम्रो समाजबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हुने दबाब र तनाव पनि कम हुँदैन। यस्ता सामाजिक, पारिवारिक तथा अन्यखाले परिस्थितिले साहित्यकारका सिर्जनाहरूमा स्वतः प्रभाव पर्ने धेरैले अनुमान गर्छन्।

विवाह नगरेका साहित्यकारहरू विवाह भएको भए आफ्नो साहित्यिक अवस्था के हुन्थ्यो होला भनेर तुलना गर्न त सक्दैनन्। आफूले विवाह गरेको भए वा व्यक्तिगत परिवार भएको भए कति सृजनशील हुन सक्थेँ र अहिले कति छु भन्न नसक्ने सरुभक्त बताउँछन्। 'म यसै त भन्न सक्दिनँ, किनभने कैयौँ घरपरिवार भएका साहित्यकार (महाकवि देवकोटा, बालकृष्ण सम, संसारका कतिपय साहित्यकार) परिवारमै बसेर महान् सृजना गरिरहेका छन्,' उनी भन्छन्, 'यही भएर पनि विवाह गरेर सिर्जना गर्न सकिन्न वा राम्रो लेख्न सकिन्न भन्ने धारणा म राख्दिनँ।' साहित्य सिर्जना सर्जकको सृजनशील क्षमतामा भरपर्ने कुरा भएकाले एक्लो हुँदैमा सिर्जना फुर्ने भन्ने नहुने उनको भनाइ छ। आफू अविवाहित भए पनि अन्य विभिन्न जिम्मेवारी निर्वाह गर्नबाट नभागेको उनी बताउँछन्। 'पोखरामा हुँदा विभिन्न संघ–संस्थासँगको आवद्धताका कारण निकै व्यस्त रहन्छु। कतिपय समयमा एक्लो व्यक्तिलाई परिवारमा बसेको व्यक्तिलाई भन्दा अप्ठ्यारो पनि हुन्छ,' सरुभक्त भन्छन्। त्यसो त उनको अनुभवमा एक्लो मान्छे कतिपय पारिवारिक सुख तथा सहयोगबाट वञ्चित हुन्छ। अहिले आफू नाट्य–प्रतिष्ठानको कुलपति भए पनि पकाउने–खानेलगायतका घरायसी काम सबै आफैले गर्नुपर्ने अवस्था रहेको उनी बताउँछन्। आफूलाई अहिले पनि त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा विद्यार्थी हुँदा बाँच्नेजस्तो जीवन बाँचिरहेको अनुभव हुने उनी सुनाउँछन्।

उता, लामालाई भने विवाह भएपछि साहित्य सिर्जनामा प्रभाव पर्छ भन्ने लाग्छ। विशेषगरी महिलाले अरुको घरमा गएर आफन्त, सासु–ससुरा, छोराछोरीजस्ता सम्बन्ध र विभिन्न जिम्मेवारीका कारण थप जेलिने उनी बताउँछिन्। पछिल्लो समय निबन्ध लेखनमा चर्चा कमाएकी उनलाई कसैको साथले मात्र लेख्न सकिन्छ भन्ने नभए पनि अलिकति ऊर्जा भने थपिन सक्छ भन्नेचाहिँ लाग्छ। 'मलाई लेख्न तत्कालीन अवस्था, देश, काल र परिस्थितिले प्रेरणा दिन्छ। हामीले बाँचिरहेको समय, जीवन भोगाइ र त्यसमा हुने उथलपुथलले लेखनमा ऊर्जा दिन्छ,' उनी भन्छिन्।

अहिले कथा, कविता र उपन्यास लेखिरहेकी साहित्यकार बेन्जु शर्मा पढ्न पनि उत्तिकै रूचाउँछिन्। ३५ वर्षदेखि एक्लै रहेकी शर्मा अहिले एकल जीवनमा अभ्यस्त भइसकेकी छन्। उनलाई एक्लो जीवन नै मन पर्छ। 'म त आफू एक्लै आफ्नो व्यक्तित्व निर्माण गर्दै हिँडेको मान्छे। त्यतिबेलामा पनि लेख्थेँ, अहिले पनि लेख्छु। मलाई त एक्लो जीवन नै मन पर्छ,' उनी भन्छिन्।

