११ मंसिर २०८१ मंगलबार
image/svg+xml
विचार

सहिद र बिपी विचार

‘सहिद’ शब्दले देशको स्वाधीनता, अखण्डता एवं लोकतन्त्रका लागि आत्म–बलिदान दिने वीरत्व गुणयुक्त मानिसलाई बुझाउँछ। ‘सहिद’ त्याग, आत्मोत्सर्ग, निष्ठा, आदर्श, चेतना, वीरता, साहस, समपर्णजस्ता गुण र ती अनुसारका कर्मको पर्यायवाची शब्द हो। यी गुण र कर्महरूलाई आत्मसात् गर्दै आफूलाई आफ्नो राष्ट्रका खातिर होम्न रत्तिभर संकोच वा डर नमानी प्राणार्पण गर्ने वीर वा वीराङ्गानालाई नै वास्तविक अर्थमा ‘सहिद’का नामबाट सम्मान गर्न सकिन्छ। उसले राष्ट्रलाई शिरमा राखेको हुन्छ। उसले बोक्ने अस्त्र भनेको राष्ट्रको ढुक्ढुकी स्पन्दित हुने चैतन्यदायी विचार हो। आम जनताको भावनाले उसको चेतना र विचारलाई अभिसिञ्चित गरेको हुन्छ। जनताको स्वतन्त्रताका लागि उसले आफ्नो जीवन सुम्पेको हुन्छ।

निरंकुश एवं अधिनायकवादी सत्ताविरुद्ध उसले आफ्नो सम्पूर्ण सामथ्र्य अर्पण गरेको हुन्छ। निरंकुश सत्ता र शक्तिका विरुद्धमा उभिँदा शासकले ऊमाथि शारीरिक रूपमा आक्रमण गर्छ। निरंकुश शासकसँग विचार सामथ्र्य हुँदैन, ऊ हतियारको बलमा टिकेको हुन्छ, त्यसकै बलमा टिकिरहन चाहन्छ। हतियारकै आडमा उसले आफूविरुद्धका आवाजहरूलाई दबाउन र निमिट्यान्न पार्न खोज्छ। यसरी शासकद्वारा शारीरिक अस्तित्व मेटिएको व्यक्ति ‘सहिद’ बन्न पुग्छ। जनताका साझा सपना र विचारहरूलाई बोकेर निरंकुश शासकविरुद्ध लड्दालड्दै प्राणोत्सर्ग गर्नुपरे पनि उसको विचार मर्दैन। उसको विचारले जनतालाई प्रेरणा दिएको हुन्छ, मार्गदर्शन गरिरहेको हुन्छ। नेपालमा निरंकुश शासकलाई विचारको शक्तिले चुनौती दिने प्रथम ‘सहिद’ लखन थापालाई मानिएको छ। उनले जहानियाँ शासनका सूत्रधार जंगबहादुर राणाको अत्याचारविरुद्ध जनतालाई संगठित गर्ने प्रयास गरेका थिए। उनलाई मृत्युदण्ड दिइयो। त्यसो त नेपालको भौगोलिक अखण्डतालाई बचाउने क्रममा वा राष्ट्र निर्माणका क्रममा हजारौँ वीर वीराङ्गानाहरूले रगत बगाए। ती वीर देशभक्तहरूको बेग्लै सौर्य गाथा छ जसको विस्तृत अभिलेखन र अनुसन्धान गरिएको पाइँदैन।
चन्द्रशम्सेर राणा, जंगबहादुरपछिका सर्वशक्तिशाली जहानियाँ शासक थिए। लखन थापाले रोपेको हुकुमीतन्त्र विरुद्धको झिल्को चन्द्रकै समयदेखि ब्युँतन थाल्यो। औँलामा गन्न सकिने मात्र शिक्षित मानिसहरू रहेको समयमा केही सचेत नेपालीहरू सिर्जनाका माध्यमबाट शासनका विरुद्धमा चेतनादायी अभिव्यक्ति दिन थाले। त्यसमा धरणीधर कोइराला, कृष्णलाल अधिकारी, लक्ष्मीनन्दन चालिसे आदि कवि लेखकहरू अग्रणी थिए। कतिपय लेखकहरूले जेलमा मृत्युवरण गर्नुपर्‍यो।

