१ वैशाख २०८३ मंगलबार
image/svg+xml
विचार

किताब र हातेलेखनमा १७ अर्ब लगानी!

केही दिनअघि एउटा समाचार आयो– स्विडेनले विद्यालयमा स्क्रिन प्रयोग घटाउन एक सय मिलियन युरो (अर्थात् १७ अर्ब ४४ करोड नेपाली रुपैयाँ) खर्च गर्नेछ। सन् २००९ मा कम्प्युटरबाट पढ्ने व्यवस्था सुरु गरेको स्विडिस सरकारले अहिले २०२६ मा विद्यालयहरूमा स्क्रिन (ट्याब्लेट, ल्यापटप, मोबाइल आदि) को धेरै प्रयोग घटाउन र छापिएका पुस्तक, हस्तलिखित अभ्यास र परम्परागत पढाइ प्रणाली पुनः बढाउन अर्बौं रुपैयाँ खर्च गर्ने योजना बनाएको छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ तर स्विडेन सरकारले यो निर्णय विभिन्न अध्ययन र विद्यालयका नतिजा हेरेपछि गरेको हो। अध्ययनले देखाएको छ - अनेक थरीका ल्यापटपमा आधारित पढाइले विद्यार्थीको आधारभूत सिकाइ क्षमतामै असर पार्न सक्छ।

सन् २००९ तिर स्विडेनले विद्यालयमा डिजिटल शिक्षालाई निकै प्राथमिकतासाथ सुरु गरेको थियो। त्यहाँका विद्यालयहरूले परम्परागत पाठ्यपुस्तक र कापीमा लेख्ने बानी हटाएर ट्याब्लेट, ल्यापटप र डिजिटल एप प्रयोग गर्न थाले। तामझामसाथ प्रयोग गरिएको यस्तो क्रियाकलापले केही वर्षपछि विद्यार्थीहरूको किताब पढेर बुझ्ने क्षमता घटेको, पढाइमा एकाग्रता कम भएको थाहा पाइयो। उनीहरूको लेखन क्षमता पनि घट्यो। आफ्नै भाषा पनि राम्रो लेख्न सक्ने अवस्था रहेन।

यतिसम्ममा अन्तर्राष्ट्रिय परीक्षामा स्विडेनका विद्यार्थीहरूको नतिजा कमजोर हुन थाल्यो। यस्तो भएपछि त्यहाँको समाजमा छलफल हुन थाल्यो र नीति निर्माता र शिक्षकहरू ‘केचाहिँ समस्या भएछ?’ भन्ने सोच्न थाले। ‘के कारणले विद्यार्थीहरूको सिकाइमा असर परेको छ? किन विद्यार्थीहरूको सिकाइको स्तर कम भयो?’ प्रश्न गर्न थाले।

उनीहरूले अध्ययन गरेपछि पत्ता लगाए कि ‘कागजी पुस्तकबाट पढ्दा विद्यार्थीहरूले राम्रोसँग बुझ्न सक्दा रहेछन्। सिकाइ राम्रो हुने रहेछ। साथै किताबबाट सिक्दा ध्यान दिएर पढ्नुपर्ने हुनाले बुझेको कुरा लामो समयसम्म सम्झनामा रहने रहेछ।’

साथै आधारभूत सिपजस्तो औंलाले कलम समाएर लेख्दा मस्तिष्क पनि चलिरहेको हुन्छ। मस्तिष्क विकास हुन्छ। जबकि कम्प्युटरबाट पढ्दा बालबालिकाको सतही रूपमा मात्र सिक्ने बानी विकास हुँदो रहेछ। अनि बाल विज्ञहरूले भन्न थालेछन्, ‘डिजिटल उपकरण शिक्षाको सहायक हुन सक्छ तर मुख्य माध्यम बन्नुहुँदैन, सक्दैन। मुख्य माध्यम त कागजी किताब, कलम, कापी नै हुनुपर्छ।’

यसका साथै विज्ञहरूले अर्को मानसिक र मस्तिष्क विकासको चिन्ता पनि व्यक्त गर्न थाले। स्कुलमा कम्प्युटर पढेपछि घरमा पनि किताब पढ्ने र हातले लेख्ने अभ्यास कम भयो। अनि समस्या भएपछि ‘हातले पनि लेख्न सुरु गर्नुपर्छ’ भन्ने विचार आएछ त्यहाँका शिक्षकलाई। उनीहरूको अनुसन्धानले देखाएको छ कि हस्तलिखित अभ्यास र कागजी पुस्तकले बालबालिकाको मस्तिष्क विकास र स्मरण क्षमतामा सहयोग गर्छ।

नेपालमा धेरैजसो सरकारी स्कुलमा त किताब पढ्ने, कापीमा लेख्ने चलन ठिकै छ। हामीहरूले युरोपको नक्कल गरेर बालबालिकालाई कम्प्युटर भएन भनेर धेरै समस्या भयो भन्नु नपर्ने रहेछ।