जैविक, सामाजिक, सांस्कृतिक वा पारिवारिक दृष्टिकोणले एक्लो बस्नु मान्छेको दृढता, रहर र आस्था पनि हो। कवि दिवस आफू चाहेर अविवाहित भएको भए पनि, नचाहेर यसलाई वरण गरेर अगाडि पनि नबढेको बताउँछन्। त्यसो त आफू अविवाहित रहनुसँग साहित्य र आफ्नो रचनासँग कति सम्बन्ध छ भनेर अहिलेसम्म नसोचेको उनको भनाइ छ। 'मान्छे आफूमा सधैँ नितान्त एक्लो हुन्छ, तर सामाजिक प्राणी भएको हुनाले र जैविक आवश्यकता र जीवन सञ्चालन गर्ने कारणले मान्छे परिवारमा बाँच्छ अनि आफ्ना साथीभाइ छरछिमेक, सबैसँग मानवीय सम्बन्ध स्थापना गर्छ र अगाडि बढ्छ,' उनी भन्छन्। वैवाहिक बन्धनमा बाँधिनु स्वाभाविक प्रक्रिया भएकाले त्यो स्वाभाविक प्रक्रियाभन्दा बाहिर रहेका मान्छे देख्दा केही अनौठो वा केही फरक लाग्ने हुन सक्ने उनी बताउँछन्। तर, यसले प्रत्यक्षरूपमा आफ्नो सिर्जनशीलतालाई केही प्रभाव नपार्ने उनको अनुभव छ। कतिपयलाई एक्लै रहनु वा एकान्तमा रहनु उदास हुनुजस्तो लाग्छ। कवि दिवसलाई भने एकान्त आफैलाई राम्ररी बु‰ने अवसरजस्तो लाग्छ। जीवनमा अरुलाई चिन्नमात्रै नभई आफैलाई चिन्नु पनि महत्वपूर्ण काम हुने उनको ठम्याइ छ। यस्तो चिन्तन मनन भनेको सामूहिक भन्दा एकान्तमा र एक्लोपनमा बढी हुने उनको अनुभव छ। त्यसो त, एक्लै बस्ने भन्दैमा परिवार र समाजबाट भाग्न पनि नहुने उनी बताउँछन्।

एक्लै हुँदा साहित्य सिर्जनामा कस्तो प्रभाव पार्छ भन्ने कुरा विश्लेषक तथा समालोचकहरूले विश्लेषण गर्ने कुरा भएको शर्मा बताउँछिन्। आफ्नो लेखनमा समाजमा भएका कुरा, आफ्नो मनका भावना र कल्पना लेखिने उनी बताउँछिन्। आफूले साहित्य लेख्न सुरु गर्दा समाज, विचार, मूल्यांकन, पद्धति साँघुरो भएकाले लेखिका भन्दा फरक नजरले हेर्ने समय भएको उनको अनुभव छ। 'पढ्न–लेख्न गाह्रो थियो। मेरो घरमा बुवा लेखक भएकाले लेख्ने वातावरण भने थियो,' उनी विगत सम्झँदै भन्छिन्। बुवाले लेख्नको लागि प्रेरित गरेकाले अरुले भोगेजस्तो गाह्रो भने नभएको उनको भनाइ छ।

