३० श्रावण २०७७ शुक्रबार
विचार

बुई चढ्नेको शासन

श्री ३ जंगबहादुरले बालराजा श्री ५ सुरेन्द्रलाई बोकेर डुलाउँथे। प्रधानमन्त्री रणोद्दीपसिंह कुँवर–राणा सेवकका काँधमा चढेर दरवारमा यतायता घुम्थे। उनका काँधमा हुन्थे– ‘बेबिकिङ’ पृथ्वीवीरक्रिम शाह। धीरशमशेर कुँवर–राणा थिए, प्रधानसेनापति। उनले आफूलाई मन नपरेका २२ जनालाई विद्रोहीको टाँचा लाइदिए। उनीहरूलाई काट्ने निर्णय गरियो तर राजाको आज्ञा चाहिन्थ्यो। बालक राजालाई फस्याङफुसुङ पारेर ‘हुकुमनामा’ लिए।

जाडो छल्न तराईतिर गएका प्रधानमन्त्री हतारहतार काठमाडौँ आए। उनले दरवारको पटाङ्गिनीमा मृत्युदण्ड पर्खिरहेका कर्णेल श्रीविक्रमसिंह थापा र कर्णेल इन्द्रसिंह टण्डनलगायतका युवक देखे। साविती बयान दिने क्रममा इन्द्रसिंहले भनेछन्– ‘स्वविवेकले शासन गरेनन् राणाजीहरूले। अरूको बुई चढ्ने र अरूका गलत कुरा मात्र सुन्नेहरूले के शासन गर्छन् ? त्यसैले म राणाशासनको विरोधी भएँ। मर्न त आँगनमा चिप्लेर वा पखाला र हैजाले पनि मरिन्छ। म कुशासनको विरोध गरेर मर्दैछु।

सबै स्तब्ध भए। शासन गर्नेहरूले चाकडी, चुक्ली र चाप्लुसीका आधारमा निर्णय नगरुन् भनेर सफा बोल्ने श्रीविक्रमसिंह थापा प्रधानमन्त्री माथवरसिंह थापाका नाति थिए। जंगबहादुरले बाजेलाई मारेको प्रतिशोध लिएर राणा शासन अन्त्य गर्न चाहन्थे उनी। सैनिक सेवामा रहेर विद्रोह गर्नु उनको दुस्साहस थियो तर गलतलाई गलत भन्ने साहस देखाए उनले। त्यसो गर्दा मृत्युदण्ड पाए तर असत्य स्वीकार गरेर जागिर खाएनन्।

मारिनेहरूमा संग्रामसुर विष्टलगायतका बीस जना ३५÷३६ वर्षभन्दा कम उमेरका थिए। उनीहरूले मर्नुअघि ‘श्री ५ को जय होस, राणा खलकको क्षय होस्’ भन्दै नारा लगाए। कमान्डर–इन–चिफ धीरशमशेर रिसले आगो हुँदै राजाको हुकुम पर्खेर बसे। शिशुराजाले केही गर्न सक्ने अवस्था थिएन। अन्त्यमा, सैनिक विद्रोह (मिलिटरी कु) गर्ने सबै काटिए। यो १९३८ साल हिउँदको कुरा हो।

रणबहादुर शाह राजा भएका बेला सेनापति दामोदर पाँडेसहित केही व्यक्ति काटिएका थिए। रणबहादुर पनि काटिए, भाइबाट। यस्तै, राजगुरु कुलराज पाण्डेलगायतले सैनिकको तलव घटाउन तत्कालीन प्रधानमन्त्री भीमसेन थापालाई सल्लाह दिएपछि सैनिकहरूले घरमा हमला गरेर राजगुरु पाण्डेलाई लछारपछार गरेको इतिहासकारहरूले लेखेका छन्।

आज नेपालका हरेक तह र तप्कामा मिथ्या कुरा रुचाउने, चाकडी खोज्ने र अरूको बुई चढेर निर्णय गर्नेहरूको रजगज छ। यो अवस्था प्रजातन्त्र होइन।

१९३८ चैत ५ गते भारदारी सभामा ६ वर्षका राजा पृथ्वीवीरविक्रम (त्रिभुवनका पिता) लगायत केही भारदारलाई राखेर कमान्डर इन चिफले साहेबज्यू नरेन्द्रविक्रम शाह र  जर्नेल बमवीरविक्रम कुँवर राणालाई अपराधी घोषणा गरेका थिए। नरेन्द्रविक्रमलाई भारतको इलाहावाद नजिक चुनारगढमा थुनियो। बमवीरलाई धनुकटा पठाइयो। बमबीरविक्रम राणाका वंशज दिवाकरविक्रम (डिबी) राणा (शाही नेपाल वायुसेवा निगमका पूर्वमहाप्रबन्धक) ले पंक्तिकारलाई बताएअनुसार बमवीरविक्रम राणा ‘सत्य बोल्ने’ भएकाले शासकहरूले रुचाएनन्। धनुकटामा उनले केही उदाहरणीय काम गरेको पत्रकार ठाकुर बरालले लेखेका छन्।  

