१ असार २०८२ आइतबार
image/svg+xml
विचार

व्यवस्था बदल्ने चैते हुरी

यतिखेर मौसम अलि प्रतिकूल छ। बढ्दो प्रदूषणले गर्दा मान्छे प्रताडित छन्। तर आन्दोलनकारीका लागि मौसम अनुकूल भएझैँ छ। त्यसैले एकपछि अर्को आन्दोलन हुँदैछन्। मौसम आन्दोलनमय भएको छ। यतिखेर राजापक्षधर, शिक्षक र लघुवित्त, बैंक  तथा मिटरब्याजपीडितहरू पनि राजधानीमा आन्दोलनरत् छन्।

एसइई परीक्षापछि उत्तरपुस्तिका परीक्षण र नतिजा प्रकाशन प्रक्रियामा संलग्न हुनुपर्ने देभरिका शिक्षकहरू विद्यालय शिक्षा ऐनको माग गर्दै राजधानीमा आन्दोलनरत छन्। आन्दोलनकै क्रममा चैत १५ गते गणतन्त्र पक्षधर र गणतन्त्र विरोधी अर्थात राजतन्त्र पक्षधरले काठमाडौँमा शक्ति प्रदर्शन गरे। प्रदर्शन अराजक बन्दा धनजनको क्षति भयो।

यसो त नेपालमा जनआन्दोलनबाटै व्यवस्था परिवर्तन भएका इतिहास छ। व्यवस्था परिवर्तनका लागि पटक पटक जनआन्दोलन भएका छन्। एउटा संयोग पनि छ कि परिवर्तनकारी आन्दोलनहरू चैत महिनामै भएका छन्। २०३५ चैतमा सुरु भएको थियो विद्यार्थी आन्दोलन।

आन्दोलन चर्किँदै गएर २०३६ जेठ १० गते तत्कालीन राजा वीरेन्द्रले निर्विकल्प भनिएको निर्दलीय पञ्चायती व्यवस्थाबारे जनमत संग्रह घोषणा गरेका थिए। यसैगरी प्रजातन्त्र पुनःस्थापनाका लागि २०४६ फागुन ७ गतेदेखि पञ्चायती व्यवस्थाविरुद्ध राजनीतिक दलहरूबाट संयुक्त जनआन्दोलन भएको थियो। अनि चैत २६ गते ३० वर्षीय पञ्चायती शासन व्यवस्थाको अन्त्य गर्दै प्रजातन्त्र पुनःस्थापना भएको थियो।

तत्कालीन राजा वीरेन्द्रले देशवासीका नाममा सम्बोधन गर्दै चैत २६ गते बहुदलीय व्यवस्थाको पुनःस्थापना भएको घोषणा गरेका थिए। यसैगरी २०६२ चैत २४ गतेबाट सुरु भएको जनआन्दोलनले १९औँ दिनमा राजा ज्ञानेन्द्रको स्वेच्छाचरिता समाप्त पारी २०६३ साल वैशाख ११ गते लोकतन्त्र पुनःस्थापना गरेको थियो। २०४६ चैत २६ गते दलहरूमाथिको प्रतिबन्ध हटाई बहुदलीय व्यवस्था स्थापना भएको र प्रजातन्त्र पुनःस्थापना भएको सम्झनामा हरेक वर्ष चैत २६ गते विभिन्न कार्यक्रम गरी जनआन्दोेलन दिवस मनाइँदै आएको छ।

चैत १५ गते व्यवस्था पक्षधरहरू पनि गणतन्त्रको रक्षाका लागि भन्दै संयुक्तरूपमा आन्दोलनमा उत्रिएका थिए। गणतन्त्रमाथि खतरा उत्पन्न भएको भन्दै गणतन्त्र पक्षधर राजनीतिक दलहरू एकजुट भएर आन्दोलनमा उत्रिएका थिए। तर गणतन्त्रलाई खतरा कोबाट भएको छ भन्नेमा चाहिँ ती राजनीतिक दलहरूले बेवास्ता गरेको देखियो। वास्तवमा गणतन्त्रमाथि खतरा तिनै गणतन्त्रवादी राजनीतिक दलहरूकै कारण उत्पन्न भएको यथार्थलाई गणतन्त्रवादी राजनीतिक दलहरूको कार्यशैली र आचरण तथा देशको अवस्थाले नै बताइरहेको छ।

गणतन्त्रवादी राजनीतिक दलहरूको आचरण र कार्यशैलीले जनतामा चरम निराशा र आक्रोश उत्पन्न गराएको छ भने देशको अवस्था उँधो लागेको स्थिति छ। पद, पावर र पैसाका लागि जे गर्न पनि तयार राजनीतिक दलहरूकै कारण जनतामा चरम निराशा र आक्रोश उत्पन्न भएको हो भने त्यही कारणले देश उँधो लागेको हो। यो यथार्थलाई राजनीतिक दलका शीर्ष नेतृत्वले बेवास्ता गर्दाको परिणाम नै अहिलेको सर्वोपरि निराशाजनक अवस्था हो।

चैत १५ गतेको आन्दोलनमा प्रत्यक्षरूपमा राजावादीको नाम जोडिए पनि त्यसमा वर्तमान व्यवस्था र विद्यमान राजनीतिक बेथितिप्रति असन्तुष्ट र आक्रोशित सर्वसाधारण जनताको पनि समर्थन र सहभागिता रहेको देखिन्छ। देशको अवस्था बदल्न अब व्यवस्था नै बदल्नुपर्ने आवश्यकता पनि महसुस हुन थालेको छ। यही व्यवस्था बदल्ने उद्देश्य बोकेर यतिखेर राजावादी राष्ट्रिय प्रजातन्त्र पार्टी पनि आन्दोलनमा होमिएको छ। उसले चैत २६ गते आन्दोलन गरी व्यवस्था बदल्नुपर्ने आवश्यकतालाई जोड दिएको छ।

देशलाई समृद्धिको शिखरमा पुर्‍याउने अथवा दुर्गतिको खाडलमा खसाल्ने देशको व्यवस्था र व्यवस्थाका सञ्चालकहरूले हो। हाम्रो देशको सन्दर्भमा भन्नुपर्दा व्यवस्थाका सञ्चालकहरू देशलाई समृद्धिको शिखरमा पुर्‍याउनुमा भन्दा दुर्गतिको खाडलमा जाक्न उद्यत रहेको उनीहरूको आचरण र कार्यशैलीबाट देखिन्छ। यसले गर्दा आमनागरिकमा चरम असन्तुष्टि र आक्रोश बढेको हो।

देशमा केही गर्न, बन्न र पाउन राजनीतिक दलको झोला बोक्नै पर्ने अवस्था यही व्यवस्था र व्यवस्थाका सञ्चालकहरूले सिर्जना गरेका हुन्। राजनीति र राजनीतिक दलसँग निरपेक्ष बस्ने स्वतन्त्र र सर्वसाधारण नागरिकले देशमा टिक्नै नसक्ने अवस्था पनि यही व्यवस्था र व्यवस्थाका सञ्चालकले नै सिर्जना गरेका हुन्।  परिणामस्वरूप यो व्यवस्थाप्रति चरम निराशा बढ्दै गएको छ।

प्रकाशित: २८ चैत्र २०८१ ०९:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App