२०१२ सालमा जन्मेका सरुभक्तले ६ कक्षामा पढ्दादेखि नै कविता लेख्न सुुरु गरे। उनले लेखनका सुरुवाती दिनमा अहिलेकोे गण्डकी बोर्डिङ स्कुलका शिक्षकहरूबाट प्रेरणा पाए। त्यसपछि सामूहिकरूपमा अन्य शिक्षक, सहपाठी, घरपरिवारको प्रेरणा पाउँदै गए र लेखनलाई निरन्तरता दिए। त्यससँगै, स्वतस्फूर्तरूपमा किताबहरू पढ्न थाले। अग्रजहरूको रचना पढ्न थालेपछि उनलाई लेखौँलेखौँ, केही अभिव्यक्त गरौँ जस्तो लाग्न थाल्यो। त्यसपछि विस्तारै नजानिँदो किसिमले लेखनतिर अग्रसर हुन थाले। 'तर, त्यसबेला विद्यालय पढ्दाताका म डाक्टर बन्न चाहन्थँे। स्कुलमा सधैँ पहिला हुने भएकाले सबैले डाक्टर नै बन्छ भन्ने सोच्थे। लेखक बन्ने मेरो सोच नै थिएन,' उनी ती दिन सम्भि्कँदै भन्छन्। उनीसँगै उनका समकालीन साथीहरू पनि साहित्य सिर्जनामा लाग्न थाले। त्यसपछि कविता लेख्ने काम पनि एउटा खेेलजस्तो लाग्न थाल्यो। उनका साथीहरू गहन भाव अभिव्यक्त गर्नभन्दा पनि रमाइलोका निम्ति लेख्थे। 'कहिलेकाहीँ गुरुहरूले गहन भावना सुनाउँदा साहित्य भनेको त यति महत्वपूर्ण पो रहेछ भन्ने लाग्थ्यो। यी र यस्तै विभिन्न कारणले म साहित्यतिर आकर्षित भएँ,' सरुभक्त आफ्ना सुरुवाती साहित्यिक दिन सम्झन्छन्, 'विद्यालयमा पढ्दा त जीवनभर यसरी नै साहित्यमै लाग्छु र यसमै रमाउँछु भन्ने सोचेको थिइनँ।' कतिपय मेधावी विद्यार्थीको जस्तै उनको चाहना पनि डाक्टर बन्ने थियो। तर, परिस्थिति र अभिरूचिले विस्तारै साहित्यतर्फ अग्रसर हुँदै गएको उनी बताउँछन्।

कवि दिवस आफू साहित्य सिर्जनामा लाग्नुसँग एक्लो रहनुको खास सम्बन्ध नभएको धारणा राख्छन्। आफूले किशोरावस्थादेखि नै साहित्य सिर्जना गर्दै आएकाले यससँग एकल जिन्दगीसँग सम्बन्ध नभएको उनी दाबी गर्छन्। बाल्यकालदेखि नै शब्दहरूसँगै प्रेम र घनिष्टता रहेकाले अक्षर र शब्दसँग नजिकको सम्बन्ध रहेको अनि सिर्जनशीलता र लेखनमा लागेको उनी बताउँछन्। 'बाल्यकालदेखि नै म पढ्ने अनि लेख्ने गर्थें। अक्षर र शब्दसँगको साइनो नजिकको हुने नै भयो। तर, म आफूलाई अभिव्यक्त गर्नुपर्दा पहिला रेखा, रंग, क्यान्भासका माध्यमद्वारा गर्थें,' उनी भन्छन्। हरेक मान्छेमा कवित्व भएको र त्यसलाई प्रस्फुटन हुन दिनुपर्ने दिवस बताउँछन्। 'मलाई एकान्तको सदुपयोग भएन भने त्यसले चिल्छ, घोच्छ। त्यो चिलाइ र घोचाइ पनि उत्प्रेरक हुन्छ,' उनी भन्छन्। तर, दुःख, चिन्ता र पीडाले पनि साहित्य सिर्जनामा केही मद्दत गर्ने उनको अनुभव छ।

एकल मान्छे जिन्दगीमा सफल हुन नसक्ने कतिपयको बुझाइ अद्यापि छ। समाजमा अहिले पनि महिला–पुरुषलाई एउटा रथको दुई पांग्रा भन्ने गरिन्छ। एकल बाँच्नु एउटा पांग्रामा चल्नुजस्तै हो भन्ने मान्छेको कमी छैन। 'एक्लो बाँच्ने मान्छेमा मनोवैज्ञानिक र जैविकरूपले असन्तुष्टि हुने हुनाले अनेक प्रकारका इरिटेसन लिएर हिँड्छन् वा सन्तुलित जीवन बाँच्दैनन् भन्ने सोच देखेको छु,' दिवस भन्छन्। तर, मान्छे एक्लो भएर पनि सफल हुन सक्छ र एक्लो भएर पनि अगाडि बढ्न सक्छ भन्ने कुराको प्रमाण आफू भएको दिवस दाबी गर्छन्।

प्रकाशित: २५ मंसिर २०७३ ०५:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App