जहानियाँतन्त्रविरुद्ध संगठित संंघसंस्थाहरू खुल्ने क्रममा प्रारम्भमा स्थापित नेपाल प्रजा परिषद्का धर्मभक्त, गंगालाल, दशरथ चन्द र नागरिक अधिकार समितिका शुक्रराज शास्त्रीहरूलाई १९९७ माघमा जुद्धशम्सेरले मृत्युदण्ड दिएपछि नेपालमा लोकतान्त्रिक राजनीतिक चेतना क्रमशः विस्तारित हुँदै गयो। यसअघि नै प्रचण्ड गोर्खा नामक संस्थाका माध्यमबाट राणाविरुद्धका गतिविधिहरू हुन थालिसकेका थिए, तर तिनले आमजनतामा ठूलो प्रभाव पार्न सकेका थिएनन्। विसं २००७ मा सम्पन्न जनक्रान्तिको महाअभियानको परिणाम स्वरूप लोकतान्त्रिक शासनको आरम्भ भयो। जनक्रान्तिताका सरकारी सैन्यविरुद्ध होमिने मुक्तिसेनाका जवानहरू कैयौँले वीरगति प्राप्त गरे। तिनको पनि अनुसन्धान, अन्वेषण भएको छैन। लोकतन्त्र स्थापनाका खातिर भएको मुक्ति युद्धमा वीरगति प्राप्त गर्ने सबै सहिद हुन्, तिनको यथार्थ अध्ययन र अनुसन्धान हुनुपर्छ। त्यसबेलाका सयौँ मुक्तियोद्धाहरूप्रति सम्मान गर्न राज्य तयार हुनुपर्छ। उनीहरूले लडेको लडाइँ त्यसबेला नेतृत्व गर्ने कांग्रेसका लागि मात्र थिएन राष्ट्रमा लोकतन्त्रको स्थापना गर्नका लागि थियो। नेपालकै इतिहासमा एकीकरणपछिको सबैभन्दा महत्वपूर्ण घटना ००७ सालको जनक्रान्ति नै हो, जसले लोकतन्त्रको प्रथम सुनौलोे बिहानलाई जन्मायो। त्यस युगान्तकारी घटनाका मुक्तियोद्धाहरू जसले युद्धमोर्चाहरूमा प्राणाहुति दिए, तिनको अनुसन्धानात्मक खोजी सायद भएको छैन। त्यो हुनु जरुरी छ।

००७ सालमा लोकतन्त्रको घोषणापछिको एक दशक देशमा राजनीतिक स्थिरता रहेन। त्यस अस्थिरताको परिणाम अधिनायकवादी शासनका नयाँ सूत्रधार राजा महेन्द्रलाई जन्मायो। संसदीय व्यवस्थालाई राजाले अपहरण गरे। त्यसको परिणाम ३० वर्षसम्म देशले निरंकुश पञ्चायती व्यवस्थाले थोपरेका राजनीतिक, सामाजिक, आर्थिक एवं सांस्कृतिक प्रतिबन्धको पीडा भोग्नुपर्‍यो। त्यस चरम निरंकुश कालमा पनि नेपाली जनतामा लोकतन्त्रप्रतिको चेतनाको दियो भने निभेन। व्यवस्थाविरुद्ध संघर्ष जारी रह्यो। संघर्षका क्रममा असंख्य नेपालीहरू सहिद बने। तीमध्ये केहीको मात्र संक्षिप्त विवरण प्रकाशित भएको बुझिन्छ। ३० वर्षे निरंकुश शासनकालमा बन्दुकको निशाना बनाइएका सहिदहरूको पनि सघन अनुसन्धान ग्रन्थ प्रकाशित भएको पाइँदैन। फुटकर रूपमा कोही कोहीको संक्षिप्त चिनारी मात्र कतै कतै प्रकाशित भएको पाइन्छ, त्यो पनि व्यक्तिगतरूपमा चासो राख्नेहरूबाट। संस्थागतरूपमा सहिदहरूको कर्तृत्व र बलिदानबारे अध्ययन भएका भए पनि ती अपूर्ण छन्। त्यस्ता अध्ययन विवरणहरूमा वैचारिक राजनीतिक आग्रहको छाया पर्नु हुँदैन।

विसं २०४६ सालको प्रथम राष्ट्रिय जनआन्दोलन, ०६२÷०६३ सालको दोस्रो राष्ट्रिय जनआन्दोलन तथा त्यसपछिको तराई–मधेस आन्दोलनका क्रममा गरी सयाँैले शहादत प्राप्त गरे। तत्कालीन १० वर्षे माओवादी र राज्यपक्ष बीच भएको हिंसात्मक द्वन्द्वकालमा झण्डै १७ हजार नेपालीहरूले मृत्युवरण गर्नुपर्‍यो। इतिहासको त्यस रक्तरञ्जित कालखण्डले शताब्दीऔँसम्म पनि झस्काइरहने छ। सहिदको पहिचान एवं खोजी गरी र तिनले प्राप्त गर्ने राष्ट्रिय सम्मानका लागि पनि सघनरूपमा अध्ययन अनुसन्धान गर्नुपर्ने घटनाहरू यस देशमा पटकपटक घटित भएका छन्। वास्तविक अर्थमा सहिद भएकालाई शिर झुकाएर सम्मान गर्नुपर्छ, जसले राष्ट्रको शिर उठाउन आत्मबलिदान गरे। उनीहरूका आदर्शलाई स्मरण गर्दै राष्ट्रप्रतिको कर्तव्य पालना गर्न सबै अग्रसर रहनु अनिवार्य छ।

