महोत्सवमा नेपालको पनि लोक सँस्कृति देखाउने कार्यक्रम थियो। महोत्सवमा सहभागी हुन धरानबाट पत्रकार मित्र सन्तोष काफ्ले र म थियौं। अरु संस्थाका सदस्य, कोही साँस्कृतिक टोलीका कलाकार। धरान, इटहरी, विराटनगर, उर्लाबारी, विर्तामोड, इलाम लगायत ठाउँबाट जोगवनी नाका हुँदै जानेको संख्या ७० को हाराहारी थियो। उत्तर प्रदेशको नोइडा सिटीको सेक्टर ५० मा बस्ने व्यवस्था रहेछ।
स्टेशनबाट गाडी रिजर्ब गरेर पुगियो। हामी बस्ने होटलको नाम नित्याज रेसिडेन्सी। नुहाई सकेर खाना खायौं। आयोजकको आग्रह अनुसार नेपाली राष्टि्रय पोशाक दौरा सुरुवालमा सजियौं। सबैलाई कार्यक्रमस्थल पुग्न हतारो। कलाकारको टोली त हामीले खाना खानुअघि नै महोत्सवस्थलतर्फ हिडिसकेछ। झण्डै डेढ सय मुलुकका मानिस एकै ठाउँ भेला हुने। फरक भुगोल, फरक सँस्कृति अनि फरक भाषाका मानिस एकै ठाउँमा उभिदा कस्तो होला? मन रोमाञ्चित भइरहेको थियो। आयोजकले तीन दिनमा ३५ लाख सहभागी हुने दाबी गरेको थियो।
महोत्सवको तयारी दिल्लीस्थित यमुना नदी किनारमा थियो। नदीमा प्रदुषण बढाउने भन्दै वातावरणवादी र भारतीय मिडियाले आलोचना गरिरहे पनि सबैलाई महोत्सवको ब्यग्र प्रतिक्षा थियो। हामीलाई लिन आउने गाडी पनि निकै ढिला गर्योा। समय कटाउन घरि टिभी हेर्दै, घरि फोटो सेसन गर्दै बस्यौं। पत्रकार गोपाल कामतले सन्तोष र मलाई मिडियाको कार्ड दिएका थिए। हामी स्टेज नजिकसम्म पुग्न सक्थ्यौं। गाडी त आयो, तर सन्तोष, मसँगै दर्जन जति अटाएनौं। अर्को बस लिन आउछ भनेको पनि जाममा फसेर घण्टौं बित्यो। असिना पानी पनि पर्योन। दिल्लीमा असिना परेको देखेर होटलका मेनेजरले पनि अचम्म माने। महोत्सव बेलुकी ५ बजे उद्घाटन हुदै थियो। त्यतिबेलासम्म पनि हिड्न पाएनौं। ज्यादै नमिठो लाग्यो।
होटलबाट गाडी रिजर्ब गरेर गेट नम्बर ३ पुग्दा रात परिसकेको थियो। कार्यक्रम शुरु भइसकेछ। भित्र प्रवेश गर्दागर्दै मानिसको हुलमा अरु साथी कता विलाए। म र सन्तोषमात्र सँगै थियौं। गेटबाट महोत्सवस्थलसम्म बाटो हिलाम्मे थियो। महोत्सवस्थलमा विछ्याएको कार्पेटमा पनि पानी र हिलो। बर्षातले विथोलिएर होला, सुरक्षा जाँच भएन। मान्छेको ओहोर दोहोरले एकछिन उभिनै नसक्ने। भिडमा च्यापिदै, हिलोमा लडिएला कि भनेर जोगिदै, ठेलिदै स्टेज भएतिर अघि बढ्यौ। बाफ रे बाफ! यता मान्छे, उता मान्छे। हुरी र असिना पानीमा रुझ्दै भएपनि महोत्सवमा ओइरिएका। विभिन्न देशका आगन्तुक खाल खालको पहिरनमा। विश्व सँस्कृतिको महाकुम्भ। अनुपम, अद्भुत दृष्य। ठेलमठेल हुदै गर्दा मलाई हेर्दै एक विदेशीले उसको साथीलाई भन्यो, 'नेपाली फोल्क ड्रेस।' दौरा सुरुवाल र ढाका टोपी देखेर उसले नेपाली भनेर चिन्यो। गर्व महसुस भयो। मैले मुस्कुराई दिए। कुराकानी हुनै पाएन, ऊ पनि भिडमा हरायो।
