१२ जेष्ठ २०७९ बिहीबार
विचार

पृथ्वीनारायण, कांग्रेस, युवा र दयावाद

‘खानी भएका ठाउँमा गाउँ भए पनि गाउँ अरू जग्गामा सारीकन खानी चलाउनू। गह्रो बन्ने जग्गामा घर भए पनि घर अरू जग्गामा सारी कुलो काटी खेत बनाई आबाद गर्नू।’

पृथ्वीनारायण शाहको उपदेश हो यो।

पुस २७ गते पृथ्वीनारायण जन्मेको दिन। पछिल्लो समय यस सन्दर्भमा हामीकहाँ विभिन्न विचार–विश्लेषण पत्रपत्रिकामा छापिन्छन्। पृथ्वीनारायणलाई देवत्वकरण गर्नेहरूले ‘उनी आफ्नो राज्य विस्तार गर्ने एक महत्त्वाकांक्षी, हिन्दूवादी राजा थिए’ भन्ने बिर्सन्छन्। आलोचक अर्थात् कथित प्रगतिशीलले पृथ्वीनारायणका केही राम्रा गुण र तत्कालीन समय चेतलाई दुत्कारेको पाइन्छ।

आज हामी यस कुरामा स्पष्ट हुनुपर्छ–पृथ्वीनारायण गुण–दोषसहितका एक महत्त्वाकांक्षी राजा थिए। उनले विभिन्न राज्य जितेर नेपाल राज्य बनाउने अभियान थाले। आज हामी जुन देशमा छौँ, यो देश बनाउने श्रेय पृथ्वीनारायणलाई जान्छ। यसर्थ हामीले पृथ्वीनारायणलाई सम्झनुपर्छ।

पृथ्वीनारायण यस भौगोलिक क्षेत्रको इतिहासका एक कोटा पात्र हुन्, उनले हिम्मत नगरेको भए अरू कसैले गर्थ्यो। वा, बाइसी–चौबिसी लगायत राज्य यथावत रहेकै अवस्थामा भारतमा जस्तै अंग्रेज हाबी हुन सक्थे, पछि स्वतन्त्रताको आन्दोलन गर्नुपर्थ्यो। त्यो आन्दोलन भारतीय जनतासँग मिलेर गर्ने कि कुन देशको नाममा गर्ने भन्ने समस्या सिर्जना हुन सक्थ्यो। भारतबाट पाकिस्तान, बंगलादेश टुक्रिएजस्तै हाम्रो भूगोलमा पनि राज्य गाँसिने र फुट्ने शृंखला चल्न सक्थ्यो।

यी सबै काल्पनिक कुरा हुन्। यथार्थ के हो भने, जसरी हुन्छ पृथ्वीनारायणले राज्य विस्तार गरेर नेपाल देश बनाउने अभियान थाले र आज नेपाल देश छ, यसलाई सबैको सुन्दर देश बनाउनु छ।

पृथ्वीनारायणले राज्याभिषेकपछि वाराणसीको यात्रा गरेका थिए। यस यात्राको प्रत्यक्ष उद्देश्य तीर्थ गर्नु र भित्री उद्देश्य युद्धका लागि साधन जुटाउनुसँगै केही राज्यको अवस्थाबारे अध्ययन गर्नु थियो। बाबुराम आचार्यको पुस्तक ‘श्री ५ बहामहाराजधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी’ अनुसार, हिमालयका ठूलासाना सबै ठकुराइका राजा समय मिलाएर वाराणसीमा गंगाको स्नान र विश्वनाथको दर्शन गर्न जान्थे।

नेपाल एक स्वतन्त्र राष्ट्र भएकाले ‘अखिल भारतीय’ शब्दको गणेशमान सिंहले विरोध गरेका थिए। गणेशमान आबद्ध ‘नेपाल प्रजा परिषद्’को ‘प्रजा’ शब्दको विरोध गर्नेहरू पनि थिए। नेपालीले आफूलाई ‘जनता’को रूपमा अघि सार्नुपर्छ भन्ने उनीहरुको तर्क थियो। यसरी परिवर्तनका लागि धर्म र राजनीतिका शब्द, अर्थ र व्यवहारभित्र पसेर बहस भएका थिए।