२०४६ सालभन्दा पहिले सहिद दिवसका सन्दर्भमा व्यवस्थाका शीर्ष तहका व्यक्तिहरूका सन्देशहरू प्रकाशित, प्रसारित हुन्थे। सहिदको सम्झना औपचारिक हिसाबले हुन्थ्यो। त्यसबेला विशेषतः १९९७ सालमा राणा प्रधानमन्त्री जुद्धशम्सेरको आदेशद्वारा मृत्युदण्ड दिइएका धर्मभक्त, शुक्रराज, दशरथ चन्द र गंगालालको सम्झना गरिन्थ्यो। २०४६ सालपछि पञ्चायती शासनको अन्त्य भयो, बहुदलीय प्रजातन्त्रको सुरुवात भयो। सहिद दिवसमा राजनीतिक दलहरूको सहभागिता हुने नै भयो। प्रधानमन्त्री तथा दलहरूका प्रमुख नेताहरूले सहिद दिवसका सन्दर्भमा सन्देश दिने नै भए। गणतन्त्रको आरम्भसँगै राष्ट्रपतिले सन्देश दिने क्रम छँदै छ, दलका प्रमुख नेताहरू पनि औपचारिक सन्देश दिन्छन्। ०९७ सालका सहिदहरू त सम्झिइन्छन् नै अरुअरु कालखण्डका सहिदहरूलाई पनि सम्झना गरिन्छ। अत्यन्त औपचारिक भाषामा प्रायः एउटै शैलीमा नेताहरूद्वारा दिइने सहिद दिवसको सन्देश बडो नीरस प्रकारको हुने गरेको छ। सहिदप्रतिको आदर, सम्मान र आस्था त नेताहरूमा पनि नहुने कुरै भएन, कैयाँै नेताहरूका सहकर्मीहरूले पञ्चायत कालमा शहादत प्राप्त गरेका छन्। कतिपय शीर्ष तहका नेताहरू त सहिदहरूबाट प्रेरित भएर पञ्चायत विरुद्धका संघर्षमा पनि होमिएका छन्। राज नेता गणेशमान सिंहले जहानियाँतन्त्र विरुद्धमा आफ्नो राजनीतिक जीवनको आरम्भ सहिद गंगालालको प्रेरणाबाट भएको बताएका छन्। यस्तै अन्य कैयौँ नेताहरूले सहिदसँग (जीवितावस्थामा) उठबस गरेका छन्। उनीहरूले आफ्ना सुखदुःख साटेका स्मृतिहरू कतैकतै पढ्न पाइन्छ। त्यस्ता संस्मरणहरू बडो हार्दिक र संवेदनायुक्त पनि हुने गरेका पाइन्छन्।

यहाँ जननायक बिपीका सहिदप्रतिका दृष्टिकोणहरू के–कस्ता थिए, तिनलाई पुनःस्मरण गर्नु सान्दर्भिक हुनेछ। देशलाई निरंकुशता, दासता, पराधीनताबाट मुक्ति दिलाई लोकतान्त्रिक शासन व्यवस्था स्थापनार्थ संघर्ष गर्दागर्दै शासकद्वारा सहिद बनाइएका नेपाल राष्ट्रका सन्ततिहरूप्रति बिपीको ठूलो आस्था र सम्मान थियो। पञ्चायत कालमा स्वयं बिपीकै प्रेरणाद्वारा व्यवस्था विरोधी कार्यहरूमा अग्रसर भई सत्ताधारीहरूद्वारा हत्या गरिएमा क्रान्तिकारी तरुणहरूलाई उनी सधैँ सम्झिरहन्थे भन्ने कुरा उनका मन्तव्य वा भाषणहरूबाट थाहा हुन्छ। सार्वजनिक रूपमा भाषण गर्दा होस् वा कतिपय अन्तर्वार्ताहरूमा उनले उच्च सम्मानका साथ सहिदहरूलाई सम्झेका अभिलेखहरू उपलब्ध छन्।

