पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई मैले कम्प्युटरको स्क्रिनमा लाइभ प्रसारणमार्फत् शुक्रबार अपराह्न देखें। पावरवाला चश्माभित्र उनका आँखा छोपिएका थिए। उनी कागज हेरेर केही पढ्दै थिइँन्। पढिसकेपछि उनले चश्मा झिकिन् र फेरि बोल्न थालिन्।
आफ्नै दल नेकपा (एमाले)को राजनीतिमा फर्केको घोषणायता राष्ट्रिय राजनीतिको चर्चामा उनी छन्। जसरी उनका अगाडि क्यामेरा र बुम तेर्सिएका थिए, त्यसले उनको प्रभावलाई देखाइरहेको थियो। प्रभावका साथै उनीबाट आउन सक्ने आश्चर्यजनक निर्णयप्रतिको जिज्ञासा पनि उत्तिकै थियो।
यसपछाडि केही पक्षले काम गरेका छन्– एक, उनी पूर्वराष्ट्रपतिबाट भर्खरै बिदा भएकी हुन्, जो झन्डै मुलुकको राजनीतिमा एक दशक केन्द्रविन्दुमा रहिन्। दुई, उनी एमालेकी एक सक्रिय नेतृ थिइन्, त्यो पनि संस्थापनकै रूपमा। अहिले भने उनी त्यसबाट अलग्गिएकी छन्। तीन, उनी एमालेको राजनीतिक आधार जनताको बहुदलीय जनवाद (जबज) का व्याख्याता स्वर्गीय मदन भण्डारीकी पत्नी पनि हुन्।
भण्डारीका पछाडि धेरै आधार छन्, जसले उनको आवाजमा अर्थ खोज्न प्रेरित गर्छ। अहिले उनी यस्तो ठाउँमा उभिएकी छन्, जहाँ उनका राजनीतिक सहयोगी ठानिएका प्रधानमन्त्री केपी शर्मा ओली र उनका निकट व्यक्तिहरू विरोधमा उभिएका छन्। उनीप्रति आशा राख्ने व्यक्तिहरू पनि छन्, जहाँबाट उनले फेरि तिनको गुमेको विरासत फिर्ता आउन सक्छ।
राजनीति बडो निर्मम हुन्छ। यसमा स्थायी शत्रु र मित्र हुँदैनन्। जो हिजो मित्र थिए, ती आज शत्रु हुन सक्छन् र जो शत्रु छन्– ती मित्र। राजनीतिले आवश्यकताअनुसार व्यक्तिको स्थान परिवर्तन गरिरहन्छ। त्यसैले आज कोही कसैका निम्ति खुसी वा दुःखी भइरहनु पर्दैन। समयजस्तै सम्बन्ध पनि परिवर्तन भइरहन्छन्।
भण्डारी एमालेमा फर्किनेभन्दा धेरैले यो ओलीकै चाल हो भन्ने तर्क गरेका थिए तर अहिले आएर पार्टीले उनको सदस्यतालाई निरन्तरता नदिने निर्णय गरेपछि स्थिति फेरिएको छ। एमालेको भावी नेतृत्वमा भण्डारीलाई स्थापित गर्ने चाहना ओलीको हुन सक्छ भन्ने विश्वास खण्डित भएको छ। खासमा एमालेमा ओलीको विकल्प ओली नै हुन्। उनले कसैलाई स्थापित गर्नुपर्ने आवश्यकता महसुस गरेका छैनन्। उनी आफूले पनि धेरै कठिनाइपूर्वक यो स्थिति प्राप्त गरेका हुन्। त्यसैले राजनीतिमा विरासत बाबुले छोरालाई पनि सजिलै किस्तीमा राखेर दिँदैनन्।
वास्तवमा अहिले एमाले वा अन्य कुनै पनि दलका शीर्ष नेताहरूमा शक्ति संघर्ष चलेको छ भने त्यो पार्टी सत्ताकै निम्ति हो। त्यसमा पनि युवा वा नयाँ नेताले त्यो चुनौती दिन सकेका छैनन्। पुरानै नेताहरूबिचको सत्ता संघर्ष अहिलेको राजनीतिक स्थिति हो। पार्टी सत्ता आफ्नो हातमा रह्यो भने राज्यसत्ता आफूमा निरन्तर रहन्छ भन्ने विश्वास पनि हो– यो। यसैको परिणामस्वरूप अहिले एमालेमा ओली, नेपाली कांग्रेसमा शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) मा पुष्पकमल दाहाललगायतका नेता छन्।
