२०८२ असार २४ मा चीनको तिब्बतको जिरोङ काउन्टीबाट सुरु भएको आकस्मिक बाढीको शक्तिशाली बहाव नेपालतर्फको रसुवाको रसुवागढी हुँदै भोटेकोसी र त्रिशूली नदी प्रणालीमा प्रवेश गरेको थियो। बाढीले सीमावर्ती संरचना, पुल, सडक, व्यापारिक पूर्वाधार र जलविद्युत् आयोजनामा ठुलो क्षति पुर्याएको थियो। यसको प्रभाव करिब १०० किलोमिटर तलसम्म देखिएको थियो। त्यस घटनामा कम्तीमा ११ जनाको मृत्यु भएको र १७ जना बेपत्ता भएको विवरण तत्कालीन समयमा सार्वजनिक गरिएको थियो। त्यसको एक वर्षपछि २०८३ भदौ १० गते सोही क्षेत्र र नदी प्रणालीमा पानीको बहाबको मात्रा र त्यसले ल्याएको मानवीय तथा भौतिक क्षतिलाई हेर्दा २०८२ को भन्दा ५० औं गुणाभन्दा बढी विनाशकारी देखिएको छ।
प्रारम्भिक रिपोर्टअनुसार तिब्बततर्फ भएको ठुलो हिमचट्टान पहिरो खसेर ल्हेन्दे नदीमा अचानक अत्यधिक पानी तथा लेदोको बहाव उत्पन्न भई यो घटना निम्त्याएको अनुमान गरिएको छ। यस आकस्मिक बाढीले रसुवा र नुवाकोटका भोटेकोसी र त्रिशूली नदीको तटीय क्षेत्रका साँघुरा गल्छी वा उपत्यकामा बसोबास गर्ने, सो क्षेत्रबाट यात्रा गरिरहेका यात्रु र सो क्षेत्रमा निर्माणाधीन जलविद्युत् आयोजनामा कार्यरत व्यक्तिहरू ठुलो संख्यामा हताहती भएका छन्। सयौं मानिसहरू हराइरहेका छन्।
सामान्यतया नेपालमा असारदेखि भदौसम्म आउने आकस्मिक बाढीलाई भारी वर्षा, पहिरो वा नदीमा आएको पानीको अत्यधिक बहाबसँग जोडेर हेर्ने गरिन्छ। तर यी दुवै बाढीको नाता मनसुनी वर्षासँग छैन। बरु यो चीनको तिब्बती क्षेत्रमा रहेका हिमचट्टान पहिरो र सुप्राग्लेसियल तालसँग जोडिएको छ।
वास्तवमा यी आकस्मिक बाढीले जलवायु परिवर्तनले सिर्जना गरेको विपद् र त्यसले ल्याउने जोखिमको प्रकृति हिमाली क्षेत्र र त्यसको तल्लो भेगमा बसोबास गर्ने मानिस, समुदाय र बस्तीका लागि कति जटिल र अप्रत्याशित हुँदै गएको छ भन्ने टड्कारो रूपमा देखाएको छ।
सुप्राग्लेसियल ताल भनेको के हो?
सुप्राग्लेसियल ताल भन्नाले हिमनदीको सतह वा हिमनदीमाथि जम्मा हुने पानीको ताललाई बुझिन्छ। तापक्रम बढ्दै जाँदा हिमनदीको सतहमा हिउँ र बरफ पग्लिएर पानी जम्मा हुन्छ। समयसँगै यस्ता तालहरू ठुलो हुँदै जान्छन्। कुनै अवस्थामा हिमनदीभित्रको कमजोर भाग, बरफको बाँध वा पानीको निकास प्रणाली अस्थिर हुँदा तालको पानी अचानक बाहिर निस्कन्छ।
यस्तो घटना सामान्य हिमताल फुटेर आउने बाढीभन्दा पनि जटिल हुन्छ किनभने ताल कहाँ बनिरहेको छ, त्यसमा कति पानी जम्मा भएको छ र त्यसको निकास कहिले र कसरी हुन्छ भन्ने कुरा सधैं सजिलै पहिचान गर्न सकिँदैन।
२०८२ सालको घटनामा बाढीको स्रोत पुरेपु हिमचट्टानमाथि करिब पाँच हजार १५० मिटरको उचाइमा बनेको सुप्राग्लेसियल ताल जलवायु परिवर्तनको परिणामस्वरूप बढ्दो तापक्रमसँगै तीव्र रूपमा विस्तार भएको र अचानक पानी बाहिरिएको निष्कर्ष अध्ययनले देखाएको थियो।
जलविद्युत् र विकासको जोखिम
आजसम्म नेपालका हिमाली तथा महाभारत क्षेत्रमा रहेका कुनै पनि नदीको जलविद्युत् निकाल्नका लागि अध्ययन नगरिएको छैन होला। तर यस पटक आएको बाढीले नेपालको हिमाली जलविद्युत् पूर्वाधारको जोखिम पनि उजागर गर्यो। अहिलेको बाढीबाट भोटेकोसी र त्रिशूली तथा अन्य शाखा नदीमा रहेका दर्जनभन्दा बढी संख्यामा जलविद्युत् आयोजनामा क्षति पुर्याएको छ।
