२२ फाल्गुन २०७७ शनिबार
विचार

महेन्द्र महिमा

नेपालको इतिहासले उच्च मूल्यांकन गर्नुपर्ने व्यक्तित्वहरूमा पृथ्वीनारायण शाहपछि राजा महेन्द्रकै नाम आउँछ। उनको शासनकाल नेपाली राष्ट्रियता, विकास र शान्तिका लागि वरदान सिद्ध भएको इतिहासकार र राजनीतिशास्त्रीहरूको तर्क छ।  

अथक मेहनत गरेर राष्ट्र र जनताको अनुहार हँसिलो बनाउन अहर्निश प्रयत्न गर्दागर्दै ५१ वर्षकै उमेरमा परलोक भएका राजा महेन्द्रले आफ्नो शासनकालमा जे/जति काम गरे, त्यो जगजाहेर छ। झापाबाट कञ्चनपुर जोड्ने महेन्द्र राजमार्ग होस् वा विकास  निर्माणका ५० औँ आयोजना अहिले पनि राजा महेन्द्रको स्मृति दिलाइरहेका छन्।  

सदैव युवा जस्तो जोश÷जाँगरले काम गर्ने राजा महेन्द्रले जीवनको एक पल पनि खेर जान दिएनन्। केही घण्टा आराम गर्नेबाहेक उनले सम्पूर्ण जीवन राष्ट्रलाई समर्पित गरेका देखिन्छ। यस क्रममा उनले देशका विभिन्न भाग भ्रमण गर्नुका साथै विश्वका महत्वपूर्ण मुलुक घुमेर नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाए।  

देश र देशवासीको अनुहार उज्यालो बनाउने प्रयत्नमा उनले विकट ठाउँ भ्रमण गरेर नेपाली जनताको अवस्था नजिकैबाट अध्ययन गरे। २०११ सालमा ठूलो बाढी÷पहिरो आउँदा त्रिभुवन राजपथ हुँदै सुपारीटार ब्यारेक मकवानपुर पुगे महेन्द्र (युवराज)। पीडितहरूका दुःखबारे जानकारी लिए। केहीलाई तत्काल आर्थिक सहायता दिए। २०१३ सालमा धुलिखेलसम्म जिपमा पुगेर त्यहाँबाट झण्डै तीन महिनासम्म पूर्वी पहाडको यात्रा गर्दै धरान पुगे उनी।  

बलम्बू निवासी खुसीमान महर्जनले राजा महेन्द्रको पोशाक बोकेर उनीसँगै यात्रा गरेका थिए। पुराना दिन सम्झँदै उनी भन्छन्– दैनिक एक रुपियाँ पाउँथे, राजाको पोशाक बोक्ने मै थिएँ। नब्बे रुपियाँभन्दा बढी जोगाएर ऊबेला अलिकति जमिन किनेँ। राजा महेन्द्रसँग हिँड्दा उनी राजा हुन् र म सेवक हुँ भन्ने कहिल्यै पनि लागेन। उनी मलाई आफ्नै भाइलाई जस्तो माया गर्थे।  

‘महेन्द्रको पूर्वी पहाडको यात्रामा पहिलो रात बित्यो पाँचखालमा। त्यसपछि पहाडहरू नाघ्दै, जलजला पुगे उनी। हिउँ परेको थियो त्यसबेला। राजा पनि एक ठाउँमा हिउँमा चिप्लिएर तल पुगे। खुट्टामा चोट लाग्यो। त्यसपछि ढुंगामा बसेर कविता लेखे। साँझमा पालछेउमा धुनी बालेर स्थानीय जनतासँग भलाकुसारी गर्न थाले। त्यहाँ सचिवहरू, प्रधानन्यायाधीश, प्रधानसेनापति सबै थिए। केही घन्टा स्थानीयको सुझाव र गुनासो सुने महेन्द्रले। राति सुप, सुक्खा रोटी, तरकारी र कफी खाएर सुते। बेलुकाको भोजन यस्तै हुन्थ्यो। कहिलेकाहीँमात्र भुजा ज्युनार गर्थे महेन्द्र। भटमास आलु÷तामाको तरकारी, गुन्द्रुक र खिचडी प्रिय भोजन थियो उनको’– खुसीमान सम्झन्छन्। 

