४ कार्तिक २०७७ मंगलबार
विचार

सफलताका तीन सूत्र

संसारकै धनी टेलिभिजन प्रस्तोता ओप्रा बिन्फ्रे १३ वर्षको उमेरमा बलात्कृत भएकी थिइन्, बिजुलीबत्ती आविष्कार गर्ने क्रममा थोमस अल्भा एडिसन हजारपटक विफल भएका थिए अनि  अहिलेसम्मकै सबैभन्दा बढी बिक्री भएको पुस्तक ‘ह्यारी पोटर’की लेखक जेके रोलिङलाई प्रकाशकले १२ पटक ‘रिजेक्ट’ गरेका थिए। यी सबै सफल व्यक्तिका जीवनमा दुइटा कुरा समान छन् ः पहिलो– हार र दोस्रो– हारलाई हराउने आत्मबल। ओप्राले आफू बलात्कृत भएपछि जीवन नै सकियो भन्ने सोचेकी भए सायदै हामीले टेलिभिजनमा उनको उत्कृष्ट प्रस्तुति हेर्न पाउने थियौँ, एडिसनले २÷४ पटककै प्रयासमा हरेस खाएका भए सायद हामीले अन्धकारमै बाँच्नुपर्ने थियो, अनि जेके रोलिङ ‘रिजेक्सन’सँग डराएका भए सायदै हामीले संसारकै उत्कृष्ट पुस्तक पढ्न पाउने थियौँ !

यसर्थ हार सामना नगरी कोही सफल हुँदैन र सफलता तब मात्रै मीठो लाग्छ जब हामीले हारको स्वाद चाखिसकेका हुन्छौँ। सफलताको पहिलो खुड्किलो यही हो।
सफलताका ३ सूत्र हुन् : संघर्ष, समय व्यवस्थापन र सकारात्मक सोच।

संघर्ष हो जीवन, जीवन संघर्ष हो
सफलताबारे व्यक्तिपिच्छे छुट्टाछुट्टै परिभाषा हुन्छन्। बाघका लागि सिकार पाउनु सफलता हो भने ‘सिकार’का लागि बाघबाट बच्नु। त्यसैले हरेक व्यक्तिले आफ्ना आवश्यकताअनुसार लक्ष्य निर्धारण गर्छन् र त्यसैमा सफल हुने प्रयत्न पनि। जसलाई मूर्तरूप दिने मुख्य तत्व हो– संघर्ष।
संघर्ष र सफलतामा खासै अन्तर छैन। भनिन्छ नि, परिश्रम नगरी फलको आश गर्नु भनेको फल झर्छ अनि खान्छु भन्दै रूखमुनि आँ गरेर बस्नुजस्तै हो। त्यसैले आफूलाई खान मन लागेको फल टिप्न झटारै हान्नुपर्छ, यसो गर्दा पनि झरेन भने रूखमै चढ्नुपर्छ।   
त्यसो त मान्छेलाई खासै धेरै कुरा चाहिँदैन। जीवनभर ऊ दगुर्ने भनेकै सफलताका लागि हो। तर यही चार अक्षरका शब्द, ‘सफलता’ ले उसलाई अनेक बाटामा डो-याउँछ, लडाउँछ, उठाउँछ, रुवाउँछ, हसाउँछ। र, उसको जीवनलाई गतिशील बनाउँछ। गतिशील हुनु भनेकै जीवन हुनु हो। नत्र ढुंगा, माटो, बालुवाको पनि जीवन हुने थियो सायद। जीवन हुनु भनेकै संघर्ष हुनु हो।
एउटा पुरानो भनाइ छ– ‘प्रतिभाशाली हुनु राम्रो कुरा हो तर, प्रतिभा प्रस्फुटन गर्न मिहिनेत गरिएन भने त्यसको कुनै औचित्य हुँदैन।’
मिहिनेत र संघर्षकै कुरा गर्दा प्रविधिमा छुट्टै पहिचान बनाइसकेका एप्पल कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा सह–संस्थापक स्टिभ जब्सको उदाहरण उपयुक्त हुन्छ। यो स्थानसम्म  आइसक्दा पनि अझै उनी उत्तिकै मिहिनेत गर्छन्, जति आफ्नो करियरको सुरुवातमा गर्थे। फच्र्युन म्यागेजिनमा प्रकाशित समाचारअनुसार उनी बिहान साढे ४ बजेदेखि आफ्ना कर्मचारीहरूलाई महत्वपूर्ण इमेल पठाउन थाल्छन्। सबैभन्दा पहिले कार्यालय आउने पनि उनै हुन् र सबैभन्दा अन्तिममा निस्कने पनि। सोमबार काममा ढिलाइ नहोस् भनेर उनी छुट्टिका दिन अर्थात् आइतबार साँझै कार्यालयको बैठक राख्छन्।

