'हाम्रो बिबाहलाई मेरो घर र ससुराली पक्षले सजिलै स्वीकार गरे। हरेक दुःख सुखमा म ससुरालीमा पुग्छु र त्यहाँबाट पनि हाम्रो घरमा आउनु हुन्छ,' उनी भन्छन्। जागिरको शिलसिलामा ताराताल पुगेका बेला सराफत र गंगाबीच प्रेम सुरु भएको थियो। प्रेमलाई बिबाहमा परिणत गर्दा धार्मिक सदभाव झन् बलियो बनेको उनीहरुले महसुस गरेका छन्। दुबै धर्म–संस्कृतिमा उनीहरु समान रुपले सहभागी हुन्छन्।
घरमा रहँदा ईस्लाम धर्मसंस्कृती अनुसार ब्रत लिने गंगा माईत जाँदा हिन्दु धर्मका चाडपर्वमा रमाउँछिन्। 'दसैं तिहारमा परिवारका सबै जना ससुराली जान्छौ, मिठो मसिनो खान्छौं। रमाईलो गरेर फर्किन्छौ,' सराफतले भने 'इद, मोहर्रम जस्ता पर्वमा ससुरालीतिरबाट आउनु हुन्छ र आपसमा खुसी साटासाट गर्छौं।'
अन्तर धार्मिक बिबाह गर्ने परिवारमा उनी एक्लो होईनन्। बाबु स्वर्गिय साहदत अलि खाँले पनि दाङको घोराहीबाट हिन्दु समुदायकी उनको आमा साल्मा खाँनसँग बैबाहिक सम्बन्ध जोडेका थिए। परिवारका चार दाजुभाइ मध्ये सराफत माईला हुन्। जेठा दाजु आरिफ र साईला भाइ मुबारकले पनि हिन्दु समुदायकी चेलीसँग विवाह गरेका छन्। उनका जेठो दाइ आरिफले नेपालगन्ज–७ नयाँबस्ती र साईलो भाइले दाङबाट बिबाह गरेका हुन्।
'बुवाले आज भन्दा ५० बर्ष अगाडी हिन्दु समुदायबाट आमालाई बिबाह गर्नु भएको थियो,' सराफतले भने 'हामी चार दाजुभाई मध्ये कान्छो भाई बाहेक बाँकी सबैले हिन्दु परिवारबाट बिबाह गरेका छौ।' आफ्नो परिवार र माईती पक्ष जस्तै जेठो दाजु र साईलो भाईको सम्बन्ध पनि माईती पक्षसँग सुमधुर रहेको उनी बताउँछन्। पुर्खौदेखि आपसमा मिलेर आएका हिन्दु र मुस्लिमबीचको पारिवारीक सम्बन्धले एकता कायम गरेको सराफतले बताए। मुस्लिम र हिन्दु धर्मावलम्बी बीच अन्तर धार्मिक बिबाह गर्ने चलन पुरानै समयदेखि चल्दै आएको देखिन्छ। यति मात्र नभएर एक धर्मका मानिस अर्को धर्मका चार्डपर्वमा रमाउने र खुसियाली मनाउने समेत प्रचलन रहेको पाईन्छ।
नेपालगन्ज–१७ निवासी सपना भट्टराई हिन्दु धर्ममा आस्था राख्छिन्। तर, उनी मुस्लिम समुदायका कुनैपनि चार्डपर्व छुटाउँदिनन्। ईद, मोहर्रम जस्ता चार्डपर्वमा मुस्लिम समुदायका आफन्त, साथीसंगी कहाँ निम्तो मान्न जाने सपनाले दसै, तिहार, तीज जस्ता पर्वमा मुस्लिम समुदायका मुस्लिम आफन्त र साथीसंगीलाई घरमा बोलाउँछिन्। दुई दिन अघि मात्र उनी साउदी अरव हज गर्न जान लागेका मुस्लिम समुदायका तिर्थयात्रीलाई बिदाई कार्यक्रममा सहभागि बनिन्। 'मुस्लिम समुदायका चार्डपर्वलाई म नछुटाएर मनाउँछु,' उनले भनिन् 'एकै ठाउँमा मिलेर बसेका हामीहरु एक अर्कालाई सम्मान गर्छौ।' पुर्खौदेखि मिलेर बसेका कारण अन्तर धार्मिक बिबाह गर्ने प्रचलन बढ्दै गएको र दुवै समुदायका परिवारले यस्तो सम्बन्धलाई स्वीकार गर्ने गरेको अधिकारकर्मी सपनाले बताईन्।
