हिजो बिहीबार १९ तारिखका दिन कोरियाको सियोलमा नेपाल र गणतन्त्र कोरियाका मन्त्रीहरूबीच दुई देशबीचको व्यापार तथा लगानी प्रवर्द्धन फ्रेमवर्क (टिआइपिएफ)मा हस्ताक्षर सम्पन्न भएको छ। दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औं वर्षगाँठको उपलक्ष्यमा आर्थिक साझेदारीलाई मजबुत बनाउन संस्थागत रूपमा बलियो आधार स्थापना भएको छ। (टिआइपिएफ) सम्झौतामा कोरिया र नेपालले व्यापार विस्तार, लगानीमैत्री नीति तथा कानुन तर्जुमा, उत्पादन तथा उत्पादकत्व वृद्धि, व्यावसायिक वातावरणमा सुधार र दुई देशका उच्चस्तरीय अधिकारीबीच नियमित परामर्श च्यानल सञ्चालनलगायत समग्र अर्थतन्त्रमा सहयोग विस्तार गर्ने आधारका रूपमा काम गर्ने अपेक्षा गरिएको छ।
नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको नेतृत्वमा नेपाल उद्योग वाणिज्य महासंघलगायतका विभिन्न आर्थिक क्षेत्रमा आबद्ध प्रतिनिधि मण्डलको कोरिया भ्रमणले दुई देशबीचको व्यापार तथा लगानी सहकार्यमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। मन्त्रीस्तरीय कोरिया भ्रमणका क्रममा दुई देशका मन्त्रीबीच वार्तालाप हुनुका साथै नेपालमा लगानी भित्र्याउन सेमिनार, नेपाल बिजनेस फोरम, कोरिया आयातकर्ता संघसँग एमओयुमा हस्ताक्षर र कोरिया चेम्बरका पदाधिकारीसँगको भेटघाट हुनुका साथै आपसी सहकार्यका एजेन्डा समावेश भएका छन्। त्यसैगरी कोरियाका साना तथा मझौला उद्योग महासंघका पदाधिकारीसँग वार्तालापले पनि सहकार्यका लागि सकारात्मक भूमिका खेल्छ भन्ने लाग्छ।
नेपालमा जलविद्युत् उत्पादन, सूचना प्रविधि, कृषि र पर्यटनजस्ता क्षेत्रमा कोरियाली लगानीकर्तालाई लगानीको सम्भावनाबारे जानकारीमूलक विभिन्न कार्यक्रम भव्यतासाथ सम्पन्न भएको छ। नेपाली प्रतिनिधि मण्डलको यस पटकको औपचारिक कोरिया भ्रमणले कोरियाली लगानीकर्तालाई नेपाल भित्र्याउन तयार रहेको सन्देश प्रवाह भएको छ। कूटनीतिक सम्बन्धको ५०औं वर्षगाँठको उपलक्ष्यमा मन्त्रीज्यूको उच्चस्तरीय भ्रमणले दुई देशका व्यवसायीबीच आपसमा समन्वय गर्ने निकै अर्थपूर्ण र फलदायी अवसरका रूपमा लिन सकिन्छ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र कोरिया आयातकर्ता संघ (कोइमा)का अध्यक्ष किम ब्यङ–ग्वानबीच सहकार्यको एमओयुमा हस्ताक्षर गर्नु भएको छ। यस सम्झौतापश्चात् नेपाली उत्पादन कोरिया प्रवेश गर्ने अवसर प्राप्त हुनुका साथै नेपालमा उत्पादित सामानको कोरियाली बजार विस्तारमा उल्लेख्य सहयोग मिल्ने अपेक्षा गरिएको छ। नेपालको पर्यावरणमैत्री उत्पादन कोरियाली उपभोक्ताका लागि आकर्षक हुनेछ भन्ने मेरो बुझाइ रहेको छ। नेपालको उत्पादनका रूपमा सबैमाझ परिचित पस्मिना, कफी र चिया तथा लत्ता कपडा कोरियाली बजारसम्म निर्यातका लागि उल्लेख्य प्रगति हुनेछ भन्ने लाग्छ।
