११ कार्तिक २०७७ मंगलबार
विचार

यो प्रजातन्त्र होइन

दृष्टिकोण नै स्पष्ट छैन भने राष्ट्र र व्यक्ति सफल हुँदैन। रणनीति अधुरो छ भने उसको प्रयत्न बालुवामा पानी खन्याए जस्तो हुन्छ। प्रस्थानविन्दु नै गलत छ भने लक्ष्य पनि स्पष्ट हुँदैन। त्यस्तो अवस्थामा भ्रान्तपथिक बनेर मानिस आजीवन अल्मलिन्छ र भौतारिइरहन्छ। जसलाई प्रजातन्त्रप्रति विश्वासै छैन, उनीहरूले जनतालाई कर्तव्य, अधिकार, देश प्रेम, स्वतन्त्रता र स्वाभिमान सिकाउन सक्दैनन्। नेपालमा आज जुन प्रणालीलाई ‘डेमोक्रेसी’ भनिएको छ, वास्तवमा यो ठगी मात्र हो किनभने प्रजातन्त्रको सम्मान हुने राष्ट्रका लाखौँ जनताले साँझ÷बिहान कसरी पेट पाल्ने भनेर रुनु्पर्दैन। शिक्षा, स्वास्थ्य, खाद्यान्नलगायतका नैसर्गिक हकका निम्ति छटपटाउनु पनि पर्दैन। सामाजिक न्यायको सिद्धान्तअनुसार सबैलाई न्यूनतम सुविधा र स्वतन्त्रता प्रदान गर्नु नै प्रजातन्त्रको मुख्य ध्येय पनि हो।  

नेपालमा निर्दलीय प्रणाली चल्यो, २०१७ देखि २०४६ सालसम्म। गाउँ पञ्चायत र नगर पञ्चायतमा वडाध्यक्षदेखि प्रधानपञ्च र उपप्रधानपञ्च जनताबाट चुनिन्थे। निर्धारित मिति भन्दा १० दिनपहिले सम्पूर्ण हिसावकिताव कर्मचारीलाई बुझाएर पुराना पदाधिकारीले बिदा लिने चलन थियो। आफ्नो आचरण, कर्म, जनतासँगको सहकार्य, विश्वास र लोकप्रिय चरित्रका आधारमा उनीहरू चुनिन्थे। केही अपवादबाहेक ऊबेलाको संसद् (राष्ट्रिय पञ्चायत) धेरै मर्यादित थियो। मैले २०३८ सालदेखि केही वर्ष संसद्को रिपोर्टिङ गर्दा कैयन् जनप्रतिनिधिसँग परिचय गर्ने मौका मिल्यो। धेरैजसो सरल, इमानदार, विनम्र तथा जनप्रेमी थिए। झापाका पुहातु चौधरी, मुगुका तेजबहादुर भाम, रसुवाका दावाफिन्जो तामाङ, इलामका भगवतीदास श्रेष्ठ र सोमनाथ बाँस्तोला, कञ्चपुरका लबरु राना थारू, बैतडीका लोकेन्द्रबहादुर चन्द, रौतहटका द्रोणशमशेर जबरा, बाँकेका फत्तेसिंह थारू, जुम्लाका हरिश्चन्द्र महतलगायत सांसदमध्ये सीमित मात्र शिक्षित थिए। त्यस्तो अवस्थामा नेपालको एक मात्र राष्ट्रिय दैनिक पत्रिका गोरखापत्रका सामग्री पनि शून्य समय (जिरो आवर) र त्यसपछिको बहसमा चर्चाको विषय बन्थ्यो।

राजा महेन्द्रका अंगरक्षक, राष्ट्रसंघका लागि नेपाली राजदूतलगायतका पदमा बसेर लामो अनुभव समेटेका मेजर जनरल पद्मबहादुर खत्रीसँग राष्ट्रिय पञ्चायतमै परिचय भयो। उनी त्यतिबेला परराष्ट्रमन्त्री थिए। संसद्को गतिविधि रेडियो नेपालबाट प्रसार हुने हुँदा उनी पनि चाख लिएर सुन्दारहेछन्। राजा महेन्द्रका प्रमुख सल्लाहकार गुञ्जमान सिंहले चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने सम्झौतामा हस्ताक्षर गरेको र त्यसपछि चीन र भारतसँगको कूटनीति अलि बढी सन्तुुलित भएको प्रसंग उनले संसद्को पटांगिनीमा उभिएर सुनाएका थिए। पञ्चायतकालका सबै राजनीतिज्ञ सडे÷गलेका थिए भनेर दुष्प्रचार गरियो तर ऊबेला अहिलेको जस्तो अराजकता र बेथिति थिएन।

