पछिल्लो समय प्रहरीप्रति जनअपेक्षा चुलिँदो छ । त्यो अपेक्षाले नै प्रहरीप्रति प्रश्न पनि उठ्छ । त्यसलाई सकारात्मक रूपमा लिई काम गरेमा प्रश्नको उत्तर आफैँ मिल्छ । ‘जनअपेक्षा’, ‘जनचाहना’ शब्द सुन्दा सामान्य लाग्छन् । तर शान्ति शुरक्षा, अपराध नियन्त्रण तथा अनुसन्धानमा अपेक्षा गरिने असाधारण चाहना पूरा गर्न सानो हिम्मत र लगावले पुग्दैन । यस्ता अभीष्ट पूरा गर्न घटनासँग समयानुकूल भिड्न सक्ने क्षमता र अदम्य साहस चाहिन्छ । साहसपूर्ण कार्यले मात्रै असामान्य बाटोलाई सामान्य बनाइदिन्छ । पछिल्लो समय प्रहरीले यस्तै चुनौतीलाई सामान्यीकरण गर्दै राज्यद्वारा सुम्पिएको दायित्व र कर्तव्य जनचाहना अनुरूप पूरा गर्दै आएको छ।
भन्ने गरिन्छ, ‘प्रहरी बर्दीका नागरिक हुन् भने नागरिक विनाबर्दीका प्रहरी हुन् ।’ यस अर्थमा प्रहरी कार्यमा नागरिक समन्वय र सहकार्य अपरिहार्य छ । सुख–दुःखमा प्रहरी साथी पनि हो । यसै तथ्यलाई हृदयङ्गम गरी हरेक प्रहरीले शुद्ध आचरण, शिष्ट व्यवहार, निष्पक्ष निर्णय गर्नमा चुकेजस्तो लाग्दैन । हालै सम्पन्न बिमस्टेक लगायतका ठूला अन्तर्राष्ट्रिय समारोहमा प्रहरीले गरेको भरपर्दो सुरक्षा योजना र भूमिकाले शान्ति सुरक्षामा सहकार्य लगायतका तथ्य सबैमा छर्लङ्गै छ । देशका कुना काप्चामा छरिएर नागिरकसँगै गहन, सघन र प्रभावकारी भूमिका निर्वाह गरेको तथ्य घामजस्तै छ । मानवअधिकार र विधिको शासनमा प्रहरी कटिबद्ध रहेको पुष्टि व्यवहारमै भएकै कुरा हुन्।
प्रहरीमा पछिल्लो समय नयाँ ढंगले सुरक्षा योजना सुरु भएका छन् । लामो समयदेखि रोकिएको सरुवा बढुवा खुलेको छ । युएन सेवामा संख्यात्मक एवम् गुणात्मक सहभागिताका लागि पहल भएका छन् । प्रहरी कर्मचारीको बृहत्तर हित र कल्याणका लागि बृहत्तर योजना ल्याइएका छन् । घर, परिवार, बालबच्चा एवम् राष्ट्रसेवालाई एकसाथ लैजानुपर्ने प्रहरीको कठिन अवस्थालाई सम्बोधन गर्न आत्मबल, मनोबल उच्च हुनु जरुरी छ । यसका लागि संगठनको साथ, समन्वय र वृत्तिविकासतर्फ विशेष ध्यान दिइएको पाइन्छ । जसले प्रहरी कार्यलाई थप भरपर्दो, मौलिक र न्यायिक बनाउन सहयोग पुग्ने देखिन्छ।