२०२१ सालमा गोरुगाडा चढेर बिहानै राजा हेर्न जाने धेरै जनामध्ये पूर्वाञ्चलको पाँच वर्षको एउटा बालक पनि थियो जो यी पंक्ति लेख्दैछ आज। 

रामेछाप पुग्दा प्रमुख समस्या पिउने पानी नै हो भन्दै स्थानीयले गुनासो गरे। त्यहाँँ बेलुका साँढे सातदेखि राति २ बजेसम्म छलफल चल्यो। भ्रमण दलका रामप्रसाद रिमालका अनुसार धपेडीले चरिकोटमा १०४ डिग्री ज्वरो आयो महेन्द्रलाई। ‘जनताले ठाउँठाउँमा पर्खिरहेका थिए। त्यसैले ज्वरोले यात्रा रोकिएन। ३८ दिन हिँडेर धरानमा यात्रा टुंग्याएपछि विराटनगरबाट फिर्ती सवारी भयो’– रिमालले लेखेका छन्।

२०१३ सालमा सेनाले बनाएको कान्ति राजपथ (ललितपुर–हेटौँडा) हेर्न जाँदा दुई रात छाप्रोमा सुते महेन्द्र। मजदूरकै खाना खाए। २०१४ मा राप्ती र सोही साल सुदूरपश्चिम डोटीलगायतका ठाउँ पुगे उनी। त्यसबेला कविता सुनाउनेहरूले पनि बकस पाए। ४० दिन गर्मीमा यात्रा गरे उनले। धनगढी विमानस्थलबाट काठमाडौँ फिर्ता आए।  

२०१५ सालमा पश्चिम नेपालको भ्रमणमा निस्किए उनी। बालाजुबाट नुवाकोट, गोरखा, पोखरा, स्याङ्जा, बन्दीपुर, पाल्पा, बुटवल, तौलिहवा हुँदै भैरहवाबाट विमान चढेर फिर्ता आए काठमाडौँ। जनताको दुःखसुखमा सहभागी हुने र उनीहरूसँगै रमाउने बानी परेका राजा महेन्द्रलाई दरवारको सुखसयलको त्यति चासो थिएन। त्यसैले २०१६ सालमा उनी पुनः गुल्मी, दाङ, सल्यानलगायतका ठाउँको भ्रमणमा निस्किए। २०१७ मा ब्रिटेनकी महारानीसँग चितवन भ्रमणमा गए।  

२०१८ सालमा पूर्वी नेपालका विराटनगर र झापालगायत क्षेत्रको भ्रमण गरे। त्यसक्रममा प्रतिबन्धित दल कांग्रेसका कार्यकर्ताले ठाउँठाउँमा काठे पुल जलाएर उनको यात्रा अवरुद्ध गर्न खोजेका थिए तर जनताले रातारात कच्ची पुल बनाएर राजालाई अघि बढाए। जनकपुरमा कांग्रेसले महेन्द्रको जिपमा बम प्रहार ग¥यो। गाडीमा प्वाल परे पनि ठूलो क्षति भएन। सवारी मन्त्री तुलसी गिरीले माइकबाट जनतालाई यसबारे जानकारी गराएपछि स्थानीयले घर–घरमा गएर राजालाई बम हान्नेहरूको खोजी गर्ने भन्दै होहल्ला गरे तर निर्दोष मानिस मर्लान् भनेर राजा महेन्द्रले त्यसो नगर्न जनतालाई सम्झाए।

उनी नभएका भए राष्ट्रियता, राष्ट्रिय एकता र राष्ट्रिय भावना सुदृढ हुने थिएन। त्यसैले उनलाई बुझेका धेरै स्वदेशी र विदेशीले पृथ्वीनारायण शाहपछिका सबैभन्दा सक्रिय र योग्य राजा भनेका छन्।

२०२० सालमा रारा ताल (मुगु) पुगे महेन्द्र। उनले त्यहाँ लेखेको ‘रारा कि अप्सरा’ भन्ने कविता निकै प्रसिद्ध भयो। सुर्खेतबाट दैलेख हुँदै विकट पहाडहरू उक्लेर राजा मुगु पुगेका थिए। समयमा भरियाहरूले खानेकुरा पु¥याउन सकेनन्। मध्यरातमा उसिना चामलको भात नूनसँग खाएर उनी सुते। खाना खाँदा ठट्टा गर्दै उनले भनेको भ्रमण दलका सदस्यहरू सुनाउँछन्– भोजनभन्दा भोक मीठो भनेको यही रहेछ।’ पालमाथि हिउँ परेर मध्यरातमा पाल ढल्यो। राजा जागै बसे। रारामा सात दिन बिताए महेन्द्रले।  