सत्य लेख्ने र बोल्नेलाई मिथ्यावादीहरू घृणा गर्छन्। त्यस्ता शासकले सरकार, दल, समूह र समाजबाटै लखेटेर सत्यवादीको तेजोवध गर्छन्। त्यसैले आज नेपालका हरेक तह र तप्कामा मिथ्या कुरा रुचाउने, चाकडी खोज्ने र अरूको बुई चढेर निर्णय गर्नेहरूको रजगज छ। यो अवस्था प्रजातन्त्र होइन।  

इतिहासमा ‘३८ साल पर्व’ भनेर चर्चित घटना ‘अध्याय’ (च्याप्टर) मात्र होइन, शिक्षा पनि हो। विद्रोहको परिणति के हुन्छ भन्ने थाहा थियो, विद्रोहीहरूलाई। उकुसमुकुस भएपछि मानिसले मृत्युको पर्वाह नगरी विद्रोह गर्छ। त्यसका लागि चाहिन्छ– अठोट, इमान, साहस र विवेक। तर राजनीतिक विद्रोह र सैनिक विद्रोह अरूका काँधमा चढेर सभव छैन।  

अरूले उचालेर २०४६ साल र २०६२/६३ सालमा पनि ‘राजनीतिक ‘विद्रोह’ भयो। त्यो नेपाल र नेपालीको हितमा थियो भन्ने पुष्टि हुन सकेन। स्वदेशी राजाको अधिकार विदेशी राजालाई बुझाइयो। विदेशी भूमिबाट निर्णय हुन थाल्यो। अर्थात, गणतन्त्र पनि ‘बुई चढ्नेको शासन’ सिद्ध भयो। फुर्सदमा म पनि दुई वर्षे नातिनीलाई बोक्दै गीत गाउँछु– ‘एक दुई, आऊ मेरो बुई।’ एमसिसी र बिआरआइमध्ये एउटाको बुई चढ्नैपर्र्छ भनिँदैछ हामीलाई। १७ राष्ट्र मात्र विश्व मानचित्रमा रहेका बखत नेपाल पाँच हजार वर्षपहिले नै स्वतन्त्र अस्तित्व भएको स्वाभिमानी राष्ट्र थियो। आज राष्ट्रका हरेक अंगमा विदेशीले आदेश–निर्देश गरिरहेका छन्। राष्ट्रका हरेक अंग शिथिल र परावलम्बी देखिएका छन्।

हालै कार्यकाल सकेर स्वदेश फर्किन थाल्दा युरोपियन युनियनकी राजदूत भेरोनिका कोडीले इयुसँग सहयात्रा, सहवास र सहकार्य गर्ने राजनीतिक दल कोही छौ कि भनेर नेपालका दलहरूलाई प्रेम–प्रस्ताव राखिन्। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीलाई चीनको कम्युनिस्ट पार्टीले मद्दत गर्छ भन्ने जगजहेर भएपछि कुनै एउटा दललाई धर्मपुत्र/पुत्री बनाउने इच्छा राख्यो इयुले पनि। कतिपय दल जसले दिएको पनि क्वाप्प खाइदिनेखालका छन्। नेमकिपाले युरो–अमेरिकाको दाना खाँदैन भनिन्छ। बाँकी धेरै त निदाएको बेला पनि मुखमा विदेशी द्रव्य परोस् भनेर आँ.. गरेर निदाउँछन्।

१७ राष्ट्र मात्र विश्व मानचित्रमा रहेका बखत नेपाल पाँच हजार वर्षपहिले नै स्वतन्त्र अस्तित्व भएको स्वाभिमानी राष्ट्र थियो। आज राष्ट्रका हरेक अंगमा विदेशीले आदेश–निर्देश गरिरहेका छन्। राष्ट्रका हरेक अंग शिथिल र परावलम्बी देखिएका छन्।  