भण्डारीको एमालेमा फर्कने ईच्छाले त्यही दलभित्र पनि दुईखाले स्थिति पैदा गरेको छ। पक्ष र विपक्ष बनेको छ। सामान्यतः कम्युनिष्ट पार्टीमा लागेका व्यक्तिहरू आफू जहाँ पुगेको भए पनि त्यही दलले खटाएर गएको र पछि त्यसैको बफादार सिपाहीको रूपमा फर्किएको ठान्छन्। भण्डारीले पनि राष्ट्रपति हुनुअघि आफू ३५ वर्षदेखि सदस्य रहेको र त्यसबाट फर्केर आएको दश वर्षपछि यसको उमेर ४५ वर्ष भइसकेको बताएकी छन्। दलभित्रैका कतिपय सदस्यलाई पूर्वराष्ट्रपति होइन आफ्नै दलको पूर्वउपाध्यक्ष फर्केको भन्ने लाग्न सक्छ। भण्डारी आफैंले पनि आफूलाई पूर्वराष्ट्रपति होइन पूर्वउपाध्यक्षकै रूपमा फिर्ता गरेकी छन्।
उनी एमालेमा फर्किने घोषणाले सबैभन्दा बढी चिसो पसेको ओलीलाई नै हो। एमालेमा अहिले ओली सबैभन्दा सहज अवस्थामा रहेका छन्। दलभित्र उनलाई चुनौती दिने कोही छैनन्। अलिकति चुनौती दिनेहरू बाहिरिइसकेका छन्। त्यसमा पनि उनको बाटाका काँडा पन्छाउन राम्ररी जानेका छन्। उनीसँग ज्यादै थोरै मानिस मात्र निकट रहन्छन्, बाँकी आउने जाने गरिरहन्छन्। यस्तो स्थितिमा आफूलाई टक्कर दिने गरी अर्को व्यक्ति आउन खोजेको उनलाई मन नपर्नु स्वाभाविक हो।
पूर्वराष्ट्रपति दलमा आउनु हुने वा नहुने भन्ने विषय भण्डारीको सदस्यता मुद्दाले छायाँमा पारेको छ। भण्डारीलाई सजिलो पारिदिने काम भने नेकपा (माओवादी केन्द्र) ले पारिदिएको छ। उपराष्ट्रपति भइसकेका नन्दकिशोर पुन अहिले दलको काममा फर्किसकेका छन्। उनी यदाकदा सामाजिक सञ्जालमा चिप्लेटी खेलेको भूमिकामा पनि देखिन्छन्। किनभने उनी अझै उमेरमै छन्। राष्ट्रपति वा उपराष्ट्रपति हुने व्यक्तिको उमेर पनि धेरै हुनुपर्ने जस्तो छ, जसलाई फर्केर राजनीतिमा लाग्ने ईच्छा बढोस्।
वास्तवमा राष्ट्रपति भन्ने पदलाई सिधै दलका नेतालाईभन्दा पनि समाजका लब्धप्रतिष्ठित व्यक्तिलाई बनाउनुपर्ने रहेछ भन्ने सन्देश पनि पछिल्ला यी घटनाले दिन थालेका छन्। छिमेकी भारतले वैज्ञानिक अब्दुल कलामलाई राष्ट्रपति बनाएको इतिहास छ। उनका प्रेरक कामले विद्यार्थी पनि प्रभावित छन्। प्रायः त्यहाँ राष्ट्रपति भएपछि फेरि राजनीतिमा फर्केको देखिँदैन। वर्तमान राष्ट्रपति द्रौपदी मुर्मु अहिलेसम्मका राष्ट्रपतिमध्ये सबैभन्दा कान्छी हुन्। उनी पनि आदिवासी समुदायकी प्रथम राष्ट्रपति हुन्। त्यसैले सकेसम्म राजनीतिबाट बाहिर र उमेर पुगेका व्यक्तिलाई नै राष्ट्रपति बनाउनुपर्ने पाठ भण्डारी र पुनको भूमिकाबाट प्राप्त हुन्छ।