पछिल्लो समय नेपालबाट कोरियामा फेसनका सामान, कपडाजन्य उत्पादन र संगीत वाद्ययन्त्र, हिलिंग साउन्ड्स (सिंगिंग बल्स)को निर्यातमा उल्लेख्य वृद्धि भएको अवस्था छ। नेपालको हिमालय ब्रान्डको रणनीतिक उपयोग गरी उच्च मूल्यका सामान उत्पादन तथा बजारीकरण गर्नुपर्ने देखिन्छ। उदाहरणका लागि एक कोरियाली चुरोट उत्पादक कम्पनीले सन् २०१९ मा ‘एसे हिमालया’ नामक सिग्रेट उत्पादन लन्च गरेदेखि नै राम्रो बिक्री गरिरहेको छ। उक्त सिग्रेटका लागि आवश्यक कच्चा पदार्थ (सुर्तीको पात) को १० प्रतिशत नेपालबाट आयात गरी समावेश गरेको छ। यस सिग्रेटले हिमालयको ब्रान्ड छवि प्रयोग गरी उत्पादनको लोकप्रियता प्राप्त गरिरहेको छ।
कोरिया र नेपाल बौद्ध सांस्कृतिक पृष्ठभूमि साझा भएकाले नेपाली बौद्ध धर्मसँग सम्बन्धित उत्पादनहरूले पनि कोरियाली बजारमा उल्लेख्य स्थान पाएका छन् र यसको अझै विस्तार हुने अपेक्षा गर्न सकिन्छ। आयात र निर्यातसहितको व्यापार परिमाणका आधारमा नेपाल कोरियाको १४२औं ठुलो व्यापार साझेदार राष्ट्रको सूचीमा छ। दक्षिण एसियाका देशमध्ये बंगलादेश ५४औं स्थानमा र श्रीलंका ९२औं स्थानमा रहेको अवस्थालाई तुलना गर्दा कोरिया र नेपालबीचको पारस्परिक व्यापार विस्तार गर्ने प्रचुर सम्भावना छ।
नेपाल सरकारको तथ्याङ्कअनुसार नेपालमा वैदेशिक लगानीका हिसाबले कोरिया आर्थिक वर्ष २०२३/२४ मा तेस्रो ठुलो वैदेशिक लगानी गर्ने मुलुकका रूपमा रहेको छ। यसले कोरियाली कम्पनीहरूले नेपालको लगानीको सम्भावनालाई ध्यान दिइरहेको प्रमाण हो भन्ने मेरो बुझाइ रहेको छ। कोरिया प्रायः नेपालका लागि प्रमुख र स्थिर लगानी गर्ने देश भएको छ, विगतदेखि नै नेपालमा वैदेशिक लगानी गर्ने शीर्ष पाँचौं स्थानभित्र छ।
कोरियाली कम्पनीहरूले नेपालमा ऊर्जा, सेवा, पर्यटन, सूचना प्रविधि, कृषि, उत्पादनलगायतका क्षेत्रमा ठुला तथा साना आकारका लगानी गर्दै आएका छन्। उदाहरणका लागि हाइमो नामक कोरियाली विग (नक्कली कपाल) उत्पादन गर्ने कम्पनीले लगानी गरी मन्डुमो नामक स्थानीय कम्पनी स्थापना गरी काठमाडौंनजिकै नक्कली कपाल उत्पादन गर्ने कारखाना सञ्चालन गर्दै आएको छ। साइजअनुसारको माग भएअनुसार उत्पादित एक सय प्रतिशत नक्कली कपाल कोरियामा नै निर्यात गरिन्छ। गत वर्ष ६ सय ८० जना नेपाली महिलाले रोजगारी पाएका थिए भने यस वर्षको अन्त्यसम्ममा कम्पनीले उत्पादन विस्तार गर्ने लक्ष्यअनुसार झन्डै आठ सय जना महिलालाई रोजगारी दिने चरणमा रहेको छ। यस्ता किसिमका वैदेशिक लगानीले ठुलो संख्यामा स्थानीय स्तरमा रोजगारी सिर्जना तथा प्रविधि हस्तान्तरण गर्ने अवसरका रूपमा लिनुपर्छ।
