हाल मध्यपूर्वको संकट तेस्रो चरणमा छ। सुरुका दुई चरण पहिले इजरायलसँग र पछि संयुक्त राज्य अमेरिकासँग जोडिएको थियो। अब यो इरानतर्फ मोडिएको छ। पहिलो चरणमा इरान आणविक हतियार विकास गर्ने संघारमा पुगेकोमा चिन्तित हुँदै इजरायलले इरानी सैन्य स्थल, आणविक प्रतिष्ठान र नेतृत्वमा रहेका व्यक्तिहरूलाई आक्रमण गर्यो।
अक्टोबर ७ को हमास आक्रमणपछि संभावित जोखिमबाट बच्ने चाहना राखेको इजरायललाई विशेष अभियानमार्फत कमजोर पारिएका इरानी प्रोक्सीबाट हुने संभावित प्रतिशोधको यतिबेला खास डर थिएन। यसैगरी इरानको आत्मरक्षा गर्ने क्षमतासमेत कमजोर भएको ठानेर इजरायल यसपटक बढी हौसिएको थियो।
युद्धको दोस्रो चरण अमेरिकाले सुरु गर्यो। अमेरिकाले इरानको आणविक कार्यक्रमका तीनवटा मुख्य प्रतिष्ठानहरूलाई निशाना बनायो। आफ्ना अत्याधुनिक ‘बी–२ स्टिल्थ बमवर्षक’ हरू मार्फत अमेरिकाले फोर्डो र नतान्जस्थित युरेनियम संवर्धन परिसरमा धेरै ठूला ‘बंकर बस्टर’ बमहरू खसाल्यो भने अमेरिकी पनडुब्बीहरूले इस्फहानस्थित आणविक केन्द्रमा टोमाहक क्रुज मिसाइलहरू प्रहार गरे।
इजरायल र अमेरिका दुवैका लागि यो आफैंले रोजेको युद्ध थियो किनभने उनीहरूसँग अन्य विकल्प पनि उपलब्ध थिए। यसबाहेक, आक्रमणहरू आग्रहप्रेरित (प्रिइम्टिभ) नभई निवारक थिए। त्यसो त इरानको आणविक संरचनामा हुन सक्ने आक्रमण र विष्फोट धेरै अघिदेखि अपेक्षित थियो त्यसैले यो तत्कालको संकट होइन। कूटनीति आशाहीन अवस्थामा रहेको र अमेरिकी सेनालाई न्यूनतम जोखिममा राखेर मिसन सञ्चालन गर्ने अवसर बाहेक अमेरिकाले आक्रमणका लागि किन यतिबेला नै रोज्यो भन्ने कुरा अझै स्पष्ट हुन सकेको छैन।
यसका साथै इजरायल र अमेरिका दुवैले इरानसँगको वार्तामा धैर्य गुमाइसकेका थिए। इरानले आणविक हतियार विकास गर्ने लक्ष्यका साथ युरेनियम संवर्धन गरिरहेको थियो, बिजुली उत्पादन गर्ने उसको उद्देश्य थिएन।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले आदेश दिएका हवाई आक्रमणले सानदार सैन्य सफलता पाएको र तीनवटै इरानी आणविक सुविधाहरू पूर्ण रूपमा नष्ट भएको दाबी गरे। त्यसो त यो अझै प्रमाणित हुन बाँकी छ। सामान्यतया, यस्तो परिस्थितिमा बमले गरेको क्षति मूल्यांकन गर्न केही समय लाग्छ र यो विज्ञान जत्तिकै कलाको विषय पनि हो।
अझ महत्त्वपूर्ण कुरा के हो भने तीनवटा आणविक सरचनाहरू नष्ट गर्न अमेरिका सफल भए पनि इरानको समग्र आणविक हतियार विकास गर्ने प्रयासलाई पूर्णविराम लगाउन अमेरिका असफल हुन सक्छ। इरानसँग संवर्धित युरेनियम, उन्नत सेन्ट्रिफ्युज र अन्य बम–सम्बन्धित प्रविधिहरू अन्यत्र स्थानहरूमा सार्ने प्रशस्त अवसर थियो। ती स्थान अहिले पनि अज्ञात नै छन्। त्यसो भए इरानबाट के अपेक्षा गर्ने त?
