२७ पुस २०८२ आइतबार
image/svg+xml
विचार

छिमेकको छल

'हिन्दुस्तानको अँध्यारो नेपालको बिजुलीले हटाउँछ,' यो उत्साहजनक र दुई देशबीचको सम्बन्ध बलियो पार्ने भावनात्मक वाक्य प्रकट गरेका थिए भारतीय प्रधान मन्त्री नरेन्द्र मोदीले। नेपालको संविधान सभालाई गत वर्ष साउन १८ गते सम्बोधन गर्ने क्रममा उनले कुनै पनि हालतमा एक वर्षभित्र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको काम आरम्भ हुने उद्घोष गरेका थिए। पञ्चेश्वरले भारतका कतिपय क्षेत्रको अँध्यारो हटाउनुका साथै सिँचाइ तथा स्वच्छ पिउने पानीको हाहाकार केही कम हुने पनि उनको आशय थियो। तर, पछिल्लो समय नेपालमा विकसित राजनीतिक घटनाक्रमका कारण भारतको उत्साहमा कमी आएको देखिएको छ।बिनाकारण नेपालमा नाकाबन्दी लगाएको आरोप खेपिरहेको त्यस निकटतम छिमेकीले पञ्चेश्वर आयोजनामा पनि खोचे थापेको छ। गत वर्ष साउनमा नेपाल भ्रमणकै बेला भारतीय प्रधान मन्त्री मोदीले पञ्चेश्वरको कार्यविधि अनुमोदन गर्नुका साथै त्यस आयोजनको निर्माण जतिसक्यो चाँडो गर्ने घोषणासमेत गर्दा संविधान सभामा उपस्थित अधिकारीमात्र होइन टेलिभिजन हेरिरहेका दर्शकले पनि खुल्ला दिलले मोदीको प्रशंसा गरेका थिए। अब भने नेपालले छिमेकबाट कुनै प्रकारको नाकाबन्दी वा हेपाइ सहनुपर्ने छैन भन्ने विश्वास गरेका थिए। सानो र कमजोर अर्थतन्त्र भएको छिमेकीलाई त्यो ठूलो र क्रमशः शक्तिशाली बन्दै गएको मित्रले स्नेह गर्नेछ भनेर बुझिएको थियो। पञ्चेश्वर तत्काल अघि बढाउन दुवै देशले अविलम्ब काम थालिहाल्नुपर्ने उनले बताउँदा संविधान सभा तालीले गुञ्जायमान बनेको थियो। तर, उक्त आयोजना विकास प्राधिकरण गठन भएको ९ महिना बितिसक्दा पनि भारतले आफ्नो तर्फबाट कार्यसमितिमा प्रतिनिधि पठाएको छैन। प्राधिकरणमा दुवै देशका ४–४ अधिकारी रहने प्रावधान छ। नेपालले ६ महिनाअघि नै ४ जना चयन गरिसकेको छ। संयुक्तरूपमा काम अगाडि बढाउनुपर्ने कार्यसमितिमा भारतले आफ्नो प्रतिनिधि नपठाउनाले आयोजनाले गति लिन सकेको छैन।

नेपालका लागि भारतीय राजदूत रणजित रे भने नेपालमा बढ्दो राजनीतिक अस्थिरताकै कारण पञ्चेश्वरले गति लिन नसकेको बताउँदै आएका छन्। उनको भनाइमा पूर्ण विमति राख्न नसकिए पनि भारतले लामो समयसम्म प्रतिनिधि नपठाउनुले भने उसको नियतमाथि शंका उब्जाउँछ। सुरुमा यस आयोजनाको लागत २ खर्ब अनुमान गरिएको थियो। समय घर्कंदै जाँदा लागत निकै बढिसकेको यो आयोजनको कोषमा हालसम्म दुवै देशले जम्माजम्मी ३२ करोड रुपैयाँ राखेका छन्। नेपालले यो आयोजना निर्माणका निम्ति तारन्तार भारतीय पक्षसँग ताकेता गरिरहेको छ। तर, भारतले नचाहँदासम्म आयोजना बन्ने सम्भावना छैन। यसरी घोषणा भएर पनि काम अघि बढ्न नसकेका अन्य आयोजनामा माथिल्लो कर्णाली, अरुण तेस्रो, कोसी उच्च बाँध, महाकाली सिँचाइलगायत रहेका छन्। कर्णाली र अरुणको काम भने पछिल्लो समय केही अघि बढेको देखिएको छ। नेपालले चाहेरमात्र यी आयोजना समयमा बन्ने अवस्था छैन।

नेपालका तर्फबाट निरन्तर ताकेता गरेपछि यही महिनाको २० र २१ गते 'गभर्निङ बडी'को तेस्रो बैठक तय भएको बताइएको छ। करिब ६ हजार मेगावाटको यस आयोजनाले नेपालमात्र होइन भारतका पनि कतिपय क्षेत्रमा बिजुली बल्छ। सन् २००९ मै दुवै देशका सचिवस्तरीय बैठकले यसको कार्यविधि पारित गरे पनि अनुमोदन हुन झन्डै ५ वर्ष लागेको थियो। यो बृहत् आयोजनाको पानी उपयोग र क्षमता निर्धारणमा सहमति हुन नसक्दा संयुक्त डीपीआर तयार हुन सकिरहेको थिएन। त्यसबाहेक ड्याम निर्माणस्थलबारे पनि नेपालले बुद्धि पुराउनुपर्ने अवस्था छ। दीर्घकालीन सोच र कार्ययोजनाको अभावमा ड्यामका कारण कतिपय भूभाग डुबानमा पर्ने सम्भावना हुन्छ, विगतका अनुभवबाट पनि सिक्नुपर्छ। नदीनाला नेपालका हुन्, त्यसमा भारतले आफूलाई पनि फाइदा पुग्नेगरी लगानी जुटाइदिने काम गर्ने हो, छिमेकले छल गर्ने होइन। यसबाट बढीभन्दा बढी लाभ लिने कुरामा गभर्निङ बडीको बैठकदेखि नै नेपाली अधिकारी सचेत हुनुपर्ने देखिन्छ।

प्रकाशित: १३ माघ २०७२ २१:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App