नेपालमा लोकतन्त्र, प्रजातन्त्र केही छैन, दलतन्त्र मात्रै छ। सत्तामा पुग्नेहरू र जनताबीच ठूलो दूरी छ।

प्रजातन्त्रले रोग, भोक र शोकबाट जनतालाई सकेसम्म सुरक्षित राख्ने प्रयास गर्छ। तर दक्षिण एसियाका कतिपय मुलुकमा आज पनि प्रजातन्त्र सत्तारुढहरूका लागि मात्रै भएको छ। उदाहरणका लागि भारतलाई हेरौँ। सन् २०१७÷१८ को तथ्यांक हेर्दा त्यहाँ हरेक दिन औसत दश जनाले आत्महत्या गरेको पाइन्छ। सत्तरी प्रतिशत जनता कृषिमा प्रत्यक्ष र परोक्षरूपमा अश्रित भारतमा हरेक साल झण्डै चार हजार किसानले ऋण तिर्न नसकेर वा घाटा परेका कारण आत्महत्या गर्छन् भन्ने खबरले धेरैलाई पीडा हुन्छ। लाखौँ किसानको पीडा केन्द्रीय र प्रान्तीय सरकारको कारण उत्पन्न भएको तर्क गर्ने लेखकहरू धेरै छन्।  

अंग्रेजको शासन छँदा किसानलाई शोषण गरियो भन्दै सन् १८७५ देखि दुई वर्षसम्म दक्षिण भारतका लाखौँ किसानले विद्रोह गरे। महाराष्ट्र, तेलंगना, कर्नाटक, मध्यप्रदेश, छत्तीसगढ, आन्ध्रप्रदेश आदि क्षेत्रमा तीस वर्षमा ५९ हजार जति किसानले आत्महत्या गरेको क्यालिफोर्निया विश्वविद्यालयले गरेको सर्वेक्षणले देखाएको छ। महाराष्ट्रमा मात्र सन् २००९ देखि सात वर्षको अवधिमा २३ हजार किसानले आत्महत्या गरे तर प्रान्त र केन्द्र सरकारले एकअर्कालाई दोष दिएर भाग्न खोजे।  

यस्तै ‘द हिन्दु’ अंग्रेजी दैनिकमा विजयिता सिंह लेख्छिन्– ‘उत्तर प्रदेश महिलाका लागि सबैभन्दा असुरक्षित प्रान्त हो।’ किसानले सरकारको गलत नीतिका कारण आत्महत्या गर्नुपर्ने र महिलाले घरबाहिर मात्र होइन, घरभित्रै असुरक्षित हुनुपर्ने अवस्थाले भारतको लोकतन्त्र (प्रजातन्त्र) कसका लागि हो भन्ने प्रश्न उठ्छ। नेपालमा आज त्यस्तै प्रश्न उठाउन थालिएको छ। प्रजाको रक्षा गर्न नसक्ने प्रजातन्त्र कसका लागि भन्ने प्रश्न गर्दै युवा वर्गले विभिन्न जिल्लामा रोषपूर्वक प्रदर्शन गर्न थालेका छन्।

विद्वान्हरूले पारदर्शी, सुशासनयुक्त, नागरिक र राजनीतिक हकको समानता, शक्तिशाली, तटस्थ र स्वतन्त्र न्यायपालिका, धाँधलीरहित निर्वाचन, मौलिक हक र स्वतन्त्रता, विकेन्द्रीकरण आदिको सदुपयोग गरिने राष्ट्रलाई ‘डेमोक्र्याटिक’ भनेका छन्। विश्वप्रसिद्ध राजनीतिशास्त्री रबर्ट ए. डाहलले प्रजातन्त्रले जनताको हित गर्छ भनेर मात्र पुग्दैन, हित गरेको देखिनुपर्छ भनेका छन्।

नेपालमा आज जुन प्रणालीलाई ‘डेमोक्रेसी’ भनिएको छ, वास्तवमा यो ठगी मात्र हो किनभने प्रजातन्त्रको सम्मान हुने राष्ट्रका लाखौँ जनताले साँझ/बिहान कसरी पेट पाल्ने भनेर रुनु्पर्दैन।

