१३ माघ २०८१ आइतबार
image/svg+xml
विचार

मनोरोगी बढाउँदै वायु प्रदूषण

विषाक्त वायुका आधारमा काठमाडौँ संसारकै प्रदूषित सहरहरूको अग्रसूचीमा छ। पहाडले घेरेको उपत्यकामा धुवाँ र धुलो हट्न सजिलो छैन। एक निश्चित मापदण्डसम्मको विषादी वायुमण्डलले आफैं शुद्धीकरण गर्ने भए पनि घना बस्ती, कलकारखाना र सवारी साधनको धानिनसक्नु चापले उत्सर्जित धुवाँधुलो महानगरको हावामा लामो समयसम्म बसिरहन्छ। सहर दूषित वायुमा छोपिँदा बासिन्दाको श्वासप्रश्वासमा दख्खल पर्छ।

विषाक्त हावाले श्वास प्रणालीको नियन्त्रक फोक्सोलाई प्रभाव पार्ने ठान्नु स्वाभाविक हो। धेरै वर्षसम्म पनि खराब हावाले मानिसको श्वास/प्रश्वास प्रणालीलाई मात्र असर पार्छ भन्ने सोच थियो तर वैज्ञानिक खोजले खराब हावाको असर बहुआयामिक पाएको छ। विविध कारणले सिर्जित पर्यावरणीय धुलो, धुवाँलगायतका रासायनिक पदार्थ वायुमण्डलमा पुग्छन्। हावामा रहेका पदार्थ श्वासमार्फत फोक्सोमा पुग्छन्। ठूला अणुहरूले रासायनिक चरित्रअनुरूप फोक्सोलाई क्षति पुर्‍याउँछन्। तर ०.१ म्याक्रोनभन्दा साना कण फोक्सोबाट सिधै रक्त सञ्चारमा पुग्छन्। यसरी रगतमा पुगेका सूक्ष्म कण रक्त सञ्चारमार्फत मुटु, कलेजो, मिर्गाैलालगायतका अंगमा पुग्छन्। हावामा रहेका सूक्ष्म कण तथा रासायनिक पदार्थले महत्वपूर्ण अंगहरूलाई घात गर्छ, तन्तुलाई काम नलाग्ने बनाउन सक्छ।

खराब तत्व रगतमार्फत विभिन्न अंगमा पुगेपछि शरीरमा सक्रिय ‘फ्री र्‍याडिकल’ पनि बन्छ। अस्थिर चरित्रको स्वतन्त्र रासायनिक तत्वले सम्पर्कमा आएका अणुहरूसँग प्रतिक्रिया गरी नवीन तत्व बनाउँछ। अथवा ‘फ्री र्‍याडिकल’ ले महत्वपूर्ण अंगमा रहेका आनुवांशिक पदार्थ डिएनए, आरएनए, प्रोटिन, इन्जाइमलगायतका तत्वसँग मिल्न सक्छ। अणुवांशिक पदार्थमा जीवको अस्तित्व कायम रहने भएकाले डिएनएमा क्षति पुगेपछि क्यान्सरलगायतका विभिन्न रोग भित्रन्छन्। त्यस्तै प्रोटिन तथा इन्जाइममा खराबी आएपछि सम्बन्धित अंगले आफ्नो दायित्व पूरा गर्न सक्दैन। जैविक प्रक्रियाका सहयोद्धारूपी इन्जाइमहरूमा खराबी आएपछि अंगहरू काम नलाग्ने हुन्छन्। व्यक्ति रोगी हुन्छ। मृत्यु पनि हुनसक्छ।

यसरी वातावरणमा रहेका रासायनिक पदार्थ र सूक्ष्माणु शरीरको विभिन्न भागमा पुगेपछि त्यसले आफ्नो रवैया देखाउने नै भयो। हावामा रहेका तत्वहरूले तन्तुलाई विभिन्न कोणबाट आघात पुर्‍याएपछि विभिन्न समस्या देखिन्छ। फोक्सोलगायतका दर्जनौँ किसिमका क्यान्सर मात्र होइन, बरु मुटुरोग, स्ट्रोक, मधुमेहदेखि हड्डीसम्बन्धी विभिन्न रोग लाग्नु अस्वाभाविक भएन। 

