पोखरी डिलमा बकुल्लो रोइरहेको थियो। गँगटा, माछा आदि जलचरले उसलाई कारण सोधे। बकुल्लाले आफू बुढेसकालमा तपस्वी भए पनि जीवन बिताएको यो पोखरी सुक्ने र यसमा निर्भर प्राणीको बिजोग हुने देखेर रोएको बतायो। बकुल्लाको कुराले जलचर अत्तालिए। बकुल्लाले एक÷एक गरेर जलचरको नजिकैको पोखरीमा उद्धार गर्ने सान्त्वना दियो। उसलाई पत्याएर माछाहरू पहिला मलाई भन्दै मुखमा पर्न उछिनपाछिन गर्न थाले।
त्यो दिनदेखि बकुल्लाले दिनको एउटा माछो लिएर टाढाको एउटा ठूलो ढुंगामा पेट पूजा गर्न थाल्यो। एक दिन एउटा गँगटो माछाहरूलाई उछिनेर बकुल्ला छेउ पुग्यो। माछा खाँदाखाँदा वाक्क बकुल्लालाई पनि नयाँ मासु चाख्ने रहर जाग्यो। गँगटोलाई पिठ्युँमा राखेर बकुल्लो उड्यो। गँगटाले चारैतिर हेर्दा कतै पनि अर्को पोखरी देखेन। बरु एउटा ठूलो ढुंगानेर माछीकाँडाको थुप्रो देख्यो। उसले बकुल्लाको हर्कतबारे चाल पाएर सोध्यो, कहाँ छ त काका, पोखरी ?
बकुल्लाले सक्कली चेहरा देखायो– यो तेरो मृत्युयात्रा हो भतिज। तैले पनि तिनै मुर्ख माछाहरूको नियति भोग्ने भइस्। त्यो दिन बकुल्लाले सदाझैँ ठूलो ढुंगामा टेक्न पाएन। बीच आकाशमै गँगटोले तिखा नंग्राले बकुल्लाको घाँटी अँठ्यायो र भुइँमा उत्रन लगायो। उसले बकुल्लाको टाउको छिनालेर काम तमाम पा¥यो। बकुल्लाको टाउको बोकेर गँगटो सकिनसकी पोखरीमा गयो। आफूहरूको उद्धारकर्ता साधु बकुल्लाको यो हालत पारेकामा एकछिन त माछाहरूले गँगटोलाई खाउँलाझैँ गरेर घेरे। बकुल्लाले माछा लिएर खाने गरेको र आफ्नै आँखाले त्यहाँ माछीकाँडाको धूम देखेको बताएपछि गँगटोलाई माछाले छाडे। पापी बकुल्लालाई मारेर आफूहरूको जीवन रक्षा गरेकामा माछाहरूले गँगटोलाई धन्यवाद दिए।
ओली र प्रचण्ड सहकार्य र संघर्ष पञ्चतन्त्रको यस कथाको बकुल्लो र गँगटोको आम्नेसाम्ने जस्तै छ। मोहनविक्रम सिंह, निर्मल लामा, मोहन वैद्य, बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठदेखि माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतमसम्मका नेतासँगको प्रचण्ड सम्बन्ध र व्यवहार सिलसिला लोककथाको निर्धा माछा र चलाख बकुल्लाको जस्तै रह्यो। माछा खाएरमात्र नपुगेर गँगटोतिर लाग्ने अति लोभ बकुल्लालाई भारी परेजस्तै केपी ओलीबाट सुरु गरिएको बहुदलीय जनवादीहरूमाथिको प्रचण्ड चलाखीको प्रक्षेपण आफैँलाई भारी पर्दैछ।
सकभर सहकर्मीमा सुधार र परिपक्वताको खेती गर्ने, नभए आफैँ जोगिन मुस्किल पर्ने स्थिति आए अलग अस्तित्व बाटो रोजेर पूर्वएमालेको मौलिकता जोगाउने ओली प्रयास र स्थायी कमिटीको बहुमतबीच द्वन्द्व छ।
स्थायी कमिटीको बहुमतको चाहना र बजेट अधिवेशन समापन गरेर अध्यादेश अस्त्रको तम्तयारी नेकपा महाभारतका बेग्लाबेग्लै व्यूह रचना हुन्। यी व्यूह रचनाले नेकपाका अध्यक्षद्वयको सहकार्य यात्रालाई कि सिदा कि बिदाको खतरातिर धकेल्दैछ। धैर्य गरे नेपाली महाथिर हुने सम्भावना बलियो रहेका बेला अधैर्यले प्रचण्डलाई महाअस्थिर बनाउँदैछ। तिनले प्रधानमन्त्रीको कमजोर स्वास्थ्यमाथिको गलत अनुमानको मलिलो माटोमा महत्वाकांक्षाको खेती लगाएका थिए। प्रधानमन्त्रीको तन्दुरुस्ती नै नेकपा सचिवालयका असफलहरूको चुलिएको महत्वाकांक्षाका लागि फौजी कीरा भइदिएको छ।
छटपटीले कहिलै जितेको उदाहरण नभएकाले अवसरवादसँग धैर्य गर्नुको विकल्प छैन। शान्ति प्रक्रियाका बेला सुध्रिनै आँटेका प्रचण्डलाई गिरिजाप्रसाद कोइरालाको कक्षाबाट निकालेर पहिलो राष्ट्रपतिको निर्वाचनबाट उचालेर सेनापति काण्डमा लिएर ठोक्काउनमा एमालेकै नेताहरूको अग्रसरता थियो। पार्टी एकता प्रक्रियामा लय लिइसकेका प्रचण्डलाई ओली कक्षाबाट निकालेर अविश्वासको खाडल खन्नमा पनि नेतात्रयको उक्साहट काम पाएको छ। पूर्वएमालेको महाधिवेशनबाट निर्वाचित बहुमतविरुद्धको अल्पमत र अर्को घटकको यस साँठगाँठ र साजिसले पार्टी एकताको हलुवामा बालुवा हालेको छ।