एक सय एकड जमिनमा महोत्सव हुँदै थियो। स्टेज मात्र ७ एकड जमिनमा बनिएको। प्याराफिट स्वरुपमा बनाइएको भव्य छ। स्टेजलाई जमिन मुनि फाउण्डेशन राखिएको छैन। त्यत्रो स्टेज जमिन माथि नै अडिएको। यसको डिजाइन नितिन चन्द्रकान्त देसाई र उनको टिमले गरेको रहेछ। साह्रै तारिफ योग्य काम। जमिनमा पनि सबैलाई बस्न कुर्सी राखिएको। कुर्सी लाखांैको संख्यामा छ। स्टेजमा श्री श्री रवि शंकरसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापा पनि थिए। केन्द्र र राज्य सरकारका मन्त्री सबै थिए। विभिन्न मुलुकबाट आमन्त्रित पाहुना पनि। भिडमा कता पुग्यौ कता। मिडियालाई छुट्याएको स्थानसम्म पुग्नै सकिएन। स्टेज र सर्वसाधारणबीचको सुरक्षा घेरासम्म पुग्यौं। सबैभन्दा अघिल्तिर राष्टि्रय झण्डासहित नेपाली टोली पो कुर्सीमा रहेछन्। थुप्रै नेपाली झण्डा फर्रफराएको देख्दा खुशीको सिमा भएन। महोत्सवमा नेपालको प्रस्तुती तेस्रो(अन्तिम )दिनमा थियो।
स्टेजमा एकै पटक सत्र सय कलाकारहरुले दक्षिण भारतको सँस्कृति 'भरत नाट्यम' प्रस्तुत गरे। लगत्तै, आर्ट अफ लिभिङका ८ हजार ५ सय कलाकारहरुको ग्राण्ड अर्केष्ट्रा। कति भव्य र सभ्य प्रस्तुती। केही क्षण अघिको सारा तनाव बिर्साइदिने। यतिका कलाकार कसरी जुटे होलान्? रिहर्सल गर्न कति गाह्रो भयो होला? त्यसपछि, अर्जेन्टिनाकी चर्चित गायिका प्याटि्रसिया सोसा र ५ सय बढी कलाकारहरुले ल्याटिन अमेरिकी सँस्कृतिलाई विश्व सामु पस्किए।
विश्व एक परिवार (वसुधैब कुटुम्बकम) महोत्सवको नारा। रवि शंकरलाई उनका चेला गुरुजी भन्छन्। उनले राम्रा कुरा गरे। विश्व एक परिवार बनोस् भन्ने सपनालाई महोत्सवले साकार बनाएको बताए। आध्यात्मिक बाटोबाट मात्रै मनभित्र शान्ति, आनन्द पाउन सकिने। त्यही आध्यात्मको लहर बोकेर हिड्न सबै एक ठाउँमा भेला भएको पनि भने। 'यो आध्यात्मिक घर हो, जो जो जहाँबाट आउनु भएको छ सबैलाई आफ्नो घरमा स्वागत छ। फरक देश, फरक भेष, फरक सँस्कृति तर एउटा घर', उनले भने।
नेपालका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले पनि मञ्च उपयोग गर्दै राम्रो मन्तव्य दिए। भारतले विश्व सामु बुद्ध भारतमा जन्मिएको भन्दै भ्रम फैलाइ रहन्छ। मन्त्री थापाले भारतीय प्रधानमन्त्री र विश्वभरबाट आएका लाखौं मानिस सामु 'नेपाल बुद्ध जन्मिएको देश' भन्दा नेपाली टोलीले जोशिएर झण्डा हल्लाउदै ताली बजायो। गर्वले छाती ढक्क फुल्यो।
बुल्गेरियाका २ सय कलारकारले होरो नृत्य प्रस्तुत गरे भने केरलाका १ हजार ३ सय १० नर्तकीहरुले शास्त्रीय नृत्य मोहिनीअटम, एक हजार कलाकारले हिमांचल प्रदेशको सास्ँकृति नाटी लोक नृतय, रसियाको ३० कलाकारले कोइर सुन्दर ढंगले पस्किए। यस्तै, वाका वाका भन्दै ड्रम सहित स्टेजमा आएका ४ सय कलाकारहरुले अफि्रकन गीत र नृत्यसहित अफि्रकाको सँस्कृति, ब्राजिलको बोनिटालगायत विभिन्न देशको सँस्कृति क्रमैसँग प्रस्तुत भयो। सँस्कृतिको माध्यमबाट सारा विश्वलाई एकै स्थानमा नियालिरहेका थियौं। दुर्लभ अवसर मिलिरहेको थियो।
महोत्सव साँझ ५ बजे मात्रै शुरु हुने। मार्च १२ र १३ तारिख बिहान र दिउसोको खाली समय दिल्ली र अगरा घुमघाममा बित्यो। सन्तोषजी, धरानका जनक खड्का दाई, दिनेश तुलाधार, विनिता भाउजु, विर्तामोडका आयुस ढुंगानालगायत एउटा समुह बनाएर घुम्न निस्कियौं। लोटस टेम्पल, इण्डिया गेट, अक्षरधाम, अगराको लाल किल्ला र विश्वको सातौं आश्चर्य ताज महल हाम्रो गन्तव्य। जता पुगे पनि हजारौंको संख्यामा देश विदेशबाट पर्यटक पुगेका छन्। महोत्सवमा सहभागी हुन आएका मानिस पनि त्यतै भेटिने। तीन दिनमा एक नेपालीले सरदर १० हजार भारु खर्च गरे। महोत्सवमा लाखांैको संख्या आएका अन्य विदेशी पर्यटकले कति खर्च गरे होलान्?
