७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
विचार

ब्रिक्स सम्मेलनको पश्चिमी परकम्प

रुसको कजान शहरमा भएको ब्रिक्सको १६औं सम्मेलन नियमित सम्मेलन भएर पनि जुन विश्व परिस्थितिमा त्यो सम्मेलन भयो, त्यसले अन्तर्राष्ट्रिय राजनीतिमा फरक प्रभाव छाडेको छ। युक्रेनसँगको लडाइँमा होमिएको रुस स्वाभाविक तरिकाबाट ब्रिक्स सम्मेलन आयोजना गरेर संसारसामु चालु लडाइँले आफूलाई खासै ठूलो प्रभाव नपारेको र रुसी मनोबल उचो भएको देखाउन सफल भएको छ। उसले युक्रेन लडाइँमा आफूलाई एक्ल्याउने पश्चिमा मोर्चाको प्रयास पनि असफल भएको सन्देश प्रवाह गरेको छ। युक्रेनसँग युद्ध गरेको भन्दै रुसलाई संसारबाट एक्ल्याउने र कमजोर बनाउने पश्चिमा योजना कजान सम्मेलनमा तुहिएको छ जहाँ ब्रिक्सका सबै देशका प्रमुख नेता र अन्य केही देशका नेतासमेत सहभागी थिए।  

कजानमा सम्मेलनको तयारी चल्दै गर्दा विश्वको ध्यान भने मध्यपूर्वमा मडारिइरहेको युद्धको बादलतिर थियो। गाजा क्षेत्रमा इजरायली आक्रमण विस्तारित भएर मध्यपूर्वको द्वन्द्व इरान र इजरायलबीच हानाहानमा पुगिसकेको छ। त्यो द्वन्द्वको छर्रा कोरियासम्म पनि फैलिनुले संसारमा अर्को विश्व युद्धको आकलन सुरु भइसकेको थियो। यस्तो परिस्थितिमा भएको कजान सम्मेलनले भने इजरायलको युद्ध उन्मादलाई ठीक ठाउँमा ल्याउन भूमिका खेलेको देखिन्छ।  

अक्टोबर २५ र २६ मा इरानमाथि गरेको हमलापश्चात इजरायलले तत्काललाई इरानमाथिको हमला गर्ने आफ्नो योजना समाप्त भएको सार्वजनिक ग¥यो। भर्भराउँदो मध्यपूर्वको आगोलाई शिथिल बनाउन कजानको चिसो हावाले पनि भूमिका खेलेको हुनुपर्छ।

अमेरिकाको अनिश्चित चुनावी परिणाम र विभाजित युरोपेली देशहरूबीच कजानमा ब्रिक्स देशहरूको एकता देखेर तेल अभिभलाई पछि हट्न कर लागेको देखिन्छ। गाजामाथि हमला जारी राखे पनि इजरायल अहिले द्वन्द्वलाई अझ विस्तारित गर्न सक्ने अवस्थामा छैन। गाजामाथिको नरसंहार र मध्यपूर्वका अन्य देशहरूसँगको लडाइँले इजरायल आफैँ पनि थाकिसकेको छ। इजरायली सेना त्यहाँका शासकहरूको दक्षिणपन्थी खेमाको जिद्दीसामु निरीह बनेको छ। इजरायली अर्थतन्त्र लडाइँका कारण कमजोर बनिसकेको छ।

कजान सम्मेलनले अरू देशलाई पनि ब्रिक्सको सदस्यता दिने निधो गर्‍यो। सुरुमा ब्राजिल, रुस, भारत र चीन मिलेर गठन भएको र पछि दक्षिण अफ्रिका सामेल भएको ब्रिक्सलाई अब ग्रेटर ब्रिक्स अर्थात् विस्तारित ब्रिक्स बनाउने निर्णयले ब्रिक्सको इतिहासमा कजान सम्मेलनको विशेष महत्व रहनेछ। ब्रिक्सको विस्तारले दक्षिण दक्षिण एकताको आवश्यकताले मूर्तता पाउँदै गरेको देखिएको छ। निश्चय नै यसले एक ध्रुवीय विश्व प्रणाली र पश्चिममुखी विश्व व्यवस्थामा क्रमिक परिवर्तन हुँदै गरेको देखिएको छ।

अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रविहीन अराजकता हो भन्ने यथार्थवादी मान्यतालाई परिमार्जन गर्दै नवयथार्थवादी चिन्तक रोबर्ट गिल्पिनले प्रभुत्ववादी स्थायित्वको सिद्धान्त अघि सारेका थिए। प्रभुत्ववादले अन्तर्राष्ट्रिय सम्बन्धमा केन्द्रबिहीन अराजकताको अन्त्य गर्ने उनको दाबीसामु प्रभुत्ववादी शक्तिका रूपमा अमेरिका रहँदा पनि अन्तर्राष्ट्रिय सम्बन्धमा अराजकता अझ बढ्नाले प्रश्न उठाएको छ। उनले भने जस्तो एउटा कुनै देश प्रभुत्ववादी शक्ति हुँदैमा अन्तर्राष्ट्रिय सम्बन्धमा स्थायित्व हुने होइन, बरु त्यसले संसारमा साम्राज्यवादी हस्तक्षेप अझ बढ्ने देखाएको छ। दोस्रो विश्व युद्धपछि अमेरिका प्रभुत्ववादी शक्तिका रूपमा उदायो। तर, संसारमा शान्ति र स्थायित्व आएन। बरु त्यसपछि संसारमा अमेरिकी संलग्नतामै धेरै द्वन्द्व र लडाइँ भए। अर्थात् गिल्पिनको अपेक्षा सही ठहरिएन। परिणामतः आजको संसार एकधु्रवीय प्रभुत्ववादबाट अलग्गिएर बहुधु्रवीय सहकार्य प्रयासमा अघि बढिरहेको देखिएको छ। ब्रिक्स त्यसको सबभन्दा उपयुक्त उदाहरण बनेको छ।  

निःसन्देह ब्रिक्सका सबै देशका आआफ्ना राष्ट्रिय स्वार्थ छन् र ब्रिक्स प्रथमतः ती सबै देशका लागि आफ्ना स्वार्थ हासिल गर्ने मञ्च हो। ब्रिक्समा आबद्ध सबै देश आफँैमा संसारका प्रमुख देश हुन् र उनीहरूका आआफ्ना बाटा छन्। अझ उनीहरू आपसमै पनि कतिपय अन्तरविरोध छन्। तथापि, उनीहरू सबै समान हैसियतमा एकै ठाउँमा बसेर आपसी सहकार्यका विन्दु खोजी गरिरहेका छन्। उनीहरू एकधु्रवीय विश्वको राजनीतिक, आर्थिक र सांस्कृतिक विकल्पको खोजीमा लागेका छन्।  

ब्रिक्स सहकार्य निःसन्देह कसैको निषेधमा थालिएको होइन, बरु मानिसको साझा संसारमा शक्तिको आडमा केही शक्तिशाली देशले गर्दै आएको निषेधको विकल्पमा सुरु भएको प्रयास हो। ब्रिक्स सम्मेलनको क्रममा सार्वजनिक ‘ब्रिक्सको बैंक’ अर्थात नयाँ विकास बैंकको मुद्राले अन्तर्राष्ट्रिय राजनीति र अर्थतन्त्रमा एकधु्रवीय प्रभुत्वको विकल्प बन्दै गरेको देखिएको छ।

ब्रिक्स सम्मेलनको क्रममा भएका दुईपक्षीय बैठकहरूले पनि विश्व राजनीतिमा हेरफेरको झल्को देखिएको छ। चीनका राष्ट्रपति सि चिनफिङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीचको बैठक भने नेपालका लागि समेत चासोको विषय बन्यो। झण्डै एकै समय सरकारमा आएका दुई नेताबीच प्रारम्भिक चरणमा हार्दिक सम्बन्ध भए पनि पछिल्लो समय सम्बन्ध त्यति सहज थिएन। विवादित सीमामा देखिएका केही समस्याले चीन र भारतबीच चिसिएको सम्बन्धले दुवै देशबीचको सहकार्यलाई मात्र होइन, नेपाल जस्तो दुवै देशको छिमेकी देशलाई समेत असहज बनाएको छ। संसारकै सबभन्दा बढी जनसंख्या भएका दुई विशाल बजार र उदाउँदो अर्थतन्त्रबीच आपसी मनमुटावले दुवै देशबीच साँघु बन्न चाहेको नेपालले असहजता भोग्नुपरेको छ।  