वाराणसी यात्राका लागि पृथ्वीनारायणलाई १५–२० हजार रूपैयाँ आवश्यक हुन्थ्यो। गोर्खामा खानी नगन्य थियो, योद्धा बन्दै आएका गोर्खालीले व्यापारको काम जान्दैनथे। राज्याभिषेकको परम्परा अनुसार गोर्खाका प्रत्येक घरबाट गादीमुवारक उठाइएको थियो। १२ हजार घरबाट ६ हजारभन्दा बढी उठ्ने ठाउँ थिएन। गोर्खालीहरू राजभक्त भएकाले राजाले गरेको तीर्थयात्राको फल हामीमा पनि आइपुग्छ भन्ने विश्वासले गच्छेअनुसार धन दिए।

पृथ्वीनारायणलाई राज्य विस्तार गर्ने हिम्मत आउन हिन्दू धार्मिक पृष्ठभूमिले सघाएकै हो। यथार्थ यो पनि हो– एउटा हिन्दूवादी राजा आउँदा यस भूगोलका अन्य धर्म–संस्कृतिका मानिस स्वाभाविक रूपमा अप्ठेरोमा परे। अर्कोतिर हिन्दू धर्मको जग जात व्यवस्था हो, त्यसैले धर्म र सत्ता चलाउने बाहेकका जात उत्पीडनमा परे। पुरुषवादी सत्ता हुँदा महिलाहरू उत्पीडनमा परे। आजको युवाले यही पृष्ठभूमिमा बहस गरी सामाजिक न्याय खोज्नुपर्छ। पृथ्वीनारायण कुनै धर्मका प्रवर्तक होइनन्, हिन्दू धर्मका उपज हुन्, यसमा उनको सीधा दोष थिएन भनी बुझ्नुपर्छ।

समय चेत र कांग्रेस

ललितपुरका माधवराज जोशीले पोखरामा ‘आर्य समाजी संस्था’ खोलेका थिए, १९५३ असार १५ गते। रुढीवादी परम्परा जातपात, कर्मकाण्ड, दान, श्राद्ध, मूर्तिपूजा आदिको विरोधमा उनले पछि (वि.सं. १९५५ मा) ललितपुरमा पनि आर्य समाजी खोले। उनी भन्थे, ‘पशुपतिनाथ ढुंगाको मूर्ति हो, देउता होइन। सूर्य घडी हो, देव होइन। ब्राह्मणवाद, तन्त्रवाद इत्यादि मानिसलाई अन्धविश्वासमा अल्झाएर उनीहरूमाथि शोषण गर्ने तरिका मात्र हो।’

त्यतिबेला ढोंगी पुरोहितसँग बहस हुँदा आर्य समाजीले तथ्यपूर्ण तर्कले खण्डन गर्थे। यो प्रसंग ‘नेपालको जनक्रान्ति’ पुस्तकमा भुवनलाल प्रधानले उद्धृत गरेका छन्।

भारतमा केही समय बसेका जोशीले स्वामी दयानन्द सरस्वतीको ‘आर्य समाज’लाई नियालेका थिए। भारतमा पाश्चात्य संस्कृतिको प्रभाव बढ्दै गएपछि दयानन्दले हिन्दू धर्मलाई सुधार गर्ने हेतुले ‘आर्य समाज’को स्थापना गरेका थिए। उनको आर्य समाजले हिन्दू धर्मभित्रका जातभात, कर्मकाण्ड, अन्धविश्वास आदिलाई अस्वीकार गर्थ्यो। जबजब बाहिरी धर्मको प्रभाव बढ्छ, तबतब आफ्नो धर्मको खोट खुट्ट्याउने प्रचलन पुरानै हो।

आज देशमा इसाई धर्मको हालिमुहाली बढेपछि केही मानिस भन्दै छन्– पुराना हिन्दू धर्मशास्त्रमा कुनै विभेद तथा छुवाछूत थिएन, पछि थपिएको हो। के के नै उनीहरूले पछि थप्नेहरूलाई चिनेजस्तो! वर्तमान भनेको केही हदसम्म इतिहासको उपज पनि हो। हामीले हिजो, आज र भोलिको अवस्था नियालेर तर्क गर्नुपर्छ र मान्छेलाई पूर्ण मान्छे बनाउने पहल थाल्नुपर्छ। नत्रभने जसरी आज अधिकांश सोझा, गरिब, रोगी नेपालीलाई भड्काएर इसाई बनाइँदैछ, यो क्रम झनै बढेर जानेछ।

