१६ चैत्र २०८० शुक्रबार
विचार

राष्ट्रियता, राजनीतिज्ञ र राजनेता

राजनीतिज्ञ वा राजनीतिक व्यक्तित्व बन्न त्यति सजिलो छैन। नेपालमा राजनीतिक व्यक्तित्व बन्न धेरै समय लाग्दैन, तर राजनीतिज्ञ बन्न निकै समय लाग्छ। राजनेता त अपवाद मात्र रहन्छन्। एउटा चुनावमा जितेर अलि माथिल्लो राजनीतिक निकायमा पुग्ने बाटो खुल्यो भने उसको सामान्य राजनीतिक व्यक्तित्व बनिहाल्छ, नेपालमा। नेपालको समकालीन राजनीतिमा राजनीतिक व्यक्तित्व बन्न लामो समयको राजनीतिक संघर्ष र उहापोहमा लागेको हुनैपर्दैन। फेरि कुनै समूह वा गुटमा लागेर त्यसको हर्ताकर्ता भएपछि त उसलाई सबैले चिनिहाल्छन्। त्यसो भएपछि नेतृत्व तहमा पुग्न धेरैबेर लाग्ने वा चुनाव जित्नुपर्छ नै भन्ने पनि छैन। निश्चित पद वा जिम्मेवारीको कुर्सीमा पुगेपछि काम गर्न सकियोस् भन्दा पनि त्यसमा अडिई रहन सकियोस् भन्ने ध्याउन्न उसमा रहन सक्छ। अरुले पो के गरेका छन् र ! भन्ने उदासपूर्ण चिन्तनमा घिस्रिँदै आफ्नो दुनो सोझ्याउने प्रवृत्ति नेपालका धेरै राजनीतिक व्यक्तित्वमा देखिन्छ। राजनीतिक वृत्तको यो एउटा नकारात्मक पाटो हो। अन्यथा अर्थ नलागेमा नेपालमा आफ्नो राजनीतिक व्यक्तित्व बनाउनलाई कुनै पनि राजनीतिक कर्मीका लागि गहन अध्ययन, समाज र देशप्रतिको चिन्तन मनन, आमजनताप्रतिको गम्भीर दायित्व बोध आदि केही गर्नुपर्दैन, चाहिँदैन। आफू ठीक र अरु सबै बेठीक हुन् भन्ने कुरा वर्तमानका अधिकांश राजनीतिक व्यक्तित्वमा रहेको पाइन्छ। बिपीले ०१५ सालमा कार्यकर्तालाई निर्देशन दिने क्रममा भनेका कुरा वर्तमानमा पनि सान्दर्भिक छन्, ‘हामी प्रत्येक प्रश्नमाथि आफ्नो व्यक्तिगत दृष्टिकोणले विचार गर्छौं। हामी आफ्ना चाहना र बानी अनुसार राष्ट्रिय वा पार्टीका समस्याको समाधान खोज्छौँ। तसर्थ हाम्रा धेरैजसो निर्णय आफ्ना व्यक्तिगत चाहना, रुचि वा अरुचिका छाया मात्र हुन जान्छन्। यसलाई हामीले हटाउनुपरेको छ।’ राजनीतिज्ञको परिपक्वता उसका विचारमा प्रकट हुने दूरदर्शिताबाट बुझ्न सकिन्छ। बिपीले दिएका यस्ता निर्देशन सबैका लागि सान्दर्भिक छन्।  

आदर्शकेन्द्रित कार्यकर्ता वा राजनीतिक व्यक्तिले नै राष्ट्रलाई आवश्यक पर्दा योगदान दिन सक्छ। सुकिलामुकिला धेरैमा राष्ट्रप्रेमको भावनाभन्दा निजी स्वार्थ बढी रहन्छ। राजनीतिक चिन्तक सिके प्रसाईंले भनेका छन्, ‘जनताको दृष्टिमा अधिकांश हामी कार्यकर्ता हिपोक्रेट्स्मा दर्ता भइरहेका छाँै। त्यसैले जब हामी जनताको बीच जान्छौँ, जनता हाम्रो कुरामा विश्वास गर्दैन। कारण, हामी, हाम्रो सोचनी, कथनी र करनीमा ठूलो बेमेल छ।’  