नेपाल सरकारले यस वर्षको सुरुवातबाट नै वैदेशिक लगानी भित्र्याउन प्रणालीमा धेरै सुधार गरेको छ। नीतिगत सुधारले भविष्यमा लगानी अवसरको खोजीमा रहेका व्यवसायीले बिनाझन्झट लगानी गर्नेछन् भन्ने लाग्छ। तथापि विदेशी लगानीकर्ताको दृष्टिकोणबाट हेर्दा सुधार गर्नुपर्ने क्षेत्रहरू अझै बाँकी रहेका छन् भन्ने लाग्छ। वैदेशिक लगानी आकर्षण तथा विस्तार गर्न नेपाल सरकारको नीतिगत सुधारका लागि निरन्तर प्रयास आवश्यक देखिन्छ। विदेशी लगानीकर्तालाई संरक्षण गर्नका लागि द्विपक्षीय लगानी ग्यारेन्टी सम्झौतालाई पनि सक्रिय रूपमा अगाडि बढाउनु पर्छ। कोरियाली सरकार र कम्पनीहरूले पनि नेपालसँग लगानी ग्यारेन्टी सम्झौता गर्ने आशा राखेका छन् र यसले छिटै सार्थकता मिलोस् भन्ने अपेक्षा गर्छु।
सन् २००७ बाट लागू भएको रोजगार अनुमति प्रणालीमार्फत कोरियामा रोजगारीको अनुभव लिएर नेपाल फर्किई विभिन्न व्यवसायमा आबद्ध भएका व्यक्तिहरूले पनि दुई देशबीच व्यापार र लगानी विस्तारमा लागि पुलको भूमिका खेल्न सक्छन् भन्ने लाग्छ। कोरियामा पाँचदेखि १० वर्षसम्म काम गरेको उत्पादनमूलक व्यवसाय सञ्चालन गरेका कोरियाली व्यवसायीको लगानीमा नेपालमा समान किसिमको व्यवसाय सुरु गरी सफलता हासिल गरेका उदाहरणहरू उल्लेख्य रहेका छन्।
मेरो बुझाइमा वैदेशिक रोजगारीको अनुभवको सही सदुपयोग गरी लगानी गर्दा सफल हुने सम्भावना बढी हुन्छ भन्ने लाग्छ। हिजो हस्ताक्षर भएको सम्झौताले कोरिया र नेपालबीचको व्यापार र लगानी विस्तार गर्नेछ, जसले नेपालमा रोजगारी सिर्जना गर्नेछ र क्षमतावान नेपालीलाई सुनौलो अवसर प्रदान गर्नेछ। सन् १९९२ मा नेपालमा स्थापना भएको कोरिया–नेपाल चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (एनके सिसिआई) लाई दुई देशबीचको निजी कम्पनीहरूबीचको साझेदारी विस्तारलगायतका महत्वपूर्ण योगदानका लागि धन्यवाद दिन चाहन्छु। त्यसैगरी नेपाल लगानी बोर्डका तर्फबाट भइरहेको सकारात्मक पहलकदमीका लागि पनि स्मरण गर्न चाहन्छु।
सन् २०२४ सुरुबाट वर्षभरि नै नेपाल र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औं वर्षगाँठको अवसरमा विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै मनाइरहेका छौँ। आगामी वर्षहरूमा व्यापार र लगानी आदानप्रदान विस्तार गरी आर्थिक सहयोगलाई थप सुदृढ बनाउने विश्वास लिएका छौँ। कोरियाली बजारमा थप नेपाली उत्पादनहरूले स्थान र थप कोरियाली कम्पनीहरूले नेपालमा लगानीका अवसर प्राप्त गर्न सक्नेछन् भन्ने अपेक्षा गर्छु। नेपालको आर्थिक विकासका लागि कोरिया सरकारबीच सहकार्य अझ प्रगाढ बन्ने विश्वास गर्छु ।
–थेयङ नेपालका लागि गणतन्त्र दक्षिण कोरियाली राजदूत हुन्।
प्रकाशित: ५ पुस २०८१ ०९:१५ शुक्रबार