फ्रयांक कास्र्टन भन्छन्– ‘जनतालाई प्रजातन्त्रले सशक्त बनाउँछ भनेर राजनीतिशास्त्रमा लेखिएको छ तर व्यवहारमा जनता होइन, सरकार मात्र बलियो भएको देखिन्छ। यसले प्रजातन्त्र सर्वसत्तावादी हुँदै गएको छ।’ अमेरिकाका पूर्वराष्ट्रपति थोमस जेफर्सनले ४९ प्रतिशत जनताको हकसमेत बहुमत (५१ प्रतिशत) जनताले प्रयोग गर्ने हुँदा प्रजातन्त्रको सदुपयोग नभएमा त्यो भीडतन्त्र बन्छ भनेका छन्। कास्र्टनले भनेझैँ जनता निरीह भएमा प्रजातन्त्र (डेमोक्रेसी) जनताको शासन होइन, सीमित टाठाबाठाको शासन बन्छ। नेपालमा चेतनाको स्तर बढेको दाबी गरिए पनि सीमित व्यक्तिको शासन (राजनीतिशास्त्रको भाषामा ओलीगार्की) सिद्ध हुँदै गएको देखिन्छ।

राजनीतिमा धनाढ्य वर्गको मात्र प्रभाव बढ्दै जानु प्रजातन्त्रका लागि घातक मानिन्छ। त्यो अवस्था डेमोक्रेसी होइन, (एरिस्टोक्रेसी) हो। यस्तै भ्रष्टाचार, जातीय संकीर्णता, भीडको दबाब, गैरजिम्मेवार चरित्र, राष्ट्रिय सुरक्षाबारे स्पष्ट नीतिको अभावलगायत कारणले प्रजातन्त्र अन्तिम सत्य होइन भने पुष्टि भएको छ। यसको अर्थ प्रजातन्त्रभन्दा साम्यवाद उत्कृष्ट प्रणाली हो भन्ने बुझ्नु हुँदैन। जुन राष्ट्रमा दलहरूको स्वार्थबाट माथि उठेर न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकालगायत सबैलाई समन्वय, मार्गदर्शन र सक्रिय गराउने राष्ट्रनायक हुन्छन्, त्यहाँ प्रजातन्त्र सुरक्षित रहन्छ।  

प्रजातन्त्रकालमा मात्र होइन, राणाकालमा पनि कूटनीति धेरै संवेदनशील मानिन्थ्यो। राणाकालमा अहिलेको जस्तो ‘स्वतन्त्रता’ थिएन तर राष्ट्रको मर्यादा गिरेको पनि थिएन। ब्रिटेनका सम्राट जर्ज (पाँचौँ) र भारतस्थित ब्रिटिस गभर्नर जनरल माउट वेटनलगायतका शाही अतिथिले नेपाल भ्रमण गरे। सम्राट जर्ज सिकार खेल्न नेपाल आउँदा तत्कालीन सरकारले ठूलो स्वागत ग¥यो। यस्तै श्री ३ पद्मशमशेर गद्दीमा बसेपछि आयोजित समारोहमा भाग लिन माउन्टवेटन काठमाडौँं आएका थिए। सन् १९४६ को जुनमा उनले नेपाल भ्रमण गरेको खबर गोरखापत्रले छापेको थियो।

प्रजातन्त्र, कूटनीति, नागरिक कर्तव्य र हक एवं प्रगतिका बारेमा अनेकौँ बहस भइरहन्छ तर राष्ट्रलाई बलियो हुन नदिन डेमोक्रेसीकै आवरणमा षडयन्त्र पनि हुने गर्छ। सिक्किमलाई भारतमा गाभ्न ‘जनमत संग्रह’ नामको नाटक गरियो। त्यो प्रजातन्त्र नै हो। इथियोपियाबाट इरिट्रिया, सुडानबाट साउथ सुडान र इन्डोनेसियाबाट इस्ट टिमोर बनाउने काम प्रजातन्त्रकै आडमा गरियो। लेवनानको संविधान बनाउँदा जात र धर्मका आधारमा पद पाउने व्यवस्था गरियो। तसर्थ, सज्जनले चलाएको प्रजातन्त्र मात्रै शुद्ध हुन्छ। विदेशीको आदेश–निर्देशमा बनाइएको संविधान र ल्याइएको प्रजातन्त्र जनताका लागि अफापसिद्ध हुने देखिएको छ।

इतिहास शिरोमणि बाबुराम आचार्यको तर्क छ– ‘धरहराको बार्दलीबाट सेनाले बिगुल फुकेको भए एकतन्त्री शासन आउने थिएन।’ महारानी राज्यलक्ष्मीको हुकुमअनुसार सेना भेला भएर कोतको पटाङ्गिनी घेरामा पारेको भए धेरै जना मर्ने थिएनन्। राजा राजेन्द्रको निरीहपन, दरवारको शक्तिसंघर्ष, जनताको अवोध चरित्र र ‘राम आए रामकै जय, रावण आए रावणकै जय’ भन्ने तलवजीवीहरूको दास मानसिकता सबै बुझेका थिए जंगबहादुरले। मामा माथवरसिंह थापाको समेत हत्या गर्न सक्ने सुरो र शक्तिको भोको जंगबहादुर निश्चय नै निरंकुश थिए तर राष्ट्रघाती थिएनन्। राष्ट्रियता र प्रजातन्त्रको सुखद भविष्यबारे हजारौँ प्रश्न उठिरहेका बेला अहिलेको भागबन्डातन्त्रलाई नै हामी ‘डेमोक्रेसी’ भन्छौँ भने त्यो निर्मम ठट्टा हुनेछ।