राणाशासन फाल्ने विभिन्न प्रयासमध्ये एक थियो– आर्य समाजी अभियान। नेपालमा जागिर खोसिएपछि भारत पस्ने र पढ्नका लागि भारत जाने प्रवृत्ति राणाकालमा तीव्र थियो। भारतमा ब्रिटिसविरुद्ध आवाज उठिरहँदा बनारसको हिन्दू विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी पनि संगठित हुन थालेका थिए। यही पृष्ठभूमिमा बनेको थियो– अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेस।

नेपाल एक स्वतन्त्र राष्ट्र भएकाले ‘अखिल भारतीय’ शब्दको गणेशमान सिंहले विरोध गरेका थिए। त्यस्तै, गणेशमान आबद्ध ‘नेपाल प्रजा परिषद्’को ‘प्रजा’ शब्दको विरोध गर्नेहरू पनि थिए। उनीहरूको तर्क थियो– ‘प्रजा’भन्दा नेपालीले आफूलाई ‘जनता’को रूपमा अघि सार्नुपर्छ। यो प्रसंग राजेश गौतमले ‘नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस’ पुस्तकमा उल्लेख गरेका छन्।

यसरी परिवर्तनका लागि धर्म र राजनीतिका शब्द, अर्थ र व्यवहारभित्र पसेर बहस भएका थिए। प्रजातन्त्र ल्याउन कांग्रेस अग्रमोर्चामा रह्यो। यद्यपि, तत्कालीन कांग्रेसी चेत मार्क्सवादी विचारधारा, पहिलो र दोस्रो विश्वयुद्धबाट जागृत चेतबाटै प्रभावित थियो। विश्वयुद्धपछि ‘मानव अधिकारको विश्वव्यापी घोषणापत्र– १९४८’ आउँदासम्म विश्वव्यापी रूपमा मानव अधिकारबारे निकै बहस भएका थिए। रेडियो, पत्रपत्रिकाले यस्ता बहस छेडिरहेका थिए।

१९४७ जुलाई १७ मा नेपाली राष्ट्रिय कांग्रेसको पहिलो अधिवेशनले पास गरेको विधानको धारा १ मा उल्लेख छ– ‘नेपाली राष्ट्रिय कांग्रेस वर्गीय संस्था नभए पनि श्रमजीवी, किसान, पछि परेका जाति र मध्यम श्रेणीका जनताको प्रतिनिधित्व गर्ने संस्था हो।’

‘वर्गीय संस्था नभए पनि’ भन्ने वाक्यांशले कांग्रेसले आफूलाई कम्युनिस्टबाट अलग्याउन खोजेको बुझिन्छ, (यसमा यो पंक्तिकार अस्पष्ट पनि हुन सक्छ)।

२०१२ माघ ९ देखि वीरगन्जमा भएको छैटौँ महाधिवेशनमार्फत कांग्रेसले आफ्ना समाजवादी लक्ष्य घोषणा गरेको थियो। समाजवादका सम्बन्धमा २०१७ भदौ २५ मा एक समारोहमा बिपी कोइरालाले भनेका थिए– ‘समाजवाद कुनै स्पष्टवाद होइन र यसका बारेमा सबै कुरा विवादास्पद छन्।

समाजवादमा मुख्य देन माक्र्सको छ तर माक्र्सवाद र त्यसका अनुयायीको भनाइलाई मात्रै समाजवाद मान्ने हो भने समाजवादको लक्ष्यमा कदापि पुग्न सक्दैनौँ। समाजमा आर्थिक क्रान्ति ल्याउनु नै समाजवादको मुख्य लक्ष्य हो।’

त्यस्तै, बिपीले २०१७ कात्तिक ७ गते सिंहदरबार नाचघरमा आयोजित एक छात्र गोष्ठीमा भनेका थिए– ‘समाजवादका सम्बन्धमा माक्र्सको दर्शनमा विश्वास राख्ने व्यक्तिको हैसियतले म यो विश्वास गर्छु कि समस्त परिवर्तनको आधार आर्थिक व्यवस्थाको परिवर्तन हो।’ बिपीका यी भनाइ ग्रीस्मबहादुर देवकोटाको पुस्तक ‘नेपालको राजनीतिक दर्पण’मा उल्लेख छन्।

युवा, विचार र दयावाद

सामान्यतः विपत्पछि मानिसमा बुद्धि पलाउँछ, मानिसमा मात्रै होइन अन्य जीवजन्तुमा पनि– प्रकृति पुस्तक र इतिहासका घटनाले यही देखाउँछन्।

