मातातीर्थ औँसी जसलाई नेपाली आमाको दिनका रूपमा पनि चिनिन्छ। नेपालको सांस्कृतिक र परम्परागत चाडका रूपमा मनाइने यो पर्व जसले आमाहरू र नेपाली समाजमा उहाँहरूको गहन भूमिकालाई सम्मान गर्छ। यो दिन बाँचिरहेका आमाहरूलाई खुसी दिन छोराछोरीहरू समर्पित हुन्छन्। यो दिन दिवंगत आमाहरूप्रति कृतज्ञता, माया र स्मरण व्यक्त गर्ने मौलिक अवसर पनि हो।
यो पर्व नेपाली पात्रोअनुसार वैशाख महिनाको औँसी तिथिमा (अप्रिल/मे) मनाइन्छ। यो दिन एक यस्तो सांस्कृतिक उत्सव हो जसले आमाको निःस्वार्थ प्रेम र बलिदानहरूलाई सम्झन्छ। यो मातृत्वको उत्सव हो जसमा आमाप्रति कृतज्ञता उपहार र प्रार्थनाबाट व्यक्त गरिन्छ। जसले आमालाई गुमाएका छन् तिनीहरूका लागि यो एक आध्यात्मिक अवसर हो, आमाको आत्माको शान्तिका लागि प्रार्थना गरिन्छ।
पूर्वीय सभ्यता र मातृत्वको दिव्यता
पूर्वीय सभ्यताको मूल दर्शनमा स्त्रीलाई केवल पारिवारिक भूमिकामा सीमित गरिएको छैन, उनलाई सिर्जनाको आधार, जीवनको धार र नैतिक नेतृत्वको स्रोतका रूपमा सम्मान गरिएको छ। हिन्दु र बौद्ध परम्परामा देवी शक्ति– पार्वती, दुर्गा, लक्ष्मी, सरस्वती, तारामा नारी शक्ति र मातृत्वका लागि पूज्य देवता मात्र नभएर समाजमा नारीको स्थान, भूमिका र शक्तिको प्रतिनिधित्व हुन्।
पार्वतीको सहनशीलता, दुर्गाको साहस, सरस्वतीको ज्ञान, लक्ष्मीको समृद्धि र ताराको करुणालाई नेपाली समाजमा आमाहरूले व्यवहारमा उतारेर यिनै देवीहरूको गुणहरूलाई जीवन्त बनाउँदै आएका छन्।
संस्कार, शिक्षा र संस्कृति बोकेकी आमा
हाम्रो नेपाली संस्कृति धेरै पक्षवाट हेर्दा मौखिक परम्पराको बलमा जीवित रहेको देखिन्छ र यसको मुख्य स्रोत आमा हुन्। बाल्यकालमा सुनाइने लोककथा, नीति कथा, संस्कार, पञ्चाङअनुसारको पूजापाठ, यी सबै आमाबाटै थालिन्छ। हाम्रो संस्कारमा षोडषमातृत्वको पूजा महत्वपूर्ण छ। यसले समाजमा सन्तुलन, समर्पण र सहकार्यको भावना सिकाउने काम गर्छन्। परिवार मात्र नभएर राज्य संस्थाहरू कमजोर हुँदा पनि आमाहरू नै शान्ति, करुणा र सहअस्तित्वको संस्कार सन्तानमा प्रवाहित गरिरहेका हुन्छन्।
आपत्कालमा आमा
राजनीतिक द्वन्द्व, भूकम्प, महामारी, जस्तोसुकै आपत्को समयमा पनि नेपाली आमाहरूले घर, समाज र मनोबल सम्हाल्ने काम गरेका छन्। कतिपयले सामाजिक आन्दोलनमा भाग लिएका छन्, कतिपयले परम्परागत शिक्षाबाट नयाँ पुस्तालाई अनुशासन र आत्मबल सिकाएका छन्।
पूर्वी सभ्यताका प्रकाशपुञ्ज माताहरूमा माँ जिजाबाई (भारत)– मराठा साम्राज्यका संस्थापक शिवाजी महाराजकी आमा जिजाबाईले छोरोलाई स्वाभिमान, पराक्रम र धर्मपरायणताको पाठ पढाइन्। उनले शिवाजीलाई ‘स्वराज्य’ को सपना देख्न उत्प्रेरित गरिन्, जसले भारतमा आत्मनिर्भर शासनको विचारलाई जन्म दियो।