हामी सानो छँदा आजभन्दा ६२ वर्षअघि पहिले धुलोमा कोरेर र अलि लेख्न सिकेपछि ‘स्लेट र खरी’को प्रयोग हुन्थ्यो। खरीले लेख्दै, मेट्दै फेरि लेख्दै गर्दा स्लेट त जादुजस्तै लागेको थियो। त्यही कुरा अँगालेर धुलोमा लेख्नुपर्छ भन्न त नसकिएला तर अब स्विडेनको सरकारले फेरि कागजको पुस्तक, हस्तलिखित अभ्यास र परम्परागत पढाइ प्रणाली पुनः सुरु गर्न १७ अर्ब खर्च गर्ने योजना बनाउँदा नेपालमा त त्यो अवस्था त खर्च नै नगरी पहिलेदेखिकै छ। यो अवस्थालाई कायम राखेर बालबालिकालाई किताब पढ्न सिकाउने कि? अपसोच! अहिले स्कुलमा त कम्प्युटर भयो भने मात्र ठुलो र राम्रो मानिने चलन छ।

आजभन्दा ६० वर्षअघि म तीन कक्षामा पढ्दा साना–साना कविता, कथा पढ्थेँ। ‘क’देखि ‘ज्ञ’सम्म शब्द बनाएर गुरुहरूलाई देखाउँदा र गुरुहरूले हात समातेर लेखाउँदाको सम्झना अझै छ। अपसोच! अहिले आधुनिक पढाइको नाममा हातले लेख्ने, किताब पढ्ने बानी कम हुँदै छ तर स्विडेनले चाहिँ फर्केर हेर्दा आफ्नो शिक्षा प्रणालीलाई हाम्रो ६० वर्षअघि चलेको ‘आधारभूत शिक्षातर्फ’ पुनः ध्यान दिन थालेको छ।

स्विडेन सरकारले त्यहाँ किताब पढ्ने, हातले लेख्ने अभ्यास बढाउने, साना कक्षामा ट्याबलेट र ल्यापटप कम प्रयोग गर्ने काम गर्न थालेको छ। हामीले त त्यस्ता किताब–कापी प्रयोग गरिरहेका छौं। सरकारी स्कुलमा शिक्षकले विद्यार्थीलाई पढ्न भनेर प्रेरणा दिँदैनन्, शिक्षकले आफैं कुनै मेहनत गर्दैनन्। विद्यार्थीले कति सिकेका छन् भनेर जान्ने कोसिस पनि गर्दैनन्।

त्यसमाथि पनि अहिलेको शिक्षा मन्त्रालयले विद्यार्थीहरूलाई ‘तनाव नहोस्’ भनेर आन्तरिक परीक्षा लिन नपाइने नियम बनाउन थालेको छ। ‘उसै त कुन कानमा सुन’ भनेझैं सरकारी स्कुलमा कहिले पो शिक्षकले विद्यार्थीको पढाइको वास्ता गर्थे र? निजी स्कुलमा त आन्तरिक रूपमा पढाउने, सिकाउने धेरै नै हुन्छ। सरकारी स्कुलमा शून्य र झन् अहिले त आन्तरिक परीक्षा लिन नपाइने भनेपछि पढाउनै पनि परेन। पहिलेको सरकारले ‘जाँचमा फेल नगर्ने नीति लिएकाले’ अहिलेका धेरैजसो सरकारी स्कुलमा १० कक्षाका विद्यार्थीहरूले जाँच दिँदासम्म एक पाना अंग्रेजीमा र नेपालीमा लेख्न सक्दैनन्। १२–१४ को गुणा त कुरै छोडौं, ८–९ को गुणन र भाग गर्न पनि आउँदैन। १० कक्षाका विद्यार्थीहरूले ‘चोरी गर्न पाएनन्’ भने तराई क्षेत्रमा त विद्यार्थी १० कक्षा पनि पास हुँदैनन्। अनि १० कक्षा ‘पास’ भएपछि मजदुरी गर्नबाहेक केही उपाय हुने छैन। साँच्चै नै सरकारले शिक्षामा फड्को मार्ने हो भने ब्रिटेन, अमेरिका, फिनल्यान्ड जस्ता देशको नक्कल गर्ने होइन, नेपालको शिक्षाविद्हरूसँग सल्लाह लिएर सरकारी स्कुलका शिक्षकलाई पढाउन प्रेरित गर्ने हो। त्यो कसरी हुन सक्छ भन्ने कुरा बृहत् छलफल गर्ने हो।

विद्यार्थीको मात्र जाँच होइन, ‘शिक्षकले पनि विद्यार्थीलाई कति सिकाउन सक्षम भएको छ’ भनेर मूल्यांकन गर्ने हो। उसै त प्रायः सबै सरकारी स्कुलको पढाइ राम्रो छैन, त्यसमाथि पनि तराईका स्कुलहरूको पढाइ त अति नाजुक अवस्थामा छ। मैले ७, ८ कक्षाका विद्यार्थीलाई आफ्नो स्कुल, परिवारबारे लेख भनेर दिँदा जे उनीहरूले लेखे, पुर्पुरोमा हात लगाउनुपर्ने अवस्था छ। के गर्ने होला त सरकार?

प्रकाशित: २७ चैत्र २०८२ ०६:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %