१५ पुस २०८२ मंगलबार
image/svg+xml
अन्य

मितेरीले जोडेको समाज

दाङ- सतवरिया–९ अमिलियाका गुमानसिंह डाँगीकी छ वर्षीया नातिनी बिनाको दुई वर्षअघि मृत्यु भयो। उनको मृत्युले गुमानसिंहको परिवार जति दुख्यो उति नै पीडामा रह्यो स्थानीय जलवीर चौधरीको परिवार। हिन्दु परम्पराअनुसार गुमानसिंहको जस्तै जलवीरले पनि सात दिनसम्म नुन बारे।किन त? जलवीर जवाफ दिन्छन्, 'मितको साइनो रगतको नाता बराबर हो, मितकी नातिनी मेरो पनि नातिनी हो।'

गुमानसिंह र जलवीरले ३५ वर्षअघि मित लगाए। त्यसयता उनीहरूबीच घनिष्ठता छ। दुःख–सुखमा दुवै परिवार एकअर्कालाई मरिमेटेर साथ दिन्छन्। गाई पाल्नका लागि देउखुरीस्थित 'गोठुवा' जंगलमा गएका बेला भेट भएपछि उनीहरूको मित्रता झाँगिदै गयो। बढ्दो मित्रतालाई उनीहरूले दिगो बनाउनकै लागि मितेरी साइनो गाँसे। 'त्यही बेला मित लगायौं,' गुमानसिंहले भने, 'अहिलेसम्म हाँसीखुसी मिलेरै बसिरहेका छौं।'

मितको साइनोले दुई परिवार एकैसरह भए। 'हरेक पारिवारिक निर्णयमा सोधपुछ हुन्छ,' जलवीर भन्छन्, 'हामी त एउटै परिवारजसरी बस्दै आएका छौं।' यतिमात्रै होइन, उनीहरूको मितको साइनोले एकअर्काका आफन्तीसम्मै साइनो विस्तार भएको छ। गुमानसिंहका आफन्ती जलवीरका आफन्ती बनेका छन् भने जलवीरका आफन्ती गुमानसिंहका। 'मेरा छोराछोरीले मितलाई बाबु भनेर ढोगिदिन्छन्,' गुमानसिंहले भने, 'मितका छोराछोरीका लागि म पनि बाबु हुँ।'

यी दुई परिवारले पछिल्लोपटक गएको कृष्णाष्टमीमा पनि सामाजिक सद्भावको अर्को उदाहरण देखाए। जलवीरको परिवार र गुमानसिंको परिवार सँगै बसेर खानपीन गरे। उनीहरू हरेक पर्व सँगसँगै बसेर मनाउँछन्। दसैं, तिहारजस्ता पहाडी समुदायले मनाउने ठूला पर्वमा जलवीरको परिवारका सदस्य गुमानसिंहको घरमा पुग्छन् भने माघी, अट्वारीजस्ता थारूका ठूला पर्वमा गुमानसिंह परिवार जलवीरको घरमा गएर रमाइलो गर्छन्। यो सम्बन्धले थारू र पहाडी समुदायबीच एकअर्काको संस्कृति र परम्परासमेत साटासाट भइरहेको छ। 'एकअर्काको घरमा निम्तो मान्न जाने र टीकाटालो गर्ने गर्छौं,' गुमानसिंहले भने, 'मितको साइनो धेरै बलियो हुन्छ।'

मितको साइनो गाँसेर एकै परिवारसरह बसेका यी पहाडी र थारू परिवारबीच अहिलेसम्म खटपट भएको छैन। कैलालीमा गत भदौ ७ गते भएको घटनापश्चात् जातीय सद्भाव बिग्रने हल्ला सुनिए पनि उनीहरू कत्ति बिचलित भएनन्। 'हामी रगतको नाता बराबर सम्बन्धमा गाँसिएका छौं,' जलवीरले भने, 'जसले जे सुकै भने पनि हामी कसरी अलग हुन सक्छौं र!'

अमिलियाकै श्रीराम दहितले खासकुश्मा–९ खोकरीका रेशम खड्कासँग मितको साइनो जोडे। ०४६ मा मितेरी गाँसेका उनीहरूको परिवार पनि गुमानसिंह र जलवीरको झैं उदाहरण बनेको छ। श्रीराम भन्छन्, 'त्यो बेलादेखि अहिलेसम्म हाम्रो साइनोमा कुनै फेरबदल भएको छैन।'

दुई परिवारबीच आउजाउमात्र होइन, चौधरी समुदायका श्रीरामले यही साइनोकै कारण थारू समुदायमा खासै महत्व नराख्ने तिहार पर्व धुमधामका साथ मनाउन थाले। उनले तिहारमा मितकै दिदी–बहिनीसँग टीका थाप्न थाले। थारू समुदायमा तिहारले खास महत्व राख्दैन तर श्रीरामले हरेक वर्षको तिहारमा भाइटीका लगाउँदै आएका छन्। 'हामी यो पुरानो रीतिरिवाजलाई सधैं कायम राख्न चाहन्छौं,' उनले भने, 'यो सद्भावमा कहिल्यै खलल नपुगोस्।'