रगतमा पुगेका विषादी रक्त नलीमार्फत शरीरका अन्य भागमा पुग्छ भन्ने यथार्थ लामो समयदेखि जानकारीमै थियो। तर त्यस्ता खराब तत्वहरू मस्तिष्कमा भने पुग्दैन भन्ने मान्यता थियो। शरीरको सबैभन्दा महत्वपूर्ण तन्तु भएकाले रगतमा रहेका विषादी, ब्याक्टेरिया, भाइरसलगागतका सूक्ष्माणुहरू मस्तिष्कमा सजिलै नपुगोस् र दिमागमा घात नपुगोस् भनेर प्रकृतिले फिल्टरका रूपमा ‘ब्लड ब्रेन ब्यारिएर’ बनाएको छ। 

प्राकृतिक छान्नेले रगतमा रहेका विषादीलाई फिल्टर गरी स्वच्छ रगत मात्र दिमागमा जानदिन्छ भन्ने विश्वासका कारण चिकित्सकहरूलाई लामो समयसम्म हावामा भएका अस्वस्थकर पदार्थले मस्तिष्कलाई खराबी पुर्‍याउँछ भन्ने विश्वास थिएन। त्यसरी मानसिक स्वास्थ्यबारे ढुक्क रहेको आयुर्विज्ञान क्षेत्रलाई केही दशकअघि प्रकाशित एक अन्वेषणले झस्काएको छ । प्रारम्भिक अध्ययनले प्रदूषित हावा भएको सहरमा मानसिक रोगीको संख्या अस्वाभाविक उकासिएको देखाएको छ ।

प्रतिशतका हिसाबले मानसिक बिरामीको संख्या सबै स्थानमा समान हुनुपर्नेमा विषाक्त हावा भएको सहरमा मानसिक रोगीको संख्या अत्यधिक देखिएपछि थप अध्ययन आवश्यक भयो। के दूषित वायुले मानसिक सन्तुलन बिगार्छ त भन्ने प्रश्नको उत्तर खोज्ने क्रममा नतिजाहरूले विषाक्त हावा र मानसिक स्वास्थ्यबीच प्रत्यक्ष सम्बन्ध देख्यो। 

पछि ल्याब परीक्षणले प्रकृतिले धेरै चलाखीपूर्णरूपले खराव तत्व दिमागमा नपुगोस् भनेर बनाएको फिल्टरले हावामा घुलोका केही खराव तत्वलाई भने रोक्न नसकेको देख्यो। यसरी वातावरणका खराबतत्वहरू मस्तिष्कमा पुगेपछि तिनीहरूले दिमागलाई बिगार्नु अस्वाभाविक भएन नै। तथ्यांकले वायुप्रदूषण र मानसिक स्वास्थ्यबिच सम्बन्ध स्थापित भए पनि ठोस प्रमाणका लागि कुनै पनि परिदृश्यलाई बायोलोजिकल अन्वेषणले पुष्टि गर्नुपर्छ।

अमेरिकाको जर्जिया इन्स्टिच्युट अफ टेक्नोलोजीका रेन्डल इंगल नेतृत्वको समूहले संसारको सर्वाधिक वायुप्रदूषण भएको मेक्सिको सिटीमा बस्ने बच्चाहरूको दिमागको बायोलोजिकल बनोट अध्ययन गरी सन् २००८ मा एक लेख जर्नल ब्रेन एन्ड कग्निसनमा प्रकाशित गरे। दिमागसँग सम्बन्धित आनुवांशिक पदार्थ, आरएनएको परीक्षण अनि मस्तिष्कको एमआरआई गर्दा हावाको प्रदूषणले अल्जाइमर रोगका लागि जिम्मेवार प्रोटिन बन्ने देखियो। यसरी स्मरण भण्डारण गर्ने दिमागको ‘कर्टेक्स’ मा बिर्सने रोगलाई बढाउँने ‘एमाइलोज वेटा प्लेक्स’ जस्ता प्रोटिन बनेपछि मानसिक समस्या हुन्छ नै।