‘अन हिज म्याजेस्टिज सर्भिस’ पुस्तकमा हेमन्तराज मिश्र तथा जिम ओटावे (जुनियार) ले धेरै कुरा खोलेका छन्। २०२०/२१ सालदेखि खम्पा विद्रोहको तयारीका लागि जर्ज पिटर्सनलगायतका अमेरिकी नेपाल–चीन सिमानामा सक्रिय थिए भनिएको छ पुस्तकमा। २०१५ सालमा तिब्बतबाट भागेर धर्मगुरु छिरिङ (दलाइ लामा) भारत पस्दा हजारौँ तिब्बतीलाई नेपालले शरण दिएको थियो। कोलोराडो (अमेरिका) स्थित एउटा शिविरमा सयाँै खम्पालाई तालिम दिने र काँधमा बोकेर उकास्ने अमेरिकी गुप्तचर संस्थाले आज नेपालमा हजारौँ ‘नेपाली’ खम्पा तयार गरेको देखिन्छ। भारतीय, अमेरिकी, इयु र चीनका गुप्तचरलाई टुँडिखेलमा परेड खेलाउने हो भने त्यहाँ नअटाउलान्। सिंहदरवारका उच्च आसनदेखि वडातहसम्म गुप्तचर भाइरस कोरोनाभन्दा भयाबह भएर फैलेका छन्। एक जना पूर्वजर्नेल भन्छन्– अब त सुरक्षा अंगमै विदेशी गुप्तचरको संक्रमण फैलिने खतरा धेरै देखिन्छ।

स्वदेशको अहित गर्ने र शत्रुसँग मिलेर काम गर्ने तथा राजा, राष्ट्र र सरकारमा विकार फैलाउनेलाई तत्काल मार्नुपर्छ भनिएको छ शास्त्रमा। शुक्राचार्यले राजा पनि राष्ट्रहितविरुद्ध अधर्ममा हिँड्छन् भने शास्त्रअनुसार दण्डका भागीदार हुन्छन् भनेका छन्। प्राचीन ग्रन्थमा धर्मको स्पष्ट अर्थ ‘कर्तव्य’ भनिएको छ। सबैले कर्तव्यपालन गर्नुपर्छ भन्ने शास्त्रको मत पाइन्छ। त्यसैले नूतन वा पुरातनभन्दा हजारौँ साल पहिले बनाइएको कर्तव्यशास्त्रलाई ‘सनातन धर्म’ भनेर सम्मान गरियो।  

आजका कतिपय शठप्राणीले राष्ट्र पनि कर्तव्यबाट तटस्थ बस्नुपर्छ भन्दै ‘धर्म निरपेक्ष’ शब्द प्रयोग गरेका छन्। राष्ट्र जब कर्तव्यनिरपेक्ष (धर्म निरपेक्ष) हुन्छ तब पतन निश्चित छ। विदेशीको बुई चढेर संविधानमै यस्ता शब्द घुसाउने दासहरूबाट के आश गर्ने ?  

राजनीतिशास्त्र र कानुनले ‘डि फ्याक्टो’ वा सर्वाधिकार गुमाएर अरूको बुई चढ्ने शासकले राष्ट्र कमजोर पार्छन् भनेको छ। संविधान, कानुन, झण्डा, राष्ट्रिय गान स्वदेशको तर राजनीतिक निर्णय विदेशको हुन्छ ‘डि–जुरे’ शासनमा। कठपुतली सरकार (पपेट गभन्र्मेन्ट) मार्फत चलाइन्छ त्यस्तो सरकार।

अब्खाजियामा रसियाको, यमनमा साउदी अरेबियाको वा भुटानमा भारतको दबाब र प्रभाव चर्चामा आइरहन्छन्। २०६२÷६३ पछि नेपाललाई बोक्न भारत, अमेरिका, चीन र युरोपियन युनियनको होडबाजी चलेको देखिन्छ। असफल राष्ट्र, क्लाइन्ट स्टेट, सुजेरेन्टी (उपराज्य), स्याटेलाइट स्टेट आदिका लक्षणहरू बारम्बार देखिएको छ नेपालमा। त्यसैले राष्ट्रिय स्वतन्त्रता कहिलेसम्म सुरक्षित होला भन्ने चिन्ता बढेकोे छ। युवा बेरोजगारी, महँगी, चरम भ्रष्टाचार, बेथिति, असफल कूटनीति, फितलो राष्ट्रिय सुरक्षा, राष्ट्र सञ्चालकहरूको सन्दिग्ध चरित्र, जनतामा बढेको निराशा र अनिश्चित भविष्यको भयले जनता बेचैन छन्। धनी गरीबबीच अन्तराल झन बढ्दैछ। यस्तो अवस्थामा अराजकता र विद्रोहको दावानल फैलिने सम्भावना सदैव रहिरहन्छ। अहिलेको राजनीतिक प्रणाली चन्द्र÷सूर्य रहेसम्म विचलित हुँदैन भनेर सोच्नु अभिमानमात्र हो। कंसले आफू अमर हुन बहिनीका सात सन्तान मारे। आठौँ सन्तान कृष्णका हातबाट उनी मारिए। तसर्थ धर्म (कर्तव्य) बाट च्युत हुनेहरूको अन्त्य गरेर धर्मको रक्षा गर्न हरेक युगमा नायकको जन्म हुन्छ भनिएको छ गीतामा। सधैँ भ्रष्ट, पापी, पीडक र अधर्मीको राज चल्दैन।

