२९ असार २०८२ आइतबार
image/svg+xml
विचार

रास्वपालाई पाँच राय

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता स्वर्णिम वाग्लेले हालै नेपाली कांग्रेस नेता शेरबहादुर देउवासँग भेट गरेछन्। त्यस पूर्व सो पार्टीका कार्यवाहक अध्यक्ष डिपी अर्याल र अर्का नेता शिशिर खनालले देउवासँग गरेका भेटघाट त्यत्ति फलदायी नभएकाले वाग्लेलाई पठाइएको हुन सक्छ। सार्वजनिक खपतका लागि ‘बहुदलीय लोकतन्त्रमा दलहरूको भेटघाट भइरहनु ठूलो कुरो नभएको’ स्पष्टीकरण आएको छ– रास्वपाका नेता वृत्तबाट। साथै राजनीतिक स्थिरता समेतका लागि प्रजातान्त्रिक शक्तिहरू एक हुनुपर्ने अर्थात् प्रजातान्त्रवादी दल र अन्य दलहरूबीच वैचारिक ध्रुवीकरण हुनुपर्ने कुरा स्वर्णिमले देउवालाई सुझाएका कुरा पनि चर्चामा आएको छ। देउवाले भने त्यस प्रस्तावप्रति कुनै प्रतिक्रिया नदिइकनै अन्ततः स्वर्णिम कांग्रेसमै फर्कने आशा गरेका कुरा बाहिर आएको छ।

पछिल्ला केही समयदेखि कटु सम्बन्ध रहेका यी दुई दलका नेताबिचको भेटमा त्यति कुरा मात्र भए कि हाल राष्ट्रिय राजनीतिदेखि उनीहरूको आपसी सम्बन्धमा रहेका अनेकन गाँठा फुकाउने कुरा पनि भए? यसबारे केही सार्वजनिक गरिएको छैन।

यो पंक्तिकारको विचारमा एकले अर्काको अशुभ गर्न कुनै कुरा बाँकी नराखेका यी दुई दलका नेताले शिष्टाचार भेट गरेर चिप्लामिठा कुरामा मात्र ४५ मिनेटको समय त खर्चिएनन् होला। कांग्रेसविरुद्ध अति मुखर र चर्का कुरा गर्ने रास्वपाको कार्यशैली प्रत्युत्पादक भयो। कांग्रेस लगायतका ठूला दलविरुद्ध सञ्चालन गरेको सबै रणनीति र गठजोड विफल भए (जस्तै कि माओवादीसँगको हालैको ‘ब्रेकअप’ र आफूहरू झन्झन् कमजोर हुँदै गइयो भन्ने बुझेरै सम्झौता गर्न पूर्व कांग्रेसी वाग्लेलाई पठाइएको हुनुपर्छ।

रास्वपालाई आन्तरिक मूल्यांकन गर्न पनि सजिलो र उपयोगी होला कि भनेर केही सुझाव यहाँ प्रस्तुत गरेको छु। त्यसलाई रचनात्मक आलोचनाका रूपमा ग्रहण गर्ने कि पूर्वाग्रही वा नमागिएको सल्लाह भनेर बर्खास्त गर्ने उहाँहरूकै मर्जी !

रास्वपाका मित्रहरू!

प्रजातान्त्रिक शक्तिहरू एक हुनु राम्रो हो तर कम्युनिष्ट दलहरूको कुरा गर्ने हो भने उनीहरू आफैं आकार र प्रकार दुवैमा अनगिन्ती र आपसमा विभाजित छन्। यो हाम्रो धरातलीय यथार्थ हो। यो फुट र विभाजनको कारण नेताका स्वार्थ, अहं र महत्त्वाकांक्षाका टक्कर मात्र होइनन्। वैचारिक, रणनीतिक, कार्यनीतिक र पृष्ठभूमिगत भिन्नता समेत हुन्। त्यसरी अनेकन खेमा र ध्रुवमा विभाजित उनीहरू एक हुन सक्दैनन्। एक हुनका लागि सात सालदेखि सतहत्तर सालसम्म अनेकन चोटि भएका प्रयास सफल हुन नसकेको कुराको साक्षी इतिहास छ।

