१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

बिस्काः जात्राको व्याख्यान

हाल उपत्यका भनिने नेपाल मण्डलमा विभिन्न जात्राको चलन थियो र अझै पनि छ। जस्तैः घोडेजात्रा, भोटोजात्रा, इन्द्रजात्रा, गाईजात्रा, बिस्काः जात्रा, सिन्दुरजात्रा, जिब्रो छेड्ने जात्रा आदि। त्यसैले जात्रैजात्राको सहर भनिन्छ काठमाडौं उपत्यकालाई।  

पाटनमा मनाइने रातो मच्छेन्द्रनाथको जात्रालाई सबैभन्दा लामो जात्रा मानिन्छ। भक्तपुरमा मनाइने बिस्काः जात्रा नेपालकै दोस्रो लामो जात्रामा पर्छ। बिस्काः जात्रा आठ रात र नौ दिनसम्म चल्छ। आठ रात र नौ दिनसम्म भक्तपुरे नेवारले दिनहुँ विभिन्न मन्दिर र देवस्थलमा गएर देवीदेवताको पूजाआजा गर्छन्। स्वास्थ्य, आरोग्य र कार्यसिद्धिको कामना गर्छन्। बाजागाजा बजाउँदै भैरवनाथ र भद्रकालीको रथ तान्छन्। अनि दिनदिनै भोज खान्छन् र छोरीचेली तथा पाहुनापासालाई पनि खुवाउँछन्।  

चैत मसान्तको दिन भेलुखेल अर्थात् योसीँ ख्यःमा लिंगो ठड्याउनु, वैशाख १ गते सो लिंगो ढाल्नु, भैरव र भद्रकालीको रथ तान्नु र जुधाउनु। समग्रमा यसैलाई बिस्काः जात्रा भनिन्छ। किन यसो गरिन्छ ? अथवा किन बिस्काः जात्रा मनाइन्छ ? बिस्काः जात्रा हेर्ने र हेर्न चाहनेको मनमा स्वाभाविक रूपमा यस्तो प्रश्न उठ्न सक्छ।  

बिस्काः जात्राका सम्बन्धमा प्रचलित एउटा किंवदन्ती यस्तो छ:

संस्कृतिविद् लीलाभक्त मुनंकर्मीले आफ्नो पुस्तक ‘नेपालको सांस्कृतिक तथा ऐतिहासिक दिग्दर्शन’ मा उल्लेख गरेअनुसार परापूर्वकालमा यहाँ एक प्रतापी राजा थिए। ती राजाकी एक अत्यन्त सुन्दरी कन्या थिइन्। राजाले ती राजकन्यालाई विवाह गरिदिन धेरै कोसिस गरे पनि सफल हुन सकेका थिएनन्। राजकन्या आफ्ना दुलाहासँग सुतेपछि भोलिपल्ट बिहान ती दुलाहा मरिसकेका हुन्थे। दुलाहादुलही सुतिसकेपछि राति राजकन्या दुलहीको नाकको प्वालबाट दुइटा स–साना सर्प निस्केर अजिंगरको रूपधारण गरी दुलाहालाई डसेर मार्थे र फेरि सानो सर्प भई राजकन्याको नाकको प्वालबाट भित्र पसी अदृश्य हुन्थे। यस प्रकार धेरै राजकुमारहरूको ज्यान गइसकेको थियो भने उता राजा पनि आफ्नी छोरीको विवाह हुन नसकेकामा साह्रै चिन्तित थिए।

यस्तैमा एक दिन देश बसाउन एक प्रतापी र बलवान राजकुमार घुमिरहेका बेला घना वनको बीचबाट खोला बगिरहेको ठाउँमा पुगेपछि एक करुण अवस्थाकी कपाल फुकाएकी, हाड र छाला मात्र भएकी वृद्धालाई देखे। राजकुमारले ती वृद्धाको सामुन्ने गएर ‘हजुर किन यस घोर जंगलको एकान्तमा बसिरहनुभएको छ ? र हजुर को हुनुहुन्छ ?’ भनी सोधे। ‘यस देशमा राजाकी छोरीद्वारा धेरै युवक सखाप भइसके। तिमी यहाँदेखि पर जाँदा एउटा खड्ग पाउनेछौ। त्यस खड्गले राजकुमारीको नाकबाट निस्कने एक जोडा अजिंगरलाई नडराईकन दुई टुक्रा पारी काटिदिनू। अनि तिमीले राजाकी छोरी विवाह गर्न पाई तिम्रो ठूलो भाग्य खुल्नेछ।’ यति भनेर वृद्धा अन्तध्र्यान भइन्।