केपी ओलीबाट सुरु गरिएको रक्तहीन कोतपर्व प्रदेश सरकार, स्थानीय जनप्रतिनिधि हुँदै मातहत कमिटी र पार्टी सदस्यसम्म पुग्नेछ। यसैले अहिले पूर्वएमालेमा एउटा चिन्ताले डेरा जमाएको छ– प्रचण्डसामु केपी ओलीकै सिप नचल्ने हो भने अरूले जि÷हजुरी गर्नुपर्ने हुन सक्छ कि बहिर्गमन रोज्नुपर्नेछ। नेकपामा रहेर होस् वा एमाले पुनर्गठन गरेर होस्, प्रधानमन्त्री ओलीले सूर्यजस्तै हंसमुख रहेर समर्थकलाई उत्साहित पारिरहने देखिएको छ। रिस गरे पनि ओलीबिना असफललाई गाह्रो पर्ने संकेत भाइरल बनेका एकल र सामूहिक रुन्चे तस्बिरमा हेर्न सकिन्छ।
नेकपाका दुई अध्यक्षको लफडाले भाउ बढ्ने भनेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको हो। यस्तो स्थितिमा पालैपालो कोइराला परिवार, पूर्वराजा र प्रचण्डबाट ठगिएका कांग्रेस सभापति देउवा र आफ्नै सहकर्मीबाट खेदिएका ओलीको साझेदारी केही वर्ष होइन, केही दशक नै चल्न सक्छ। स्वार्थ बाझिनु बेग्लै कुरा हो, पुरानो र पाको दल कांग्रेसलाई ओलीको लोकतन्त्रप्रतिको निष्ठामा शंका छैन। कांग्रेस प्रचण्डबाट ढुक्क छैन। ओलीमात्र नभएको भए माओवादीलाई जातीय राज्य र जनगणतन्त्रमा जान र कांग्रेस, एमालेका नेताहरूलाई दलाई लामा बन्न बाध्य हुनबाट रोक्ने कोही हुने थिएन भन्ने पनि कांग्रेसलाई थाहा छ।
ओलीको बचाउमा सडकमा उत्रिएको युवा पुस्तालाई दरो जनसमर्थन छ। गज माग्दा थान मिलेजस्तै ओलीको मात्र बचाऊ खोजिरहेका प्रदर्शनकारीहरू पुटिन बन्न पुग्ने जनसमर्थन जुटेपछि पुलंकित छ। प्रचण्डमा परिपक्वता नआउने र सहकर्मीहरू लाचार छायाँ बनिहाल्ने भएकाले ओलीको बिस्थापनपछि नेकपाबाट अधिनायकवादको खतरा देख्नेको मात्रा पनि बाक्लो छ। यसरी वाम र लोकतान्त्रिक दुवै कित्ताको दोभान ओली नै भएकाले दुवै हातमा लड्डु हुने स्थिति छ।
ओलीइतरको वाम खेमा विगतमा पनि सेनापति काण्डमा ठोक्किएपछि मात्र चेतमा आएको हो। अहिले पनि यही खेमा संविधानको कार्यान्वयन, लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरण गरेर प्राप्त उपलब्धिहरूको रक्षा गर्नुपर्ने दायित्वबाट बहकिएर प्रत्यक्ष निर्वाचित राष्ट्रपति, राष्ट्रिय सभाबाट प्रधानमन्त्री, प्रतिनिधिसभा र राष्ट्रियसभाको समानताको वकालत जस्ता चोर बाटाहरूको खोजी गरिरहेको छ। यसमा बाध्यताले संसदीय व्यवस्था मान्नुपरेको, नरुचाएरै जनताको बहुदलीय जनवाद वा त्यही हाराहारीका अन्य विचार सिद्धान्तको छहारीमा बस्नुपरेको, कम्युनिस्ट पार्टीमा छद्मरूपमा रहेको जडसूत्रवाद र अधिनायकवादी धङधङीले काम पाएको छ।
ओलीको विकल्प प्रदान गर्छु भन्ने हस्तीहरूको निराशजनक व्यवहार र नियतजन्य समस्या नेकपाको उत्कर्षकालको निरन्तरका लागि चुनौतीको पहाड हो। सकभर सहकर्मीमा सुधार र परिपक्वताको खेती गर्ने, नभए आफैँ जोगिन मुस्किल पर्ने स्थिति आए अलग अस्तित्व बाटो रोजेर पूर्वएमालेको मौलिकता जोगाउने ओली प्रयास र स्थायी कमिटीको बहुमतबीच द्वन्द्व छ। सहकर्मीमा सुधार र परिपक्वता नआउने हो भने प्रचण्डलाई प्रयोग गरेर देउवा ताछेको ओली बटालियन देउवालाई प्रयोग गरेर प्रचण्ड ताछ्न तम्तयार देखिन्छ। दलसम्बन्धी ऐनमाथि अध्यादेशको ढोका ढक्ढक् त्यही कदमको इमान्दार संकेत हो।
प्रकाशित: २ श्रावण २०७७ ०५:१३ शुक्रबार