२०३६ जेठ १० गते राजा वीरेन्द्रबाट निर्दलीय पञ्चायती व्यवस्था कि बहुदलीय व्यवस्था रोज्ने भन्ने विषयमा जनमत संग्रहको घोषणा भयो। सो घोषणापछि जेठ २५ गते काठमाडौँको टुँडिखेलमा आयोजित  आमसभालाई सम्बोधन गर्दै बिपीले युवा तथा सहिदहरू भनेका प्रजातन्त्ररूपी मन्दिरको जग वा आधार भएकाले त्यही आधारमा आफू उभिन सकेको बताएका थिए, “...मभन्दा धेरै दुःख पाएका र यातना सहेका, त्याग गरेका, तपस्या गरेका हाम्रा मुलुकका सयकडाैँ युवाहरू छन्। म त चिनिएको छु, अरुहरू त प्रजातन्त्रको जगमा त्यस्ता गडेका पत्थरहरू हुन्, कसैले चिन्दैन। प्रजातन्त्रको त्यो मन्दिरमा, तलका गडेका जगमा रहेका ढुंगाजस्ता सहिदहरू भए। आज उत्साहको दिनमा हामीहरूले तिनीहरूलाई सम्झिनुपर्छ जसको त्याग र बलिदानबाट आज यस ठाउँमा म उभिएर तपाईंहरूसँग केही भन्न पाइरहेछु।” (२०३६, काठमाडौँ) आजकाल कतिपय नेताहरू आफ्नै मात्र बलबुताले राज्य व्यवस्थाका उपल्लो तहमा पुगेको भन्न पनि पछि पर्दैनन्। बिपीले आफ्नो उपस्थितिलाई सहिदको बलिदानले सम्भव गराएको भनेका थिए।
असंख्य नेपाली सपूतहरू पेटको ज्वाला शान्त पार्न नभई राष्ट्रको मुहारमा खुसी ल्याउनका लागि, प्रजातान्त्रिक मूल्यमान्यताको स्थापना गर्नका लागि पञ्चायतवादीहरूसँग लड्दालड्दै सहिद भएका थिए। बिपीले उनीहरूलाई सम्झँदै भनेका थिए, “राजनीतिक प्रेरणा पेटबाट पाइँदैन। पेटको कल्पना गरेर कोही राजनीति गर्न सक्दैन। अहिले जति विद्यार्थीहरू जेल गए, धेरै मान्छेहरू मरेर गए, धेरै सहिद भए, तिनीहरू कसैलाई पनि पेट समस्याको खाँचो थिएन। सबै खातापिता थिए तर गोली थाप्न पनि तिनीहरू नै गए— सहिद तिनीहरू नै भए।” (२०३७, विराटनगर) जति पनि युवाहरू सहिद भए, ती कोही पनि पेटको निम्ति नभएर राजनीतिक सिद्धान्त र आदर्शका लागि भएका हुन् भन्ने बिपीको विचार थियो।

बिपीले २०३६ सालमा जनकपुरमा भएको विद्यार्थी अधिवेशनलाई सम्बोधन गर्न लेखेको मन्तव्यमा उनले सहिदहरूको बलिदान, आत्मोसर्ग वीरता र आदर्शप्रतिको निष्ठाबाट आफू नियन्त्रित रहेको बताएका थिए। उनले ००७ सालको जनक्रान्तिमा विद्यार्थीहरूले पुर्‍याएको बलिदानीपूर्ण योगदानको स्मरण गर्दै विभिन्न संघर्षहरूमा सहिद भएका विद्यार्थीहरूले प्रजातन्त्रको पुनःस्थापनाका लागि आ–आफ्नो रगतद्वारा लेखिएका आदर्शका निशानहरू छोडेर गएको उल्लेख गरेका छन्, “नेपाल हमेसा आभारी रहनेछ ती वीरहरूप्रति जसले आफ्ना बलिदानहरू अर्पित गरेका थिए, २००७ सालको क्रान्तिलाई सफल पार्न, जसले त्यस क्रान्तिद्वारा आर्जित प्रजातन्त्रको रक्षा र पुनःस्थापनाका लागि आत्मबलिदानहरू गरे।” बिपीले सहिदहरूको  देशभक्तिपूर्ण भावनाको सम्मान गर्दै कैयौँ सहिदहरूलाई सम्झेका छन्। कतिपय सहिदहरू त बिपीको प्रत्यक्ष निर्देशन प्राप्त गरी प्रजातन्त्र पुनःस्थापनाको संघर्षमा होमिएका थिए। “...तीमध्ये अनेकौँ वीर सहिदहरूको कार्यक्षेत्र यस जनकपुरमा म, दुर्गानन्द झा, लिलानाथ, गोकर्ण, ठगिराज, खगेन्द्र, महेश, कामेश्वर, केशव, कुशेश्वर, रामलक्ष्मण आदिको सम्झना नगरी रहन सक्दिन, तिनले देशभक्तिको भावनाबाट प्रेरित भई जनताको अधिकारको प्राप्ति र रक्षाका लागि आफूसमेत आफ्ना सबै कुराहरूको आहुति दिएका मात्र होइनन् तिनले सदाका लागि यस देशका विद्यार्थीका समक्ष मार्ग प्रदर्शनका केही मौलिक आदर्शहरू आफ्ना रगतले लेखी गएका छ्न।” विद्यार्थीहरू कर्तव्य र आचरणका दीपशीखा भएको उल्लेख गर्दै उनले भनेका छन्, “मैले हमेसा तिनको प्रेरणा र नियन्त्रण अनुभव गरेको छु, कुनै पनि राजनीतिक निर्णय गर्दा आदर्शहरूका लािग बलिदान भएका ती सहिदहरू मेरो राजनीतिक व्यक्तित्वका प्रेरणा र शक्ति रहेका छन्।”