राष्ट्रिय नेतृत्वमा रहेका पार्टीका कार्यकर्ता मात्र नभई ठूला नेतामै आडम्बरी प्रवृत्ति बढ्दो छ। त्यस्तो चिन्तनबाट प्रेरित राजनीतिक व्यक्तिको सामथ्र्य राष्ट्रका लागि प्रयोग हुन सक्दैन।  

अरुले पो के गरेका छन् र ! भन्ने उदासपूर्ण चिन्तनमा घिस्रिँदै आफ्नो दुनो सोझ्याउने प्रवृत्ति नेपालका धेरै राजनीतिक व्यक्तित्वमा देखिन्छ। राजनीतिक वृत्तको यो एउटा नकारात्मक पाटो हो।

पार्टीको शीर्ष नेतृत्वबाटै कार्यकर्तालाई गुट र समूहका पक्ष वा विपक्षमा लाग्न प्रेरित गर्ने परिपाटीले नेतृत्वमा टिकिरहन वा बहुमत पु¥याउन सजिलो त होला, तर कार्यकर्तालाई पार्टीको एकीकृत दृष्टिकोणबाट विचलित गराउने खतरा त्यसमा रहन्छ। नेपालका प्रमुख दलका नेतृत्व तहमा त्यो सजगता देखिँदैन। उनीहरू पार्टीभित्रको आन्तरिक लोकतान्त्रिक अभ्यासका लागि त्यो आवश्यक देख्छन्। यसको तात्पर्य यो प्रस्ट देखिन्छ कि शक्तिमा पुग्न र पुगेकालाई त्यसमा टिकिरहन मात्र त्यस्ता गुट उपयोगी हुने गरेका छन्। दृष्टिकोणहरूमा मन्थन हुनुपर्छ, तर गुट चाहिँदैन। नेतृत्वले कार्यकर्ताहरूको सही परिचालनबाट राष्ट्रिय चिन्तनप्रति अभिप्रेरित हुन सक्ने संगठनात्मक आधार बलियो पार्ने हो, न कि सत्ता र शक्तिका लागि गुटको आधार। नेतृत्व तह आफैँ असंगठित भएपछि राष्ट्रिय हितका सन्दर्भमा कार्यकर्ताको चिन्तन पनि विभाजित हुन जान्छ। नेतृत्वले कार्यकर्तालाई हिँड्न सजिलो बाटो बनाइदिने हो, कार्यकर्ताले त्यस गोरेटोमा संगठित भएर हिँड्ने हो, अनि मात्र नेतृत्वको सिद्धान्त–निष्ठाले सही लक्ष्य प्राप्त गर्न सक्छ। प्रसाईंले भनेका छन्, ‘राजनीतिक व्यक्तिको काम अर्कोले खनेको बाटोमा हिँड्नु हो, राजनीतिज्ञको काम आफूले गोरेटो खनिदिनु हो। ताकि त्यसमा असंख्य नरनारी निर्बाध रूपले हिँडुन्।’ गोरेटोको तात्पर्य, नीति वा कार्यदिशा नेतृत्वले दिन्छ, कार्यकर्ताले त्यसलाई पछ्याउनुपर्छ भन्ने नै चिन्तक प्रसाईंको अभिमत हो।  

यस्तै, नेतृत्वले नीति बनाउँछ। नेतृत्व भनेको जनस्तरबाट उठ्दै आएको, जनभावनालाई राम्ररी अनुभूत गर्न सक्ने तथा राष्ट्रप्रति समर्पित हुन्छ। नेतृत्वले नीति निर्णय गर्छ। नीति राष्ट्रिय हुन्छ। राष्ट्रिय नीतिलाई प्राप्त गर्न पार्टी तहमा रणनीति पनि बन्छ। नीति भनेको लक्ष्यसहितको सैद्धान्तिक आधार पनि हो। नेतृत्वभन्दा नीति ठूलो हो भन्ने विचार क. पुष्पलालको पनि पाइन्छ– नेता प्रधान होइन, नीति प्रधान हो, (क. पुष्मलाल स्मृति अंक)।

कुशल नेतृत्वले कार्यकर्ता वा जनतालाई आफ्नो पछि भन्दा नीतिका पछि लगाउँछ। नेपालको समकालीन राजनीतिमा नीतिको पछि भन्दा नेताको पछि लाग्नेहरूको घुइँचो छ, ठूला राजनीतिक दलहरूमा। नीतिको पछि लाग्नेहरू जो इमानदार राजनीतिकर्मी वा नेतृत्वदायी राजनीतिज्ञ नै पनि कतिपयले धेरै तिरस्कृत हुनुपरेको यथार्थलाई देशको इतिहासले विस्मृत बनाएको छैन।  

देशभक्त इमानदार राजनीतिक कार्यकर्ताले आफ्नो अन्तर्मनमा अर्थात् आफ्नो सामथ्र्यको गर्भमा भविष्यमा राजनीतिज्ञ बन्ने स्वप्न राखेको हुन सक्छ। विचलित नभई क्रियाशील भइरहन सक्यो भने ऊ त्यस ठाउँमा पुग्छ, तर चाहिन्छ सैद्धान्तिक निष्ठा, निरन्तरको समर्पण, अध्ययनशीलता, सिद्धान्त र व्यवहारको सन्तुलित परख, सांगठनिक क्षमता र नैतिकता। यीमध्ये कुनै एक मात्र गुणको अभावमा ऊ अब्बल राजनीतिज्ञ बन्न सक्दैन।

क. मदन भण्डारीले मानव जीवन र समाजको समग्र उन्नतिका लागि नै राजनीतिक सिद्धान्तलाई स्विकारिएको हुन्छ भनेका छन्। सिद्धान्तका लागि जीवन होइन जीवनका लागि सिद्धान्त हुनुपर्छ, (मदन भण्डारीः एक व्यक्ति अनेक व्यक्तित्व)।

राजनीतिमा सिद्धान्तभन्दा व्यवहार अगाडि रहन्छ, त्यसैले राजनीतिक विचारधाराले जीवन बनाउने होइन। सिद्धान्त वा विचारधारा परिवर्तनशील हुन सक्छ। जीवनका लागि औचित्य नभएको सिद्धान्त, जीवनका लागि आदर्श बन्न सक्दैन भन्ने यथार्थ दृष्टिकोण क. भण्डारीको उक्त भनाइबाट बुझ्न सकिन्छ। क. भण्डारीले यसै दृष्टिकोणका साथ परम्परागत कम्युनिस्ट राजनीतिक सिद्धान्तलाई व्यावहारिक राजनीतिक दृष्टिकोणका साथ जनताको बहुदलीय जनवादका रूपमा व्याख्या गरेका हुन् भन्ने बुझ्न सकिन्छ। वास्तवमा राजनेताले जनभावना अनुसार नै विचार वा सिद्धान्तको मार्गचित्र बनाउँछ।  

राजनीतिज्ञ दल विशेषको नेताका रूपमा रहन्छ। उसले दलका सैद्धान्तिक, व्यावहारिक पक्षलाई ध्यानमा राखेर दलगत रूपमा राष्ट्रिय स्तरका निर्णयको पक्षपोषण गर्छ। लोकतान्त्रिक राज्य प्रणालीमा राजनेता पनि दल विशेषकै पृष्ठभूमिमा हुर्किएको हुन्छ। तर उसले दलीय आकांक्षाभन्दा माथि उठेर निर्णय गर्छ। उसले वर्तमान मात्र नभई भोलिको पिँढीलाई पनि वैचारिक रूपमा नेतृत्व गरिरहेको हुन्छ। त्यसैले राजनीतिज्ञ र राजनेताका दृष्टिकोणमा भिन्नता रहन्छ। भनिन्छ, राजनीतिज्ञले आगामी चुनावबारे सोच्छ भने राजनेताले आगामी पुस्ताका बारेमा।

राजनीतिज्ञको दृष्टिकोणमा दल र सत्ता प्राप्ति प्राथमिकतामा पर्छ भने राजनेता आफ्ना निर्णय गर्दा भावी पिँढीसम्मलाई तिनबाट हुने प्रभावप्रति पनि सचेष्ट रहेर गर्छ। राष्ट्र, राष्ट्रियता र लोकतन्त्रप्रतिको सचेष्टता एवं चिन्तनमा दूरदर्शिता राजनेताका अनुभवसिद्ध दृष्टिकोणहरूबाट व्यक्त भइरहेको हुन्छ। कुनै वाद वा विचारको संकीर्णताभन्दा माथि रहेर राष्ट्रको समुज्ज्वल भविष्यको तस्बिर नै राजनेताको चिन्तनमा प्रतिविम्बित भइहन्छ। राष्ट्रिय संकटको परिस्थिति उत्पन्न भएमा आफ्नो ज्यानको पर्वाह नगरी संकट समाधानार्थ ऊ अग्रमोर्चामा उपस्थित हुन्छ। प्रसाईंले भनेका छन्, ‘राष्ट्रको परिचालकको खुबीको पारख त्यसबेला हुन्छ, जब खतरा सामुन्ने हुन्छ, नेताले खतराको आभास पाउँछ। त्यसको निराकरण पत्ता लाउँछ र जनतालाई अदम्य उत्साह दिएर अघि बढाउँछ। पछि फर्केर हेर्न दिँदैन तबसम्म, जबसम्म संकटको आँधीबेहरी हट्दैन।’ सबै राजनीतिक व्यक्ति वा राजनीतिज्ञहरू राष्ट्रिय व्यक्तित्व बन्न सक्दैनन्। ती पार्टीभित्र उदाउँछन् र धेरैजसो त पार्टीभित्रै हराउन पनि सक्छन्। कोहीकोही भने पार्टीका मात्र राजनीतिज्ञका रूपमा अलि पछिसम्म चर्चामा रहन पनि सक्छन्। समयले तिनीहरूलाई निफनी रहेको हुन्छ।  