प्राकृतिक घटना, दुर्घटना, युद्ध, आक्रमण र अत्याचारमाथिको विद्रोहपछि नै विश्वमा मानिसले प्रगति गरेका छन्। इतिहासमा हामी पनि केही युद्ध, आक्रमण र प्राकृतिक विपत्पछि जुर्मुराएका हौँ।

पछिल्ला घटना हेर्दा– १९९० माघ २ को भूकम्प, २००७ सालको क्रान्ति, ०४६ को जनआन्दोलन, दशवर्षे जनयुद्ध, ०६२/६३ को जनआन्दोलन र २०७२ को भूकम्पपछि हामी जुर्मुरायौँ। यो विश्लेषण गर्न सकिन्छ– उपनिवेशबाट मुक्त हुन खोज्ने विश्व परिवेश र नेपाली जनतामा जागेको चेतनाले मात्रै होइन, १९९० को भूकम्पले पनि जहाँनियाँ राणाशासन ढलाउन मद्दत गरेको थियो।

भूकम्पले जनधनको क्षति गरेपछि जनसाधारण र राणाशासक दुवैलाई लाग्यो– विपत् आउन र बदलिन केहीबेर लाग्दो रहेनछ। विशेषतः जनसाधारणलाई लाग्यो– अब हामीले केही गर्नुपर्छ। हामीकहाँ अहिलेको संविधान पनि भूकम्पपछि बनेको हो। आआफ्नो मुढे अडानमा रहेका दल भूकम्पपछि केही लचक भएर अगाडि बढे र संविधान बन्यो।

विपत्पछिको निर्माण वा पुनर्निर्माणमा युवा खटिन्छन्, युद्ध वा राजनीतिक परिवर्तनका लागि पनि युवा खटिन्छन्, खटिएर मात्रै हुँदैन–योजनासहित खटिनुपर्छ, योजनाका लागि अनुभव र अध्ययन चाहिन्छ। युवा दुई किसिमका हुन्छन्– उमेरको र विचारको। अन्य कुरा यथावत रहेको अवस्थामा उमेरको युवा हुन गाह्रो छैन, तोकिएको उमेरमा परे पुग्छ। तर, विचारको युवा हुन अनुभव, अध्ययन र चिन्तन–मनन चाहिन्छ। माथिको उपदेशका पंक्ति पनि पृथ्वीनारायणले एक किसिमको अनुभवपछि दिएको मान्नुपर्छ।

आज नेपाली राजनीतिमा युवा नेता आउनुपर्छ भन्ने चर्चा चलेको छ, आवाज उठेको पनि छ। युवा नेताको खास उमेर तोकिएको होइन, नेतृत्वमा रहेका उमेरले पाका नेताभन्दा अलि भर्खरको भए वा देखिए पुगेको छ। युवा वा भर्खरको हुनेबित्तिकै मानिस भ्रष्ट हुँदैन, विवेकवान् र न्यायप्रेमी हुन्छ भन्ने होइन, सबैभन्दा ठूला अपराध मानिसले युवावस्था (बलबैंशको अवस्था) मै गर्छ। त्यसैले युवा हुन विचारधारा चाहिन्छ।

विचारधारा वा वाद कसरी जन्मन्छ? यो प्रश्नको जवाफ पाउन अर्को प्रश्न गर्नुपर्छ–संसारभरिका मानिसलाई न्याय र सुख हुनका लागि के गर्नुपर्ला? राज्यका स्रोत–साधन र सेवा–सुविधाको समान वितरण हुनुपर्छ, निजी सम्पत्तिको उन्मूलन भएर सामूहिक सम्पत्ति हुनुपर्छ, ठूलो र बलियो देशले सानो र कमजोर देशलाई थिचोमिचो गर्नुहुँदैन–यी र यस्तै जवाफ आउन सक्छन्।

प्रश्न पुनः उठ्छ– यसो हुनलाई कस्तो विचारधारा वा व्यवस्था चाहिएला? अनि, जन्मन्छ– विचारधारा वा वाद। यो त समग्र न्यायका लागि विचार वा वादको प्रश्न भयो। यसबाहेक, सीमित स्वार्थ वा वृत्तमा पनि वादहरू जन्मन्छन्। जस्तो:  पुरुषवाद, राष्ट्रवाद, धर्मवाद, जातिवाद, ब्राह्मणवाद, परिवारवाद आदि।