विद्युत् उत्पादन प्रभावित हुनुका साथै नदीको बहाब र कटानले आयोजनाका संरचनालाई जोखिममा पारे। अझ विद्युत् उत्पादनका लागि निर्माण गरिने उच्च बाँधमा जम्मा गरिएको पानीमा माथिबाट पानी थपिँदा र आयोजनाका बाँध भत्किन गएमा त्यसले निम्त्याउने शृंखलाबद्ध विस्फोटनले तल्लो तटीय क्षेत्रमा निम्त्याउन सक्ने जोखिम झनै भयावह हुनेछ।
यो बाढीले हामीलाई के सिकाएको छ भने अब वातावरणीय प्रभाव मूल्यांकन गर्दा प्रायः नदीको जलाधार क्षेत्र, नदीको सामान्य बहाब, वार्षिक औसत वर्षादर र सामान्य पहिरोलाई जोखिमलाई मात्र होइन, हिमताल, सुप्राग्लेसियल ताल, हिमनदीको अस्थिरता र अचानक आउने चरम बहाबलाई पनि पूर्वाधार जोखिम मूल्यांकनको अभिन्न हिस्सा बनाउनुपर्ने देखिन्छ।
उपग्रह प्रविधिको आवश्यकता
अहिले उत्पत्ति भएका बाढीका घटना मानव भौतिक पहुँचभन्दा धेरै टाढा रहेका छन्। यस्तो अवस्थामा यी मानवसिर्जित वा प्राकृतिक घटनाको कारण पहिचान गर्न उपग्रह प्रविधिको महत्त्वपूर्ण भूमिका देखिन्छ। बाढीपछि विभिन्न वैज्ञानिक तथा संस्थागत टोलीले उपग्रहबाट प्राप्त चित्रहरूको विश्लेषण गरिरहेका छन्।
विशेषगरी यी आधुनिक प्रविधिले हिमाली क्षेत्रमा भएका भूदृश्य परिवर्तन, तालको आकार र सम्भावित बाढीको स्रोत पहिचान गर्न सहयोग पुर्याउने देखिन्छ। अत्यन्त उच्च उचाइ, दुर्गमता, मौसम र सीमापार राजनीतिक अवस्थाका कारण वैज्ञानिक टोलीले सबै ठाउँमा पुगेर नियमित अनुगमन गर्न सक्दैनन् र सम्भव पनि छैन। त्यसैले उपग्रह निगरानी, स्थानीय ज्ञान, मौसम तथा जलविज्ञान सूचना, कृत्रिम बुद्धिमत्ता, पूर्वानुमान प्रविधिलाई जोडेर नयाँ प्रकारको एकीकृत पूर्वसूचना प्रणाली विकास गर्न आवश्यक छ।
२०८२ को बाढी बिहान करिब ३ः१५ बजे नेपालमा आएको थियो र घटनाअघि कुनै पूर्वसूचना जारी भएको थिएन। भदौ १० को बाढी पनि बिहान ९ बजेअघि आयो। यस पटक पनि घटनाअघि कुनै पूर्वसूचना जारी भएको थिएन। यसले हाम्रो पूर्वसूचना प्रणालीको एउटा आधारभूत कमजोरी देखाउँछ। पूर्वसूचना प्रणाली भन्नाले केवल नदीमा पानीको सतह बढेपछि साइरन बजाउने प्रणाली मात्र होइन। यो त जोखिम उत्पन्न हुनुअघि नै त्यसको सम्भावित स्रोत पहिचान गर्ने क्षमता आवश्यक हुन्छ।
अब के गर्ने?
यो घटनाले अब हामी सकियौं भन्ने नकारात्मक भाष्य होइन, नयाँ पाठ दिएको छ। विशेष गरेर उच्च हिमाली क्षेत्रमा रहेका सुप्राग्लेसियल तालको नियमित निगरानी आवश्यकतालाई सरकार, सरोकारवाला र अनुसन्धानकर्ताहरू माझ ल्याएको छ।
दोस्रो, नेपाल र चीनबिच सीमापार वास्तविक समयको सूचना आदानप्रदानको संयन्त्र विकास गर्नुपर्ने आवश्यकतालाई जोड दिएको छ। जलविद्युत्, सडक, पुल, व्यापारिक केन्द्र र बस्तीको बहुजोखिम मूल्यांकन गर्नुपर्छ। चौथो, उपग्रह, रिमोट सेन्सिङ, मौसम विज्ञान, जलविज्ञान र कृत्रिम बुद्धिमत्तालाई जोडेर पूर्वानुमानमा आधारित पूर्वसूचना प्रणाली विकास गर्नुपर्नेछ। पाँचौं, सबैभन्दा महत्त्वपूर्ण कुरा, स्थानीय समुदायलाई विपद् व्यवस्थापनको सक्रिय साझेदार बनाउनुपर्छ।
प्रकाशित: १३ भाद्र २०८३ ०७:५७ शनिबार