ध्रुवीकरणको कुरा सुन्नु र गर्नु पूर्व कांग्रेसले के बिर्सन हुँदैन भने विभिन्न कारणले अहिले नै कम्युनिष्ट ब्रान्ड छाडिहाल्न नसके पनि उग्रवामपन्थलाई त्यागेर लामो समयदेखि लोकतन्त्र र उदार अर्थतन्त्रको अभ्यास गरिरहेको नेकपा एमाले जस्तो पार्टी पनि छ। अब माथि भनिए बमोजिमको ध्रुवीकरण भइहालेछ भने एमालेलाई कुन कित्तामा धकेल्ने– प्रजातान्त्रिक कि कम्युनिष्ट? वैश्विक साम्यवादको पतन र शीतयुद्धको अन्त्यसँगै विश्वमा आएको विचारधारात्मक ध्रुवीकरणको अन्त्यको लहरबाट नेपालका कम्युनिष्टहरू पनि अलग रहन सकेनन्। जसको उदाहरण एमाले छँदैछ। फेरि झन्डै एक वर्षदेखि आफूसँगै सत्ता गठबन्धन गर्दै सहजतापूर्वक सहकार्य गरिरहेको र त्यस क्रममा आफूहरू बिच कुनै कथित वैचारिक मतभेद सामना गर्नुनपरेको अवस्थामा एमाले विरुद्ध कांग्रेसले कस्तो र कुन विचारधाराका आधारमा ध्रुवीकरण गर्ने?

कांग्रेस र एमाले अबको नेपालमा चुनावी प्रतिस्पर्धी हुन् र त्यही रहनुपर्छ । उनीहरू एउटा प्रजातान्त्रिक धारको अगुवा र अर्को कम्युनिष्ट धारको अगुवाका रूपमा ध्रुवीकृत बन्ने युग नेपालमा अब सकियो। अझै पनि मार्क्स र लेनिन रचित पाठ्यपुस्तककै आधारमा यो देश र विश्वमा कम्युनिष्ट क्रान्ति सम्भव छ भन्ने स्वप्नजीवी वामपन्थीहरू बाहेक अरूका लागि यो सुखद कुरा हो। त्यसैले आफू कमजोर हुँदै गएपछि ध्रुवीकरणको कुरा झिक्नुभन्दा पहिले रास्वपाले आत्मसमीक्षा गरेर सच्चिनु र बलियो हुनु राम्रो हुनेछ।

सुधारका क्षेत्र र सुत्र

पहिलो, रास्वपाले पार्टी अध्यक्ष रवि लामिछानेको व्यक्तिपुजा र देवत्वकरण छाड्नुपर्‍यो। ‘पार्टी भनेकै रवि र रवि भनेकै पार्टी’को मनोविज्ञानले दीर्घकालमा पार्टीलाई कमजोर बनाउँछ। सामूहिक निर्णय पद्धति नभएको र ‘देवतुल्य’ अध्यक्षको मनशायबाट चल्ने पार्टी पछि गएर आफ्नै गल्तीहरू र आन्तरिक कलहको भारले थिचिएर सकिन्छ।

समय छ, अझै केही बिग्रेको छैन; पार्टीलाई पार्टी बनाउनुपर्‍यो, रवि लामिछाने ‘फ्यान क्लब’ होइन। पार्टीको संस्थागत संरचनाको निर्माण र सुदृढीकरण गर्दै लैजानतिर ध्यान दिनुपर्‍यो। निश्चय नै पार्टी र त्यसका नेताहरूले रविले पार्टी स्थापना र अध्यक्षता गरे यताको राजनीतिक काम कुराको स्वामित्व लिनुपर्छ, बचाउ गर्नुपर्छ। यसको अर्थ रविले त्यसो गर्नुअघि गरेका वैयक्तिक प्रकृतिका क्रियाकलापलाई पनि अनावश्यक र अशोभनीय बचाउ गर्नमै पार्टीको सम्पूर्ण ऊर्जा र शक्ति खर्च गरिराख्नु पर्छ भन्ने होइन। यसो गरिरहे त्यस्तो कार्य ढिलो चाँडो पार्टीकै लागि आत्मघाती हुन्छ अर्थात् व्यक्ति कहिल्यै पार्टी हुन सक्दैन भन्ने कुरालाई मनन गर्नुपर्‍यो।