सबैको न्याय र सुखका लागि अहिले आम धारणा पाइन्छ, दयावाद। अर्थात् बलियोले निर्धोलाई, धनीले गरिबलाई, हुनेखानेले हुँदा खानेलाई, ठूलोले सानोलाई, बहुसंख्यकले अल्पसंख्यकलाई दया गर्नुपर्छ भन्ने विचारधारा।

दयाभावले आफूसँग भएको मध्येबाट नहुनेलाई केही बाँड्न र सानो वा कमजोरलाई माफी दिन प्रेरित गर्छ। दयाभाव मानिसको सहज प्रवृत्ति हो, यो आफैँ उत्पन्न हुन सक्छ। संसारका सबै धर्मशास्त्र वा धार्मिक मान्यताले दयाभावलाई विशेष महत्त्व दिएका छन्। त्यसैले आम मानिसले यसलाई विचारधारा वा अवधारणाकै रूपमा स्वीकार र अंगीकार गरेको पाइन्छ।

दया भावनाको तहमा उत्पन्न हुन्छ, योभन्दा माथि विचार, विचारधारा र सिद्धान्त हुन्छ। जस्तो : भारतले दयाभावद्वारा नेपालको सिमाना नमिच्ने वा मिचेको सिमाना छाड्ने होइन, सार्वभौमसत्ताको सिद्धान्त अनुसार व्यवहार गर्ने हो। त्यस्तै पुरुषले महिलालाई दयाभावले बलात्कार नगर्ने, वा बहुसंख्यकले दयाभावले अल्पसंख्यकलाई थिचोमिचो नगर्ने होइन, व्यक्तिका नैसर्गिक हक–अधिकार हुन्छन्।

यसर्थ विचारका तीन अवस्था हुन्छन्– केटाकेटी, युवा र वृद्ध। विचारको केटाकेटी अवस्था भनेको दयाभाव हो, युवावस्था भनेको सिद्धान्त र वृद्धावस्था भनेको सिद्धान्तबाट स्खलन हुनु हो। यसरी हेर्दा, कोही मानिस उमेर र शारीरिक रूपमा वृद्ध भए पनि वैचारिक रूपमा युवा रहेर मर्न सक्छ, अर्थात् जीवनभर सिद्धान्तमा अडिग रहन सक्छ।

पुनः प्रश्न उठ्छ–कस्तो सिद्धान्त? जवाफ उही– संसारका मानिसलाई न्याय र सुख दिने सिद्धान्त।

सुखको व्याख्यामा मानिसहरू अन्ततः भौतिक (शारीरिक) कि आध्यात्मिक (मानसिक) भनी बाँडिन्छन् र धर्मको आड लिन पुग्छन्। यसमा कुनै धर्मको आड लिन र शब्दजालमा फस्न जरुरी छैन। मन र शरीर बिजुली र तारजस्तै हुन्। तारबाट बिजुली प्रवाह भएर टिभी, कम्प्युटर, मेसिन आदि चलेजस्तै शरीरभित्र मन रहेकाले चेतन प्रक्रिया सुरु हुन्छ।

बिजुलीको प्रयोजन कुनै चिज चल्नुमा भएजस्तै मनको प्रयोजन कुनै उद्देश्यमा लाग्नुमा हुन्छ। मनमा धेरै विचार आउन सक्छन्, कुनै एक विचारमा लगाउनु वा विचारविहीन अवस्थामा रहनु नै मनलाई उद्देश्यमा लगाउनु हो, विचारविहीन अवस्थामा रहनु भनेको मनको आराम वा व्यायाम हो। कम सोच्नु तर  महत्त्वपूर्ण विषयमा सोच्नु र निष्कर्षमा पुग्नु मनको शक्ति हो।

मन र शरीर स्वस्थ हुन दुवै स्वस्थ रहनुपर्छ, बिजुली र तारको सन्तुलन भएजस्तै। यसको अर्थ, शरीरको आधारभूत आवश्यकता पूर्ति नगरी मन स्वस्थ रहँदैन। मानिसका आधारभूत आवश्यकतामा पर्छन्– गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, यौन तथा प्रजनन आदि। सारा राजनीति वा वाद यही आधारभूत आवश्यकताकै लागि हुन्।

बिपीले भनेको ‘समाजमा आर्थिक क्रान्ति’ कसरी सम्भव छ ? यो भनेको के हो ? के आजको कांग्रेसी युवा यसमा स्पष्ट छ?