२०२१ सालमा महेन्द्र वीरगन्ज, झापा, कञ्चनपुर, पोखरा, विराटनगर, जनकपुरलगायत क्षेत्रको भ्रमणमा गए। २०२१ सालमा गोरुगाडा चढेर बिहानै राजा हेर्न जाने धेरै जनामध्ये पूर्वाञ्चलको पाँच वर्षको एउटा बालक पनि थियो जो यी पंक्ति लेख्दैछ आज।

२०२३ सालमा बैतडी, दार्चुला, डडेलधुरा, बझाङलगायतका क्षेत्रको भ्रमणमा गए महेन्द्र। खप्तड लेक पुगेर प्रकृतिको अनुपम छटाको रसास्वादन गरे। त्यहाँ प्रसिद्ध विद्वान् योगी खप्तडबाबालाई भेटे। काश्मीरका मेडिकल डाक्टर हुुन् खप्तडबाबा। राजा वीरेन्द्रले पनि उनलाई धेरै माया र श्रद्धा गर्थे।

२०२४ सालमा कञ्चनपुर, दाङ, सर्लाही, कैलालीलगायत क्षेत्रमा पुगे महेन्द्र। कैलालीमा उनलाई हृदयघात भयो। रुखमाथि मचान बनाएर बाघको सिकार गर्न लाग्दा सो अप्रत्याशित घटना भएको थियो। शाही अंगरक्षक शेरबहादुर मल्ल र डाक्टर सुशीलचन्द्र हाल्डरलगायतले ठूलो सेवा गरे। रातभर मचानमै बित्यो। भोलिपल्ट बिहान पाँच बजेतिर जमिनमा ल्याइयो। सोही दिन महारानी रत्नराज्यलक्ष्मी र कान्छा अधिराकुमार धीरेन्द्र महेन्द्रलाई लिन त्यहाँ पुगे। झण्डै एक महिना टीकापुरमा आराम गरेर राजा काठमाडौँ फर्किए। राजाले पुनर्जीवन पाएको खुसीमा काठमाडौँबासीले सिन्दूर जात्रा गरेका थिए।  

आराम नभए पनि काम नगरी बस्न नसक्ने बानी रहेछ उनको। पुनः तराईका जिल्ला भ्रमण गर्न थाले। २०२८ सालको हिउँदमा बारा, पर्सा, रौतहटलगायतका जिल्लामा धार्मिक दंगा भयो। घर–घरमा आगो सल्काउने र गोली चलाएर जनतालाई त्राहीमाम गराउनेमध्ये धेरैजसो सिमानापारिबाट पठाइएका गुप्तचर रहेको पुराना प्रशासक तेजबहादुर प्रसाईले बताएका थिए। राजा महेन्द्रले ती क्षेत्रको भ्रमण गरेर शान्ति सुव्यवस्था कायम गरे।  

२०११ सालमा राजा भएपछि २०२८ सालसम्म महेन्द्रले राष्ट्रकै सेवामा बिताए। भनिन्छ– उनी नभएका भए राष्ट्रियता, राष्ट्रिय एकता र राष्ट्रिय भावना सुदृढ हुने थिएन। त्यसैले उनलाई बुझेका धेरै स्वदेशी र विदेशीले पृथ्वीनारायण शाहपछिका सबैभन्दा सक्रिय र योग्य राजा भनेका छन्।

अधिनायकवादी, निरंकुश र सर्वसत्तावादी बनेर सत्ताको दुरूपयोग गर्ने काममा राजाहरूभन्दा संसारका कम्युनिस्ट नेताहरू धेरै अगाडि छन्। माओ, लेनिन, स्टालिन, फिडेल क्यास्त्रो, निकोलाइ, चाउचेस्कु, अनबर होजा, किमइल सुङलगायतका नेताले लाखौँ विरोधीलाई छानिछानी मारे। स्टालिनले हजारौँ मान्छे मारेको देखेर उनकी छोरीले आपत्ति जनाउँदै भनिछन्– ‘बुबा, सरकारको विरोध गरेको अभियोगमा त्यति धेरै मान्छे मार्नु उचित थियो र ! यो त ट्राजिडी नै भयो।’ रिसाहा स्टालिनले आँखा पल्टाउँदै भनेछन्– कम्युनिस्ट शासनमा धेरै मान्छे मार्नु ट्राजिडी हुँदैन, त्यो तथ्यांकमात्र हुन्छ।

