एक पटक ब्रह्मा र महादेवका बिचमा को ठुलो भन्ने कुरामा भनाभन भएछ। ब्रह्माले म ठुलो भन्ने अनि महादेवले म ठुलो भन्ने। तिमीभन्दा म ठुलो भन्दै ब्रह्माले भन्न थालेछन्। अनि महादेवले पनि तँभन्दा म ठुलो भन्दै रिसाउन थालेछन्। यसरी ब्रह्मा र महादेवबिच तँ तँ र म म भन्दै चर्का चर्की नै परेछ। तब ब्रह्मालाई पनि साह्रै रिस उठेछ र भनेछन्– ‘तँ छुसीले के फुर्ती गर्छस्। तँ त पानीमा झार उम्रेजस्तै उम्रेको त होस् नि। तँलाई त मैले नै सृष्टि गरेकै हुँ नि!’
महादेव पनि रिसले चुर भएर क्षेत्रीय स्वभाव निकाल्दै तँ छुसी बाहुनले के गर्छस्, तँलाई त सिध्याइदिन्छु भन्दै ब्रह्माको जराकपाल दाहिने हातले समाउँदै फनफनी घुमाउन थालेछन्। महादेवले यसरी रिसाएर ब्रह्माको जटा समातेर घुमाउँदा त मुठीभरि ब्रह्माको कपालको जटा उखेलिएछ। उति नै खेर ब्रह्मा डराएर यसले त मलाई मार्न लाग्यो बाबा भन्दै भागेछन्।
मुट्ठीभरि ब्रह्माको कपाल समातेर एकछिन त महादेव टोलाउन थालेछन्। अब के गर्ने? बेकारमा मैले ब्रह्मालाई कपाल समातेर फनफनी घुमाएँ। हेर मेरो हातको मुट्ठीभरि ब्रह्माको कपाल? अब त मलाई ब्रह्महत्याको पाप पो लाग्ने भो। अब के गरूँ भनी महादेवलाई दिकदार लागेछ। अनि महादेवले यो ब्रह्महत्याको पापबाट कसरी मुक्त हुने भन्दै विचार गर्दै एकसुरमा हिँड्दै जाँदा काशीमा पुगेछ। मसानघाटमा पुगेपछि त्यहीं मसानमाथि नै बसेर महादेवले तपस्या गर्न थालेछन्। तब त्यहाँ भएका ऋषिमुनिहरूले अचानक महादेवको प्रत्यक्ष दर्शन पाएर ज्यादै खुसी भएछन् र महादेव बसेको मसानको वरिपरि बसेर ध्यान गर्न लागेछन्।
महादेवको ध्यान कहिले खुल्छ र महादेवको आशीर्वाद र उपदेश पाउन सकिन्छ भन्ने आशाले ती ऋषिहरू चौबिसै घण्टा त्यहीं बसिरहे। हप्तौं बित्यो, कैयौं दिन बित्यो, तैपनि महादेवको ध्यान खुलेन। महिनौं दिनपछि बल्ल महादेवको ध्यान खुलेछ र यसो हेर्दा चारैतिर ऋषिमुनिले घेरा हालेर बसेको देख्दा महादेव आश्चर्यमा परे। तब महादेव ती ऋषिमुनिलाई सोधनी गरे– ‘हैन तिमीहरू किन यहाँ बसिरहेको?’
अनि ती ऋषिहरूले प्रणाम गर्दै भने– ‘हे प्रभु! हामीले यहाँ हजुरको दर्शन गर्न पाउनु हाम्रो अहोभाग्य हो। हजुरको दर्शन पाउन वर्षौं वर्ष तपस्या गर्दा पनि कठिन हुन्छ भने आज हामीले हजुरको दर्शन यति सजिलै पाउन सक्नु र हजुरले हामीप्रति यस्तो अनुकम्पा बक्सनु हाम्रो सुअवसर हो। यो सबै हजुरकै कृपा हो। हजुरलाई हाम्रो कोटि कोटि प्रणाम’ भन्दै वन्दना गर्न थाले ऋषिमुनिहरूले।
ऋषिमुनिहरूको प्रार्थनाबाट महादेव अत्यन्तै हर्षित भई भन्न थाले– ‘लौ माग, तिमीहरूलाई के वरदान चाहिय।’
ऋषिहरूले प्रार्थना गर्दै भने– ‘प्रभु! हजुरले हामीलाई उपदेश दिइबक्सियोस्। हजुरकै आशीर्वाद र उपदेश पाउने आशाले हामी यहाँ हजुरको ध्यान कहिले खुल्ला भनी बसिरहेको महिनौं भइसक्यो। हामीलाई हजुरको उपदेश र आशीर्वाद प्राप्त होस्।’
महादेवले पनि ऋषिहरूको वन्दनाबाट प्रभावित भई लोककल्याणका लागि अष्टाङ्ग योगको विस्तृत रूपमा ज्ञान प्रदान गर्नुभयो। ती सबै ऋषिलाई अष्टाङ्ग योगको ज्ञान प्रदान भएपछि महादेवले ती ऋषिमध्ये योगमा उत्कृष्ट भएका ऋषि पतञ्जलीलाई लोककल्याणका लागि सबैलाई योग सिकाउनु भन्ने आज्ञा गर्नुभयो। ऋषि पतञ्जलीले सिकाउन थालेको उक्त अष्टाङ्ग योगलाई कालान्तरमा पतञ्जली योगको नामले प्रसिद्ध हुन गएको हो।
