८ वैशाख २०८१ शनिबार
विचार

किरिया, एकान्तवास अर्थात् ‘क्वारेन्टिन’

आफ्ना साना सन्तानलाई आमाले फूल दिएर भन्छिन्, ‘नानी, ईश्वरलाई चढाऊ।’यसरी हामीलाईआमाले सानैदेखि दैविक शक्तिको पूजा गराइरहेकी हुन्छिन्। संसार नबुझ्दै ईश्वरप्रति हाम्रो प्राकृतिक लगाव बढिरहेको हुन्छ।

हामी जब चार वा पाँच वर्षको हुन्छौँ, हाम्रो ‘औपचारिक शिक्षा’ नाम दिइएको पढाइ सुरु हुन्छ।यस शिक्षा के रहेछ भन्नेसम्म नबुझेको बेलादेखि नै हामीलाई उच्च ज्ञान, सर्वोच्च ज्ञान भन्दै विज्ञान बुझाउन थालिन्छ। विज्ञानमा ज्ञान, विज्ञान, वैदिक ज्ञान र प्रविधि बुझाइँदैन, उल्टै‘ईश्वर भनेको नक्कली कुरा हो, उमेरले पाका हाम्रा माता–पिताले अज्ञानता वा रुढीवादी विचारधाराको सिकार भएर हुँदै नभएको ईश्वर छ भन्दै पूजा गरी समयको बर्बाद गर्छन्’ भन्ने सिकाइन्छ।

घरमा पूजाआजा गर्न गुरुबा आउँछन्। लामो समय कसैले नबुझ्ने भाषामा मन्त्रपाठ भट्ट्याउँछन्। गुरुबाले भट्ट्याएको कुरामा केही होला, त्यसो किन भनियो, किन पूजा गर्न जाग्राम बसियो, आदिबारे कुनै पत्तो पाइँदैन।  

गुरुबाले ‘भगवान्लाई यहाँ पैसा हाल, त्यहाँ पैसा हाल, यता जल हाल, उता जल हाल’भनी पूजा गर्न बसेको कर्ताले बुझ्ने गरी बताउँछन्। पूजामा उठेको नगद, जिन्सी सबै गुरुबाकै हुन्छ। हुन पनि जब घरमा मान्छे जन्मोस्, मरोस्, खुसीको माहोल होस्, दुःखको माहोल होस्, वा अन्य कुनै धार्मिक कार्य नै किननहोस्, प्रायः सबैमा तिनै गुरुबालाई आम्दानी हुने गर्छ, स्थायी सामाजिक कर विभागजस्तो। गज्जबको चलन बसेको छ। कतैकतै गुरुआमा पनि हुने सुनिएको छ, खासै भेटिँदैन। पाण्डित्य पुरुष एकाधिकारको पेसा बनेको छ।

आज हामी हाम्रो एउटै बच्चालाई स्कुलमा एक थोक र घरमा अर्को थोकको शिक्षा दिइरहेकाछौँ। एकले अर्को शिक्षालाई आफ्नो परस्परविरोधी रहेको किटान गर्दै बाल सिर्जनशीलताको हत्या गर्दै आइरहेका छौँ। स्कुलका हाम्रो पढाइ कागती शिक्षामा सीमित छ। एउटा कुरा अर्कोभन्दा छिटो कसैले कुनै लेखबाट पढ्यो वा सुन्यो र अरूलाई बताउन सक्दा ऊ ज्ञानी र विद्वान् कहलिन्छ। उसको त्यो विद्वता सुन्दा जति चाखलाग्दो भेटिन्छ, व्यवहारमा लैजान खोजियो र उसले जे जे बताएको हो सोही कुरा बताएअनुरूप गर्न खोजियो भने मिल्दैन, मान्छेको आकृति बनाउँछु भन्दा सुँगुरजस्तो आकृति बन्ने अवस्था आइलाग्छ।

जब मानिस किरियापुत्री किरिया बसेजसरी सामाजिक दूरी कायम गरी १२–१५ दिन आइसोलेसनमा बस्छ, उसलाई संक्रमण भए÷नभएको थाह हुन्छ। हिन्दू धर्म–संस्कृतिको दाह–संस्कार र किरिया संस्कार यसर्थ महत्वपूर्ण ठहरेको देखियो।

कोरोना अनुभवले के बुझियो भने,जब मानिस किरियापुत्री किरिया बसेजसरी सामाजिक दूरी कायम गरी १२–१५ दिन आइसोलेसनमा बस्छ, उसलाई संक्रमण भए÷नभएको थाह हुन्छ। हिन्दू धर्म–संस्कृतिको दाह–संस्कार र किरिया संस्कार यसर्थ महत्वपूर्ण ठहरेको देखियो।

