२५ श्रावण २०७७ आइतबार
विचार

ज्यानमारा ‘जात’

यो समाजको नजरमा बरु बलात्कार उति ठूलो अपराध होइन, जति ठूलो अपराध ‘अछूत’ भएर पनि ‘उच्च’ जातिसँग प्रेम गर्नु हो। रुकुम चौरजहारीको हत्याकाण्डले यही तीतो यथार्थलाई पुनः एकपटक अझ बृहत् रूपमा पुष्टि गरेको छ। अर्थात् ‘ठूला जाति’का मानिससँग प्रेम गरेको ‘अपराध’मा फेरि एक जना दलितलाई ‘मृत्युदण्ड’ दिइएको छ। अझ यसपटक त अन्तरजातीय प्रेम गर्ने एक जना ‘डुम’को मात्र होइन, उसलाई साथ दिने अन्य ५ युवाको समेत एकैसाथ इहलीला समाप्त पारिएको छ। तर तपाईंले अहिलेसम्म यसरी गाउँ नै उल्टिएर कुनै बलात्कारीलाई मृत्युको सजाय दिएको सुन्नुभएको छ ? तसर्थ यो बलात्कारभन्दा ठूलो अपराध भएन र ?  

यसरी ‘महान्’ धर्म, संस्कार र परम्पराविपरीत ‘तल्लो जात’ भएर ‘माथिल्लो जात’सँग मायाप्रिती गाँस्ने दुस्साहस गर्ने दलितको दर्दनाक हत्या गरिएको न यो पहिलो घटना हो, न अन्तिम नै हुनेछ। जबदेखि हिन्दू समाजमा ‘जातीय कोरोना’ घुस्यो, तबदेखि नै ‘शूद्र’ (दलित) समुदायका मानिस संक्रमण र मृत्यको सिकार भइरहेका छन्। अनि जबसम्म यो ‘जातीय भाइरस’ निर्मूल पारिँदैन, तबसम्म यसले दलितको ज्यान लिइरहने निश्चित छ। तर यसको अन्त्य गर्न अहिलेको नोबेल कोरोना भाइरसविरुद्ध जस्तै कुनै खोप वा औषधि बनिसकेको छैन।  

गणतन्त्रपछि पनि दलित दमनको शृंखला  
धेरै अगाडिका कुरा छाड्दिऊँ। मुलुकमा गणतन्त्र आइसकेपछि पनि जातकै कारण धेरै दलितको हत्या भएको छ/भइरहेको छ। कहिले चुलो छोएको निहुँमा त कहिले पानी छोइदिएको आरोपमा।  कुटपिट, गाली/बेइज्जती र अपमानका घटना त गनिसाध्य छैन।  

अन्तरजातीय प्रेम/वैवाहिक सम्बन्धका घटना मात्रै हेर्ने हो भने पनि ४ वर्षअघि २०७३ असारमा काभ्रे पाँचखालका अजित मिजारको हालत नवराज विककै जस्तो बनाइयो। जसको लास अझै त्रिवि शिक्षण अस्पताल (महाराजगन्ज) मै अलपत्र छ न्याय पाउन नसक्दा उनको परिवारले शव जिम्मा नलिएका हुन्। यस्तै छोरोले गैरदलित युवतीसँग प्रेम गरेकै निहुँमा २०६८ भदौमा दैलेखका सेते दमाईं मारिए । त्यही साल माघमा सप्तरी पन्सेराका शिवशंकर दासको पनि अन्तरजातीय प्रेमकै कारण हत्या भयो। उता झापाका अस्मिता सार्की र ईश्वर भट्टराईले आफूहरूको अन्तरजातीय सम्बन्ध समाजले स्वीकार नगरेपछि २०७३ माघमा एउटै पासो लगाएर आत्महत्या गरे। यस्तै तनहुँकी संगीता परियारको ‘मृत्यु’ पनि गैरदलितसँग प्रेम–विवाहकै कारण भएको हो।  

जुनसुकै मूल्यमा भए पनि ‘जात जान’ दिन हुँदैन, चाहे ज्यानै लिन वा जेलै जान किन नपरोस्। रुकुम चौरजहारी नगरपालिका–८, सोतीमा देखिएको त्यो ‘अभूतपूर्व’ सजातीय एकता र ‘युद्ध’ यसैका खातिर हो।