इरानका प्रतिशोधात्मक विकल्पबारे धेरै अनुमान गरिएको छ। हुन पनि इरानले अमेरिका वा विश्वभरका अन्य निशानालाई लक्षित गरेर साइबर युद्ध छेड्न सक्छ। उसले अमेरिकी नागरिक, व्यवसाय र दूतावासहरू विरुद्ध विभिन्न आतंकवादी हमला गर्न सक्छ।
यसैगरी उसले मध्यपूर्वमा रहेका अनुमानित ४० हजार अमेरिकी सेनाका साथै आफ्ना अरब छिमेकीको ऊर्जा पूर्वाधारमा आक्रमण गर्न सक्छ। यमनस्थित हुथीजस्ता आफ्ना प्रोक्सीमार्फत स्थानीय जलमार्गमा जहाजको आवागमनमा थप हस्तक्षेप गर्न सक्छ। यद्यपि इरानले अहिले यी सबै कारबाही थालिहाल्छ भन्ने पनि छैन।
कतारस्थित अमेरिकी सैन्य आधारमा गरिएको ‘प्रदर्शनकारी’ आक्रमणले इरान तनावलाई थप चर्काउन नचाहेको र अर्थतन्त्र, सैन्यशक्ति तथा राजनीतिक नेताहरूलाई निशाना बनाउने गरी थप बाह्य आक्रमणबाट बच्न चाहन्छ भन्ने संकेत दिएको छ। फलस्वरूप तत्काल इरानले आफ्नो आन्तरिक शासन व्यवस्थालाई सुदृढ पार्नमा ध्यान केन्द्रित गर्ने सम्भावना छ, जसले उसको अस्तित्व सुनिश्चित गर्न सघाउ पुग्नेछ।
समयसँगै इरानले आफ्नो आणविक हतियार कार्यक्रमलाई पुनः सुरु गर्ने प्रयास गर्ने अपेक्षा गर्न सकिन्छ। इरानसँग आणविक शक्ति भएको भए यस प्रकारका इजरायली र अमेरिकी आक्रमण कहिल्यै नहुने धेरै इरानी ठान्छन्। उता कूटनीतिले इरानलाई आणविक आकांक्षा पूरा गर्ने दिशामा अगाडि बढ्नबाट रोक्ने सम्भावना छैन। यसको अर्थ के हो भने युद्धविराम भए पनि नभए पनि इरानले आणविक हतियार निर्माण गरीरहेको छ भन्ने जानकारी भएको अवस्थामा कुनै पनि वेला इजरायल वा अमेरिकाले आक्रमण गर्ने अवस्था कायमै रहन्छ।
यो पृष्ठभूमिमा धेरैको तर्क के छ भने आणविक अस्त्र सुसज्जित इरानको उदयलाई रोक्न शासन परिवर्तनबाहेक अरू विकल्प छैन। इरानले आणविक अस्त्र विकास गर्यो भने इजरायलको अस्तित्व खतरामा पर्न सक्छ र त्यतिबेला उसले यो क्षेत्रका अन्य देशलाई समेत आफ्नै आणविक हतियार बनाउने अभियानलाई इरानले नेतृत्व गर्नेछ। त्यसैले हाल इजरायल र अमेरिकाका केही वृत्तमा इरानमा शासन परिवर्तन हुनुपर्छ भन्ने आवाज उठिरहेको छ, यो आवाजलाई आश्चर्यको रूपमा लिनु आवश्यक छैन।
भन्न जति सजिलो छ, शासन परिवर्तन गर्न त्यति सजिलो छैन। यो त्यतिबेला मात्र संभव हुन्छ जब इरानमा बलियो र संगठित विरोध हुन सक्छ। त्यसले मात्र त्यहाँको शासन, वा नेतृत्वलाई हटाउन, सरकारलाई कब्जा गर्न उत्तराधिकारीको स्थापना गर्न सक्छ। तत्काल इरानमा यी कुनै पनि अवस्थाहरू छैनन्। यो समग्र पृष्ठभूमिमा वर्तमान सरकार वा यस्तै समान प्रकारको सरकार अझै धेरै समय सत्तामा रहनेछ भन्ने आकलनको आधारमा बाह्य विश्वले इरानप्रति आफ्ना नीति बनाउँदा बुद्धिमानी हुनेछ।
कटु सत्य के हो भने युद्ध सुरु गर्न एउटै पक्ष पर्याप्त हुन्छ तर यसलाई समाप्त गर्न संलग्न सबै पक्षहरू आवश्यक पर्छन्। अहिलेको मध्यपूर्व संकटमा थप पहल गर्ने कि नगर्ने भन्ने विषय इरानको हातमा छ। यसका शासकहरूले मात्र अमेरिकी आक्रमण ‘अन्त्यको सुरुवात हो वा सुरुवातको अन्त्य हो’ भन्नेमा निर्णय गर्न सक्छन्। उनीहरूले दिने जवाफमा धेरै कुरा भर पर्छ।
– हास अमेरिकी विदेश विभागका पूर्व नीति योजना निर्देशक हुन्। (प्रोजेक्ट सिन्डिकेटबाट)
प्रकाशित: १३ असार २०८२ ०६:११ शुक्रबार