हिजो सजिलो थियो– बिर्ता, जमिनदारी प्रथालाई दोष दिन। जनसंख्या बढ्दै गयो, अहिले जमिन बाँडेर नपुग्ने स्थिति आएको छ। मानिसलाई जमिनभन्दा पनि बासको व्यवस्था, उत्पादन, अवसर, सेवा बाँड्नुपर्नेभएको छ। अर्कोतिर, देशलाई कम्तीमा कृषिमा आत्मनिर्भर बनाउनुपर्ने पनि छ। त्यही नाममा आज जग्गा एकीकृत गरेर कृषि, पशुपालन गर्ने बढेका छन्। यसले अन्ततः जग्गा हुने र नहुने, कामदार र मालिकबीच खाडल ल्याउने निश्चित छ।

यो अवस्थामा सबैको न्यायका लागि राज्य र आजका युवाले कसरी सोच्ने हो ? कुन व्यवस्था ल्याउने हो ? दलितले पाएको कोटामा चित्त दुखाएर बस्ने युवा पनि आज राजनीतिमा आएको छ। क्लस्टरबाट महिला, दलित, मधेसी, मुस्लिम लगायत उत्पीडित वर्गलाई पार्टीमा ल्याउँदा गर्व गर्नेहरू एकातिर छन्।

विरासतले चलेको समाज र राजनीतिमा जातीय तथा लैंगिक विभेद एकैचोटि निमिट्ट्यान्न पार्न सकिने अवस्था छैन। समानुपातिक ढंगले महिला लगायत उत्पीडित वर्गलाई राजनीति, शासन–प्रशासनमा ल्याउने कुरामा युवाको चिन्तन देखिँदैन। आफ्नो खोसिन्छ कि भन्ने सानो चित्तबाट उनीहरू चलिरहेका छन्।

देशमा निजी र सरकारी गरी दुई खालका शिक्षा र स्वास्थ्य सेवा छन्। सबैभन्दा पहिले यी दुईलाई सामूहिक बनाउनुछ। देशको शिक्षा र स्वास्थ्य सेवा नै धनी र गरिबमा आधारित हुन्छ भने न्याय कसरी सम्भव हुन्छ? तत्कालै राज्यले शिक्षा र स्वास्थ्यको जिम्मा लिन सक्दैन भने यसमा क्रमिक सुधार गर्दै जान सक्नुपर्छ र अन्ततः निजी शैक्षिक सेवालाई राष्ट्रियकरण गर्नुपर्छ, यो आवाज धेरै पहिलेदेखि उठेको हो।

सबैलाई थाहा छ– निजी सम्पत्तिको उन्मूलन भई सम्पत्ति सामूहिक नहुँदासम्म समाजमा पूर्ण सामाजिक न्याय स्थापित हुँदैन। त्यहाँसम्म पुग्न हामीलाई अहिले नै डर लाग्छ र क्रमशः सुधारका बाटो खोज्नुपरेको छ।

कांग्रेसको समाजवादी पृष्ठभूमिकै कारण आज संविधानमा ‘समाजवादउन्मुख’ लेख्न सम्भव भएको हो। यद्यपि, कांग्रेस समाजवादको परिभाषामा स्पष्ट नहोस्।

कार्ल मार्क्स र ऐंगेल्सको ‘कम्युनिस्ट पार्टीको घोषणापत्र’ भन्छ– निजी सम्पत्तिको उन्मूलन नै सबैको न्याय हो। घोषणापत्रले निजी सम्पत्तिलाई कमजोर पार्ने विभिन्न उपाय दिएको छ– जमिनदारी सम्पत्तिको उन्मूलन, प्रगतिशील आयकर, उत्तराधिकारी प्रथा खारेज, सहर र गाउँबीचको भेदलाई मेट्नु, कृषिका निम्ति औद्योगिक सेना स्थापना गर्नु।

०१५ सालतिर कांग्रेस यस्तैयस्तै मुद्दामा अघि बढेको देखिन्थ्यो। आज गाउँगाउँमा कर बढेको छ, ठूला कर छलुवाको रजाइँ बेग्लै छ। पहाडी जमिन बाँझिएको छ। सम्म फाँटहरू घडेरीमा टुक्रिने क्रम बढ्दो छ। पृथ्वीनारायणको माथिको उपदेश आज झन्झन् सारगर्भित भएको छ। तर, आज युवाहरू उही बूढो सोच, सानो स्वार्थले जग्गा बेचेर चुनाव लड्न बाध्य छन्।

प्रकाशित: २४ पुस २०७८ ०७:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App