भर्खरकै घटना– रूपन्देही देवदहकी अंगीरा पासी बलात्कारपछि हत्या गरिएको अवस्थामा यही जेठ ८ गते मृत फेला परेकी छन्। उनलाई जबर्जस्ती गर्ने ‘उपल्लो’ जातका केटाकै जिम्मा लगाइएपछि उनको हत्या भएको हो। लकडाउनकै बेला बागलुङकी सम्झना किसानले आफ्नो पेटको गर्भ प्रहरी जवान राकेश दवाडीको भएको सुसाइड नोट लेखेर आत्महत्या गरेकी छन्। यस्तै गत फागुनमा अन्तरजातीय प्रेममै रहेका बझाङका मञ्जन विकको शव जंगलमा फेला परेको छ। खोजी गर्ने हो भने अन्तरजातीय प्रेम÷विवाहका कारण दलितले भोग्नुपरेका दर्दनाक कथा–व्यथा कति छन् कति !  यी र यस्ता क्रूर घटनाले के प्रस्ट पार्छन् भने हाम्रो समाजलाई अन्य कुरामा भन्दा बढी मतलब ‘जात’सँग छ। जुनसुकै मूल्यमा भए पनि ‘जात जान’ दिन हुँदैन, चाहे ज्यानै लिन वा जेलै जान किन नपरोस्। रुकुम चौरजहारी नगरपालिका–८, सोतीमा देखिएको त्यो ‘अभूतपूर्व’ सजातीय एकता र ‘युद्ध’ यसैका खातिर हो।

समस्या वर्गीय कि जातीय ?
नेपालका कथित कम्युनिस्टहरू जहिले यसो भन्छन्, ‘समस्या जातीय (छूत–अछूत) होइन, वर्गीय (धनी–गरिब) हो। त्यसैले हामीले जातीय होइन, वर्गीय मुक्तिको कुरा गर्नुपर्छ।’ तर कथित उपल्लो जातकी केटीसँग प्रेम गरेको रिसमा प्रेमी नवराज विकसहित ६ युवाको विभत्स हत्या त्यस्तो ठाउँमा भएको छ, जहाँ (रुकुम/रोल्पा) बाट सबैभन्दा ठूलो र क्रान्तिकारी कम्युनिस्ट पार्टी– तत्कालीन नेकपा माओवादीले ‘महान् जनयुद्ध’ सुरु गरेको थियो।  

अझ त्यो हत्यामा त्यही पार्टीका नेता रुकुम चौरजहारी–८ का वडाध्यक्ष डम्बरबहादुर मल्लको समेत संलग्नता रहनुले प्रस्ट पार्छ– कमरेडहरू, अरू कुरामा जतिसुकै ‘क्रान्तिकारी’ देखिए पनि जातका सवालमा माक्र्स वा माओवाद होइन, ‘मनुवाद’ दर्शनमै कटिबद्ध छन्। मनुस्मृति (८:३६६) मा भनिएको छ: उत्तमां सेवमानस्तु जघन्यो वधमर्हतति। शुल्कं दद्यात्सेवमानः समामिच्छेत्पिता यदि।। (अर्थ: उत्तम वर्णको कन्यासँग सम्भोग गर्ने नीच वर्णको पुरुष बधयोग्य छ।)

रुकुम हत्याकाण्डले दलित दमनको अहिलेसम्मकै चरम रूप मात्रै प्रस्तुत गरेको छैन, मानव सभ्यताकै कलंक जातीय छुवाछूत अन्त्यका लागि मानवतावादी गैरदलित पनि ज्यान दिन तयार छन् भन्ने ऐतिहासिक उदाहरण पनि पेस गरेको छ।

जनयुद्धकालमा दलितसँग जोडिएका थुप्रै प्रेम/वैवाहिक सम्बन्ध पनि शान्ति–सम्झौता हुनासाथ धमाधम तोडिए। अब यो ‘रुकुम हत्याकाण्ड’ सामसुम पार्न पनि कति वर्गवादी अर्थात् मनुवादी कमरेडहरू लागिपर्ने हुन्, हेर्न बाँकी छ।  

जातिवादको जग
अझै पनि धेरैलाई थाहा नहुन सक्छ– २०२० भदौ अघिसम्म यो मुलुकमा कडाइसाथ जातीय भेदभाव र छुवाछूत लागू र विस्तार गर्ने राज्यले कानुनै बनाएको थियो। हिन्दू धर्मको एक महत्वपूर्ण ग्रन्थ ‘मनुस्मृति’ का आधारमा तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले बनाएको मुलुकी ऐन–१९१०, जुन खोजेर अहिले पनि पढ्न सकिन्छ  (त्यसभन्दा अघिको जातीय विभेदको इतिहास उत्खनन गर्न यहाँ स्थान पुग्दैन)।  

जब यस्तो अमानवीय ऐनविरुद्ध उत्पीडित समुदायले फाट्टफुट्ट आवाज उठाउन थाले, तब राजा महेन्द्रले राज्य सञ्चालनमा अप्ठेरो आइपर्ने देखेर २०२० भदौ १ गते नयाँ मुलुकी ऐन जारी गरेका हुन्, ‘अब प्रजा जातका आधारमा साना÷ठूला नहुने, सबै बराबर हुने’ घोषणा गर्र्दै। त्यही दिनदेखि हो– नेपालमा कानुनी रूपमा जातिप्रथा अन्त्य भएको तर व्यवहारमा त गणतन्त्र आइसक्दा पनि हटेको होइन।  