चिनियाँ नागरिकलाई भारत आउने प्रवेशाज्ञा नदिँदा चिनियाँ व्यापारी, विद्यार्थी, पर्यटकहरूलाई समस्या परेको छ। यसबीच चिनिया सामानको भारतमा निर्यात बढे पनि आपसी सम्बन्धका धेरै पक्ष, जस्तै– सिधा हवाई सेवा रोकिँदा दुवै देशका जनताले समस्या भोग्नुपरेको छ। चिनियाँ प्राविधिकहरूलाई समेत प्रवेशाज्ञा नदिँदा भारतका कतिपय परियोजना र कारखानाका चिनियाँ मेसिनसमेतको जीर्णोद्धार हुन सकेन। जसले भारतीय उत्पादनमा नकारात्मक असर गरेको छ। यस्तो परिस्थितिमा भारत सरकारमाथि चीनसँगको सम्बन्ध सहज गर्न भारतीय जनताको दबाब बढिरहेको छ। दुवै पक्षलाई प्रष्ट थाहा छ– इतिहासले थाती राखेको दुई देशबीचको सीमा विवाद तत्काल समाधान हुने अवस्था छैन। त्यसकारण अहिले सीमाको मुद्दामा झगडा गर्दा दुवै पक्षलाई घाटाबाहेक कुनै फाइदा छैन। त्यसकारण सीमा समस्यालाई थाती राखेर दुवै देश आर्थिक सम्बन्ध विकासको बाटोमा अघि बढ्नुको विकल्प छैन। दुवै देशसँग राम्रो सम्बन्ध बनाएको रुसले यतिबेला हाम्रा दुई छिमेका नेताहरूलाई आपसमा मन माझामाझ गर्ने मञ्च दिएको छ।

विस्तारित ब्रिक्सले संसारले झेलिरहेका समस्या समाधान गर्ने ब्रिक्सको क्षमता अझ विस्तार गर्नेछ। आज संसारले सामना गरिरहेका कतिपय समस्या शक्तिशाली देशका आत्मकेन्द्रित कदमले निम्तिएका छन्। उपनिवेशकाल अन्त्य भएको दसकौँ समय बितिसक्दा पनि अझ उपनिवेश र प्रभुत्ववादको सोचबाट मुक्त हुन नसकेका शक्तिशाली देशहरूको संसार फेरि पनि आफ्नो तखतमा चल्नुपर्ने सोचाइका कारण संसारले अल्पकालीन र दीर्घकालीन समस्या भोग्नुपरेको छ। पछिल्लो संसार अझ लडाइँ र द्वन्द्वले पिरोलिएको छ। त्यस्ता लडाइँ समाधान गर्नतिर पहल गर्नुको सट्टा त्यसबाट हतियारको व्यापार गरेर लाभ लिन पल्केका शक्ति देशहरूका कारण संसार अन्त्यहीन दलदलमा फसेको छ। गरिबीबाट जसोतसो उत्रिँदै गरेको मानव समुदाय फेरि पनि यस्ता लडाइँ र प्राकृतिक विपत्तिको कारण अर्को गरिबीको जालोमा फस्ने सम्भावना बढिरहेको छ।  

यस्तो परिस्थितिमा साना–ठूला, गरिब–धनी, कमजोर–शक्तिशाली भनी विभेद नगर्ने आधारभूत मान्यतामा बनेको ब्रिक्सको समस्याको साझा समाधान खोज्ने र साझा समृद्धिको यात्रा गर्ने प्रयास सामयिक छ। निःसन्देह ब्रिक्स सबै समस्याको समाधान नहोला। ब्रिक्स देशहरूबीचका आपसी द्वन्द्वलाई बेवास्ता गरी आदर्शवादी हिसाबले मात्र सोच्नु अवस्तुगत हुनेछ। तथापि, जसरी विश्व व्यवस्था अघि बढ्नुपर्ने हो, त्यसरी बढ्न नसक्दा र संसार अझ समस्या र जटिलतामा फस्दै गएको परिस्थितिमा थालिएको विकल्पको खोजी भने अवश्य हो।

प्रकाशित: १४ कार्तिक २०८१ ०८:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App