लोककल्याणका लागि दिनुभएका विभिन्न उपदेशमध्ये एउटा मुख्य उपदेश नै अष्टाङ्ग योग हो। यो योगको अभ्यास गर्न सकेमा मानिसको जीवन सार्थक हुन्छ। अष्टाङ्ग योगको अनुशरण गर्न सकेमा हामीमा यम, नियम र संयमको ज्ञान प्राप्त भई आध्यात्मिक पथमा जान सहज हुनेछ। अनि मोक्षको उद्देश्य प्राप्त गर्न सकिने छ।
अष्टाङ्ग योगको यममा पाँच वटा कुरा छन्– अहिंसा, सत्य, असत्य, चोरेर नलिने र ब्रह्माण्डमा त्यो अपरिग्रह आवश्यकभन्दा बढी नलिने। अनि नियममा पनि पाँच वटा कुरा समावेश गरिएको छ– बुद्धता, सन्तोष, स्वाध्यायन, तप र ईश्वर (प्राणीधान)।
त्यस्तै संयम भनेको ध्यान र समाधिको कुरा भयो। साधारण मानिसहरूले अर्थात् घर गृहस्थीमा रहेका मानिसले ध्यान र समाधिको मार्गमा जान कठिन हुन सक्छ तर यम र नियम मात्र पालना गर्न सकेमा हामीले हाम्रो चरित्र निर्माण गर्न सक्नेछौं।
महादेवले अर्को उपदेशका रूपमा कपालीतन्त्रको ज्ञान दिए। वास्तवमा महादेव नै तन्त्र र योगका प्रवर्तक हुन्। महादेवले ब्रह्माको कपाल मुट्ठीभरि उखेलेको हुनाले महादेवको अर्को नाम कपाली हुन गएको हो।
महादेवको नामबाटै अर्थात् कपालीबाटै कपालीतन्त्रको ज्ञान अर्को एकजना ऋषिलाई दिई त्यसको प्रचारप्रसार सम्बन्धित व्यक्तिलाई मात्र दिनू भने। सोहीअनुरूप कपालीतन्त्र पाएका व्यक्ति जोगी हुनुपर्ने, सोहीअनुरूपको संस्कारमा रहनुपर्ने भएकाले ज्ञान प्राप्त गर्नेहरू जोगीसन्यासी भए। ती जोगीसन्यासी ब्राह्मणहरूमा गिरी, पुरी, भारती जातिका नामले चिनिन थाले भने नेवाः समुदायमा जोगी कपालीतन्त्रको प्रयोग गर्ने भएकाले कपाली भनिन थालियो।
वास्तवमा अष्टाङ्ग योग र कपालीतन्त्र दुवै लोककल्याणका लागि महादेवले प्रदान गरेका हुन्। अष्टाङ्ग योगका माध्यमबाट मानिसलाई सत्कर्ममा लगाई मोक्ष प्राप्तिको मार्गमा लगाउने हो भने कपालीतन्त्रको माध्यमबाट पनि मानिसको जन्मसंस्कारदेखि मृत्युपर्यन्त संस्कारसम्म सत्गति प्रदान गर्दै मोक्ष प्राप्तिको मार्गका लगाउने हो।
वैदिक पद्धतिबाट जन्मदेखि मृत्युपर्यन्त संस्कारसम्मका क्रियाकलापसमेत योग मार्गमा समावेश गरिएको हुन्छ भने कपालीतन्त्रका माध्यमबाट पनि जन्मदेखि मृत्युपर्यन्तका सम्पूर्ण संस्कार समावेश गरिएको हुन्छ।
नेवाः यस्तो संस्कारित जाति हो, जसमा चारै वर्णमा वर्गीकरण, सोहीअनुरूप संस्कार र संस्कृति रहिआएको छ। यो जातिमा जन्मदेखि मृत्युपर्यन्त कपालीहरूले कपालीतन्त्रअनुसारका क्रियाकलाप गरेर बच्चा जन्माउनेदेखि मृत्युपश्चात् पनि अर्थात् मृत्यु भएको सातौं दिनमा दिवंगतका नाममा दिइने भोजन तान्त्रिक विधिविधान गरी ग्रहण गरेर दिवंगत व्यक्तिलाई मोक्ष प्रदान गर्नु हो तर समयान्तरले आज आएर यी कपालीहरूले तान्त्रिक विधिविधान गर्न छोडिसकेका छन्। यदाकदा यी विधिविधान गर्ने कपालीहरू अपवादका रूपमा हुन सक्छन्। वास्तवमा यो शिवतन्त्र कपालीतन्त्रलाई त्यागेर कपालीहरूले अन्य जातिसरह जीवन बिताउन थालेका छन् तर उनीहरूको मृत्युमा भने लाशलाई जमिनमुनि नै गाड्ने चलन भने यथावत रहिआएको छ।
प्रकाशित: २० मंसिर २०८२ ०७:५० शनिबार