श्रीराम र रेशमले एसएलसी दिने बेला ०४६ सालमा मित लगाएका थिए। एकदमै मिल्ने कक्षासाथी उनीहरूले परिवारलाई समेत एकअर्कासँग जोड्ने मनसायले साइनो जोडेको बताउँछन्। 'मितका घरबाट चाडबाड मान्न आउने क्रम छ,' श्रीरामले भने, 'यस्तो सम्बन्ध भयो कि हामीहरूको घरै एउटाजस्तो भइसक्यो।'

कैलाली घटनाले निम्त्याएको परिणामले सामाजिक सद्भाव खलबलिने आशंका श्रीरामले गरेका थिए। तर, उनीहरू दुईको परिवारमा कुनै फरक आएन। 'जातीय कुरा उठाएर एकै परिवारसरह मिलेर बसेका हामीलाई नछुट्टाइयोस्,' उनले भने, 'थारू पहाडीसँग र पहाडी थारूसँग मिलेर बस्न चाहन्छन्, यस्तो सम्बन्ध तोड्न खोज्नु राम्रो होइन।'

पहाडी परिवारसँग मितको साइनो जोडेर जातीय सद्भाव कायम राख्ने उदाहरण पात्र बनेका श्रीरामले सद्भावकै लागि शिक्षासमेत दिइरहेका छन्। उनी अमिलियास्थित निमाविका शिक्षक हुन्। विद्यालयमा पहाडी शिक्षक–विद्यार्थीकै बाहुल्य छ। शिक्षकहरूसँगको सम्बन्ध पहिलेको जस्तै सुमधुर छ। तर गाउँमा सामाजिक सद्भाव भड्किन सक्ने खतराप्रति उनी उत्तिकै संवेदनशील भएर लागेका छन्। 'हामी सबै जाति मिलेर बस्नुपर्छ, झगडा गर्नुहुन्न भनेर विद्यार्थीलाई पढाउने क्रममा भन्छु,' श्रीरामले भने, 'जातीय सद्भावले नै एकतामा गाँस्ने हो।'

अमिलियाकै हस्तबहादुर विक र मित्रलाल चौधरीले त जातीय छुवाछुत गलत हो भन्ने कुरा आफैंले प्रमाणित गरिदिए। अहिले पनि चौधरी समुदायले दलितलाई छोइछिटोकै रूपमा लिने गरेको छ। तर मित्रलालले दलित समुदायका हस्तसँग मित गाँसेर आफ्नो परिवारमा छोइछिटोलाई सदाका लागि मेटिदिए। न मित्रलालको परिवारले हस्तलाई दलित भनेर कहिल्यै हेला गर्योव न त हस्तले मितलाई उपल्लो जातिको भनेर अप्ठ्यारो नै महसुस गरे। यी दुवै परिवारबीच मिठो अन्तर्घुलन छ। 'यहाँ जातजाति भनेको सबै बराबर हुन्,' मित्रलाल भन्छन्, 'अहिले मितका परिवारका सदस्यहरू मेरो घरमा आउनुहुन्छ, हामी पनि उहाँहरूको घरमा जान्छौं, कुनै भेदभाव छैन।'

जातीय सद्भावका उदाहरण बन्नेमा 'मित'हरू मात्रै छैनन्, मितिनीहरू पनि सद्भावका उदाहरण बनेका छन्। अमिलियाकै कमला न्यौपाने र कमला चौधरी जातीय सद्भावका उदाहरण बनेका मितिनी हुन्। यी दुई महिलाको 'मितिनी साइनो'ले सिंगो परिवार तथा आफन्तीहरूलाई एकअर्कासँग जोडेको छ।

जानकारहरूका अनुसार थारू र पहाडी समुदायबीच मितको साइनो लगाउने प्रचलन पहिला धेरै थियो। कामको सिलसिलामा एकअर्काको सहयोगी बन्ने यी दुई समुदायका नागरिकबीच घनिष्ठता बढ्दै जान्थ्यो। अनि त्यो घनिष्ठतालाई जीवन्त राख्न मित लगाउने प्रचलन रह्यो। तर थारू र पहाडी समुदायबीचको सद्भाव कायम गरेको उदाहरण मितको साइनोमात्रै हैन। पहाडी र थारूबीचको वैवाहिक सम्बन्ध पनि पछिल्लो समयमा उत्तिकै जल्दोबल्दो उदाहरण बनिसकेको छ। अमिलियाका प्रेम चौधरीले गएको कृष्णाष्टमी पर्व ससुरालीमा गएर मनाए। उनको ससुराली क्षेत्री (वली¬) हो। यसपटक पनि ज्वाइँलाई गर्ने मान–सम्मान उत्तिकै पाए प्रेमले। 'पहिलाको जस्तै मान–सम्मान मिल्यो, केही कमी थिएन,' भन्छन्, 'यो थारू र त्यो पहाडी भनेर एकले अर्कालाई हेला गर्ने दिन नेपालमा कहिल्यै नआऊन्।'

