७ वैशाख २०८१ शुक्रबार
विचार

आशा कोरोना खोपको

निःसन्देह अहिले संसारमा सर्वाधिक मानिसले प्रतिक्षा गरिरहेको वस्तु भनेको कोरोना भाइरसको खोप नै हो । कोरोना भाइरस महामारी सुरु भइसकेको नौ, दश महिना बितिसक्दा पनि हामीमाझ खोप कहिले उपलब्ध हुने हो एकिन हुन सकेको छैन् । यदाकदा खोपको व्यग्र पर्खाइ कतै अन्त्यहीन पो हुने हो कि भन्ने आवाज पनि बिस्तारै गुञ्जिन थालेका छन् । कतिपय व्यक्तिले त कतै वैज्ञानिकहरू कोरोना भाइरसको खोप बनाउन असमर्थ पो हुने हुन् कि भन्ने जस्ता शंकासमेत गर्न थालेका छन् । खोपको जरुरीलाई मध्यनजर गर्दा मानिसको चासो र गुनासोलाई जायज नै मान्न सकिएला । तर खोप विकासका प्राविधिक र कानुनी प्रक्रियाहरू हेर्ने हो भने प्रारम्भिक चरणको अनुसन्धानदेखि बिरामीमाझ खोप आइपुग्न वर्षौँ लाग्ने गर्छ । यद्यपि हाल कोरोना भाइरसको खोप विकासको प्रक्रिया अरू रोगको दाँजोमा द्रुत गतिमा अगाडि बढिरहेको हुनाले हामीमाझ खोप उपलब्ध हुन धेरै लामो समय नलाग्ने विश्वास वैज्ञानिकको छ । हाल कोरोना भाइरसको हकमा नौवटा खोप अन्तिम चरणको परीक्षणमा छन् । यस तथ्यमा विचार गर्ने हो भने कोरोना भाइरसको खोप विकासमा हालसम्म भएका प्रगतिलाई उत्साहजनक मान्न सकिन्छ ।

खोप विकास आफैँमा एउटा संवेदनशील, जटिल र समय खपत हुने प्रक्रिया हो । हामी सबैलाई खोपको हतारो छ भन्दैमा वैज्ञानिकहरूले खोप विकासका आवश्यक मापदण्ड पूरा नगरी छोटो विधि अपनाएर त्यसलाई बजारमा उपलब्ध गराउने कुरा भएन । बजारमा आएका खोपमा कुनै सानो त्रुटि भएमा पनि त्यस्तो खोपले मानिसको स्वास्थ्यमा दूरगामीरूपमा नकारात्मक असर पार्छ । यसले कालान्तरमा मानव जीवनको अस्तित्वमा संकटसमेत पैदा हुन सक्छ । कुनै पनि खोप बजारमा आउनुअगाडि त्यस खोप रोगविरुद्ध लड्नका खातिर प्रभावकारी हुनु त पर्छ नै, तर त्यति नै महत्वपूर्ण अर्को पाटोचाहिँ खोप मानव शरीरमा प्रयोग गर्न अत्यन्तै सुरक्षित पनि हुनुपर्छ । कुनै खोपमा कोरोना भाइरसविरुद्ध लड्ने क्षमता छ तर त्यसलाई लगाउँदा अन्य साइडइफेक्ट (जस्तै– मुटुको चालमै असर गर्नेखालको समस्या) देखा पर्छ भने त्यस्तो खोप हामीमाझ हुनु र नहुनुमा खासै तात्विक भिन्नता हुँदैन् । यस मानेमा प्रभावकारिता र सुरक्षालाई खोप विकासका लागि एक सिक्काका दुई पाटा जस्तै मान्न सकिन्छ ।  

कोरोना भाइरसको खोप नै उपलब्ध नभएको खण्डमा पनि विभिन्न एन्टीभाइरल औषधिका माध्यमबाट पनि जनजीवन बिस्तारै सामान्य हुँदै जाला ।