२०४६ को जनआन्दोलनको सफलतापश्चात् बनेको २०४७ को संविधानले त जातीय भेदभाव र छुवाछूतलाई दण्डनीय अपराध नै घोषणा ग¥यो। २०६२/०६३ को जनआन्दोलनपछि गठित संविधानसभाले बनाएको नेपालको संविधान–२०७२ ले त झन् प्रतावनामै कुनै पनि प्रकारको जातीय विभेद गर्न नपाइने उल्लेख गरेको छ। यस्तै अहिलेको छुवाछूत तथा भेदभाव (कसुर र सजाय) ऐन–२०६८ ले ‘जातीय तथा अन्य सामाजिक छुवाछूत तथा भेदभावविरुद्धको अधिकार’अन्तर्गत यस्तो विभेद गर्नेलाई दण्ड÷सजाय तोकेको मात्र छैन, हरेक व्यक्तिको विवाह गर्ने तथा वर/वधु छान्ने अधिकारसमेत सुरक्षित गरेको छ। तर समाजमा चुलो छोएको निहुँमा मनवीरे सुनारहरू मारिन तथा अन्तरजातीय प्रेम गरेको आरोपमा नवराज विकहरूको विभत्स हत्या हुन छाडेका छैनन्।  

कारण हो– २०२० अघिका जातिवादी कानुन त फेरिए, तर ३ हजार वर्ष अघिदेखि समाजमा व्याप्त मनुवादी सोच बदलिएन÷बदलिन सकेन। कानुन बनाउने र चलाउनेहरूकै नजरमा दलित, ‘मान्छे’का रूपमा ‘नचल्ने’ भएपछि गणतन्त्र आयो भन्दैमा ‘कामी’ भएर ‘ठकुरी’की छोरीसँग प्रेम गर्ने धृष्टता गर्ने नवराजहरूलाई लखेटीलखेटी हँसिया र कोदालोले हानी नमारेर फूलमालाले स्वागत गर्ने त ? अहिले रुकुम चौरजहारीमा भएको जघन्य अपराधलाई पनि जायज ठह-याउन बल गर्नेहरूले भन्न खोजेको यही हो।  

तर पनि परिवर्तनको ऐतिहासिक उदाहरण
रुकुम चौरजहारीमा जुन हत्याकाण्ड भयो, त्यसमा सम्भवतः इतिहासमै पहिलोपटक दलितको अन्तरजातीय प्रेमका लागि थुप्रै गैरदलितले पनि साथ दिएका मात्र छैनन्, केहीले बलिदानीसमेत दिएका छन्। नवराज विकका साथमा गएका १८ युवामा गैरदलित पनि प्रशस्तै थिए भने उनीसँगै मारिएका ६ जनामध्ये दुई युवा गैरदलित छन्– गोविन्द शाही र गणेश बुढामगर। उनकी प्रेमिका त भइहालिन्। यो भनेको दलित अर्थात् परिवर्तनका पक्षमा गैरदलितको पनि सहभागिता सुरु भएको संकेत हो।  

अर्काे कुरा के पनि हो भने ज्यानमारा जातीय विभेद एवं छुवाछूतविरुद्धको अभियानमा जबसम्म गैरदलित समुदायको पनि सशक्त सहभागिता रहँदैन, तबसम्म यो सफल हुँदैन, हुने भए अहिलेसम्म भइसक्थ्यो। तसर्थ रुकुम हत्याकाण्डले दलित दमनको अहिलेसम्मकै चरम रूप मात्रै प्रस्तुत गरेको छैन, मानव सभ्यताकै कलंक जातीय भेदभाव र छुवाछूत अन्त्यका लागि न्यायप्रेमी र मानवतावादी गैरदलित पनि ज्यान दिन तयार छन् भन्ने ऐतिहासिक उदाहरण पनि पेस गरेको छ।  

अन्त्यमा, इतिहासकै शक्तिशाली/वर्गवादी कम्युनिस्ट सरकारले जातीय अहंकारवादकै पक्षपोषण गर्दै आगामी दिनमा ‘अछूत’ भएर ‘उच्च’ जातका युवक÷युवतीप्रति आँखा (प्रेम) लगाए नवराजकै हालत हुन्छ भन्ने नजिर स्थापित गर्छ कि मानव अधिकारको विश्वव्यापी घोषणापत्र र मुलुकको संविधानको मर्मअनुरूप अपराधीहरूलाई कडा कानुनी कारबाही गरी अब कसैले पनि जातका आधारमा हत्या त परै जाओस्, हेला गर्नेसम्म पनि हिम्मत नगरोस् भन्ने इतिहास कायम गर्छ, हेर्दै जाऔं।

प्रकाशित: १७ जेष्ठ २०७७ ०९:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App