पर्यटक घुमाउन गाइडहरुलाई फर्सद छैन, कमाई पनि राम्रो हुदो रहेछ। ती गन्तव्य नजिकैको होटल रेष्टुरेष्ट, गिफ्ट पसल र अन्य विभिन्न व्यापार पनि पर्यटकले नै धानेको छ। पर्यटक बोक्ने ट्याक्सी, फोटो खिचिदिएर मोवाइल नम्बर मागेर लैजाने र गेटमा कुरेर बस्नेले पनि मनग्ये कमाएका छन्। कतिसम्म भने ताज महलमा मुख्य गेटबाट भित्र १ किलोमिटर बाटोमा पनि पर्यटकलाई हिड्न नदिई साना गाडी वा उठले तान्ने सवारीमा चढाएर कमाएका छन्। आगराको लालकिला भित्र साना लोखर्के छन्। केहीले पर्यटकको हातमा थोरै चारो हालिदिन्छन्, लोखर्के पर्यटकको हातमा एक छिन आउछ। त्यति चारो हालिदिएको पनि भारु १० रुपैया लिन्छन्।
हामी बसेको होटल मेनेजरले रिजर्ब गाडी व्यवस्था गरेवापत चालकबाट कमिशन पाउछन्। त्यहाँका मानिसले पर्यटनलाई राम्ररी बुझेका छन्। पर्यटकलाई राम्रो बोली, व्यावहार गर्दा पैसा खर्च गरेर जान्छन् भन्ने उनीहरुलाई राम्ररी थाह छ। यस्तो पर्यटनमैत्री सँस्कार नेपालीलाई पनि अनुकरणीय छ।
नेपालको प्रस्तुती मार्च १३ मा थियो। नेपालका एक सय २५ कलाकारको टोलीले जातजातिको मौलिक सँस्कृति देखाउने तयारी थियो। कलाकार कोही पनि व्यावसायिक छैनन्। उद्घोषकले नेपाली टोलीलाई बोलायो। भव्य स्टेज, लाखौंको नजरले हेरिरहेको।
शेर्पाहरुको लोक भाकाको संगीतमा नेपाली नाच्न थाले। नेवारी, झागड, राई र गुरुङ पोशाकमा रहेका कलाकार पनि संगीतको तालमा लहरै नाचे। स्टेजमा यता र उता गर्दै ठुलो राष्टि्रय झण्डा दौडिरह्यो। नेपालको झण्डा नै महोत्सवमा देखिएकोमध्ये ठुलो थियो। मैदानमा कुर्सीमा बसेका नेपालीहरुले पनि जोशिदै राष्टि्रय झण्डा हल्लाई रहे। शेर्पा पछि नेवारी, झगड, राईको साकेला र अन्तिममा पश्चिमका गुरुङ जातिको कौडा नृत्य क्रमशः प्रस्तुत भयो। गीतको शब्द थिएन, सबै संगीतको धुनमा मात्रै प्रस्तुती रह्यो।
कलाकारले नृत्य प्रस्तुत गरिरहदा स्टेजमा झण्डा लिएर यता उता दौडिरहने करियोग्राफर श्रेष्ठ थिए। उनको २५ बर्षे कला क्षेत्रको यात्रामा यो कार्यक्रमजस्तो भव्य कुनै भएन। स्टेजमा सबै भन्दा ठुलो झण्डा बोकिरहदा उनको दिमागमा केही कुरा खेलेन, मात्र देश(नेपाल) सम्भि्कए रे। महोत्सवमा सहभागी १ सय ५५ देशका लाखौं मान्छे सामु नेपाली सँस्कृतिको पहिचान गराउन सकेको क्षण अविष्मरणीय रहेको उनले सुनाए। अन्य कलाकार पनि उधुमै खुशी भए। नेपालको प्रस्तुती पछि कलाकारसँग विदेशी फोटो खिच्न लालयित बने। नेपाली झण्डाले पनि विदेशीलाई आकर्षित गर्यो। उनीहरु नेपाली राष्टि्रय झण्डा बोकेर फोटो खिचेको खिच्यै।