सन् २०२३ मा जामा साइकियाट्री जर्नलमा प्रकाशित आलेखले संयुक्त अधिराज्यको युके बायो बैंकमा सहभागी तीन लाख ८९ हजार जनसंख्याको मानसिक स्वास्थ्यलाई केन्द्रमा राखी वायु प्रदूषणले व्यक्तिमा मानसिक चिन्ता र बेचैनी देखिने बतायो। त्यस्तै गत वर्ष मात्र स्कटल्यान्डका दुई लाख बासिन्दालाई १६ वर्ष लामो निगरानी गरी पृथक अध्ययन प्रकाशित भयो। उक्त अन्वेषणले सवारीसाधनले निकाल्ने धुवाँले स्कटल्यान्डका नागरिकलाई मानसिक रोगका कारण अस्पताल पु¥याउने संभाव्यता अधिक देख्यो। समानरूपले अमेरिका, फ्रान्स र चीनमा गरिएका फरक–फरक अध्ययनले सहरको वायुप्रदूषणले उक्त नगरका बासिन्दाको मानसिक रोगलाई निर्देशित गर्छ भन्ने देखायो। साथै सन् २०२४ मा प्रकाशित द लान्सेट कमिसन्सको प्रतिवेदनअनुसार वायु प्रदूषण र मस्तिष्क रोगबीच प्रत्यक्ष सम्बन्ध रहेको पाइएको छ। 

यसरी दर्जनौँ अन्वेषणले वायु प्रदूषणले दिमागी समस्या भित्र्याएको भन्नु, मोलिक्युलर हिसाबले हावामा रहेका विषादी दिमागमा पुगेको देखिनु अनि ‘ब्रेन स्क्यान’ ले बिर्सने रोगको कारक प्रोटिन स्मरण भण्डार, कर्टेक्समा पाइनुलगायतका परिदृश्यले काठमाडौँको वायुले महानगरका बासिन्दालाई दिमागी रोगको सिकार बनाउने भन्छ नै। तसर्थ महानगरले आफ्नो इलाकामा वायुप्रदूषण घटाउन सक्ने हो भने बासिन्दालाई शारीरिक तथा मानसिक दुवैरूपमा स्वस्थ राख्न सकिने देखिन्छ।

संसारका १२ प्रतिशत मृत्युको कारक दूषित हावा रहेको डब्लुएचओको ठहर्छ भने वायु प्रदूषणले लाखौँ मानिसलाई दिमागी समस्यामा धकेलेको देखिन्छ। युनिभर्सिटी अफ सिकागोको इनर्जी पोलिसी इन्स्टिच्युटले वर्गीकृत गरेको २५२ देशमध्ये वायु प्रदूषणको हिसाबले बाङ्लादेश र भारतपछि नेपाल तेस्रो स्थानमाछ। नेपालले आफ्नो हावाको स्तरलाई डब्लुएचओको मापदण्डमा ल्याउन सक्ने हो भने नेपालीको सरदर आयु चार वर्ष सात महिना बढ्ने बताउँछ एयर क्वालिटी लाइफ इन्डेक्स प्रतिवेदन। त्यस्तै एक अध्ययनले विषाक्त हावाका कारण बर्सेनि झन्डै 

५० हजार नेपालीले अकाल मृत्युवरण गर्ने गरेको बतायो। ठूला शहरको हावा गाउँको भन्दा दूषित हुने भएपछि दूषित वायुसँग जोडिएका मरणहरू महानगरमा अधिक देखिने नै भयो। त्यस्तै विषाक्त हावाले शारीरिक समस्याका अतिरिक्त दिमागी रोग पनि उकास्ने भएकाले वायु प्रदूषण नियन्त्रणको दरोकार परेको हो। दूषित हावालाई शुद्ध बनाउन व्यक्तिको एक्लो प्रयासले सम्भव हुँदैन। सबैैले श्वास फेर्ने हावा एकै भएपछि विषाक्तवायुले भित्र्याउने रोगले धनी, गरिब, शासक, शासितलाई फरक व्यवहार गर्दैन।

आफ्नो निहित स्वार्थमा मात्र काम गर्ने नेताहरूलाई चक्रपथको धुलोधुवाले गरिब जनताको स्वास्थ्य मात्र बिगार्दैन, बरु उनीहरूलाई पनि खराब गर्ने सन्देश पुर्‍याउन सके कानुनी परिमार्जन तथा कार्यक्रममार्फत काठमाडौँको वायु प्रदूषणलाई नियन्त्रणमा ल्याउन नसकिने होइन। जनचेतना अनि सरकारी र गैरसरकारी प्रयासलाई सँगै लान सके वायु प्रदूषण नियन्त्रणगरी नेपालीको स्वास्थ्य अवस्था सुधार्न सकिन्छ ।
– पोखरेल अमेरिकास्थित इन्फिनिटी ल्याबरेटोरिजका क्षेत्रीय निर्देशक हुन् ।

प्रकाशित: ९ माघ २०८१ ०८:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App