२४ चैत्र २०८१ आइतबार
image/svg+xml १३:३० अपराह्न
विचार

जनकपुर एयरपोर्टमा मैले जे देखेँ!

जलवायु परिवर्तनका कारण मानव स्वास्थ्यमा पर्ने असरबारे नेपाल रिपब्लिक मिडिया (नागरिक दैनिक)द्वारा ‘म नागरिक म बनाउँछु नेपाल'’ भन्ने नाराका साथ फागुन ४ गते जनकपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गरी काठमाडौं फर्किन विमानस्थलतर्फ जाँदै थिएँ। विमानस्थल पुग्दा गेटनजिक मानिसको भिड देखियो। त्यहाँको गतिविधिलाई हेर्दा स्वास्थ्यसम्बन्धी कुनै घटना भएको सहजै अनुमान लगाउन सकिन्थ्यो। 

उडानको समय भइसकेको भए पनि मलाई त्यहाँ के भइरहेको छ? भन्ने जान्ने उत्सुकता भयो। त्यसैले गाडीबाट ओर्लिएर भिड भएतिर जाँदै गर्दा बिचमै एकजना मलाई चिन्ने व्यक्तिसँग भेट भयो। मैले उनलाई त्यहाँ के भइरहेको छ? भनेर सोधेँ। उनले भने– ‘डाक्टर साब, एक जना महिला यात्री ‘अराइभल कक्ष’निर एक्कासी बेहोस भइन्।’ ती व्यक्तिको भनाइ र घटनास्थलको वस्तुस्थिति देखेपछि म फटाफट ती महिलाको छेउमा पुगेर उनलाई नियालेँ। अर्धचेत अवस्थामा रहेकी करिब २० वर्षकी ती युवती पसिनाले निथ्रुक्क भिजेकी थिइन्। पतिले उनलाई समातेर उभ्याइरहेका थिए। 

मेरो सहयोग के रह्यो?
परिस्थितिको गम्भीरतालाई ख्याल गर्दै मैले ती युवतीलाई त्यहीं नै भुइँमा सुताउन लगाएँ अनि नाडी छामेँ। मैले मुस्किलले नाडी भेटाउन सकेँ। उनको नाडी अत्यन्तै धिमा थियो। मेरो अनुमानमा त्यति बेला ती युवतीको माथिको रक्तचाप ५०/६० को हाराहारीमा मात्रै थियो होला! यति बेलासम्म ती युवती पूर्ण अचेत भइसकेकी थिइन्। ती युवतीलाई शीतलता दिन मैले उपस्थित व्यक्तिलाई आग्रह गरेँ। मेरो आग्रहपछि धेरै जनाले कपडाले उनलाई हम्किए, कतिपयले आफ्नो कपडा त कतिपयले बच्चाको ज्याकेटले हम्किँदै उनलाई शीतलता प्रदान गर्ने प्रयास गरेँ। मैले पनि कपडाले हम्किएँ। 

त्यस बेलासम्म म चिकित्सक भएको कुरा त्यहाँ धेरै जनाले थाहा पाइसकेको हुँदा त्यहाँ उनीहरूले मलाई सघाइरहेका थिए। जसले गर्दा ती युवतीको प्राथमिक उपचार गर्न सहज वातावरण बन्यो। मैले भुइँमा सुताइएर ती युवतीको टाउको तल तथा दुवै खुट्टा माथि गर्न लगाएँ। उनलाई होसमा ल्याउन मैले उनको नाम सोधेँ तर उनले मेरो प्रश्नको उत्तर फर्काउन सकिरहेकी थिइनन्। मेरो हात उनको नाडीमै थियो। मैले उनको नाडीको गतिलाई सूक्ष्म तरिकाले विश्लेषण गरिरहेको थिएँ। क्रमशः उनको नाडीको गति सुधारोन्मुख थियो। केही बेरपछि उनी पूर्ण होसमा आइन्।  

उनी को थिइन्?
प्राथमिक उपचार गर्दा गर्दै मैले ती युवतीबारे सोधेँ। उनी नवविवाहिता रहिछिन्। भारतको विहारस्थित सीतामढी निवासी उनी श्रीमान्सहित काठमाडौं घुमेर जनकपुर फर्किंदै गर्दा स्वास्थ्यमा समस्या आएको थियो। होसमा आएपछि मानिसले उनलाई उठाएर अर्को ठाउँमा बसाउन खोजे। तर, मैले रोक्दै उनलाई त्यहीं नै सुत्न लगाउँदै आराम गर्न लगाएँ। उनको होस आइसकेको र नाडी छाम्दा मलाई सन्तोष लागेपछि मैले मेरो ड्राइभरलाई भनेर जुस मगाएर उनलाई दिएँ। उनी पूर्ण रूपमा होसमा आइसकेको हुँदा मैले उनलाई जुस खुवाउन उपयुक्त ठानेँ। यस्तो बेलामा जीवन जल वा नुनिलो झोल खुवाउँदा बढी उपयुक्त हुन्छ। यद्यपि, त्यो उपलब्ध नभए जुस वा पानी दिँदा पनि लाभप्रद नै हुन्छ। यसले शरीरमा पानीको सन्तुलन मिलाउँछ र रक्तचापलाई माथि लैजान मद्दत गर्छ। त्यसबेलासम्म मलाई विमानका कर्मचारीको फोन आइरहेको थियो। उडानको समय पनि भइसकेको हुँदा ती युवतीलाई सुरक्षित देखेपछि म उनलाई त्यहीं नै छोडेर विमानस्थलभित्र गएँ। बोडिङ पास लिएपछि बुझ्दा ती युवती र उनको परिवार त्यहाँबाट हिँडिसकेका रहेछन्।