नेपालको प्रस्तुती अघि र पछि पनि न्युजिल्याण्ड, जर्मनी, जापान, पाकिस्तान, इण्डोनेसिया, श्रीलंका, मंगोलियालगायत देशका कलाकारले सँस्कृति देखाए। अन्त्यमा, ८ हजार ५ सय कलाकारको अर्केष्ट्रा प्रस्तुतीसँगै महोत्सव सकियो। तीन दिनमा ३७ हजार कलाकारले कला देखाए। विश्व कला र सँस्कृतिको अद्भुत संगम। सँस्कृतिको माध्यमले विश्वलाई भावनात्मक एकताको सुत्रमा बाध्ने पहल। शान्ति, प्रेम, भातृत्व र सद्भावको सन्देश छर्न पनि महोत्सव सफल भयो। 'वशुधैव कुटुम्बकम'लाई संसारभर पुर्यािउन सक्यो।
महोत्सव आर्ट अफ लिभिङले आयोजना गरेपनि यसको प्रत्यक्ष लाभ भने भारतलाई भयो, त्यहाँको पर्यटन उद्योगलाई भयो। विश्वभरबाट आएका सहभागी दिनभर घुम्थे र साँझमा महोत्सवस्थल पुग्थे। नेपालमा पनि यस्तै केही भव्य कार्यक्रम गर्न सके भुकम्पपछि थलिएको पर्यटन उद्योग पुनः उठ्ने थियो।
रवि शंकर
संस्थापक, द आर्ट अफ लिभिङ
मानव जातिलाई एक सुत्रमा बाध्ने पाँच वटा क्षेत्र छ, खेलकुद, कला, विचार, व्यापार र आध्यात्म। विश्व एक परिवार होस् भन्ने सपना देखेका थियौं, साकार हुदैछ। हामी सबै एक छौं। भनाई र गराईमा अन्तर नहोस्। मनभित्र आनन्द मिलोस्। त्यसका लागि आध्यात्म चाहिन्छ। मान्छेले आफुभित्र मनन् गर्नुपर्छ, जो मसँग त्यही सबै ठाउँमा छ।
...
भुवनदास श्रेष्ठ
नृत्य निर्देशक
जब स्टेजमा हाम्रो प्रस्तुती हुदै थियो, म त केही सोच्नै सकिन। राष्टि्रय झण्डा बोकेर स्टेजमा हल्दाउदै मैले त मात्र देश नेपाल सम्भि्कए। मेरो २५ बर्षे क्यारियरमा मानिसको यति ठूलो भिड कहिल्यै देखेको थिइन। यस्तो भव्य कार्यक्रममा नेपाल र नेपाली सँस्कृतिलाई देखाउन पायौ, पहिचान गरायौं, ज्यादै भाग्यमानी ठान्छु आफुलाई। त्यो क्षण गौरवपुर्ण थियो।
...
सम्झना सुब्बा
कलाकार
म राई जातिको ड्रेसमा थिए। राई जातिको साकेला नृत्य पनि देखाउनु थियो। त्यत्रो ठुलो कार्यक्रममा सारा विश्वको सामु सँस्कृति देखाउन पायौं, म कलाकारका रुपमा थिए, आफुलाई निक्कै भाग्यमानी महसुस गरे। नृत्य गरिसकेर फर्कदा नेपालको झण्डा देखेर विदेशी फोटो खिच्छु भन्दै आउथे। हाम्रो झण्डा अरुको भन्दा ठुलो र अलग जो छ।
प्रकाशित: १२ चैत्र २०७२ २३:४७ शुक्रबार





