गणेश, पूर्वका सुत्केरी लिम्बू महिलालाई दाँज्न थाल्छन् – इलामतिर भए सुत्केरी हुनु कहिले कहिले, गर्भधारणलगत्तै पतिले विशेष हेरविचार गर्नेगर्छन्। गाह्रोसाह्रो काम गर्न दिँदैनन्। सासु, नन्द, आमाजुले पनि उत्तिकै स्याहार गर्छन्। सुत्केरी हुँदा त घरको सफा कोठामा राखी न्यानो लुगा दिएर, मासु तथा झोलिलो पौष्टिक खाना दिन्छन्। सेकाउने, मालिस गरिदिने आदिबाट पूरै आराम गराउँछन्। पति आफैँले लुगा धोइदिने वा घरका अन्यले सहयोग गर्छन्। तर, जुम्लामा किन यस्तो व्यवहार गरेको?
एउटै नेपालको पहाडी भेक र हिमाली भेक अनि एक छेउबाट अर्को छेउमा कति फरक चलन? के यो सबै मान्छेले नै बनाएका होइनन् र?
पश्चिमा मुलुकमा गर्भबस्नु अघि दवै मिलेर राम्रोसँग योजना बनाउँछन् – कहिले पाउने, कति पैसा चाहिन्छ, पत्नीको स्वास्थ्य स्थिति ठीक छ छैन डाक्टरसँग कहिले सल्लाह गर्ने आदि। पत्नीको गर्भावस्थाको सुरुको समाचार सुन्न पतिलगायत आफन्त र साथीभाइहरू व्यग्र प्रतीक्षा गर्छन्। सकारात्मक समाचार सुन्नासाथ उत्सव मनाउँछन्। बधाईको ओइरो लाग्छ। अनि बच्चालाई न्यानो लुगा तयार गर्ने, खेलौनादेखि बच्चालाई चाहिने सामान उपहार दिनेक्रम सुरु हुन्छ। उनीहरूको लागि माया, आत्मीयता दर्शाउने एउटा अवसर हुनेगर्छ जुन कुनै हालतमा पनि गुमाउन चाहँदैनन्। गर्भवती महिलालाई सुखी र खुसी पार्ने प्रयास सबैले गर्छन्। गर्भवती महिलाको मानसिक तथा शारीरिक स्थितिले आउने बच्चाको स्वास्थ्यमा ठूलो असर पार्छ भन्छन्। त्यसैले होला, गर्भावस्था र सुत्केरी अवस्थाको हरेक पलको खुसीलाई टाढाटाढाका साथीसंगीसँग बाँड्न लालायित हुन्छन्।
अस्पतालमा सुत्केरी हुँदा पतिलाई अनिवार्यरूपमा पत्नीसँगै राख्छन्। सहयोग, माया दिँदै प्रसव पीडा बाँड्ने चलन छ। पति कुनै कारण विशेषले पत्नीको प्रसवावस्थामा उपस्थित हुन नसके मानवीय भावनाबाट च्युत भएको भन्दै पारपाचुकेसमेत हुँदा रहेछ। सुत्केरीपछि पनि पतिले बच्चा र आमालाई पूरा तनमनले स्याहार्छन्। राति आमालाई राम्रो निन्द्रा र आराम चाहिन्छ भनेर आफूले बच्चा च्यापेर पत्नीलाई सुत्न दिन्छन्।
विदेशका कुरा छाडौं, काठमाडौंतिर आजभोलि गर्भ रहेको खबर पाउनासाथ मिठाइ बाँढ्ने चलन सुरु भएको छ। गर्भवतीको विशेष स्याहार गर्ने, प्रशस्त आराम र पोषिलो खाना दिने गर्छन्। सुत्केरी हुँदा उत्सवको रूपमा लिन्छन्। गर्भावस्थाको हरेक पललाई 'इन्ज्वाय्' गर्न दिइन्छ। नेवार संस्कृतिलाई हेर्ने हो भने सुत्केरी भएको करिब एक महिना घरमा र त्यसपछि डेढ दुई महिना माइतमा बसेर सुत्केरी स्याहार्छन्। दिनमा ४ छाक पोषिलो खाना दिन्छन्। आफ्नो घरमा तेल लगाइदिने मान्छे छैन भने भाडामा मान्छे लगाएर पनि स्याहार्ने चलन छ।
सन् १९९७ मा सप्तरीमा काम गर्दा स्पेनकी सहकर्मी गर्भवती थिइन्। उनकी बृद्धा आमालाई फोनबाटमात्र कुरा गरेर चित्त नबुझेर आफ्नी छोरीको मनपर्ने खानेकुरा पकाएर खुवाउनलाई स्पेनदेखि सप्तरी पुगेकी थिइन्।
यता अर्की आमाको कुरा गरौं। जुम्लामा गत महिना एउटा तालिमका क्रममा तलियुम (हाल चन्दननाथ नगरपालिका) को श्रीदुष्का गाउँमा भ्रमण गर्दा झरी परेको थियो। माइत आएकी डेढ महिनाकी सुत्केरी छोरीलाई महिनावारी भएको भन्दै उनकी आमाले गोबर र हिलो भएको गोठमा बस्न बाध्य गराएको देखियो। सानो बच्चालाई एउटा खास्टोमा बेरेर त्यहीँ भुईंमा राखेका थिए। त्यहीबेला हाम्रो साथमा रहेकी नर्स राधा पौडेलले बुझ्दा, सुत्केरी भएपछि पाठेघरमा बाँकी रहेका सालका टुक्रा झरेको रहेछ। यस्तो बेला त्यसरी बेवास्ता गरी फोहरमा बस्दा, ज्वरो आएमा आमाको मृत्युसमेत हुन सक्थ्यो। उनलाई माथि कोठामा लगेर राख्न र तुरुन्त स्वास्थ्य जाँच गराउनका लागि आफ्नै आमालाई कुरा बुझाउन धेरै नै जोडबल गर्नुपर्योन। महिनावारी भएकीलाई घरभित्र राख्दा देउता लाग्छन् भन्ने अन्धविश्वासले २१ औं शताब्दीमा पनि गोठमा बस्ने (छाउपडी) संस्कार दुःख लाग्दो हो।
हाँकुका नियापानी गाउँमा एकजना समाज सुधारकले भनेका थिएः पहिलापहिला छोरी पाए ३ महिना र छोरा पाए ६ महिना मासु खान हुँदैन भन्ने धारणा थियो। पछि परिवर्तन भयो र मासु खान दिन थाले। यस्तै समाजमा एक दुईजना सुरो महिला र पुरुष निस्कनु पर्योछ जसले कुरीति तथा आफ्नै शरीरलाई हानी नोक्सानी पुर्या उने खालका प्रचलन परिवर्तन गराओस्। स्वस्थ बन्न र बनाउन सबैले आआफ्नो घरबाट सुरु गर्नैपर्छ। नेपालको अन्तरिम संविधान, २०६३ को धारा- २० ले पनि यौन तथा प्रजनन स्वास्थ्यलाई विशेष अधिकारमा स्थान दिएको छ। आमा हुन पाउनु उनको स्वतन्त्रता र स्वनिर्णय भनेको छ। आमाहरूलाई विशेष रुपमा सफा ठाउँमा राखी राम्ररी स्याहार्ने कर्तव्य विशेषतः पति तथा घरपरिवारको हुन्छ।
जुम्लामा महिला सशक्तीकरण कार्यक्रमसँग आबद्ध
प्रकाशित: ९ आश्विन २०७१ २०:५३ बिहीबार