राजकुमारलाई त्यहाँबाट अलि पूर्वतिर लाग्दा त्रिवेणी खोलामा एक खड्ग प्राप्त भयो, सो खड्ग लिई राजदरबारमा गई उनले राजासँग छोरी मागे। राजाले पनि खुसीसाथ ती छोरीको विवाह ती राजकुमारसँग गरिदिए र दुलाहादुलहीलाई कोठामा सुत्न पठाए। राति राजकन्या निदाइसकेपछि उनको नाकको प्वालबाट दुइटा स–साना सर्प निस्केर अजिंगर रूप धारण गरी राजकुमारलाई डस्न लाग्दा राजकुमारले निडरतापूर्वक खड्गले काटेर दुई टुक्रा पारिदिए। ती अजिंगर र अजिंगर्नीले प्राण त्याग गर्ने बेला ‘तिमी बडा पुरुषार्थी रहेछौ। यस देशमा हामी दुवैले धेरै पुरुषार्थी राजकुमारलाई मारिसकेका छौँ। अब हामी दुवै एकै ठाउँमा मर्न लाग्यौँ। हामी दुवै प्राण त्यागेर गएपछि हाम्रो पुरुषार्थ देखाउन सबैले देख्ने गरी जात्रा चलाइदिनू’ भनी प्राण त्याग गरे। भोलिपल्ट बिहान दुलाहादुलही दुवै जीवित रहेको र दुइटा अजिंगर मात्र मरेको देखेर सबैजना खुसी भए। अनि राजाले पनि छोरीलाई थुप्रै धन दाइजो दिएर राजकुमारलाई राजतिलक गरिदिए।

त्यसपछि नयाँ दुलहीसहित् गद्दीमा बस्न पाएका नयाँ राजाले राजदरबारमा धेरै ज्योतिषी भेला गरी अजिंगरले मर्ने बेलामा भनेर गएका कुराहरू सुनाए। अन्त्यमा ती मरेका अजिंगरको जोडीको प्रतीकस्वरूप कपडाको दुइटा लामो ध्वजा बनाई ५५ हात लामो विशेष खालको काठको लिंगोमा झुन्ड्याई चैत्र मसान्तको दिनमा सो लिंगो ठड्याउने जात्रा चलाई अर्को दिन वैशाख १ गते विसर्जन गर्ने बन्दोबस्त गरे। नेवारी भाषामा ‘बि’ भनेको सर्प र ‘सिका’ भनेको मारियो हुन्छ। यही बिसिका भन्ने शब्द अपभ्रंश भई बिस्काः हुन गएको भन्ने किम्बदन्ती रहेको छ। सर्प मारेपछि मनाउन थालिएको जात्रा भएकाले यसलाई बिस्काः जात्रा भनिएको हो।  

बिस्काः जात्रालाई विगतमा बिस्केटजात्रा भनिन्थ्यो। केही सचेत नागरिक र संस्कृतिकर्मीले बिस्केटजात्रा होइन, बिस्काः जात्रा हो भनेर भन्न थालेपछि अचेल बिस्काः जात्रा भन्न थालिएको छ। शब्दविन्यासलाई केलाएर अर्थ खुट्याउने प्रयासमा यस्तो परिवर्तन आएको हो।