बिपीले २०१७ सालपछि प्रजातान्त्रिक संघर्षलाई आत्मबलिदानी भावनाका साथ विद्यार्थीहरूले निरन्तरता दिएको कुरा बताउनुभएको छ, “नेपालमा २००७ सालको क्रान्ति सफल हुन सक्ने थिएन होला, विद्यार्थीहरूले बलिदानको अग्रसरता नदेखाएको भए, २०१७ सालदेखिको प्रजातन्त्रको त्यति लामो र बलिदानपूर्ण संघर्ष कायम रहन सक्ने थिएन होला, विद्यार्थीहरूको आत्मबलिदानी भावना निरन्तररूपमा देशको प्रजातान्त्रिक शक्तिको साथ नरहेको भए।” बिपीले आफ्नो आह्वानमा निरंकुश पञ्चायत व्यवस्थाविरुद्धका संघर्षमा सहिद हुने तरुणहरूलाई स्मरण गर्दै भाइ गिरिजाप्रसादलाई एक पत्र पठाउँदै उनीहरूको बलिदानको सम्झनाले आफूलाई जीवित रहन प्रेरणा प्राप्त भएको बताएका थिए, “सबै तरुण कार्यकर्ताप्रति मलाई पिताको भाव आउँछ। मलाई सबै मेरै परिवारका सदस्यझैँ लाग्छन्। तिमीलाई थाहा छ कि कतिपय मेधावी तरुणले मेरो आह्वानमा ज्यान अर्पण गरे। तिनीहरूको सम्झना मात्रले एउटा पिताको प्रेमले झँै मेरा आँखा रसाउँछन्। मेरा गम्भीर संकटमय अवस्थामा ती अनगन्ती पुरुष र महिलाहरूले गरेको त्याग र बलिदानको सम्झनाले मलाई आजसम्म जीवित राखेको छ।”

बिपीले सहिदका आदर्शलाई कहिल्यै नबिर्सन सबै जिम्मेवार नेता, कार्यकर्ता वा अनुयायीहरूलाई बडो गम्भीर सन्देश छोडेका छन्, “तिमीलाई कर्तव्यको द्विविधा भए देशको एकमुठी माटो हातमा लिएर सोध, भाङ्ग्रो लगाएको नेपालीलाई हेर, त्यसले तिम्रो कर्तव्य बताउनेछ। सहिदलाई सम्झ, त्यसले तिमीलाई उच्चतामा पुग्ने प्रेरणा दिनेछ।”
सहिदका सम्बन्धमा बिपीले व्यक्त गरेका धारणाहरू अनेक छन्। तिनमा बिपीले आफ्नो मौलिक र संवेदनाले भरिएको हृदयको भाषा बोलेका छन्। सहिदहरूको त्याग र बलिदानलाई सम्झिँदै गर्दा उनले तीप्रति आफ्नो अविभावकत्व एवं जिम्मेवारीको भावना पनि अनुभूत गरेका छन्। आफ्नै आह्वान र निर्देशनमा भएका संघर्षका क्रममा सहिद भएका युवाप्रति उनमा विशेष संवेदनशीलता रहनु स्वाभाविकै थियो। उनले आफू सहिदहरूकै प्रेरणाले जीवनका अन्तिम दिनहरूमा पनि राजनीतिक रूपले सक्रिय रहन सकेको बताएका छन्।

प्रकाशित: १७ माघ २०७५ ०३:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App