यो परम्पराको महत्व यहाँनेर पुष्टि भएको देखिएको कि कोरोनाजस्तै सरुवा रोगबाट मानिस मरेको रहेछ र मृतकका नजिकका आफन्तमा रोग सरेको रहेछ भने त्यो अन्यमा फैलन पाएन। किनकि उनीहरु किरियामा बसेका हुन्छन्। चलनचल्ती अनुरूप मृतकको शव आफन्तले मात्र बोक्ने चलन पनि यो अर्थमा तुलनात्मक रूपमा वैज्ञानिक नै देखियो। त्यस्तै, आफन्त गुमाउँदाको पीडामा अन्य संस्कारमा संलग्न हुनुपर्दा मन अन्यत्र समेत जाने हुँदा केही हदसम्म मनोवैज्ञानिक असर कम गर्ने देखियो।शवलाई स्मशान लैजाँदा तीनपटक बिसाउने र यम सूक्त, हरि नाम वा राम नाम जप्ने कामले बीचमा थकाइ मारीमारी मनोवैज्ञानिक साहस थप्दै आफन्तबाहेक अन्यले मृतकलाई छुनै नपरी दाहसंस्कार गर्न सम्भव हुने समेत देखियो।

घाटमा पुगेपछि दाउराको चितामाथि लास राखी मुख्यकर्ताले वैदिक मन्त्रोच्चारण साथ मुखपट्टिबाट चितामा आगो सल्काउने क्रममा चितामा श्रीखण्ड (चन्दन) जस्तो सुगन्धित काठ, आगो सल्काउने घिउ आदि राखिन्छ।

घिउलाई दाउराले जलाउँदा वातावरणबाट धेरै अक्सिजन खपत हुने र कार्बनडाइअक्साइड निक्लने स्वाभाविकै हो। ढिँकीमा कुटेको खैरो चामल, सुकेको गोबरको गुइँठा र घिउ बाल्दा निस्कने धुवाँलाई अग्निहोत्र धुवाँ भन्ने गरिन्छ। जुन लामखुट्टे धपाउन काम आउँछ। अग्निहोत्र धुवाँमा इथिलिन अक्साइड, प्रोपलिन अक्साइड र फोर्माल्डिहाइड जस्ता पदार्थ हुन्छ, जसले वातावरणमा हुनेहानिकारक जीवाणु मार्न सहयोग पु¥याउँछ। यज्ञ कार्यमा यदि आक्रमणयुक्त बिमारी रहेछन् भने उक्त रोग अर्को बिमारीमा सजिलै नसर्ने भूमिका पैदा गरिदिने भन्ने हाल आएर पुष्टि भएको छ।

शव आफैँ अर्गानिक म्याटर रहेकाले खैरो चामल, सुकेको गोबरको गुइँठाजस्ता अर्गानिक म्याटरबिना नै शुद्ध गाईको घिउसँगै लास जलाउँदा अग्निहोत्र धुवाँमा हुने पदार्थ निस्कन्छ। जसले मलामी गएकालाई लास जल्ने क्रममा हानिकारक हुने ठानिएका ब्याक्टेरिया र भाइरसको संक्रमण रोक्न जोगाउने मानिन्छ। घिउसँगै जलेको लासको खरानीमा समेत जीवाणुहरू मार्ने गुण उत्पन्न हुने हुँदा त्यस स्थानबाट समेत संक्रमणयुक्त रोग सर्ने सम्भावना कम हुन्छ। घिउ बाल्दा लास जल्दै गरेको स्थानबाट आउने दुर्गन्ध घटाउन समेत सहयोगी हुन्छ।  

लास जल्ने क्रममा निस्कने धुवाँमा मानिसको नाक, मुख, आँखा र छालामा हानि पु¥याउने केमिकल हुन्छ। जुन हावा हुँदै मलामी जानेको नाक, मुख, आँखा र छालामा पुग्ने गर्छ। जसका कारण मलामीका शरीर चिलाउने र अन्य हानि पु¥याउने हुन सक्छ। जब लाससँग श्रीखण्ड समेत राखी बालिन्छ, यसमा हुने अल्फा सन्टालोल र सयभन्दा धेरै सार तत्व समेत हावामार्फत चारैतिर फैलन्छ। जसले दिने सुगन्धका कारण लास जल्दा आउने दुर्गन्ध धेरै हदसम्म घट्न जान्छ।