जनकपुरमा आफूलाई बम हान्ने दुर्गानन्द झालाई जेलमा राख्नू, मृत्युदण्ड नदिनू भनेका रहेछन् महेन्द्रले। दरवारमा गम्भीर छलफल हुँदा न्यायविद् पशुपति कोइरालाले न्यायशास्त्र, धर्मशास्त्र तथा अनेकौँ प्रमाणको व्याख्या गर्दै भनेछन्– ‘सरकार, न्याय गर्ने कुरा राजाको व्यक्तिगत इच्छामा चल्दैन भन्छ न्यायशास्त्रले। अपराध गर्नेले उन्मुक्ति पाउनु हुँदैन भनेको छ शास्त्रले। न्यायको सिद्धान्त अटल हुन्छ।’ टोपी फुकालेर टेबलमाथि राख्दै कोइरालाले निर्भीकतापूर्वक विन्ति गरे– सरकार, राजाको हुकुमभन्दा न्याय जहिले पनि माथि हुन्छ। बरु सेवकको जागिर खोसिबक्स्योस्, गलत नजीर बसाउन बाध्य नपारिबक्योस्।  

पशुपति कोइरालाको अकाट्य तर्क सुनेर सबै स्तव्ध भए। अब कोइराला खोसिन्छन् भन्ने धेरैलाई लागेको रहेछ। छलफल र परामर्शमा सहभागीमध्येका एकजनाले २०५० सालमा यस पंक्तिकारलाई भनेका थिए– ‘न्याय र कानुनका अकाट्य तर्क र प्रमाणहरू सुनेपछि महेन्द्रले भनेका थिए कि दुर्गानन्द झालाई प्रयोगमात्र गरिएको हुुँदा मृत्युदण्ड नदिऊँ भन्ने मेरो निजी विचार हो तर कानुन र न्यायले जे भन्छ राजाले त्यो त पालना गर्नैपर्छ।’ अदालतको अन्तिम फैसला आएपछि नख्खु जेलमा दुर्गानन्द झाले फाँसीको सजाय पाएको खबरले महेन्द्र दुःखी भएको दरवारका पुराना वरिष्ठ अधिकृतहरूको धारणा छ।

राजा महेन्द्रका सचिव भएर लामो सेवा गरेका रेणुलाल सिंहले लेखेका छन्– ‘शिक्षा भनेको आफैँ उदाहरण बनेर नयाँ पुस्तालाई राम्रा कुरा सिकाउनु हो भन्ने राजा महेन्द्रको धारणा थियो। महेन्द्रमा कुनै अभिमान थिएन। विदेशी पत्रकारले नेपालका राजालाई किन भगवान भनिन्छ भन्ने प्रश्नमा राजाको जवाफ थियो– ‘म मानिस हुँ। अवतार वा ईश्वरको दावा गर्दिनँ।’ (रेणुलालद्वारा सन् १९६९ को जुन १२ मा द राइजिङ नेपालमा प्रकाशित ‘किङ महेन्द्र एज अ फेमिली म्यान’ शीर्षकको लेख।)

वि.सं. १९९० को महाभूकम्पपछि गीत गाउन र सितारलगायतका अनेकौँ बाजा बजाउन सिके महेन्द्रले। बुबा त्रिभुवनले ‘केटो सानै छ, दुब्लो छ, सितार सिक्दा हातमा घाउ होला’ भने पनि महेन्द्रले सितारा सिकेको पुराना संगीतकार भूपालसिंह प्रधानले उल्लेख गरेका छन्। त्रिभुवनसँग तराई घुम्न जाँदा महेन्द्र पन्ध्र सोह्र वर्षका थिए। जनसम्पर्कमा सिपालु महेन्द्रले तराईबाट दरवारका कतिपय कर्मचारीलाई व्यक्तिगत पत्र लेखेर ‘तपाईँहरूलाई सञ्चै छ ?’ भनेर सोध्ने गरेका दरवारका पुराना कर्मचारी सम्झन्छन्। उनीहरू भन्छन्–सेवकहरूलाई माया गर्ने भएकाले राजालाई हामी बाबु जस्तै ठान्थ्यौँ।