उनलाई के भएको थियो?
चिकित्सकीय भाषामा ती युवतीलाई ‘भासोभगल सिन्कोप’ भन्ने समस्या भएको थियो। कुनै विशेष अवस्थामा रक्तचाप, मुटुको धड्कन कम हुने तथा मस्तिष्कमा पर्याप्त रक्तसञ्चार नपुगेर मानिस अचानक बेहोस हुने समस्यालाई भासोभगल सिन्कोप भनिन्छ। 

यस्तो अवस्थामा कसरी सघाउने? 
यस्तो बेला बिरामीलाई ऊ जहाँ छ, त्यहीं टाउको तल खुट्टामाथि गरेर सुताउनुपर्छ। वरिपरिको वातावरणलाई चिसो बनाउने, हावा आउने वातावरण बनाउने, बिरामीको श्वासप्रश्वासलाई ख्याल गर्ने, घाँटीको कपडा खोलिदिनेलगायतका कार्य गर्नुपर्छ।

के गर्नु हुन्न? 
त्यस्तो बेलामा बिरामी बसाउने, उठाउने, हिँडाउने, पानी खुवाउने, नाकमुख छोपिदिनेजस्ता कार्य गर्नुहुँदैन। केही समयभित्र प्रतिरोधात्मक क्षमता पुनः सुचारु भएपछि बिरामी सामान्य अवस्थामा फर्किन्छन्। उसको रक्तचाप र नाडी बिस्तारै पहिलाकै अवस्थामा स्वतः आउने सम्भावना बढी हुन्छ। त्यस्तो बेला अरू मानिसले विशेष ख्याल गर्नुपर्छ। मेरो विचारमा ती युवतीलाई काठमाडौंको चिसो मौसमबाट एकैपटक जनकपुरको गर्मीमा गइन्। उनले अत्यन्तै बाक्लो कपडा पनि लगाएकी थिइन्। विवाह, घुमफिरको धपेडी, खानामा अनियमितताजस्ता कारणले त्यो समस्या भएको हुनुपर्छ।

भासोभगल सिन्कोप हुनुको कारण?
लामो समयसम्म उभिइरहेमा, भोकै वा उपवास बसेका बेला, राति सुतेर अचानक बाथरुम जाँदा, रक्तदान गरेपछि, विभिन्न कारणबाट अत्यधिक दुखाइ, पिसाब बढी च्यापेका बेला, डर, तनाव वा भावनात्मक आघात हुँदा, असहज वा अप्रत्यासित दुखाइ हुँदा, तातो ठाउँमा लामो समय बस्दा भासोभगल सिन्कोप हुने सम्भावना बढी हुन्छ।

लक्षणहरू के के हुन्?
टाउको हलुका महसुस हुनु, आँखा धमिलो हुनु, बिनाकारण खलखल पसिना आउनु, पेट बिग्रिएजस्तो महसुस हुनु, शरीर कमजोर हुनु, वाकवाकी लाग्नु, अचानक दिशा लाग्नु र एक्कासी बेहोस वा अर्धचेत हुनु। 

रोकथामका उपाय
लामो समय उभिनु परेमा बेला बेला बस्ने वा खुट्टा चलाइरहने, प्रशस्त पानी पिउने, खानपान राम्रो राख्ने, तातो वातावरणमा धेरै समय नबस्ने, बेहोस हुने लक्षण आएपछि तुरुन्त बस्ने वा सुत्ने, खुट्टामाथि उठाउने, मस्तिस्कमा रक्तसञ्चार गराउने, केही मिनेट आराम गर्ने, कोल्टे भएर सुत्ने ताकी बान्ता भए खाना नअड्कियोस्, शरीरलाई शीतल बनाउने, व्यक्ति बेहोस भइसकेको छ भने उसलाई ढल्न नदिने, सपोर्ट दिएर सुताउने, खुट्टामाथि उठाइदिने (रक्तसञ्चार सुधार गर्न), कसिलो लुगा भए फुकालिदिने (जस्तै टाइट बटन, टाई, बेल्ट आदि), ताजा हावा आउन सहयोग गर्ने। कोठाभित्र हुनुहुन्छ भने झ्याल खोल्ने। होस खुलेपछि बिरामीलाई बिस्तारै उठ्न दिई पानी वा झोलिलो पदार्थ पिउन दिने। चिकित्सकको सल्लाह लिनुहोस्। सामान्यतः भासोभगल सिन्कोप खतरनाक हुँदैन। तर, सचेत भने हुनुपर्छ ।
– लेखक, मुटुरोग विशेषज्ञ तथा स्वास्थ्य नवप्रवर्तक ।
 

प्रकाशित: ६ फाल्गुन २०८१ ०९:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App