पार्टी स्थापना, निर्माण र २०७९ सालको आम चुनावमा पार्टीले हासिल गरेको चामत्कारिक सफलतामा रविको योगदानको कदर नगर्ने कुरै छैन तर के न्यायिक सफाइ पाई थुनामुक्त हुँदाका अवस्थामा उनी स्वतः ससम्मान अध्यक्ष बनी पूर्ववत् काम गर्ने गरी पूर्णाधिकार सम्पन्न वैकल्पिक नेतृत्वको प्रबन्ध गर्न सकिन्न? कार्यबाहक अध्यक्षलाई श्रीरामको खराउ पुज्ने हैसियतबाट माथि उठाइ स्वतन्त्र, सक्षम र क्रियाशील बनाउन सकिन्न?

दोस्रो, रवि माथि प्रतिशोध साध्नकै लागि सत्तारुढ दलहरूले राज्यको सबै शक्ति लगाएर दुःख दिएको रास्वपाको आरोप आंशिक सत्य नभएको होइन। रवि विरुद्धको सहकारी ठगीको मुद्दाका क्रममा जुन तदारुकताका साथ राज्यका अंगहरूले काम गरे, त्यसले प्रतिशोधको आशंकालाई बलियो तुल्याएकै छ। मनन गर्न जरुरी छ, एकदमै आदर्श र नैतिकवान रविलाई सरकारले झुट्टा मुद्दा लगाएको होइन। न त केही नगरिकन उनलाई मुद्दा लगाएको हो।

 एकपछि अर्को गरी अर्बौंको सहकारी ठगी रविले गरेकै भएर न प्रतिशोध साध्नेले पनि प्रतिशोध साध्न पायो। राज्यसँग उसको कर्तव्य पालनाका लागि चाहिने मारक शक्ति (कएर्सिब पावर) हुन्छ, हुनुपर्छ तर उसले खराब नियतले तिनको प्रयोग वा दुरूपयोग गर्न थालियो भने सबैले विरोध गर्छन्, गर्नुपर्छ। रविको हकमा पार्टीका मान्छेबाहेक अरूले किन विरोध गरेनन् भनेर विश्लेषण गर्नु पर्दैन रास्वपाले? प्रतिशोधलाई बढाइचढाइ गर्ने र त्यसको प्रतिकारलाई नै पार्टीको मूल कार्यनीति बनाउने रणनीतिले क्षणिक लोकप्रियता त दिलाउला तर त्यसले दिगो प्रतिफल नदिने निश्चित छ। प्रतिशोध स्वरूप झुट्टा मुद्दा लगाउने काम त आफू थोरै दिन सत्तामा छँदा पनि बरु रवि आफैंले गरेका थिए, कैलाश सिरोहियालाई थुनेर।

तेस्रो, तत्कालीन राजा ज्ञानेन्द्रले एकै पटक सबैलाई शत्रु बनाउँदा ती सबले आफूविरुद्ध मोर्चाबन्दी गरेको परिणामस्वरूप राजतन्त्र समाप्त भयो। रास्वपाले डेढ दशक अगाडिको देशकै इतिहासको त्यो घटनाबाट पाठ सिकेको देखिएन। सबै प्रमुख दल र मूलधारको मिडियालाई शत्रु बनाएर नपुगेर रविको मुद्दा परेका विभिन्न तह र क्षेत्रका न्यायाधीशहरूलाई समेत उनले शत्रु बन्न सक्ने स्थिति सिर्जना गरे। हुँदाहुँदा सामाजिक सञ्जालमा आफ्ना विपक्षमा स्टाटस राख्ने जो कोहीलाई पनि अत्यन्त निम्नस्तरको गाली गरेर शत्रु बढाउने काम गर्‍यो। त्यो पनि उसले अधिकांश परिचय लुकाइएका ट्रोलहरूको साइबर दस्ता खडा गरेर। कार्यबाहक अध्यक्ष डिपी अर्याल स्वयंले हालसालै सामाजिक सञ्जाल चलाउने पार्टीका कार्यकर्ता र समर्थकहरूले यो विषयमा संयमित र सतर्क हुनुपर्ने भनाइ राख्नु प¥यो पार्टीको एउटा कार्यक्रममा। त्यसपछि पनि त्यो प्रवृत्तिमा कुनै सुधार आएको देखिएन।