लास जल्ने क्रममा निस्कने धुवाँको हानिकारक तत्वलाई श्रीखण्ड जल्दा निस्कने सुगन्धित केमिकलले निष्क्रिय पारिदिने क्षमता राख्छ।श्रीखण्ड बल्दा निस्किने केमिकल एन्टी–क्यान्सर गुणयुक्त भएको भेटिएको छ। जलाएको श्रीखण्डको धुवाँको प्रभावकारी एन्टी–भाइरल र एन्टी–ब्याक्टेरियल गुण समेत हुने गर्छ। यसको गन्धले लामखुट्टे समेत भाग्ने गर्छ। धुवाँ आफैँमा राम्रो होइन तर लास जलाउने क्रममा हालिने परम्परागत सामान लास जल्ने क्रममा उत्पादन हुने खराबीको क्षति नियन्त्रणमा समेत उत्कृष्ट रहेको वैज्ञानिक पुष्टि भएको छ।

पहिले सबैभन्दा बढी मृत्यु प्लेग र हैजाजस्ता सरुवा रोगका कारण हुने गथ्र्यो।जुनमानिसहरु घुलमिल हुँदा सजिलै एकबाट अर्कोमाफैलन सक्छ। अन्त्येष्टिमा भाग लिने मलामीहरू मृतकका नजिकका आफन्त हुन्छन्, उनीहरु मृतकले प्रयोग गरेका वस्तुहरूको प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सम्पर्कमा आउन सक्छन्, जसबाट रोगकासूक्ष्म जीवाणुमानिसमा सर्न सक्छ। त्यसैले अन्त्येष्टिमा भाग लिएर (मलामीबाट फर्केर) अनिवार्य साबुन,रिट्ठा, पाती, निम, पिना वा खरानीजस्ता एन्टी–भाइरल र एन्टी–ब्याक्टेरिया पदार्थले नुहाउनुपर्ने नियम थियो।  

घर पुगेपछि सुनपानी, गाईको गहुँत, आगो भएको खरानी, तिल, निमपत्ती आदि एन्टी–भाइरल र एन्टी–ब्याक्टेरिया पदार्थले चोख्याएर प्रवेश गर्नुलाई कुरीति भन्न सकिने अवस्था होइन, वैज्ञानिक तरिका मान्न सकिन्छ। किरियापुत्रीको हकमा भने भाइरल,ब्याक्टेरियल वा अन्य सरुवा रोगका कीटाणु हुर्कने फैलने वातावरण नहोस् भनी नुहाउने र कपाल खौरने गरिन्छ। पुराना कपडा फालेर नयाँ सेतो (फोहोर लाग्दा देखिने) कपडा लगाइन्छ। मृतकका छोरा र परिवार पूरै १३ दिन आशौचको नियममा बस्नुपर्ने हुन्छ। १३ दिनसम्म किरिया बस्नेलाई मनोवैज्ञानिक रूपमा दह्रो राख्न गरुड महापुराण सुनाउने चलन छ।

१२औँ दिन पिण्डदान गर्नुका साथै ब्राह्मणलाई दान–दक्षिणा गरी भोजन गराउने चलन छ। कसैलाई नछोई ‘आइसोलेसन’मै बसेको भए पनि कुनै कारण ‘चार हात बित्ता’को सामाजिक दूरीभित्र पुगी संक्रमित हुने सम्भावना बोकेका ब्राह्मण समेत स्वस्थ रहेको जानकारी दिन्छ।१३औँ दिन हुँदा समेत स्वस्थ देखिएको परिवार समाजमा हेलमेल हुन योग्य मानिने हुँदा किरिया कार्य समाप्त गरेर मलामीसँग मिल्न र भोजन खुवाउन स्वीकृति दिइन्छ। कतिपय संक्रमणले एक वर्षसम्म पुनः दोस्रो, तेस्रो चरणको संक्रमण दिने अनुभव रहेकाले मृत्युको एक वर्षसम्म उक्त घर अपवित्र मानिन्छ।

आज हामी हाम्रो सामाजिक परम्परा पूरै वैज्ञानिक छ भन्न यसको हिमायती बनी मुलुकको कुना–कुनामा चल्दै गरेको पाण्डित्य पाखण्डले लाजमर्दो स्थिति पैदा गरिदिएको छ। ठीक छैन भनौँ भने, संसारमा ओखती नबनेको कोभिड–१९ जस्तो महामारी फैलन नदिन क्वारेन्टिन वा आइसोलेसनको विधि रहाम्रो परम्पराको चुरो मिल्न जान्छ। यसको मतलब यही निक्लन्छ– हामीले माल पायौँ, तर चाल पाएनौँ।
(लेखक खाद्य तथा औषधि विज्ञ हुन्)

प्रकाशित: २० असार २०७७ ०४:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App