खोप विकासका क्रममा अर्को जटिलता भनेको मानिसको वैयक्तिक भिन्नता पनि हो । भूगोल, उमेर, उचाइ, वजन आदि कारणले गर्दा प्रत्येक मानिसको शरीरको कार्यप्रक्रियामा केही सूक्ष्म भिन्नता हुन सक्छन् । तसर्थ, शतप्रतिशत व्यक्तिमा प्रभावकारी र सुरक्षित सिद्ध हुने खोपको विकास गर्नु लगभग असम्भव जस्तै हो । त्यसैले पनि अहिले अनुसन्धान भइरहेका कोरोना भाइरसको खोपका हकमा अमेरिकाको औषधिसम्बन्धी नियमनकारी निकाय फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनले कुनै पनि खोपले परीक्षणको चरणमा कम्तीमा पचास प्रतिशत बिरामीमा सकारात्मक नतिजा देखाएमा त्यलाई औषधिका रूपमा प्रयोग गर्न स्वीकृति दिने जनाएको छ । केही हुँदै नहुनुभन्दा केही हुनु सकारात्मक हो । अहिले कोरोनाको कुनै पनि भरपर्दो औषधि नभएको परिप्रेक्ष्यमा कम्तीमा पचास प्रतिशत मानिसलाई कोरोना असरबाट मुक्त गर्न सक्ने खोप हामीमाझ उपलब्ध भयो भने पनि त्यसले हामीलाई धेरै सान्त्वना प्रदान गर्नेछ ।  

खोप बनाउन धेरै खर्च र प्राविधिक विशेषज्ञता चाहिन्छ । सीमित आर्थिक एवं मानव स्रोत र साधन भएका अधिकांश देशका औषधि कम्पनी र विश्वविद्यालयका लागि खोप विकास गर्नु भनेको उनीहरूको सामथ्र्यबाहिरको कुरा हो । कोरोना भाइरसले विश्वलाई आतंकित बनाइरहेको वर्तमान सन्दर्भमा कुनै पनि देशले खोप विकास गरेर विश्वलाई यस आतंकबाट मुक्त गर्न सकेको खण्डमा निश्चय नै त्यस देशको विश्वमा आर्थिक, सामाजिक र राजनीतिक प्रभाव बढ्नेछ । खोप विकास गर्ने राष्ट्रहरूलाई आफू विज्ञान र प्रविधिमा अब्बल छु भनेर विश्वसामु प्रमाणित गर्ने एक अवसर पनि हो । कोरोना भाइरसको खोप विकासको दौड जित्ने मुलुक विश्वमा शायद एउटा विज्ञानको शक्ति राष्ट्रका रूपमा स्थापित हुनेछ । हुन त राजनीतिक, आर्थिक कारणहरू नै प्रमुख नहोलान् तर यी कारणले पनि केही हदसम्म कोरोना भाइरसको खोप विकास प्रक्रियालाई द्रुत गतिमा अगाडि बढाउन टेवा पु-याएका छन् ।  

हाल कोरोना भाइरसको हकमा नौवटा खोप अन्तिम चरणको परीक्षणमा छन् । यस तथ्यमा विचार गर्ने हो भने कोरोना भाइरसको खोप विकासमा हालसम्म भएका प्रगतिलाई उत्साहजनक मान्न सकिन्छ ।

भाइरसमा उत्परिवर्तन (म्युटेसन) दर उच्च छ भने पनि त्यस्ता भाइरसविरुद्ध खोप बनाउन जटिल हुने गर्छ । जस्तो– एचआइभी भाइरसले बारम्बार उत्परिवर्तन गरिरहने हुनाले पनि एड्सविरुद्ध हालसम्म पनि खोप विकास भएको छैन् । कुनै एचआइभीबाट संक्रमित व्यक्तिलाई त्यस भाइरसविरुद्ध कुनै खोप विकास गरेर दिइयो भने पनि समयक्रमसँगै भाइरसले आफ्नो आनुवंशिक स्वरूप परिवर्तन गर्ने हुनाले त्यस खोपले केही महिना वा वर्षपछि काम नगर्न सक्छ । जति औषधि बनाए पनि त्यस औषधिलाई नै झेल्ने गरी भाइरसले आफ्नो स्वरूप परिवर्तन ग-यो भने भाइरसविरुद्धको हाम्रो लडाइँ निश्चय नै कठिन हुन्छ । हाम्रो खुट्टाको आकार जस्तो छ त्यस्तै आकारको जुत्ता नै हामीलाई लायक हुने हो । खुट्टाको स्वरूप परिवर्तन भइरहने हो भने हामीले लगाउने जुत्ताको आकार पनि परिवर्तन गरिरहनुपर्ने हुन्छ । त्यस्तै, उच्च उत्परिवर्तनको कारणले गर्दा सामान्य रुघाखोकीकै भाइरसविरुद्ध पनि प्रभावकारी खोप हामीसँग उपलब्ध छैन् । तर हालसम्मका अध्ययनहरूले कोरोना भाइरस उल्लेखनीयरूपमा उत्परिवर्तन नहुने देखाएकाले वैज्ञानिकहरूलाई कोरोना भाइरसविरुद्ध खोप बनाउन केही सहज होला कि भन्ने अनुमान गर्न सकिन्छ ।  