प्रहरी कार्य सफल र छिटोछरितो हुन भौतिक संरचना र साधन स्रोतको उचित व्यवस्थापन आवश्यक पर्छ । पोलीग्राफ परीक्षणको प्रयोग, साइबर ब्युरोको गठन, मानव बेचबिखन नियन्त्रण ब्युरोको व्यवस्था, प्रत्येक प्रदेशमा रिफ्रेसिङ सेन्टर स्थापना, स्थानीय निकायमा प्रहरी एकाइ थप, सातवटै संघीय प्रहरी एकाइ कार्यालय स्थापना, डाटा सेन्टरको व्यवस्था, अनलाइन सेवाको प्रार्दुभाव, लागुऔषध तथा विशेष ब्युरोको काममा प्रभावकारिता जस्ता क्रियाशीलताले प्रहरी कार्यको तीव्रता बढेको देखिन्छ । विगतबाट पाठ सिक्दै आर्थिक एवं प्रशासनिक सुधारतर्फ विशेष ध्यान दिइएबाट नकारात्मक सोच फाट्दै गएको पाइन्छ । राजस्व संकलन, ट्राफिक कारबाही, भन्सार चोरी निकासीमा कडाइ, लागुऔषध कारोबार नियन्त्रण, अवैध हातहतियार ओसारपसारमा कडाइजस्ता कामले प्रहरी क्रियाशीलता ह्वात्तै बढेको देखिन्छ । यसबाट अपराध कार्यमा संलग्न व्यक्तिहरूको मनोबल घटेको विश्वास छ । इन्टरपोलमार्फत अभियुक्तविरुद्ध रेड नोटिस तथा डिफ्युजन जारी गर्ने कामलाई तीव्रता दिइएको पाइन्छ । सूचना व्यवस्थापन तथा विश्लेषणका लागि आधुनिक ‘राष्ट्रिय अपराध सूचना प्रणाली’को स्थापना गरिएको छ । नेपाल प्रहरीको आधिकारिक फेसबुक पेज, ट्वीटर जस्ता सामाजिक सञ्जाल, टेलिभिजन, रेडियो, आदिबाट नागरिकसँग अन्तक्र्रिया गरिएका कारण आपसी समस्या बुझ्ने र समन्वयसाथ समाधान गर्न सहज भएको छ । प्रहरीले ६३ औँ प्रहरी दिवस मनाइरहँदा यी नवीन व्यवस्थाले पक्कै पनि प्रहरी कार्यमा थप प्रभावकारिता आउने विश्वास गर्न सकिन्छ।
संक्षेपमा, प्रहरी पेसा मात्र होइन जीवनशैली पनि हो । यस तथ्यलाई पुष्टि गर्ने र प्रहरी सेवालाई राम्ररी बुझ्ने दृष्टिकोणले अबका कामकारबाही परिवर्तन गर्न आवश्यक छ । प्रहरीले कार्यशैली बदल्दै विचारको सेवामा रूपान्तरित भए पनि जनसंख्याको तीव्र वृद्धि र आधुनिक प्रविधिको दुरुपयोगले चुनौती थपेको छ । यसलाई चिर्दै पीडितलाई न्यायको अनुभूति गराउन र पीडकले दण्डको परिणाम भोग्ने वातावरण मिलाउन प्रहरीको कदम अझै बढी दरिलो बनाउँदै प्रमाणमुखी अनुसन्धान, सेवाको स्वरूप, शैली र संयन्त्र समायानुकूल परिवर्तन गर्नुपर्ने देखिन्छ । संगठनलाई बिगार्ने वा हिलो छ्याप्ने प्रवृत्तिका कुतत्वका गतिविधि यदाकदा महसुस भए पनि यस्ता तत्वबाट बच्न समयमै सचेत हुन जरुरी छ । कानुनी राज्यको अवधारणामा उभिएको संगठन जति लोकप्रिय छ, त्यसलाई कायम राख्नु, अझै परिष्कृत गर्दै लैजानु प्रहरी स्वयंको कर्तव्य हो । ६३ वर्षे सफल र उपलब्धिमूलक यात्रालाई थप प्रभावकारी, फलदायी र जनमुखी बनाउन, बदलिँदो परिस्थितिसँगै अझै बढी सुधारको आवश्यकता भने उत्तिकै छ।
प्रकाशित: २५ आश्विन २०७५ ०४:०४ बिहीबार