गणतन्त्रले आँखा तिर्मिराएको छ धेरैको। उहिले जस्तो हात्ती, घोडा, तोप र सेना लिएर शत्रु आउँदैन। बानेश्वरस्थित कोइराला निवासमा प्रथम नागरिक प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले पञ्चमाङ्गी शब्दको व्याख्या गर्दै ‘देशभित्रै बसेर विदेशीको हितमा मात्र काम गर्ने राष्ट्रघातीलाई पञ्चमांगी (फिफ्थ कलम्निस्ट) भनिन्छ’ भनेका थिए। एनजिओ, आइएनजिओ, कानुन व्यवसायी, पत्रकार, विश्लेषक, प्राध्यापक, सरकारी तलवजीवीलगायत धेरै क्षेत्रमा विदेशीका गुप्तचर सक्रिय भए पनि सरकारले छानबिन गरेको देखिँदैन। खोज्दै जाँदा पार्टी कार्यालयहरूदेखि सिंहदरवारसम्म त्यसको जरो भेटिन सक्ने डरले कुनै पनि सरकारले नेपालमा विदेशीका अवाञ्छित गतिविधि नियन्त्रण गर्न प्रयास गरेको पाइँदैन।

राजा प्रताप मल्ल हनुमानढोका दरवारबाट झिस्मिसै रानीपोखरीमा नुहाउन जाँदारहेछन्। पचासौँ तीर्थको जलमिश्रित रानीपोखरीमा मानसरोवरदेखि गंगाजी, काली गण्डकी र गोसाइँ–कुण्ड आदिको जल भएकाले पवित्र मानिन्थ्यो। युवक राजा रानीपोखरी जान थालेपछि दुब्लाउँदै गए। तान्त्रिकहरूले पत्ता लगाए, उनी किचकन्नीको मायामा परेछन्। राजालाई चंगा उडाउने जस्तो लामो धागो दिँदै मूल तान्त्रिकले भने– त्यो किचकन्नी (चुँडेल) ले थाहा नपाउने गरी धागो बाँधिदिनू। बाँकी काम म गरुँला।  

राजाले त्यसै गरे। रानीपोखरीका डिलमा धागो पहिल्याउँदै जाँदा एउटा हड्डीमा बाँधिएको रहेछ। तान्त्रिक–विधिअनुसार हड्डी जलाइयो। हाल रत्नपार्क भएको भागपट्टिको डिलमा राजा प्रताप मल्ल, उनकी रानी र युवराजको मूर्तिलाई हात्तीमा राखेर हात्तीका गोडाले हड्डीको खरानी थिचेर राखिएको किंवदन्ती छ।

गणतन्त्रको चुँडेलले नभेटेका ब्रिटेन, स्पेन, जापान, स्विडेन, नर्वे, बेल्जिमय, नेदरल्यान्डस्, कतार, दुबई, साउदी अरेवियालगायत कैयन् राष्ट्र समृद्ध, स्वस्थ र सुखी छन्। नेपालमा लोकतन्त्र, प्रजातन्त्र केही छैन, दलतन्त्र मात्रै छ। सत्तामा पुग्नेहरू र जनताबीच ठूलो दूरी छ। भन्न त कम्युनिस्ट पार्टीमा अर्बपति सदस्यले कंगाल सदस्यलाई पनि साथी अर्थात ‘कमरेड’ भन्छन्। त्यो शब्द पनि ‘सेरेमोनियल’ भयो। माया, सद्भाव र सहयोगको भावना नहुने मान्छे कसरी साथी बन्छ ?

मुम्बईको जुहु इलाकामा प्रसिद्ध हिरो–हिरोइनहरू बस्छन्। सडकमा रातो बत्ती बलेका बेला भिखारीले एउटी नायिकासँग भिख मागेछ। खुद्रा नभेटेपछि उनले एक सय रुपियाँ दिइछन्। भिखारीले हाँस्दै भनेछ– ‘हामी त साथी हौँ नि।’ ‘कसरी कहाँको साथी ?’ भिखारी बोल्यो– ‘फेसबुकको।’ अर्बपति र भोका कमरेडको सम्बन्ध नेपालमा त्यस्तै छ।

प्रकाशित: ३० आश्विन २०७७ ११:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App