खोप विकास भएको केही समयपछि शायद हामी सबैले सामाजिक गतिविधि पुनः सुचारु गर्न सक्छौँ । तर खोप विकासपश्चात तुरुन्तै जनजीवन सामान्य अवस्थामा फर्केला भनेर ठोकुवा गर्नचाहिँ मुस्किल छ । संसारका करिव साढे सात अरब मानिसलाई यो खोप तुरुन्तै चाहिने हुनाले सबैलाई पुग्ने गरी त्यत्रो ठूलो मात्रामा तुरुन्त उत्पादन सम्भव नहुन पनि सक्छ । प्रायः औषधि विकास गर्ने कम्पनी विकसित देशमै छन् । त्यस्तै कोरोना भाइरसको खोप विकासका लागि विकसित देशहरूले विभिन्न औषधि कम्पनीलाई आर्थिक अनुदानसमेत उपलब्ध गराएका छन् । तसर्थ, कोरोना भाइरसको खोप परीक्षण सफल भएमा उनीहरूले औषधि कम्पनीहरूसँग आफ्नो देशले निश्चित मात्रामा खोप पाउनुपर्ने सम्झौता गरेका हुन सक्ने अनुमान सहजै लगाउन सकिन्छ । विकसित देशहरूले करिव दुई अरब खोप प्रि–अर्डर गरिसकेका हुन सक्ने जानकारी विभिन्न पत्रपत्रिकामा पढ्न पाइन्छ । त्यस्तै केही मध्यम आय भएका देशले भने विदेशी औषधि कम्पनीहरूले आफ्नो देशमा हाल गरिरहेका तेस्रो चरणको खोपको परीक्षण सफल भएमा प्राविधिक साझेदारीमा उचित मात्रामा आफ्नो देशले त्यस खोप प्राप्त गर्नुपर्ने सर्त राखेका छन् । यसैले गर्दा पनि कतै अधिकांश मध्यम र अल्पविकसित देशले विकसित देशभन्दा ढिलो खोप प्राप्त गर्ने त हैनन् भन्ने संशय पनि त्यत्तिकै छ ।

अहिले हामी सबैको आशा खोप चाँडै उपलब्ध होस् र त्यो खोपले हामीलाई कोरोना भाइरसविरुद्ध दीर्घरूपमा प्रतिरक्षा प्रदान गरोस् भन्ने नै हो । निश्चय नै आशावादी हुनुको अरू विकल्प त हामीमाझ छैन् । यद्यपि विज्ञान र प्रविधिले धेरै फड्को मारिसके पनि अझै कतिपय रोगविरुद्ध खोप तयार भइसकेको छैन् । कथम् कदाचित कोरोना भाइरसको खोप विकास नभए वा खोपले स्थायी प्रतिरक्षा प्रदान नगरे हाम्रो जनजीवन कसरी अगाडि बढ्ला भनेर पनि चिन्तनमनन गर्नु जरुरी छ । खोप नभएको खण्डमा एन्टीभाइरल औषधि राम्रा विकल्प हुन सक्छन् । जस्तो केही दशकअगाडि एड्स रोग लाग्नु भनेको मृत्युदण्ड पाउनुसरह मानिन्थ्यो । तर आजकाल विभिन्न एन्टीभाइरल औषधिका कारण एड्स रोगको अवस्था विगतमा जस्तो विकराल भने छैन् । त्यसैले आशा गरौँ, कोरोना भाइरसको खोप नै उपलब्ध नभएको खण्डमा पनि विभिन्न एन्टीभाइरल औषधिका माध्यमबाट पनि जनजीवन बिस्तारै सामान्य हुँदै जाला ।(उपप्राध्यापक– स्नायु विज्ञान, टोकियोस्थित जुन्तेन्दो विश्वविद्यालय)

प्रकाशित: ३० भाद्र २०७७ ०४:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App