मत विभाजन

बिस्काः जात्राका सम्बन्धमा प्रचलित किंवदन्तीभन्दा फरक मत पनि भेटिन्छ। बलराम कायस्थले इतिहास विषयमा विद्यावारिधिको शोधपत्र तयार पार्ने क्रममा गरेको ‘भक्तपुरको विश्वयात्रा (बिस्केट) को सामाजिक र सांस्कृतिक अध्ययन’ विषयक अध्ययनअनुसार संस्कृतको विश्वकेतु शब्द अपभ्रंश भई बिस्केट भएको र बिस्केट पनि अपभ्रंश भई बिस्का भएको उल्लेख गरेका छन्। उनले विश्वकेतुको अर्थ विश्वध्वजा भनेका छन्। उनका अनुसार प्रत्येक वर्ष चैत मसान्तका दिन विश्वध्वजा उत्थान गरी मेष संक्रान्तिका दिन जात्रा गर्ने प्रथा वैदिक कालदेखि सुरु भएको हो। यसरी उक्त दिन ध्वजोत्थान गरी जात्रा मनाउनाले सर्वत्र सुख, शान्ति, समृद्धि फैलिने, जीव र जगत्को कल्याण हुने, शत्रु क्षय हुने जस्ता कुरा मनुको वचन भनेर गौतमीतन्त्र नामक प्राचीन ग्रन्थमा उल्लेख छ। प्रकारान्तरले विश्वध्वजा जात्रामा अनेक उपजात्रा थपिए। यस्ता जात्रामा भैरवनाथ र भद्रकालीको रथयात्रा निकै प्रसिद्ध बनेको छ। यो जात्रा मूल जात्राको चार दिन अघिबाट प्रारम्भ भई मूल जात्रा सकिएको चार दिन पछिसम्म चल्ने गर्छ।  

बिस्काः जात्राकै अवसरमा यहाँ स्थापित अष्टमातृका लगायत अन्य देवदेवीका स्थानीय स्तरका अनेक जात्रा पनि हुने गर्छन्। यो जात्रा विशेष गरेर विश्वनाथ भैरवको जात्राका रूपमा प्रसिद्ध छ। किनकि भैरवको प्रतीकका रूपमा चैत मसान्तका दिन ठड्याइने लिंगोको टुप्पोमा फहराइने जोडी ध्वजालाई अभिलेखीय प्रमाणका आधारमा विश्वध्वजा, वीरध्वजा, विश्वकेतु आदि भनिएबाट यस तथ्यको पुष्टि हुने कायस्थको तर्क छ। सो जोडी ध्वजालाई भैरव र शक्तिको प्रतीकको रूप मानिन्छ। अनि जात्रा हुने मूल स्थान भद्रकाली पीठ नै रहेबाट यो कुरा स्पष्ट हुन्छ। लिंगो ठडिने खाल्डोलाई प्रतीकात्मक रूपमा भद्रकालीको योनि र लिंगोलाई भैरवको लिंग मानिन्छ।

त्यो खाल्डोमा राखेर लिंगो ठड्याउनुलाई भैरव र भद्रकालीबीचको यौन समागम वा शिव र शक्ति आपसमा एकाकार भएको प्रतीक अर्थमा लिने गरिन्छ। त्यसैले लिंगो ठड्याउनुको अर्थ दर्शकलाई मनोरञ्जन गराउनु मात्रै नभएर भैरव र भद्रकालीलाई यौन समागम गराउनु पनि हो भन्ने गरिन्छ, जुन तान्त्रिक दृष्टिकोणले निकै महत्वपूर्ण मानिन्छ भनी बलराम कायस्थले आफ्नो शोधपत्रको उपसंहारमा लेखेका छन्। बिस्काः जात्रा भैरवनाथ र भद्रकालीको जात्रा हो भन्दै कायस्थले बिस्काः जात्रा सम्बन्धमा प्रचलित किंवदन्ती गलत भएको दाबी समेत गरेका छन्। उनका अनुसार, भैरवनाथ किसानका देवता भएको र भक्तपुर किसान बाहुल्य भएको सहर भएकाले यहाँ यस किसिमको जात्रा गर्ने परम्परा चलेको देखिन्छ।  