समय व्यवस्थापन
समयले भेदभाव गर्दैन। पृथ्वीमा बस्ने हरेक प्राणीसँग दिनमा २४ घण्टै समय हुन्छ। उसले त्यो सयम कसरी र के मा सदुपयोग गर्छ भन्ने कुराले नै उसको उपलब्धि निर्धारण गर्छ। संसारकै प्रख्यात चित्रकार पाब्लो पिकासोले त्यही २४ घण्टा समय रङ र क्यानभासलाई दिएर ग्वेर्निका र दि विपिङ वुमनजस्ता इतिहासकै उत्कृष्ट चित्र बनाए। बाराक ओबामा, मेस्सी, बिल गेट्सजस्ता विश्वमै चर्चित व्यक्ति हुन् या फुटपाथमा सामान बेच्ने मानिस, समयले सबैसँग समान व्यवहार गर्छ। फेरि यो समय नै यति प्रतिस्पर्धात्मक छ कि ‘ज्याक अफ अल, मास्टर अफ वान’ नभई टिक्नै सकिन्न। अर्थात् हरेक क्षेत्रबारे मानिससँग धेरथोर ज्ञान र अनुभव हुन जरुरी छ। समय समात्न सक्ने व्यक्तिले नै सफलताको मीठो फल चाख्न पाउँछ।

सकारात्मक सोच  
मानौँ, १ लिटरको भाँडोमा आधा लिटर मात्र पानी राखिएको छ। यस अवस्थामा तपाईं त्यो भाँडोलाई ‘आधा खाली’ भन्न रुचाउनुहुन्छ कि ‘आधा भरी’ ? सकारात्मक सोच राख्ने व्यक्तिले आधा भरी भन्न रुचाउँछ किनकि ऊ आफूसँग नभएका कुरामा खिन्न हुनेभन्दा आफूसँग भएका कुरामा सन्तुष्ट हुने प्रयत्न गर्छ। दैनिक जीवनमा देख्ने, सुन्ने र भोग्ने यस्तै ससाना क्रियाकलापले हामीलाई जीवनभर उपयोगी हुने ज्ञान सिकाइरहेका हुन्छन्। सकारात्मक सोच भएका व्यक्तिले त्यही ज्ञान टपक्क टिपेर जीवनमा लागू गर्छ।  सकारात्मक सोच राख्ने व्यक्ति आफँैमा ‘सफल व्यक्ति’ हो। आफूभित्रका नकारात्मक विचारलाई जित्नु नै पहिलो सफलता हो।

फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार
आनी छोइङ डोल्माको स्वरमा रहेको यस गीतका शब्दले पनि मानिसलाई सकारात्मक सोच राख्न र सकारात्मक जीवन बाँच्न उत्प्रेरित गर्छन्। कुनै पनि घटनालाई ‘किन भयो’ भन्ने भन्दा ‘कसरी’ भन्ने दृष्टिकोणले केलाउने, अनि त्यसले के घाटा भयो भन्दा पनि के फाइदा भयो भन्ने पक्षलाई जोड दिनु नै सकारात्मक सोच राख्ने व्यक्तिको मुख्य गुण हो। अतः जो सकारात्मक सोच्छ, ऊ कहिल्यै हार्दैन, सधैँ सफल हुन्छ।