सानै उमेरमा फुटबल, ब्याडमिन्टन, टेनिस, भलिबल, बास्केटबललगायतका खेल सिके महेन्द्रले। फुटबल खेल्दा घाइते भएको अवस्थामा दरवारकी कर्मचारी गीता गुरुङले सेवा–सुसार गरिन्। उनीसँग महेन्द्रको गहिरो प्रेम भयो। प्रेमिकाको गर्भबाट जन्मिएका हुन् रवीन्द्र शाह। उनी पनि पिताझैँ राम्रा गीतकार थिए। २०३८ सालतिर पहिलोपल्ट पंक्तिकारले न्युरोडको एउटा कफी सप (इन्दिरा रेस्टुरेन्ट) मा भेट्ने मौका पाएको थियो राजकुमार रवीन्द्रसँग। काटिकुटी महेन्द्र जस्तै थिए उनी। राजा वीरेन्द्रका दाजु हुन् उनी। राजपरम्परा तथा संविधानमा राजाका विवाहित महारानीबाट जन्मेका जेठा छोरा राजा हुने उल्लेख भएकाले रवीन्द्र भन्दा कान्छा वीरेन्द्र नै राजा भए।

नेपालको संविधान (२०१९) ले राजालाई शाही नेपाली सेनाको परमाधिपति मानेको थियो। सो संविधानको भाग १७ मा त्यस्तो व्यवस्था भएको र प्रधानसेनापतिको नियुक्ति राजाबाटै हुने स्पष्ट छ। किरणशमशेर, तोरणशमशेर, सुरेन्द्रबहादुर शाह, सिंहदरवार बस्नेत जस्ता अधिकृतलाई प्रधानसेनापति बनाउँदा राजा महेन्द्रले सुरक्षाविद्हरूको सुझाव सल्लाह लिएको बताइन्छ। सबैले उनीहरू प्रबल राष्ट्रभक्त र योग्य भएको तथा प्रचलित ऐनअनुसार उनीहरूले नै प्रधानसेनापति हुन पाउने भएकाले सोहीअनुसार नियुक्त गरिएको सेनाका पुराना अधिकृतहरूको कथन छ।  

‘नेपालको सार्वभौमसत्ता श्री ५ मा निहीत रहेको छ’ भन्ने वाक्यांश २०१९ सालको संविधानको भाग ५ मा स्पष्ट लेखिएको छ। तर राष्ट्रिय हितबाहेक कुनै कुरालाई बढी महत्व नदिने राजा महेन्द्र राष्ट्र सर्वोच्च हुन्छ र राष्ट्रधर्म (राजधर्म) सर्वोपरि हुन्छ भन्ने मान्यताबाट कहिले पनि विचलित भएनन्। उनले राष्ट्रको हितलाई केन्द्रविन्दुमा राखेर कठोर निर्णय गर्दा अप्रजातान्त्रिक र निरंकुश भन्ने बात पनि लाग्यो। तर नेपालमा राजनीतिक दलहरू सक्रिय भएको ७० वर्षपछि पनि त्यस्ता दलहरूले आफ्नो औचित्य प्रमाणित गर्न सकेका छैनन्। त्यसकारण राजा महेन्द्रका सम्पूर्ण योगदानलाई एकातिर छोपेर उनका बारेमा अनर्गल प्रचार मात्र गर्नु विवेकसम्मत ठहरिँदैन।  

महेन्द्रको महिमा जति लेखे पनि थोरै हुन्छ। उनले गरेका धेरै काम जनताले आज पनि सम्झिरहेका छन्। लाखौँ भूमिहीनलाई उनैले भूमिपति बनाए भने गरिबको स्तर नउठाएसम्म राष्ट्र समृद्ध हुँदैन भन्ने उनको मान्यता अहिले पनि कसैले खण्डन गर्न सक्ने अवस्था छैन। तसर्थ नयाँ पुस्तालाई राजा महेन्द्रका बारेमा सही कुरा बताउनुपर्ने आवश्यकता देखिन्छ।

प्रकाशित: २ श्रावण २०७७ ११:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App