यसैगरी केदारनाथ प्रधानले ‘भक्तपुरको बिस्केट जात्रा र यसको प्रागैतिहासिक महत्व’ शीर्षकको आफ्नो अनुसन्धानमूलक आलेखमा ‘विसि खात’बाट अपभ्रंश भई क्रमशः ‘बिस्काट’, ‘बिस्केट’, ‘बिसिका’ हुँदै ‘बिस्का’ भएको उल्लेख गरेका छन्। उनका अनुसार, बिस्काः जात्राको प्रारम्भिक रूपको थालनी आदि इतिहासकालमा भएको, अलि व्यवस्थित ढंगले जात्राको प्रचलन लिच्छविकालमा र पूर्ण व्यवस्था र भैरव र भद्रकालीको रथयात्रा समेत समावेश गर्ने कार्य मध्यकालको उत्तराद्र्धताका भएको हुन सक्ने अनुमान गर्न सकिन्छ। यसको आधारमा भक्तपुरको बिस्काः जात्रा लिच्छविकालमा सुरु भएको र मल्लकालमा जगतज्योति मल्लले थप व्यवस्थित गरेको र मल्ल राजा भूपतिन्द्र मल्लले भैरवनाथ र भद्रकालीको रथयात्रा समेत थप गरी अझ व्यवस्थित बनाएको तथ्यलाई सही मान्न सकिन्छ। अहिले चैत मसान्तको चार दिनअघि टौमढी टोलस्थित पाँचतले मन्दिर र भैरवनाथको मन्दिर परिसरमा तीनतले प्योगाडा शैलीको भैरवनाथको रथ तानेर बिस्काः जात्रा प्रारम्भ गरिन्छ। हरेक वर्ष चैत महिना ३१ दिनको भए २८ गतेबाट र ३० दिनको भए २७ गतेबाट बिस्काः जात्रा सुरु हुने गर्छ।

शिलालेखमा के छ ?

नेपाल संवत् ५०० को अमरपोष्टमा विश्वकेतुको समान अर्थ राख्ने शब्द ‘विसिक’ उल्लेख छ। टौमढी टोलमा रहेको नेपाल संवत् ५६१ को यक्षमल्लको शिलालेखमा ‘विश्वजात्रा’ उल्लेख छ। यसैगरी नेपाल संवत ६४१ को भूमिसम्बन्धी तमसुक ताडपत्रमा विश्वकेतुलाई ‘बिसिक’ भनिएको छ। यस्तै भक्तपुर दरबार क्षेत्रको मालती चोकको जितामित्र मल्लको नेपाल संवत ८०८ र भूपतिन्द्र मल्लको नेपाल संवत ८१८ को शिलालेखमा क्रमैले ‘विस्क्यात’ शब्द दिइएको छ। मल्लकालको मध्यतिर पनि बिस्काः जात्रा ख्वप (भक्तपुर) मा ‘ल्योसि थनेगु’ र भैलः द्यः को रथ तान्ने जात्रा समेत चन्द्रमास अनुसार गरिन्थ्यो भनेर उल्लेख गरिएको प्रमाण नेपाल राष्ट्रिय अभिलेखालयस्थित हस्तलिखित ग्रन्थ लगत नं. १६९६, माइक्रोफिल्म नं. ए ३०१ को १२ को पृष्ठ संख्या २ मा प्रमाणित गरिएको लेखक सुभाषराम प्रजापतिले एक आलेखमा उल्लेख गरेका छन्।  

बिस्काः जात्रालाई विक्रम संवत्सँग जोडेर नयाँ वर्षमा मनाइने जात्राका रूपमा प्रचार गर्ने गरिएको छ, जुन गलत हो भन्ने संस्कृतिविद्को बुझाइ छ। भारतको उज्जैनका राजा विक्रमादित्यले सुरु गरेको विक्रम संवतसँग नेपालको बिस्काः जात्राको कुनै सम्बन्ध नरहेको र यी दुईको बीचमा सम्बन्ध जोडेर व्याख्या गर्नु आफ्नो मौलिक संस्कृतिको अपमान गर्नु हो भन्ने मान्यता रहेको छ, संस्कृतिविद् सत्यमोहन जोशीको।