हिन्दु महिलाको महान पर्व हरितालिका (तीज) नजिकिदै गर्दा नेपालगन्ज–९ निवासी मैमुना सिद्धिकी अचेल दर खाने कार्यक्रममा दिनहुँ सहभागि हुन थालेकी छन्। ब्रत बस्ने बाहेक उनी तीजको हरेक गतिविधीमा सहभागि हुन्छिन्। यसका साथै हिन्दु धर्मका अन्य महत्वपुर्ण चार्डपर्वहरु दसै, तिहार, रक्षाबन्धन, होली पर्वमा मैमुनाको परिवारले खुसियाली मनाउँछ। फातिमा फाउउडेशन नेपाल बाँकेकी कार्यबाहक अध्यक्ष मैमुनाको बुझाईमा बाँकेमा धार्मिक सदभाव निकै बलियो छ। 'धार्मिक सदभाव यति बलियो भइसक्यो कि कसलै बिगार्न खोजेपनि सम्भव छैन, दुई समुदायबीच परिवारीक सम्बन्धका साथै धार्मिक सहिष्णुता छ,' उनले भनिन्।
हिन्दु समुदायका तमाम पर्वमा आफ्ना छोरा छोरीहरु छिमेकी साथी संग मिलेर रमाईलो गर्ने गरेको उनी बताउँछिन्। 'तीजमा महिला दिदि बहिनीले रमाईलो गर्न बोलाएपछि सहभागि हुन्छ, रक्षा बन्धनमा त हाम्रो सिंगो परिवारले हातमा राखि बाँध्छौ,' उनले भनिन् 'समुदायमा मिलेर बसिसकेपछि सुख, दुःखमा सहभागि हुनै पर्योव नि।'
पुर्खौदेखि मिलेर बसेका हिन्दु र मुस्लिम समुदायबीच बाँकेमा अन्तर धार्मिक बिबाह गर्नेको संख्या नगन्य मात्रामा रहेको धार्मिक अगुवाहरु बताउँछन्। तर पनि यि समुदायबीच द्धन्द्ध उत्पन्न गराएर राजनीतिक फाईदा लिने प्रयास नभएको होईन्। गलत नियतले गरिएको उक्त प्रयास भने पटक–पटक असफल भएका छन्।
नेपालगन्ज, फुलटेक्राका आलम खान र फत्तेपुरकी सिमा घर्तीले एक अर्काको प्रेम सम्बन्धलाई २०६१ सालमा बिबाहमा परिणत गरे। अन्तर धार्मिक बिबाह पश्चात परिवार र माईती पक्षबीच एक अर्कालाई दुःख, सुखमा साथ दिन थालेका छन्। 'हाम्रो बिबाह भइसकेपछि कुनै माईती र घरबीच कुनै असमझदारी भएन, धार्मिक सदभाव झन् बलियो भयो,' उनले भने। दुबै धर्मका चार्डपर्वलाई समान रुपले मनाउने गरेको उनले बताए। आलम नेपालगन्जमा पत्रकारिता र मानव अधिकारका क्षेत्रमा क्रियाशिल छन्। धार्मिक सदभाव कायम राख्नकै लागि आफुले अन्तरधार्मिक बिबाह गरेको उनले बताए। पछिल्लो समयमा राजनीतिक फाईदा लिन धार्मिक सदभाव बिथोल्ने कार्यमा केही तत्वहरु सक्रिय रहेपनि समुदायबीचको एकताले गर्दा त्यस्ता व्यक्तिहरु असफल भएको आलम बताउँछन्।
धार्मिक तथा सामाजिक सदभाव कायम राख्न सर्वसाधारणमा जति एकता छ, त्यतिकै मात्रामा यहाँका धर्मगुहरु बीच पनि एकता कायम रहेको छ। विभिन्न धर्मगुरु मिलेर २०६३ सालमा अन्तर धार्मिक तथा सामाजिक सदभाव मञ्च गठन गरेका थिए। मञ्चका अध्यक्ष एवम् बागेश्वरी मन्दिरका मुल महन्त चन्द्रनाथ योगी धार्मिक तथा सामाजिक सदभाव कायम राख्न आफुहरु एक ढिक्का रहेको बताउँछन्। 'अहिले सम्म सबै धर्मावलम्बी मिलेर बसेका छन, धार्मिक सदभाव कायम राख्न हामी धर्मगुरुहरु एक भएका छौ,' उनले भने।
मञ्चका उपाध्यक्ष तथा मुस्लिम धर्मगुरु मौलाना अब्दुल जब्बार मन्जरीले पुर्खौदेखि मिलेर बसेका हिन्दु र मुस्लिम समुदायबीच फुट ल्याउने प्रयास बेला–बेलामा हुने गरेको भन्दै उनले सबै सचेत रहनुपर्ने बताए। 'कहिले काही गलत तत्वले हामीहरु बीचको सम्बन्धलाई बिगार्ने कोसिस गरेको हुन्छ, त्यस्ता गतिविधीको पछाडी नलाग्न हामी धर्मगुरुहरु एकै ठाउँमा उभिएर सचेत गराइहाल्छौ,' उनले भने।
प्रकाशित: २५ भाद्र २०७२ २२:११ शुक्रबार





