नेपाली भाषाको बिग्रँदो अवस्थाबारे राजधानीका साथै मोफसलमा पनि थुपै्र गोष्ठी–बैठक हुँदै आएका छन् । भाषाबारे विभिन्न कार्यपत्र तथा टिप्पणी प्रस्तुत हुन्छन् । र, त्यस्ता गोष्ठी अनेक 'बुँदे' घोषणापत्र जारी गर्दै सम्पन्न हुन्छन् । तर, भोलिपल्ट भाषाको अवस्थामा कुनै सुधार आउँदैन, बरु थप जटिल बन्छ । नेपाली भाषा अझै सरल र सुबोध बनाउने तथा कथ्य र लेख्य मानक निकट तुल्याउन प्रयासरत रहने भन्दै सातबुँदे घोषणापत्रसहित आइतबार पूर्वी नेपालको काकडभिट्टा (झापा)मा एउटा तीन दिने गोष्ठी गरियो । उक्त गोष्ठीमा नेपालका साथै भारत, भुटान, म्यानमारका नेपाली भाषाविद् तथा शुभेच्छुकको बाक्लै उपस्थिति थियो । तिनको चिन्ता नेपाली भाषाको लेख्य मानकलाई कसरी कथ्य मानकसँग निकट पार्ने र सरलीकृत, आधुनिक तथा वैज्ञानिक बनाउँदै लैजाने भन्ने रहेको थियो । कार्यपत्र प्रस्तोता, टिप्पणीकर्ता तथा उपस्थित भाषाप्रेमी सबैको प्रश्न थियो– यो काम गर्ने प्रमुख जिम्मेवारी कसको हो ?
भाषा समृद्ध बनाउन आगन्तुक शब्दलाई निषेध होइन, पचाउन सक्ने गरी भित्राउनु आवश्यक छ । बोलिचालीमा सहज बनिसकेका कतिपय आगन्तुक शब्दलाई लेख्यरूपमा ल्याउन अब अलमलिनु आवश्यक छैन । नेपालीमात्र होइन देशमा बोलिने सबै (करिब सवा सय) भाषाको संरक्षण तथा सम्बद्र्धन गर्ने आधिकारिक निकाय नेपाल प्रज्ञा–प्रतिष्ठान हो । सोही कामका निम्ति राज्यले त्यस निकायको गठन गरेको र बजेट छुट्याएको हो । तर, विगत लामो समयदेखि त्यस निकाय राजनीतिक भागबण्डाको सिकार बन्दै आएको छ । त्यो निकाय दलनिकटका व्यक्तिलाई भर्ती गर्ने थलो बनेको छ । त्यसकारण अहिलेको संरचनामा सञ्चालित प्रज्ञाबाट नेपाली भाषाको सम्बद्र्धन हुने अपेक्षा राख्न सकिँदैन । भाषाविद्वान् उत्पादन गर्ने निकाय त्रिभुवन विश्वविद्यालयको नेपाली विभाग हो । अहिले नेपाली विषयमा उच्चशिक्षा अन्य केही कलेजमा पनि अध्यापन हुन थालेको छ । त्रिवि नेपाली विभागमा पनि केही समयदेखि राजनीतिको वक्रदृष्टि पर्न थालेको छ । त्यहाँ विभागीय प्रमुख भएर जाने प्राध्यापकहरूबीचको द्वन्द्वले भाषाको उत्थानमा प्रभाव पार्दै आएको छ । भाषा–साहित्यकै प्रवद्र्धन गर्न भनी करिब एक शताब्दीअघि स्थापित साझा प्रकाशनको अवस्था पनि राजनीतिक हस्तक्षेपकै कारण जर्जर बनेको छ ।
नेपालमा सयभन्दा बढी भाषा बोलिने भए पनि सम्पर्क भाषा नेपाली नै हो । यसकारण पनि यसको विशिष्टिकरण आवश्यक छ । अब यो अवस्थामा नेपाली भाषालाई मजबुत पार्ने जिम्मा सञ्चार माध्यम, सञ्चारकर्मी, भाषा शिक्षक, सम्पादक, प्रकाशक तथा लेखकको काँधमा आएको छ । सबै माध्यम तथा व्यक्तिले आआफ्नै छुट्टाछुट्टै व्याकरण वा स्टाइलबुक बनाउन थालेको देखिएको छ । यसले भाषिक एकरूपता होइन, भाषिक भाँडभैलो निम्त्याउँछ । र, समग्रमा नेपाली भाषालाई कमजोर पार्छ । यसकारण पनि एउटा मानक व्याकरण तथा शब्दकोशलाई आधार मानेर अघि बढ्नु व्यावहारिक हुन्छ । प्रज्ञा–प्रतिष्ठान र साझा प्रकाशनद्वारा केही वर्षअघि नै तयार पारिएका शब्दकोशलाई मानक बनाएर प्रयोगमा ल्याउन सके पनि अहिलेको जस्तो भाँडभैलो हुने थिएन ।
प्रकाशित: २ चैत्र २०७२ २०:३७ मंगलबार