बिस्काः जात्राको मुख्य पक्षका रूपमा भक्तपुर सहरको भेलुखेल, यसलाई स्थानीय भाषामा यसीँ ख्यः पनि भनिन्छ, भन्ने ठाउँमा ५५ हात लामो लिंगो ठड्याउने र ढाल्ने गरिन्छ। चैत मसान्तमा विभिन्न बाजागाजासहित शास्त्रोक्त विधिअनुसार पूजाआजा गरी लिंगो ठड्याइन्छ र त्यसको भोलिपल्ट वैशाख १ गते बाजागाजासहित शास्त्रोक्त विधिअनुसार नै लिंगो ढाल्ने गरिन्छ। लिंगो ढालिसकेपछि बिस्काः जात्राको मुख्य जात्रा सकिएको मानिन्छ। तर अरू जात्राको क्रम भने अझै केही दिन बाँकी नै रहन्छन्।

लिंगोको कोखामा झुन्ड्याइएका दुई ध्वजालाई वीरध्वजा र विश्वध्वजा भनिन्छ। लिंगो ठड्याउन प्रयोग गरिएका आठवटा डोरीलाई अष्टमातृकाको प्रतीक मानिन्छ। लिंगो ठड्याउनुअघि भैरवनाथ र भद्रकालीको रथलाई गाःहिटीबाट तानेर भेलुखेलसम्म पु¥याउने परम्परा छ। भेलुखेलमा ५५ हातको लिंगो ठड्याउनुअघि तालाक्वस्थित कुमाले टोलमा ‘ल्हा मरुम्ह यसीँ’ अर्थात् हात नभएको लिंगो ठड्याउने चलन पनि छ। तत्कालीन मल्लकालको समयमा राज्य र स्थानीय कुमाले अर्थात् प्रजापति समुदायबीच मनमुटाव भएपछि राज्यद्वारा ठड्याइने लिंगोभन्दा पहिला नै कुमाले टोलमा स्थानीय जनताद्वारा लिंगो ठड्याउने चलन चलेको जनश्रुति रहेको छ। राज्यको विरोधस्वरूप यस्तो गरिएको भनाइ संस्कृतिविद्को छ। मानिसको विशाल उपस्थितिमा रमाइलो र रोचक वातावरणमा लिंगो ठड्याउने जात्रा सम्पन्न हुन्छ।

अहिले बिस्काः जात्राको मुख्य पक्षको रूपमा भैरव र भद्रकालीको रथ तान्नुलाई लिइन्छ। विशेषगरी भक्तपुरका दुइटा मुख्य टोल थःने र क्वःनेका बासिन्दाबीच भैरवको रथ तान्ने प्रतिस्पर्धाले जात्रालाई रोमाञ्चक बनाउने गरेको छ। यद्यपि यही रोमाञ्च दुई टोलबीच प्रतिष्ठाको लडाइँको भावनाले प्रतिस्पर्धाको रूप लिएपछि भने जात्रास्थल नै रणमैदान जस्तो बन्ने गरेको छ। अचेल बिस्काः जात्रालाई व्यवस्थित र सुरक्षित बनाउन बिस्काः जात्रा व्यवस्थापन समिति नै बन्ने गरेको छ भने सुरक्षा व्यवस्था पनि निकै कडा पारिने गरेको छ। सुरक्षाकर्मी र सिसी क्यामेराको कडा निगरानीमा हुने जात्राको आनन्द उन्मुक्त वातावरणमा हुने विगतको जात्राको जस्तो वास्तविक आनन्द भने लिन पाउँदैनन् अचेल जात्रालु र दर्शकले पनि। जात्रामा रमाउनु नेवारको विशेषता नै हो। सबैजना एकै ठाउँमा भेला हुनु, विभिन्न थरी बाजागाजा बजाउनु, नाचगान गर्नु, काममा हातेमालो गर्नु, अन्त्यमा रमाइलोसँग जात्रापर्व सम्पन्न गर्नु– यही नै हो नेवार जातिको जातीय तथा सांस्कृतिक विशेषता। यसलाई सबैले बुझ्न र आत्मसात गर्न आवश्यक छ।

प्रकाशित: ३० चैत्र २०७७ ०४:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App