नेपालको आधुनिक राष्ट्रिय राजनीतिमा राजनेताको सम्मान प्राप्त गर्ने राजनीतिज्ञहरू ज्यादै न्यून संख्यामा छन् भन्न सकिन्छ। तीमध्ये बिपी एक हुनुहुन्थ्यो भन्नेमा कसैको दुई मत छैन। आठ वर्ष लामो प्रवास जीवन त्यागेर बिपी, गणेशमान र अरु केही कार्यकर्ताहरू २०३३ पुस १६ गते राष्ट्रिय एकताका लागि देशवासीलाई आह्वान गर्दै नेपाल फर्किएका थिए। त्यसबेला बिपीलाई सातवटा मृत्युदण्ड हुन सक्ने राजनीतिक मुद्दाहरू अदालतमा विचाराधीन थिए। नेपाल फर्कनुको उद्देश्यलाई प्रस्ट्याउँदै २०३७ सालमा बिपीले झापाको एक आमसभामा व्यक्त गरेको विचारको अंश, ‘हामीहरू बाहिर रहँदा हाम्रो प्रेरणाबाट क्रान्तिहरू भए। यो व्यवस्था समाप्त पार्न हामीले हतियार पनि उठाएका थियाँै। ती सब हुँदाहुँदै पनि राष्ट्रिय एकताबाट, मेलमिलापका आधारबाट अब देशलाई अगाडि लान नसके देशको अस्तित्व नै खतरामा पर्ने सम्भावनालाई दृष्टिगत गरेर नै हामीहरू देशभित्र पसेका थियौँ, अनेक खतरा र जोखिम मोलेर। त्यसपछि एउटा लहर पनि आयो। साराले हामीलाई हेर्न थाले उत्सुकताले। राजालाई पनि एउटा बाध्यता प¥यो। राष्ट्रिय एकताका नारा अवच्छिन्न रहे। यो मेलमिलापको नारा, राष्ट्रिय एकताको नारा चाहिन्न भनेर कसैले भन्न नसक्ने स्थिति हामीले पा¥यौँ।’  

बिपीको नेपाल आगमन राष्ट्रिय संकटको स्थितिबाट मुलुकलाई बचाउनका लागि थियो। भनिन्छ, राष्ट्रिय संकटको घडीमा नेतृत्वको परीक्षण हुन्छ। यस्तै, नयाँ राष्ट्रिय नेतृत्वको जन्म पनि हुन्छ। विशेषगरी २०३३ सालमा नेपाल फर्केपछि बिपीका चिन्तनमा पार्टीगत आग्रहभन्दा राष्ट्रिय दृष्टिकोणहरू बढी अभिव्यक्त भएका छन्। यस्तै, २०४६ सालपछि लोकतान्त्रिक मूल्य–मान्यता अनुरूप देशको राजनीतिक सुव्यवस्था कायम हुन नसकेको तत्कालीन अवस्थाप्रति आलोचना गर्दै राजनेता गणेशमान सिंहले राष्ट्र राष्ट्रियता र लोकतन्त्रके संरक्षण गर्न र लोकतन्त्रको लडाइँमा सहादत प्राप्त गर्ने सहिदहरूको सम्मान गर्न आफू पार्टीभन्दा माथि रहेर सक्रिय हुने धारणा राख्नुभएको थियो। २०४६ सालको राष्ट्रिय जनआन्दोलनका सर्वोच्च कमान्डरको भूमिकामा रहेका गणेशमान सिंहले आन्दोलनको सफलतापछि राजाद्वारा प्रधानमन्त्रीको जिम्मेवारी वहन गर्न गरिएको आग्रहलाई अस्विकार गर्दै सहकर्मी राजनेता कृष्ण प्रसाद भट्टराईलाई त्यो जिम्मेवारी दिन सिफारिस समेत गरे।  