माया देवी (नेपाल)– बुद्धको आमा माया देवीले गौतम बुद्धलाई जन्म दिइन्, जसले मानव जातिलाई करूणा, ध्यान र आत्मबोधको मार्ग देखाए। यद्यपि उहाँको जीवन छोटो रह्यो, तर उहाँको मातृत्व सम्पूर्ण बौद्ध जगतमा पवित्र मानिन्छ। झाओ ई (चीन)– हान वंशकालीन झाओ ईले पतिको हत्यामा न्याय दिलाउन आफ्नै जीवन जोखिममा राखिन्। उनलाई चीनमा साहसी र धर्मनिष्ठ आमाका रूपमा स्मरण गरिन्छ।
पश्चिमा सभ्यताको आदर्श माताहरूमा कोर्नेलिया अफ्रिकाना (रोम)– रोमन सुधारक ग्राक्की दाजुभाइकी आमा कोर्नेलिया, शिक्षित, दार्शनिक र नैतिक आमाको प्रतीक थिइन्। उनले आफ्ना छोरालाई सुधारवादी नेतामा रूपान्तरण गरिन् र भनिन्– ‘यिनीहरू नै मेरा रत्न हुन्।’
सन्त मोनिका सन्त अगस्टिनकी आमा, मोनिका, विश्वास र धैर्यको प्रतीक मानिन्छिन्। उनले वर्षौसम्म छोराको आत्मिक रूपान्तरणका लागि प्रार्थना गरिन्, जुन अन्ततः क्रिस्चियन दर्शनमा महत्वपूर्ण परिवर्तनकारी बन्यो।
इस्लाम सभ्यताकी सम्माननीय आमाका रूपमा आमिना बिन्त वाहब (अरब)– इस्लाम धर्मका पैगम्बर हजरत मोहम्मदकी आमा आमिना बिन्न वाहबलाई सम्पूर्ण मुस्लिम समुदायले श्रद्धाले सम्झन्छ। यद्यपि मोहम्मद पैगम्बर सानै उमेरमा टुहुरो भए पनि माताको भूमिकाले आध्यात्मिक मार्गदर्शनको जग बसालेको मानिन्छ।
अफ्रिकी साहसी आमाहरूमा या आसान्तेवा (घाना)– अशान्ति साम्राज्यकी रानी आमाले ब्रिटिश उपनिवेशवादविरुद्ध विद्रोहको नेतृत्व गरिन्। युद्ध मैदानमा उत्रने आमाको साहसले महिलाको नेतृत्व क्षमता र मातृत्वको शक्ति एकसाथ देखाएको थियो।
आधुनिक युगका मानवतावादी माताहरूमा सुङ छिङ लिङ (चीन)– चीनका राष्ट्रपिता सुन यात सेनकी पत्नी सुङ छिङ लिङलाई आधुनिक चीनकी ‘मानवताको आमा’ भनेर चिनिन्छ। उनले बालबालिका, शिक्षा र महिला अधिकारमा काम गर्दै सामाजिक न्यायको पक्षपोषण गरिन्।
मदर टेरेसा (भारत)– यिनले कुनै सन्तान जन्माइनन् तर भारतका गरिब, लाचार र बिरामीहरूको सेवा गर्दै ‘गरिबका आमा’ को उपाधि पाइन्। उनको प्रेम र सेवा विश्वभर मातृत्वको आदर्श बन्यो।
स्मरण र संकल्पको दिन
मातातीर्थ औँसीमा विशेषतः चन्द्रागिरिको मातातीर्थ कुण्डमा दर्शन गर्न जाने परम्परा छ। जसको आमा दिवंगत भइसकेका छन्, उनीहरू आँखा रसाउँदै आफ्नी आमाको सम्झनामा तर्पण गर्छन्। यो केवल एक धार्मिक क्रिया होइन यो आमाको स्थानलाई ब्रह्माण्डको केन्द्रका रूपमा स्वीकार गर्ने आध्यात्मिक परम्परा हो।
वर्तमान समयमा, संसारभर प्राकृतिक विपद, वातावरणीय विनाश, मानसिक तनाव, सामाजिक द्वन्द्व र नीतिगत संकटहरू बढिरहेका छन्, यस किसिमको विषम परिस्थितिमा ती आमाले सिकाएका जीवनशैली– सादगी, करुणा, सन्तुलन र सहअस्तित्वलाई जीवनशैली बनाउन आवश्यक छ। ती आमाहरूका सत्कार्यको अझै सान्दर्भिकता छ।
प्रकाशित: १५ वैशाख २०८२ ०९:०४ सोमबार