अब भण्डारी राजनीतिमा फर्केकोमा भन्दा एमालेले सदस्यतालाई निरन्तरता नदिएको मुद्दाले बढ्ता भूमिका खेल्ने देखिँदैछ। यसैले एमालेप्रति आलोचक हुने जमातलाई मौका दिनेछ। खासमा मुद्दा भनेको राष्ट्रपति भइसकेपछि राजनीतिमा फर्कन मिल्ने वा नमिल्ने भन्ने नै हो तर कैयन मुलुकमा राष्ट्रपति भएर प्रधानमन्त्री भएका उदाहरण पनि अनेक छन्। त्यस्तो भूमिका बढ्ता रुस, श्रीलंका आदि मुलुकमा अभ्यास भइसकेको छ। वास्तवमा उच्च पदमा पुगिसकेपछि पनि केही गर्न बाँकी भएको महसुस हुने अवस्थालाई रोक्न दुई पदावधि वा यस्तै सीमा तोक्नुपर्ने देखिन्छ। यसरी पदावधि नतोकेको अवस्थामा कसैले पनि आफ्नो चाहना प्रकट गर्नु स्वाभाविक हो।
राष्ट्रपतिको भूमिका कस्तो हुन्छ भन्ने उदाहरण डा. रामवरण यादवले प्रस्तुत गरिसकेका छन्। उनले मुलुकको पहिलो राष्ट्रपतिका रूपमा अभ्यासद्वारा धेरै पक्ष निर्धारण गरेका छन्। उनी पदबाट हटेपछि पुनः कांग्रेसमा सक्रिय हुन गएनन्। सम्भवतः वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले पनि यसो गर्ने छैनन्। भण्डारीले किन यस्तो आवश्यकता महसुस गरिँन् त्यो भने खोजीको विषय हो। एमालेभित्र रहेको युवा जमातले ओलीभन्दा पछि भूमिका खेल्न सक्दैनन् भन्ने उनलाई लागेको पनि हुन सक्छ। यसकारण पनि उनले आफूलाई यसका लागि अगाडि बढाएकी हुन् कि ?
उमेरले अहिलेका नेताभन्दा कान्छी भण्डारीले आफूबाट नेपालका समस्या समाधान गर्ने सम्भावना देख्नु अन्यता भएन। त्यसमा पनि एमालेभित्र ७० वर्षे उमेर हद हटिसकेको अवस्थामा त्योभन्दा कम उमेरका नेतृत्वमा पुग्ने आकांक्षा स्वाभाविक हुन्छ। अहिलेका घटनाक्रमले एमालेमा भावी नेतृत्वप्रतिको संघर्ष जटिल हुने देखिँदैछ।
भण्डारीलाई लाइभ प्रसारणमा हेरिरहँदा र उनका कुरा सुनिरहँदा तिनका युवावयमा देखिएका सक्रियता मेरो मानसपटलमा आइरहेका थिए। ती भर्भराउँदी युवा व्यक्तित्व थिइन्। विद्यार्थी राजनीतिमा तिनी सक्रियतापूर्वक जनपरिचालन गर्थिन्। भूमिगत राजनीतिको त्यो समयमा उनी एकाएक भूमिगत भइन्। हामीले कैयन वर्ष देख्न पाएनौं। भूमिगत पार्टी तत्कालीन नेकपा (माले) का महासचिव मदन भण्डारीसँग विवाह भएपछि उनी घरायसी व्यवहारमै रहिन। चितवनको दासढुंगामा भण्डारीको मृत्यु भएपछि फेरि राजनीतिक परिदृश्यमा देख्न पाइएको हो। उनलाई राजनीतिमा फिर्ता ल्याउन भूमिका खेलेकी अष्टलक्ष्मी शाक्यले यो कुरा हामीलाई हालैको नागरिक फ्रन्टलाइनको अन्तर्वार्तामा बताइसकेकी छन्।
मुलुकमा सर्वोच्च पदमा विराजमान भई फेरि दलको राजनीतिमा फर्किएर शून्यबाट कुनै कामको थालनी गर्न खोज्नु भनेको पनि केही भविष्य देखेर होला। अन्यथा मानिसले आफूलाई सहज बाटोबाटै हिँडाउने प्रयास हुन्छ। आखिर विद्याको यो बाटो के होला ?
प्रकाशित: ११ श्रावण २०८२ ०७:२४ आइतबार