२०४६ पछि अन्तरिम सरकारको नेतृत्व गरी समयमै नेपाल अधिराज्यको संविधान २०४७ जारी गराउन सक्नु राजनेता कृष्णप्रसाद भट्टराईको उच्च सामथ्र्यको परिणाम थियो भने १० वर्षे जनयुद्धबाट देशलाई मुक्ति दिलाई २०६२÷६३ सालको दोस्रो राष्ट्रिय जनआन्दोलको सफल नेतृत्व गर्दै देशलाई गणतान्त्रिक युगमा प्रवेश गराउन राजनेता गिरिजाप्रसाद कोइरालाको शीर्ष र निर्णायक भूमिका रह्यो। यसैगरी वामपन्थी नेताहरू पुष्पलाल, मनमोहन अधिकारी एवं मदन भण्डारीले नेपालको स्वाधीनता, राष्ट्रियता र राष्ट्रिय अस्मिताको संरक्षण गर्दै मुलुकवासकिो शिर उच्च बनाउन गरेका वैचारिक प्रयत्नलाई पनि मुलुकले बिर्सन सक्दैन।  

जीवनकालमा धेरै राजनेता विवादरहित रहँदैनन्। आधुनिक नेपालको राष्ट्रिय राजनीतिमा उदाएका कतिपय राजनेताहरू पनि कम–बेसी विवेचनीय नै रहे। यद्यपि उनीहरूका चिन्तन र कर्महरूका निर्विवाद पाटा पनि अनेक छन्। २००७ को जनक्रान्तिको नेतृत्व समेत गर्नुभएका बिपी कोइरालाको राजनीतिक व्यक्तित्व भने राष्ट्रिय सीमा नाघेर अन्तर्राष्ट्रिय समाजवादी आन्दोलनको वैचारिक नेतृत्व तहसम्मै पुग्न सकेको पृष्ठभूमिमा विगतदेखि नै उनको नामलाई अरुभन्दा पहिले उच्चारण गर्ने गरिन्छ। नेपालको लोकतान्त्रिक आन्दोलनका शीर्ष नेतृत्व, विचारक एवं भाष्यकारका रूपमा उनलाई नेपालका सबै राजनीतिक पक्षहरूबाट सम्मानजनक रुपमा स्मरण गरिँदै आएको छ।  

राजनीतिक व्यक्तित्व, राजनीतिज्ञ वा राजनेताका विचारबाट देशको राष्ट्रियता वा राष्ट्रिय भावना निःसृत भइरहेको हुन्छ। शीर्ष राजनीतिज्ञले औपचारिक वा सरकारी तहबाट मात्र नभई अनौपचारिक हिसाबले व्यक्त गरेका धारणाले पनि अर्थ राख्छन्। त्यसरी बोल्दा त्यसबाट हुने प्रतिक्रिया कस्तो हुन्छ भन्ने पनि ख्याल राखिनु नेतृत्व वा राजनीतिज्ञको व्यक्तिगत प्रतिष्ठा एवं देशकै निम्ति पनि उपयुक्त हुने कुरा निर्विवाद सत्य हो।  

राजनेता वा शीर्ष राजनीतिज्ञका विचार, व्यवहारभनेका सामान्य जनताका लागि मात्र नभएर मुलुककै लागि पनि अनुकरणीय रहन्छन्। मुलुकको वाणीलाई बाह्य जगत्मा पु-याएर राष्ट्रिय मर्यादा र हितलाई विस्तारित गर्न राजनीतिज्ञ वा राजनेताको प्रमुख भूमिका रहन्छ। वर्तमानमा नेपालका प्रमुख दलका नेतृत्वमा रहेका नेताहरू असल राजनीतिज्ञ वा राजनेता बन्न सके भने मात्र भोलिको पिँढीले सम्झेला। नत्र सिंहदरबारमा फोटो झुन्डिनुबाहेक अरु सधैँका लागि बाँकी रहिरहने छैन भन्नु अत्युक्ति नहोला। 

प्रकाशित: ३ आश्विन २०७७ ०५:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App