प्रेमले भागी विवाह गरेको भए पनि दाङमा थारू र पहाडी समुदायबीच पछिल्लो समय मागी विवाह गरिदिने चलन पनि सुरु भइसकेको छ। मागी विवाहलाई समेत स्विकार्नुलाई जातीय सद्भावको अर्को महत्वपूर्ण उदाहरण मान्न सकिन्छ।

पछिल्लो समयमा मच्चिएका जातीय आन्दोलनले थारू र पहाडीबीचको सम्बन्ध चिसो बन्ने हो कि भन्ने पिरलो यदाकदा सुनिन थालेका थिए। तर दाङमा कैलाली घटनाले केही प्रभाव पारेन। आर्थिक, सामाजिक, पारिवारिक, सांस्कृतिक रूपमै सदियौंदेखि एकअर्कासँग निकटस्थ रहेका यहाँका थारू र पहाडीबीच उत्तिकै सद्भाव कायम छ, जति पहिले थियो। अहिले पनि यहाँका केही गरिब समुदायका थारू नागरिकहरू पहाडीहरूमै आश्रित छन् भने पहाडीहरू थारूको सहयोगको भरमा छन्।

सौडियार– ६ पर्साका पिताम्बर रिजाल र बरकी चौधरीबीच कृषिको सम्बन्ध अहिले पनि कायमै छ। रिजालको सात कठ्ठा जमिन बरकीले अहिले अधियाँ लगाइरहेकी छिन्। पिताम्बर भन्छन्, 'मैले कृषिमा लाग्ने सब चिज पुर्याथइदिने र उब्जनी आधाआधा बाँड्ने भन्ने सम्झौता हो।' यो सम्झौतामा राजी भएका दुवै पक्षबीच कहिल्यै फाटो भएन। न त सामान्य वादविवाद नै भएको छ। 'उनले जग्गा लगाउन थालेको धेरै वर्ष भयो,' रिजाल भन्छन्, 'हामी दुई पक्षबीच कहिल्यै मनमुटाव, झगडा वा बेमेल भएन।'

सदियौंदेखिको थारू पहाडीको सम्बन्धमा अहिलेसम्म 'दरार' नआएको र यसलाई कायमै राखिनुपर्छ भन्नेमा थारू अगुवाहरू नै लागेका छन्। तथापि पछिल्ला घटनाक्रमले सद्भाव खलबलिने हो कि भन्ने लख काटिएको भए पनि दाङमा त्यसको प्रभाव नपरेको थारू अगुवा बताउँछन्। महेन्द्र बहुमुखी क्याम्पसका प्राध्यापक तथा थारू अध्येता देवनारायण चौधरीले भने, 'अहिलेसम्म कुनै पनि घटनाले यहाँको सद्भावमा खलल पुगेको छैन, त्यस्तो नभए हुन्थ्यो भन्ने चाहना दाङका आम थारूहरूको छ।'

सदियौंदेखि थारू र पहाडीबीच सामाजिक, सांस्कृतिक, आर्थिक सम्बन्धलाई जातीय मुद्दाको नारा उठाएर तोड्न नहुने उनको तर्क छ। मुख्यतः थारू र पहाडीबीचको सम्बन्ध कृषि क्षेत्रबाटै विस्तार भएको थियो। जग्गाधनी रहने पहाडीहरूको जग्गा खनजोत गर्ने थारूबीच 'किसान र जोताहा'को सम्बन्ध थियो। तथापि अहिले पछिल्लो पुस्ताले जोताहा काम बिस्तारै छोड्दै गएको पाइन्छ। तर यो परिवर्तित समयको उपज भन्दै देवनारायणले भने, 'यसलाई जातीय सद्भाव कमजोर गएको भन्न मिल्दैन।' पछिल्लो पुस्ताले जग्गा अधियाँ लगाउन छोडे पनि अन्य सम्बन्ध मितको साइनो, वैवाहिक सम्बन्ध, काममा सहयोग आदान–प्रदानको सम्बन्ध भने अहिले पनि कायमै छ।

जातिगत आधारमा दाङमा थारूहरूको बाहुल्य छ। यहाँ एकअर्काका परस्पर सहयोगीका रूपमा रहेका पहाडीहरूले पनि थारूहरूलाई उत्तिकै सहयोग गरिरहेका छन्।

प्रकाशित: २५ भाद्र २०७२ २२:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App