आज अलेक्जान्डर द ग्रेट, जुलियस सिजर आदि सयौँ वर्षअघिका नायकका गुण खोज्नु डायनोसर र छेपाराको तुलना गर्नु जस्तै हुन्छ। परजीवी, पराधीन र परावलम्वी राजनीतिज्ञहरू (?) बर्खामा उम्रेका च्याउझैँ हजारौँ छन् नेपालमा। आफ्नो पेसा नै ‘राजनीति’ भन्छन्, लाज छैन। राष्ट्रप्रेम, स्पष्ट दृष्टिकोण, साहस, अठोट, मानवता, त्याग, रणनीति, सहयोगी भावना, धैर्य, अध्ययन, इमान, भविष्यको मार्गचित्र, विश्वसनीयता, सकारात्मक सोच, सबैलाई समेट्ने उदात्त चिन्तन, दायित्वबोध, केही नभए पनि नेता हुन पाइन्छ नेपालमा। नेता उत्पादन गर्ने खेत भनेका जनता हुन्। तसर्थ ‘जनताको स्तर जस्तो हुन्छ, नेता त्यस्तै हुन्छन्’ भनेका होलान् जवाहरलाल नेहरूले। साधारण जनताको सहयोग लिएर राष्ट्रका लागि असाधारण योगदान गर्ने व्यक्तिलाई योग्य नायक मानिन्छ। नेपालमा पृथ्वीनारायण शाह र राजा महेन्द्र यसका उदाहरण हुन्।  

शासकको कर्तव्य के हो भन्नेबारेमा वेदमा राजधर्मको उल्लेख छ। ज्ञानगुनका कुरा सिक्ने/सिकाउनेलाई राजाले प्रोत्साहन र पुरस्कार दिनू भनिएको छ। क्षेत्र (राष्ट्र), बचाउन ‘क्षत्रीय’ निपुण र साहसी मानिन्थे प्राचीनकालमा। अर्थव्यवस्थामा वैश्य (व्यापारी वर्ग) र त्यसपछि कला, शिल्प र सौन्दर्यका ज्ञाताहरूको छुट्टै सम्मान थियो। यो भेदभाव होइन, क्षमता र पुख्र्यौली अनुभवलाई आधार बनाएर गरिएको कार्यविभाजन थियो। वेद, उपनिषद्, गीता, पुराण, रामायण, महाभारत आदि ग्रन्थमा राजधर्मका अनेक प्रसंग छन्। दुर्भाग्यको कुरा, प्राचीन राष्ट्र नेपाललाई हामीभन्दा धेरै कान्छा राष्ट्रले ‘डेमोक्रेसी’ पढाउन थालेका छन्।  

महाभारतमा शासक नास्तिक बन्नु हुँदैन भनिएको छ। राष्ट्र भनेको कालापानी–लिम्पियाधुरा मात्र होइन, धर्म–संस्कृतिको कुरा पनि हो। तसर्थ राष्ट्रलाई बलियो बनाउन राष्ट्र र जनतासँग गाँसिएका महत्वपूर्ण प्रश्नहरूलाई उपेक्षा गर्न सकिँदैन। कतिपय मुलुकमा इतिहास, संस्कृति, धर्म, परम्परा र मूल्य÷मान्यता बिर्सिएर भौतिक समृद्धिलाई मात्र महत्व दिँदा अनर्थ भएको देखिन्छ।  

अत्यन्त विषम परिस्थिति भोगेर धराशायी हुन लागेका राष्ट्रहरू पनि सत्कर्मले उठेका छन्। त्यसकारण नेपालले भोगिरहेको पीडा चिरकालसम्म रहिरहन्छ भनेर निराश हुनुपर्ने अवस्था पनि छैन। सबैखालका आग्रह/पूर्वाग्रहबाट मुक्त भएर परम्परावादी शक्तिहरूलाई समेत विश्वासमा लिँदै हामीले स्पष्ट मार्गचित्र कोर्न सक्यौँ भने त्यसले अवश्य पनि गन्तव्यमा पु-याउँछ। तर अर्काको बुई चढेर भने हामी कहीँ पुग्दैनौँ। 

प्रकाशित: १६ श्रावण २०७७ १०:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App