चौथो, २०७९ सालको संसदीय चुनावमा अप्रत्याशित रूपमा २१ सिट ल्याएपछि सरकारमा गएर दुई–तीनवटा विकासे मन्त्रालय लिएर पुराना र ठूला दलले गर्न नचाहेका, नसकेका सुशासन र डेलिभरी दिएर नमुना प्रस्तुत गर। रास्वपा सरकारमा पनि गयो, थोरै अवधिका लागि भए पनि पटक पटक। पार्टीको, खासगरी पार्टी अध्यक्षको शत प्रतिशत ध्यान र मोलमोलाई काम गरेर देखाउने विकासे मन्त्रालय पाउनलाई होइन, आफ्नो स्वार्थ बाझिएको र राज्यको मारक शक्ति हातमा रहेको गृह मन्त्रालय पाउनेमै रह्यो। जहाँ गएर आफूमाथि लागेको दोहोरो नागरिकता र राहदानीको अनियमितताको दाग मेटाउनु थियो उनलाई। उनले आखिर त्यसो गरेरै छाडे।

अन्त्यमा, सबभन्दा मुख्य र गुदी कुरा, रास्वपाले संगठन निर्माण गर्नुपर्‍यो। ठुलो जनाधार र राजनीतिक स्थान बनाएका अनि गाउँगाउँमा संगठन भएका कांग्रेस र एमालेसँग भिडेर आम चुनावमा बहुमत ल्याउन सजिलो छैन। त्यसका लागि देशव्यापी र दरो संगठन हुनैपर्छ। जुन कुरा गर्न समय, मेहनत, धैर्य र सुझबुझ चाहिन्छ। पार्टी निर्माण लामो र जटिल प्रक्रिया हो, सामाजिक सञ्जालको आक्रामकताका बलमा जुन प्रक्रिया पूरा हुँदैन। निराश र आक्रोशित भई नयाँ अनुहार/दलको खोजीमा रहेका सहरी क्षेत्रका सबै मतदाताले सधैं भोट दिँदैनन्।

इलामको संसदीय उपचुनावमा पार्टीका ‘स्टार’ नेता सबकासब हप्ता दिन त्यहाँ बसेर चुनाब अभियान सञ्चालन गर्दा पनि जमानत जफत भयो। अस्ति भर्खरको ३९ पालिकाहरूको लागि भएको उपचुनावमा जम्मा नौ स्थानमा लड्दा काठमाडौंको एउटा वडाध्यक्ष जिते पनि अरू बाँकी परिणाम त्यही गोता गयो। जसबाट ग्रामीण क्षेत्रमा उसको उपस्थिति र प्रभाव शून्यको शून्य नै रहेको स्पष्ट देखिन्छ।

यी र यस्ता कुराको आत्मसमीक्षा कहिले गर्ने? संगठन र कार्यकर्ता भएनन् भने स्टन्टबाजी, ठूलो डाँको, झुट्टा नैतिकताका हास्यास्पद कथनी, भावनाका व्यापार र अरूलाई गालीगलौज गरेकै भरमा मात्र सधैं चुनाब जितिदैन। यति कुरा रास्वपा जस्तो एकसेएक पढेलेखेका र विश्व देखे, घुमेका र बुझेका मानिसहरूले भरिएको पार्टीले नबुझ्ने कुरै हुँदैन। विज्ञेषु किमधिकम्!

प्रकाशित: १६ असार २०८२ ०८:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App