मेरो व्यक्तिगत कुरा जोड्छु। अध्ययन, खेल र सामान्य घरायसी र जागिरे जीवनपश्चात् म बैंकिङ क्षेत्रमा प्रवेश गरेँ। खेलकुदसँगै परिवार र आफ्नो करिअर अघि बढाउनु मेरो जिम्मेवारी थियो। २२ वर्षअगाडि एभरेस्ट बैंकबाट बैंकिङ करिअर सुरु गरेको म २१ वर्ष अनवरत सेवापछि अहिले सेन्चुरी कमर्सियल बैंकको प्रमुख बजार अधिकृत छु। वि सं २०६० मा बुबा शेरबहादुर खड्काको निधनपछि परिवारका सदस्य मिलेर उहाँको नामबाट सामाजिक क्रियाकलापका साथसाथै खेलकुद प्रतियोगिता अगाडि बढाउने उद्देश्यले हामीले ‘शेरबहादुर खड्का स्मृति प्रतिष्ठान’ स्थापना गरी निरन्तर ज्येष्ठ नागरिक सम्मान, पशुपतिमा शैया दान, पढाइ र खेलकुदमा अब्बल विद्यार्थीलाई छात्रवृत्ति तथा सम्मान, राष्ट्रिय महिला भलिबल प्रतिभा सम्मान, ५ वर्षदेखि राष्ट्रिय महिला भलिबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न, रेडक्रस सरकारी विद्यालयमा सहयोग पु¥याउँदै आएका छौँ।

यसरी सबै भूमिका बाँध्नाको पछाडि कारण छन्। यी काम गरिरहँदा मलाई मानिसले अक्सर सोध्ने प्रश्न हो– ‘रञ्जनजी,  तपार्इं समय कसरी मिलाउनुहुन्छ ? कसरी भ्याउनुहुन्छ ?’   त्यसो त घरव्यवहार राम्रोसँग चलाएकाहरूको पनि गुनासो छ बाहिरी कामकाजमा असफलता। फेरि कामकाज राम्ररी चलाएकाहरूको पनि समस्या छ, घरव्यवहारमा असफलता। अझ घरपरिवार र कामकाजमा भएकाहरू अर्को समस्याबाट जकडिएका छन्, त्यो हो– समाजले असामाजिक भनिदिने। अनि ‘रिटायर्ड लाइफ’पछि खुइय्य गर्दै पिँढीमा बस्नुको विकल्प हुँदैन। कहिले गर्ने अरूका लागि सेवा ? यही प्रश्न मेरो युवा मस्तिष्कमा बारम्बार आइरहन्थ्यो र मैले प्रयोगात्मक रूपमा

केही सूत्र बनाएँ, जसले गर्दा मैले कहिल्यै पछाडि फर्केर हेर्नुपरेन।
‘होमवर्क, हार्डवर्क, टिमवर्क, नेटवर्क र टाइम म्यानेजमेन्ट’
परिवारबीच सौहार्दपूर्ण वातावरण कायम गर्दै प्रतिस्पर्धात्मक बजारमा बैंकको महŒवपूर्ण जिम्मेवारी सम्हाल्दै खेलकुद अगाडि बढाउन मैले यिनै ५ सुत्र अपनाएको छु।
धेरैजसो मानिस आफ्नै कारण दुःखी छन् भन्ने मलाई लाग्छ। म विश्व दुनियाँ चकित पार्ने जादु पो देखाउन नसकँुला, तर म मेरो यो क्षमता यो तरिकाबाट प्रदर्शन गरेर यो यी कुरा प्राप्त गर्न सक्छु। र, म,  पक्कै खुसी हुन सक्छु भन्ने पहिल्याउन नसकेर धेरै मानिस बेखुसी भएको मैले पाएको छु। गर्छु भन्नु र गर्नुमा जुन अन्तर छ, त्यसबीचको विशाल गहिराइ नबुझेर पनि मानिस हतारिरहन्छन्, तर प्रतिफल शून्यप्रायः। गरेजस्तो गरेर काम बन्दैन। सफल हुन काम गर्नैपर्छ। त्यसैले जीवन जिउनु मात्रै ठूलो कुरा होइन, बरु कसरी जिइयो भन्ने कुराले विशेष महŒव राख्छ भन्ने महान् भनाइलाई आत्मसात् गरेर सकारात्मक सोचसँगै यो यात्रा अघि बढिरहेको छ।
लेखक बैंकर हुन्।

प्रकाशित: २ श्रावण २०७६ ०८:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App